दौडमा रमाउने पुष्पा

श्रावण १४, २०८०

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–१४ माल्नेटाकी २७ वर्षीया पुष्पा भण्डारी विद्यालय पढ्दा सधैं प्रथम हुन्थिन् । २०६८ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनको चाहना थियो– डाक्टर बन्ने । तर घरको आर्थिक अवस्था कमजोर भएकाले त्यो सपना पूरा हुन पाएन । जसका कारण उनको यात्रा मोडियो एथलेटिक्सतर्फ । यही वर्ष उनै पुष्पाले बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुदमा म्याराथनतर्फ राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्णपदक हात पारिन् । 

त्यसो त कक्षा ७ मा पढ्दै गर्दा पहिलोपल्ट २०६५ सालमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा पहिलो स्थान हासिल गरेकी थिइन् । विद्यालय पढ्दा नै उनी एक सयदेखि ५ हजार मिटरसम्मका दौडमा भाग लिन्थिन् । कक्षा ११ पढ्दै गर्दा २०६९ सालमा सुदूरपश्चिमको धनगढीमा आयोजना भएको राष्ट्रिय एथलेटिक्समा भाग लिएकी उनी १६ सय र ५ हजार मिटरको दौडमा प्रथम र दोस्रो भएकी थिइन् । जसले उनको दौड यात्रालाई झन् हौस्यायो । २०६९ सालमा ३९ औं राष्ट्रिय च्याम्पियनसिपमा भाग लिएकी भण्डारी हाफ म्यारथनमा प्रथम भइन् भने १७ वर्षको उमेरमै सशस्त्र प्रहरीको एपीएफ क्लबमा अनुबन्धितसमेत हुन पाइन् । 

२०५३ सालमा जन्मिएकी पुष्पाले त्रिभुवन जनता माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरिन् । उनको दौड एपीएफमा अनुबन्धित भएसँगै तिखारिँदै गयो । २०७३ सालमा इटहरीमा भएको बृहत् राष्ट्रिय खेलमा म्याराथनतर्फ प्रथम भएकी उनले सन् २०१६ मा पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाइन् । तर अस्वस्थताका कारण उक्त म्याराथनमा ३२ किमि दूरी पार गरेपछि बीचैमा छाड्नुपर्‍यो । २०६८ देखि लगातार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा भाग लिइरहेकी पुष्पाले यसबीचमा झन्डै डेढ दर्जन पदक जितिन् । ‘डाक्टर बन्ने चाहनासँगै खेलमा पनि रुचि अधिक थियो,’ उनी भन्छिन्, ‘घरको कामबाट फुर्सद पाउनेबित्तिकै साथीहरूसँग दौडिन गइहाल्थे ।’ 

२०७५ सालमा दाङमा भएको सातौं राष्ट्रिय खेलमा दोस्रो भएकी उनी सन् २०१९ मा नेपालमा भएको १३ औं साउथ–एसियन खेलमा राष्ट्रिय कीर्तिमानीसहित पुनः दोस्रो बनिन् । उनले नेपालगन्ज म्याराथनमा २०७६ र ०७७ सालमा दुवैमा उपाधि जितेकी थिइन् भने २०७९ सालमा कान्तिपुर हाफ म्याराथनमा द्वितीय स्थान हासिल गरिन् । ‘क्रमशः उपाधि जित्दै जाँदा मलाई आफ्नो कीर्तिमानी आफैं तोड्ने जोस आउँछ,’ उनी भन्छिन् । 

बंगलादेशमा भएको साफमा उनले म्याराथनमा ४२.१९५ किलोमिटर दूरी २ घण्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गरी राष्ट्रिय कीर्तिमानी कायम गरेकी हुन् । १३ औं दक्षिण एसियाली खेलमा उनी आफैंले २ घण्टा ५० मिनेटको कीर्तिमानी कायम गरेकी थिइन् । यही वर्ष आयोजना भएको १६ औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा पनि रजत जितेकी उनले आफू सहभागी भएको खेलमा कुनै न कुनै पदक जितिरहेकी छन् । आफ्नो मेहनतले नै सफलता दिलाउने उनको भनाइ छ । 

अहिले उनी चीनको हाउजाउमा आयोजना हुन थालेको १९ औं एसियन गेमको तयारीमा छिन् । सकेसम्मै खेल क्षेत्रमा जीवन बिताउने र देशको नाम राख्ने आफ्नो जीवनको लक्ष्य रहेको उनी बताउँछिन् । ‘एपीएफमा आबद्ध भएपछि रोजीरोटीको चिन्ता छैन,’ उनले भनिन्, ‘त्यसैले जतिसक्दो दौड अभ्यासलाई निखार्दै लिएकी छु ।’ 

बुवा चेतलाल भण्डारी र आमा सरिता भण्डारीले सानैदेखि दौडमा हौसला दिँदा आफू यो स्थानसम्म आइपुगेको उनको भनाइ छ । ‘छोरी मान्छे भएर पनि खेलकुदमा राख्दा कुरा काट्ने मानिस त धेरै थिए,’ उनले भनिन्, ‘जसले जे भने पनि मेरो बुबाआमाले मेरो चाहना बुझ्नुभयो, जसका कारण म यो स्थानसम्म आउन सफल भए, अझै जति सक्छु दौडमै रमाउँछु ।’

युवा ग्यालरी

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully