सन् १९३० मा आजकै दिन : उरुग्वेलाई पहिलो विश्वकप उपाधि 

श्रावण १४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९३० मा आजकै दिन (जुलाई ३०) मा अर्जेन्टिनालाई पराजित गर्दै उरुग्वेले पहिलो विश्वकप फुटबलको उपाधि जितेको थियो । फुटबलको बढ्दै गएको लोकप्रियता देखेर अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को १९२९ को बैठकले फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको थियो । त्यसका लागि १९२८ मा नेदरल्यान्ड्समा भएको ओलम्पिकमा फुटबलमा स्वर्ण जितेको उरुग्वेलाई आयोजकका रूपमा छनोट गरिएको थियो । 

उरुग्वेमा भएको पहिलो विश्वकपमा १३ टिमले प्रतिस्पर्धा गरेका थिए । आयोजक उरुग्वेसँगै अर्जेन्टिना, चिली, फ्रान्स, मेक्सिको, युगोस्लाभिया, ब्राजिल, बोलिभिया, रोमानिया, पेरु, अमेरिका, पाराग्वे र बेल्जियमले विश्वकपको पहिलो संस्करण खेलेका हुन् । 

एउटा समूहमा चार र अन्य समूहमा तीन/तीन देश गरी सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको थियो । अर्जेन्टिनाले अमेरिकालाई र उरुग्वेले युगोस्लाभियालाई पराजित गर्दै फाइनलमा पुगेका थिए । फाइनलमा भने उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले हराएको थियो । तेस्रो स्थानका लागि भने खेल भएको थिएन । १९२८ को ओलम्पिकमा पनि अर्जेन्टिना र उरुग्वेले नै फाइनल खेलेका थिए । प्रतियोगितामा ८ गोल गरेका अर्जेन्टिनाका गियुललेर्मो स्टेबिल सर्वाधिक गोलकर्ता घोषित भए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully