काठमाडौँ — सन् १९९२ मा आजकै दिन (जुलाई ३१) मा थाई एयरवेजको विमान नेपालमा दुर्घटना भएको थियो । नुवाकोटको घ्याङफेदीमा भएको एयरबस ए–३२० दुर्घटनामा एक सय १३ जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा ९९ यात्रु र १४ जना चालक दलका सदस्य थिए ।
मानवीय क्षतिका आधारमा यो नेपाली आकाशमा भएको दोस्रो ठूलो दुर्घटना हो । १९९२ सेप्टेम्बर २८ मा पाकिस्तान एयरलाइन्सको जहाज ललितपुरको भट्टेडाँडामा ठोक्किँदा एक सय ६७ जनाको मृत्यु भएको थियो ।
मानवीय क्षति हुने गरी नेपालमा एक सयभन्दा बढी हवाई दुर्घटना भइसकेका छन् । यी दुर्घटनामा अहिलेसम्म ९ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आन्तरिकतर्फका दुर्घटनामा ज्यान गुमाउनेको संख्या करिब साढे ४ सय छ । त्यस्तै, अन्तर्राष्ट्रिय उडान दुर्घटनामा ज्यान गुमाउनको संख्या पनि चार सयभन्दा बढी छ ।
आन्तरिकतर्फ यती समूहले सञ्चालन गरेका यती एयरलाइन्स र तारा एयरका सबैभन्दा बढी जहाज दुर्घटनामा परेका छन् । अधिकांश दुर्घटनाको कारण प्राविधिक भएको बताउने गरिएको छ ।
