काठमाडौँ — नेपालमा बैंकिङ क्षेत्रको अवस्था, घटनाक्रम, विकृतिलगायत पक्ष समेटिएको पुस्तक सार्वजनिक भएको छ । बैंकिङ क्षेत्रका जानकार बीएन घर्तीको ‘बैंकिङ अनुशासन’ नामक पुस्तकमा बैंक तथा वित्तीय संस्था अनुशासनमा बस्नुपर्ने कारण, उत्कृष्ट सेवा प्रवाह, निक्षेप विविधीकरणका फाइदालगायत विषय उल्लेख गरिएको छ ।
नेपालमा चार प्रकारका (क, ख, ग र घ वर्ग) का वित्तीय संस्था छन् । यसरी विभिन्न प्रकारका वित्तीय संस्थाको आवश्यकता, लघुवित्तमा देखिएका समस्यालगायत विषयको पुस्तकमा घर्तीले विश्लेषण गरेका छन् । त्यसका साथै, अल्पकालीन उद्देश्यबाट प्रेरित भएर व्यवसाय विस्तार गर्दा निक्षेपको मिश्रण खल्बलिएका कारण तरलता अभाव भएको सन्दर्भ पुस्तकले उठान गरेको छ ।
लेखक घर्तीले पुस्तक बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति, उच्च व्यवस्थापक, विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीका लागि निकै उपयोगी हुने दाबी गरेका छन् । नेपालको हालको बैंकिङ अभ्यासमा परिवर्तन ल्याउन उनीहरूलाई पुस्तकको अध्ययनले सहयोग पुग्ने घर्ती बताउँछन् ।
