‘मर्करी टुर’ मा इमाजिन ड्रागन्स

कुनै पनि गायक वा ब्यान्ड कति लोकप्रिय छन् भनेर देखाउने उनीहरूको सांगीतिक टुरले हो । लस भेगासको ‘इमाजिन ड्रागन्स’ यतिबेला १२ देशको टुरमा छ । केही समय अगाडि छिमेकी देश भारत आएको ब्यान्ड पछिल्लो समय दक्षिण एसियामा लोकप्रियताको शिखर चढिरहेको छ । 

श्रावण १७, २०८०

हिमेश

काठमाडौँ — जति बेला कोही गायक अथवा ब्यान्ड टुरमा निस्कन्छ, उनीहरू चर्चा चुलिने गर्छ । जुन स्वाभाविक पनि हो । को कत्तिको छ भनेर देखिने त यस्तै टुरमा त हो, त्यो पनि लामो टुरमा ।

पप रक ब्यान्ड इमाजिन ड्रागन्स पनि अहिले व्यापक चर्चामा छ, किनभने लस भेगासको यो ब्यान्ड पनि अहिले टुरमा निक्सिएको छ । तत्कालका लागि उनीहरू १२ देशमा पुग्नेछन्, अनि एकपछि अर्को १६ कन्सर्ट गर्नेछन् । विशेषत: ब्यान्ड यो टुरमा युरोपतिर केन्द्रित रहेको छ ।

केही समय अगाडि मात्रै इमाजिन ड्रागन्स भारत आएको थियो । मुम्बईतिर यो ब्यान्ड बढी लोकप्रिय मानिन्छ । हाम्रो दक्षिण एसियातिर यो ब्यान्ड लोकप्रिय हुने क्रममा छ भन्दा हुन्छ । मुम्बईमै आयोजित कन्सर्टका क्रममा ब्यान्डका मुख्य सदस्य ड्यान रेनोल्डले भनेका पनि थिए, सबथोक मिल्यो भने उनीहरू दोहोर्‍याएर यो भागमा आउने छन् । उनीहरू जहाँ हुर्के बढे, त्यहाँको संस्कृतिभन्दा ठ्याक्कै फरक छ, दक्षिण एसिया । त्यसैले उनीहरू यता आउन चाहन्छन् ।

ब्यान्डको अहिलेको टुरमा भने एसिया गन्तव्य छैन । रेनोल्ड ब्यान्डका फ्रन्टम्यान नै हुन् । गीत मात्र गाउँदैनन्, लेख्छन् पनि । विशेषत: गीत लेखनमा उनको दख्खलता छ । अनि उत्तिकै प्रतिशाली गायक पनि मानिन्छ, उनलाई । पश्चिमेली संगीतका केही ठूला नाम हुन्, द बिटल्स, यु–टुदेखि निर्वानासम्म । उनी यिनै ब्यान्डबाट प्रभावित छन् । त्यसको अर्थ उनको गायनमा यिनै ब्यान्डको केही झल्को आउँछ ।

अहिलेको टुरको खास नाम भने ‘मर्करी वर्ल्ड टुर’ हो । युरोपका खास गन्तव्य यसकै भाग हुन् । यही वर्षको सेप्टेम्बरमा यो टुर विधिवत् रूपमा सकिनेछ । पछिल्ला दुई वर्षमा इमाजिन ड्रागन्सले दुई एल्बम निकालेको छ, मर्करी भाग १ र २ । यसमै केन्द्रित भएर यो टुर आयोजिना गरिएको हो । टुर धेरै अर्थमा सफल पनि सावित भएको छ, किनभने यसले ब्यान्डलाई अझ लोकप्रिय बनाएको छ । 

ब्यान्डको नाम आफैं केही अनौठो सुनिन्छ, इमाजिन ड्रागन्स । यसको अर्थ के हो त ? त्यो कसैलाई थाहा छैन, त्यसैले यो रहस्य हो । थाहा छ त खालि ब्यान्डका सदस्यलाई । इमाजिन ड्रागन्समा जति अक्षर छन्, तिनलाई तलमाथि गर्ने हो भने एक विशेष शब्द बन्छ, त्यसको पनि विशेष अर्थ हुन्छ । ब्यान्डले अहिलेसम्म यसबारे कहिले पनि खुलेर भनेको छैन र यसलाई गोप्य राख्नलाई नै ठीक मानेको छ । नाममा के नै छ र ? मुख्य कुरा त तिनको संगीत न हो ।

इमाजिन ड्रागन्स भनेको पप रक ब्यान्ड हो । अनि यो पप रक भनेको के हो नि ? यो खासमा रक संगीतको फ्युजन हो । रक संगीतको केही खासखास विशेषता हुन्छन् । अझ भन्दा फरक ‘एटिच्युड’ हुन्छ । पप रकले यही एटिच्युडलाई धेरै महत्त्व दिँदैन । बरु यो विधामा यस्ता शब्दले भरिएका गीत हुने गर्छन्, जसलाई पहिलो पल्ट सुन्दा पनि मज्जा आउँछ । शब्दहरू व्यावसायिक हुने गर्छन्, जसले आम संगीतप्रेमीलाई पनि प्रभावित गर्नेछ ।

भनेपछि इमाजिन ड्रागन्स यस्तै ब्यान्ड हो, एकपल्ट उसका गीत सुन्नुपर्छ, ठ्याक्कै यो कस्तो भनेर थाहा हुन्छ । ब्यान्डमा अहिले चार सदस्य छन्, रेनोल्ड त भइहाले । अन्य तीन जना हुन्, वायन सेरमन, बेन म्याकेई र डयानिएल प्लाट्जमन । सन् २००८ मा स्थापना भएयता यो निकै सक्रिय छ । उनीहरूको ख्याति बढ्न थालेको ‘इस्ट टाइम’ बाट हो । यो उनीहरूको पहिलो हिट गीत भयो । सन् २०१२ मा जारी भएको ‘नाइट भिजन’ एल्बमले उनीहरूलाई स्थापित गर्‍यो भन्दा हुन्छ ।

अरू ब्यान्डभन्दा यो केही फरक छ, त्यसैले त एमटीभीले इमाजिन ड्रागन्सलाई ‘ब्रेक थ्रु ब्यान्ड’ भन्छ, अनि बिलबोर्ड यसलाई ‘ब्रेक आउट ब्यान्ड’ भन्न रुचाउँछ । सुरुमै लोकप्रिय भएको गीत ‘इस्ट टाइम’ नै भयो । त्यसपछि ब्यान्डका सर्वाधिक रुचाइएका गीतमा ‘ब्लिडिङ आउट’, ‘डेमन्स’, ‘रेडियो एक्टिभ’, ‘थन्डर’ आदि पर्छन् । यसमध्ये पनि ‘रेडियो एक्टिभ’ कम्तीमा एकपल्ट सुन्नै पर्ने गीत हो । सन् २०१२ मा यो गीत रिलिज भएको थियो ।

इमाजिन ड्रागन्सको एउटा ठूलै विशेषता हो, एलजीबीटीक्यू प्लसप्रति उनीहरूको हार्दिक एक्येबद्धता । ब्यान्डले जति पनि लाइभ सो गर्छ, त्यी सबै एलजीबीटीक्यू प्लस प्रशंसकका लागि सुरक्षित छ भन्छ । यी प्रशंसकहरू ढुक्क भएर ब्यान्डका कन्सर्ट हेर्न जान सक्छन् । त्यसो त संगीत क्षेत्रका स्टारले यो समुदायप्रति गर्दै आएको समर्थन नयाँ होइन । तर सायद यो यस्तो समय हो, जति बेला यो समुदायप्रति संगीतकर्मीको समर्थन अझ बढी चाहिएको छ ।

ठीक यही बेला त हो, इमाजिन ड्रागन्स अगाडि एक पाइला अगाडि आएको । भएको के भन्दा समाज एलजीबीटीक्यू प्लसप्रति जति खुल्दै छ, यही समाजको एक भाग उनीहरूप्रति अझ पुरानो सोच पनि राख्छ । केही देशमा त यो समुदायविरुद्ध अझ कडा नियम बनिरहेका छन् । विश्वास नहुन सक्छ, अमेरिकाका केही राज्य नै यस्ता नियम बनाउनमा अगाडि छन् । त्यसैले इमाजिन ड्रागन्स अझ बढी अगाडि आएको हो, एलजीबीटीक्यू प्लसप्रति समर्थन गर्न ।

पछिल्लो समय केही संगीतकर्मीले कन्सर्टको माध्यमबाट यो समुदायप्रति जनचेतना जगाउन काम पनि गरिरहेका पनि छन् । यसमा म्याडोना, टेलर स्विफ्टदेखि बियोन्ससम्म छन् । इमाजिन ड्रागन्स उनीहरूभन्दा बढी यो क्षेत्रमा सक्रिय छ । केही समय भयो, ब्यान्डबारे एउटा वृत्तचित्र बनेको । त्यसमा ब्यान्डको आफ्नै घर लास भेगासमा आयोजित कन्सर्टको दृश्य छ, जसमा उनीहरू खुलेर एलजीबीटीक्यू प्लसप्रति समर्थन गर्छन् र आफ्नो गीतको एक अंश दोहोर्‍याउँछन्, ‘मे जे छु, त्यसमा कहिल्यै फेरिने छैन ।’

युवा ग्यालरी

हिमेश

Link copied successfully