नाइट क्लब चलाउँदै सुप्रिया

नाइटलाइफमा रम्न चाहनेहरूका लागि आकर्षक गन्तव्य हो, ठमेलस्थित होटलसहितको क्लब ‘गाँस बास को’ । भारतका चेन होटलहरूमा लामो अनुभव बटुलेकी सुप्रिया कुँवरले सन् १९७० को दशकमा निकै लोकप्रिय डिस्को कल्चरको थिममा सपर क्लब खोलेकी हुन् ।

असार २९, २०८०

बुद्धिसागर मरासिनी

काठमाडौँ — काम र आरामपछि मानिसहरूले के खोज्लान् ? दुई मत छैन, मनोरञ्जन । तर हरेक मानिसले मनोरञ्जन लिने तौरतरिका भने उनीहरूको स्वभावअनुसार फरक–फरक हुन्छ । धनीदेखि गरिब अनि गाउँदेखि सहर मनोरञ्जन गर्ने स्थान पनि अलग–अलग ।

सहरी क्षेत्रमा भने पछिल्लो समय मनोरञ्जनका लागि प्रमुख गन्तव्य बनेको छ, नाइटलाइफ । पब, डिस्को, डान्स, दोहोरी साँझ र नाइट क्लबमा संगीतमा झुम्ने र विभिन्न ड्रिङ्सको चुस्कीमा रमाउनेको संख्या ह्वात्तै बढेको छ । अझ तन्नेरी पुस्तामाझ त यो कल्चरकै रूपमा विकसित हुँदै गइरहेको छ ।

यही रात्रिकालीन जीवनमा रमाउनेहरूका लागि पछिल्लो समय आकर्षक गन्तव्य बनेको छ, ठमेलको शेर भवनमा रहेको ‘गाँस बास को’ । र, सञ्चालक हुन् सुप्रिया कुँवर । खासमा गाँस  बास को ‘थ्री इन वान’ हो । अर्थात् क्लब (सपर), रेस्टुराँ र होटल । ‘ठमेलमा जता गए पनि रात्रिकालीन व्यवसाय उस्तै उस्तै लाग्ने,’ उनी भन्छिन्, ‘त्यसैले नाइटलाइफमै केही फरक गरौं भने सोचले जन्मिएको हो– गाँस बास को ।’

खासमा ‘गाँस बास को’ लाई पार्टी होटल भन्न चाहन्छिन् सुप्रिया । ‘रात्रिकालीन जीवनमा रमाउनेका लागि यहाँ सबै कुरा एउटै भवनमै छ,’ उनी भन्छिन् । तर यो व्यवस्था गर्न उनले लगानी पनि राम्रै गरेकी छन् । उनका अनुसार बीस करोडभन्दा बढी खर्चमा सञ्चालनमा आएको हो ‘गाँस बास को’ । शेर भवनको चौथो तलमा पूर्वतर्फ छ ‘सपर क्लब’ । त्यसको पश्चिमतर्फ रेस्टुराँ । अनि, दोस्रो र तेस्रो तलामा होटल ।

सन् १९७० को दशकमा निकै लोकप्रिय थियो डिस्को कल्चर । त्यही थिममा उनले सञ्चालनमा ल्याएकी हुन् सपर क्लब । ‘हामी जन्मे हुर्केको समयलाई सम्झाउने उद्देश्यले त्यतिबेलाका गीतसंगीत बजाउने गरिएको छ,’ उनले भनिन् । ठमेलका अरू क्लबहरूभन्दा निकै फरक देखिन्छ ‘सपर क्लब’ । कारण, झ्याल, टेबल, कुर्सी र लेदरका बार स्टुल सबै भिन्टेज । अनि फरक र आकर्षक डिजाइनमा आफैं निर्माण गरिएका टेबल लाइट तथा सिलिङमा झुन्ड्याइएका डिस्को बल र लाइट ।

रेस्टुराँमा भने ककटेल र ‘पान एजियन’ खानालाई प्राथमिकतामा राखेकी छन् सुप्रियाले । ‘मनोरञ्जनसँगै ककटेल कल्चर अघि बढाउने सोचले हामीले आफैं बनाउने गरेका छौं,’ सुप्रिया भन्छिन्, ‘सबैतिर पाउने मःम, चाउमिन, बर्गरभन्दा फरक पान एसियन कुजिन राखेका हौं ।’ त्यसका लागि भारतमा करिब दुई दशक लामो अनुभव भएका शिव कार्कीलाई ल्याएकी हुन् स्प्रियाले । रेस्टुराँ तथा होटलको डेकोरेसन र सामान अधिकांश हातले बनाएका राखिएका छन् ।

ठमेलको रात्रिकालीन व्यवसायसँग उनी जोडिएको भने यो पहिलो पटक होइन । हस्पिटालिटी क्षेत्रमा उनले लामो अनुभव सँगालेकी छन् । ठमेलमा लाइभ म्युजिकका लागि चर्चित पर्पल हेज एक दशकअघि सञ्चालनमा आएको हो । सुप्रिया त्यसको सञ्चालक हुन् । पर्पल हेज यसअघि नै लाइभ म्युजिक र ड्रिङ्सका लागि प्रख्यात बनिसकेको छ । 

परिवारकी तेस्रो सन्तान हुन् सुप्रिया । बाबु मोतीबहादुर जलविद्युत् इन्जिनियरिङ र आमा शारदा कुँवर अध्यापन पेसामा आबद्ध थिए । दाइ र दिदी भने विदेशमा छन् । परिवारमा हस्पिटालिटी क्षेत्रमा कोही नलागेका भए पनि उनको भने यही क्षेत्रमा करिअर बनाउने इच्छा थियो सानैदेखि । ‘मेरो स्वभावका कारणले होला, आमाबुबाले त सैनिक सेवामा जागिरे भएको हेर्न चाहनुहुन्थ्यो,’ उनले विगत सम्झिँदै भनिन्, ‘तर मलाई भने यही क्षेत्रले नै तानिरहन्थ्यो ।’ तर पछि भने आमाबुबाबाटै हौसला मिलेको उनी बताउँछिन् ।

काठमाडौंमा जन्मिएकी सुप्रियाले सेन्ट मेरिज स्कुलबाट एसएलसी सकिन् । स्कुले जीवनदेखि नै हस्पिटालिटी र बारटेन्डरसम्बन्धी पुस्तक पढ्न थालेकी उनले मल्पी इन्टरनेसनलबाट ए लेभल्स सकिन् । त्यसपछि हस्पिटालिटी कोर्स गर्नका लागि कलेजको खोजीमा लागिन् । भारतको नयाँदिल्लीस्थित आईएचएम पुसामा आवेदन दिइन्, उनी छनोट मात्र भइनन्, कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पनि पाइन् ।

त्यहाँबाट उनले बीएससी एचएचए कोर्स सकिन् । पढाइपछि केही समय भारतमै अनुभव सँगाल्ने उद्देश्यले भारतमा नाम चलेका ६/७ वटा होटलमा आवेदन दिइन् । आवेदन दिएका सबैतिर छानिए पनि उनले सुरुमा ताज होटल रोजिन् । सन् २०१३ मा भारतको पहिलो लक्जरी होटल ताजमा ट्रेनी–म्यानेजरका रूपमा काम थालिन् । त्यसपछि केही समय रेडिसन ब्लुजसँग आबद्ध भइन् । छोटो समयमै ट्रेनी–म्यानेजरबाट उनी ट्रेनिङ म्यानेजर बनिन् ।

भारतमा अध्ययन र लामो अनुभवपछि उनलाई भने अब देश फर्कनुपर्छ भन्ने लाग्यो । देशभित्रै केही नयाँ काम गर्ने सोच थियो । पढाइ र अनुभवपछि भने उनलाई अब बेला आयो भन्ने लाग्यो । ‘काम गर्दै मलाई के कुरा महसुस भयो भन्दा अब त आफैंले केही गर्नुपर्छ भन्ने भयो । अनि अनुभवले पनि आफैं सम्हाल्न सक्छु भन्ने आत्मविश्वास पलाइसकेको थियो,’ उनले भनिन् ।

त्यसपछि नेपाल फर्किन र आफ्नो ड्रिम प्रोजेक्टमा काम थालिन् । क्षेत्र उही, तर केही फरक तरिकाले काम थाल्ने । त्यही क्रममा योजना बनेको हो, पार्टी होटल ‘गाँस बास को’ चलाउने । नेपाल फर्केपछि उनले ठमेलकै पर्पल हेजको व्यवस्थापन पनि सम्हाल्न सुरु गरिन् । 

‘हाम्रो योजना नै अफोर्डेबल लक्जरी पार्टी होटल बनाउने थियो,’ उनी भन्छिन्, ‘त्यहीअनुसार २०१८ देखि काम सुरु भयो ।’ त्यसमा आफ्नो परिवारका सदस्यले पनि निकै सहयोग गरेको उनी बताउँछिन् । क्लब र होटल कस्तो बनाउने भन्नेमा उनी पहिले नै प्रस्ट थिइन् । जसअनुसार आर्किटेक सिद्धार्थ गोपालनलाई डिजाइन गर्ने जिम्मेवारी दिइन् उनले । कोभिड फैलनुअघिकै योजना थियो त्यो । कोभिड महामारी नभइदिएको भए उनको सपना डेढ/दुई वर्षअघि नै साकार भइसक्ने थियो । 

‘हामी त्यसरी थुनिएर बस्नु नपरेको भए सोचेअनुसार नै काम हुन्थ्यो अनि खर्च पनि कम,’ सुप्रियाले भनिन् । एकताका त आफूलाई ‘मैले नै व्यवसाय सुरु गर्ने बेलामा यस्तो हुनुपर्ने’ भनेर दिक्दार पनि लागेको थियो । तर, अहिले भने सबै ठीकठाक चलिरहेको बताउँछिन् सुप्रिया । सोचेअनुसार व्यवसायले गति लिएकै छ । ‘होटलको सोचेभन्दा निकै राम्रो भइरहेको छ,’ उनले भनिन्, ‘४२ वटा कोठा छन् । लगभग सधैं प्याक हुन्छन् ।’ हाल उनले आफ्नो कम्पनीमा ६० जनाभन्दा बढीलाई रोजगारी दिएकी छन् । धेरैजसो महिला छन् । तर महिला भएकै कारणभन्दा पनि डिजर्भिङ भएकाले काममा राखेको बताउँछिन् उनी । ‘म (महिला) सञ्चालक भएकाले पनि उहाँहरूलाई सहज भयो होला,’ सुप्रिया भन्छिन् । 

भारतमा करिब सात वर्ष लामो अनुभव । त्यो पनि, विश्वकै उत्कृष्ट चेन होटलहरूको । नेपालको हस्पिटालिटी क्षेत्र कहाँ छ त ? सुप्रिया भन्छिन्, ‘त्यस्तो नराम्रो नै त छैन । तर, बजार सानो भएकाले पनि होला व्यावसायिकतामा कमी छ ।’ हस्पिटालिटी क्षेत्रलाई विकसित गर्न सरकारी तहबाटै आफ्नो देशमै बसेर काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताउँछिन् उनी । त्योसँगै यही क्षेत्रबारे अध्ययन गरेका र अनुभव भएकाहरू संलग्न हुनुपर्ने उनको बुझाइ छ । हामीले हाम्रो संस्कृति र हिमाल प्रवर्द्धन गर्न नसकेकामा भने दुःख लाग्ने बताउँछिन् सुप्रिया । त्यसका साथै, नेपाल आउने विदेशी पर्यटकको आर्थिक अवस्था, नेपालमा बस्ने योजनालगायतको विवरण हेरेर मात्र भिसा दिनुपर्ने उनको सुझाव छ ।

बच्चैदेखिको आफूलाई मन पर्ने क्षेत्रमा क्रियाशील सुप्रिया जीवनभर हस्पिटालिटी क्षेत्रमै रमाउने बताउँछिन् । त्यसो त देशका प्रमुख सहरमा ‘गाँस बास को’ र पर्पल हेजका शाखा विस्तार गर्ने योजना पनि छ उनको । तर केही फरक, केही क्रिएटिभ । किनकि, उनी भन्छिन्, ‘म कपी गर्दिनँ र कपी गरेको पनि मन पर्दैन ।’

युवा ग्यालरी

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully