मस्क भर्सेस मार्क

मेटाले इन्स्टाग्राममा आधारित प्लेटफर्म ‘थ्रेड्स’ सार्वजनिक गरेपछि मेटा र ट्वीटरका सीईओबीच तनाव चुलिएको छ । ‘थ्रेड्स’ ट्वीटरजस्तै भएको भन्दै ट्वीटरका सीईओ मस्कले अब मेटाका सीईओ जुकरबर्गसँग कुस्ती मात्रै नभएर कानुनी लडाइँ लड्ने बताएका छन् ।

असार २८, २०८०

सजना बराल

काठमाडौँ — अमेरिकाकी सेलेब्रिटी सांसद अलेक्जान्ड्रिया ओकासियो कर्टेज (एओसी) ले नयाँ सामाजिक सञ्जाल थ्रेड्स एकाउन्टमा सोमबार इलन मस्कको बहुलट्ठीपनका कारण ट्वीटरबाट मानिसहरू भागिरहेको आशयको स्ट्याटस पोस्ट गरिन् ।

आपसी घोचपेचले बारम्बार एकअर्कालाई चिढ्याइरहने मस्क र एओसीबीचको वाक्युद्धकै सिलसिलाका रूपमा उक्त व्यंग्यलाई लिन सकिन्छ । तर राम्ररी तयारसमेत नभएको मेटाको पछिल्लो एप ‘थ्रेड्स’ का कारण उनको स्टाटस बढी चर्चित बन्यो । 

‘एउटा अर्बपतिको कल्पना गर्नुस्, जसले आफ्नो थैलीमा गडबड गरेर यतिविघ्न असह्य वातावरण बनायो कि ऊबाट भाग्नकै लागि झन्डै दस करोड मानिसले भर्खरै खुलेको एउटा प्लेटफर्ममा साइन अप गरिसके,’ एओसीले लेखेकी छन् । पाँच दिनमै १० करोड व्यक्तिलाई आफ्नो प्लेटफर्ममा गाँस्न सफल यो सञ्जालमा साकिरा, जेनिफर लोपेजदेखि सेलिना गोमेज, जस्टिन बिबर, ड्रेक, मिस्टर बिस्ट, द रक, किम कार्दासियनलगायत सेलेब्रिटी ओइरिइसकेका छन् । एओसीको लिपस्टिकबारेको कमेन्टबाट सुरु भएको मस्क र न्युयोर्ककी यी सांसदबीचको घोचपेच मस्कले प्रतिमहिना ८ अमेरिकी डलरमा ब्लु टिक बेच्न थालेको प्रसंग, डेटिङ हुँदै पछिल्लो क्रममा आइपुग्नु एउटा उदाहरण मात्रै हो । 

करिब एक वर्षअघि ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेयता निरन्तर राम्रा/नराम्रा दुवै कारणले चर्चामा रहन मन पराउने विश्वकै धनी अर्बपतिले ट्वीटरलाई एकपछि अर्को समस्यामा पार्दै आएका छन् । विज्ञापनबापतको आय आधाभन्दा कम हुनु, ठूलो संख्यामा कर्मचारी निकालिनु, विवादित र भ्रामक सूचना फैलाउने व्यक्तिलाई प्लेटफर्ममा फिर्ता बोलाउनु र अर्का टेक अर्बपति मार्क जुकरबर्गसँग कुस्ती नै खेल्ने घोषणा गरेर मस्क हल्लाको केन्द्र बन्ने गरेका छन् । केही समयअघि मात्रै मेटाले ट्वीटरको प्रतिस्पर्धी एप बनाउँदै छ भन्ने विषयको एउटा

ट्वीटर थ्रेडमा उत्तर दिने क्रममा मस्कले आफू जुकरबर्गसँग ‘केज फाइट’ अर्थात् फलामको रिङमा खेलिने कुस्तीका लागि तयार रहेको बताएका थिए । सोही ट्वीटको स्क्रिनसट राखेर जुकरबर्गले पनि ‘सेन्ड मि द लोकेसन’ अर्थात् ठाउँ भन भन्ने खालको जवाफ दिएर चुनौती स्विकारेका थिए । 

पछिल्लो समय मस्कले आफ्नो सञ्जालमा प्रतिदिन कतिवटा ट्वीट हेर्न पाइने भन्ने कोटा तोकेपछि प्रयोगकर्तामाझ निराशा छाएको थियो । यही मौका छोपेर मेटाले ट्वीटरजस्तै आफ्नै प्लेटफर्म निकाल्ने घोषणा गरिदियो । हुन त थ्रेड्सको घोषणा केही समयअघि नै भएको थियो र सो एप यो वर्षको अन्त्यसम्ममा आइसक्ने चर्चा थियो । तर मस्कको हावादारी र अराजक शैलीले प्रतिस्पर्धा र वैकल्पिक प्लेटफर्म दुवैका लािग वातावरण बनाइदिएको विश्लेषकहरू बताउँछन् । ‘के मस्क प्रतिभाशाली व्यक्ति हुन् ? पक्कै हुन्, आफ्ना प्रतिद्वन्द्वीलाई अवसर प्रदान गर्ने प्रतिभा उनमा छ,’ द गार्डियनकी स्तम्भकार भान ब्याडहमले लेखेकी छन् । 

१७ वर्ष पुरानो ट्वीटर एपमा विभिन्न अलोकप्रिय व्यवस्था लागू गर्ने मस्कको निर्णयसँगै द्रुत गतिमा विकास भइरहेका साना कम्पनीहरूको फिचर निर्लज्ज रूपमा चोरी गर्ने र उस्तै परे ती कम्पनी नै किनिदिने फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनी मेटाको पुरानो बानीले थ्रेड्स जन्मिएको हो । यो एप दुरुस्त ट्वीटरजस्तै भएकाले मस्कले अब जुकरबर्गसँग कुस्ती मात्रै नभएर कानुनी लडाइँ पनि भिड्ने चेतावनी दिएका छन् । मेटाले ट्वीटरजस्तै एप बनाउन ट्वीटरका पूर्वकर्मचारीलाई लोभ्याएर काममा राखेको, ट्वीटरको ट्रेड सिक्रेट र अन्य संवेदनशील जानकारीहरू चोरी गरेको ट्वीटरको आरोप छ ।

मस्कका निजी वकिल एलेक्स स्पिरोले गत साता मेटाका सीईओ जुकरबर्गलाई पठाएको भनिएको पत्रमा ट्वीटरले आफ्नो कम्पनीको ट्रेड सिक्रेट र अन्य गोप्य जानकारीको प्रयोग यथाशीघ्र रोक्न माग गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । मेटाले भने ट्वीटरको दाबी अस्वीकार गरेको छ । ‘थ्रेड्समा आबद्ध कुनै पनि इन्जिनियर समूहमा ट्वीटरका पूर्वकर्मचारी छैनन्,’ मेटाका सञ्चार निर्देशक एन्डी स्टोनले थ्रेड्समा लेखेकी छन्, ‘त्यस्तो हुनै सक्दैन ।’ 

मेटाले गत बुधबार मात्रै इन्स्टाग्राममा आधारित ट्वीटरजस्तै प्लेटफर्म सार्वजनिक गरेको हो । इन्स्टाग्राम इन्स्टल भएको डिभाइसमा थ्रेड्स डाउनलोड गरेपछि इन्स्टाका फलोअर स्वतः यसमा जोड्न सकिन्छ । यो एपलाई भविष्यमा विकेन्द्रित प्लेटफर्म बनाउने मेटाको योजना छ । त्यसो हुँदा यसबाट अन्य कम्पनीका एपका प्रयोगकर्तासँग पनि अन्तर्क्रिया गर्न मिल्नेछ । 

सार्वजनिक भएको पहिलो सात घण्टामै एक करोड प्रयोगकर्ताले थ्रेड्स एप इन्स्टल गरेको जुकरबर्गले बताएका थिए । पाँच दिनभित्र दस करोडभन्दा धेरैले साइन अप गरेपछि यो एप इन्टरनेट इतिहासमै सबैभन्दा छिटो प्रयोगकर्ता बटुल्न सफल अनलाइन प्लेटफर्म बनेको छ । यसअघि एआई च्याटबट ‘च्याट जीपीटी’ ले दुई महिना लगाएर यत्तिका संख्यामा प्रयोगकर्ता जुटाएर कीर्तिमान कायम गरेको थियो । थ्रेड्समा पाँच सय अक्षरसहित फोटो र पाँच मिनेटसम्मका भिडियो पोस्ट गर्न मिल्छ । हालसम्म यसमा कुनै विज्ञापन आउँदैन र भेरिफिकेसनका लागि पैसा पनि तिर्नु पर्दैन । उता ट्वीटरमा भने पैसा तिरेपछि जो कसैले ब्लु टिक प्राप्त गर्छन् । 

द गार्डियनको समाचारअनुसार प्लेटफर्मभित्र विभिन्न अलोकप्रिय हेरफेरसँगै थ्रेड्स सार्वजनिक भएयता ट्वीटरको ट्राफिक (प्रयोगकर्ताको संख्या) घटिरहेको छ । क्लाउडफ्लेयर नामक इन्टरनेट सेवा प्रदायक कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ को सुरुदेखि नै ट्वीटर गिर्दो अवस्थामा थियो । पछिल्लो समय यसका प्रयोगकर्ताहरू थ्रेड्स, ब्लुस्काइ, मास्टोडनजस्ता वैकल्पिक प्लेटफर्मतर्फ मोडिएका छन् । ट्वीटरले थ्रेड्ससँग जोडिएका लिंकहरू ब्लक गरिरहेको र ट्वीट हेर्न लगइन गर्नुपर्ने पछिल्लो व्यवस्था खारेज गर्ने योजना बनाएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन् । 

ट्वीटरमा भद्रगोल चलिरहेको मौका छोपेर मेटाले हतारमा थ्रेड्स सार्वजनिक गरेको हुनाले यसमा हाल एकाउन्ट बन्द गर्ने, ट्रेडिङ ह्यासट्यागहरू सर्च गर्ने जस्ता कतिपय फिचर उपलब्ध छैनन् । थ्रेड्स डिलिट गर्दा इन्स्टाग्रामको एकाउन्टसमेत डिलिट हुनुलाई कतिले त ‘जालमा फसाउन खोजिएको’ भन्दै आक्रोश व्यक्त गर्न थालेका छन् । यसका साथै सबैभन्दा गम्भीर कुरा चाहिँ थ्रेड्स एपले प्रयोगकर्ताको वैयक्तिक विवरण वा तथ्यांक संकलन र प्रयोग गर्ने विषयमा सूचना प्रविधि तथा डिजिटल राइटसम्बन्धी जानकारहरूले प्रश्न गरिरहेका छन् । प्रयोगकर्ताको डेटा र गोपनीयतासम्बन्धी प्रावधान प्रस्ट नभएकाले नै युरोपेली संघमा मेटाले थ्रेड्स उपलब्ध गराउन सकेको छैन । 

मेटाजस्तो खर्बौं प्रयोगकर्ता भएको ठूलो प्रविधि कम्पनीले नयाँ सोसल नेटवर्क सार्वजनिक गरेर अन्य प्रतिस्पर्धीलाई पाखा लगाउने किसिमको पहल प्रविधि क्षेत्रमा पहिले पनि भएकै थिए । रमाइलो के छ भने सन् २०११ ताका फेसबुक (हाल मेटा) लाई नै पाखा लगाउने गरी गुगलले गुगल प्लस सार्वजनिक गरेको थियो । हाल थ्रेड्सलाई जसरी ‘ट्वीटर किलर’ का रूपमा आशंका गरिएको छ, गुगल प्लसलाई त्यो बेला धेरैले ‘फेसबुक किलर’ का रूपमा व्याख्या गरेका थिए । तत्कालीन समयमा गुगलका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ खर्बभन्दा बढी भएकाले यत्रो ठूलो जमात गुगल प्लसमा आए फेसबुक डुब्ने अनुमान गरिएको थियो । 

सार्वजनिक भएको एक वर्षमा गुगल प्लसका प्रयोगकर्ता ४० करोड पुग्दा यसलाई भविष्यको सबैभन्दा ठूलो सोसल मिडिया साइटका रूपमा समेत कतिपयले अर्थ्याएका थिए । आफ्ना प्लेटफर्म फेसबुक र ट्वीटरभन्दा ठूलो हुने गुगलको अपेक्षाविपरीत सन् २०१३ देखि नै यसको प्रगति सुस्ताइसकेको छ । सन् २०१८ मा सुरक्षासम्बन्धी समस्याका कारण पाँच लाखभन्दा धेरै प्रयोगकर्ताको वैयक्तिक विवरण सार्वजनिक भएपछि गुगल प्लस थप समस्यामा पर्‍यो । त्यसको केही समयपछि कम्पनीले गुगल प्लस बन्द नै गर्ने घोषणा गर्नुपरेको थियो । 

‘स्थापित सोसल मिडियासँग प्रतिस्पर्धा गर्न नयाँलाई गाह्रो हुने गुगल प्लसको असफलताले देखाउँछ,’ न्युयोर्क टाइम्सका सोसल मिडिया पत्रकार माइक आइज्याक लेख्छन्, ‘सिलिकन भ्यालीका ठूला कम्पनीहरू आफ्नो ठूलो आकार र अन्य सुविधाका कारण थप ठूला भएका छन् । तर गुगल प्लसको उदय र अन्त्यले ठूलोपन एक्लैले सोसल मिडिया बजार जित्ने ग्यारेन्टी गर्दैन भन्ने देखिन्छ ।’

गुगलका प्रयोगकर्ताको ठूलो संख्यालाई तानेर बजार कब्जा गर्ने उद्देश्यले हडबडीमा सार्वजनिक गर्दा गुगल प्लस प्लेटफर्म असफल भएको आइज्याकको ठहर छ । यही चुनौती जुकरबर्गलाई पनि हुने र यसबाट बच्न उनले थ्रेड्सलाई कसरी हुन्छ आकर्षक बनाइराख्नुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन् । तर, आफ्ना प्रयोगकर्तालाई नयाँ एपमा सार्ने मामिलामा जुकरबर्ग निकै अनुभवी भएकाले यसमा पनि उनी तगडा बन्न सक्ने अर्काथरी विश्लेषकको भनाइ छ । सन् २०१४ मा फेसबुकको प्राइभेट म्यासेजिङ सेवा हटाएर जुकरबर्गले प्रयोगकर्तालाई म्यासेन्जर एप डाउनलोड गर्न बाध्य पारेका थिए ।

युवा ग्यालरी

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully