‘द ट्रेन अफ साल्ट एन्ड सुगर’ र ‘प्रकाश’ उत्कृष्ट

असार २७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — दिनेश राउत निर्देशित ‘प्रकाश’ नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०२३ मा नेपाली फिल्मतर्फको प्रतिस्पर्धामा उत्कृष्ट भएको छ । अफ्रिकी फिल्मतर्फ भने मोजाम्बिकको लिसिनियो एजेभेदो निर्देशित ‘द ट्रेन अफ साल्ट एन्ड सुगर’ उत्कृष्ट घोषित भएको छ । 

अफ्रिकी प्रतिस्पर्धातर्फ ‘या’ सर्ट फिल्मबाट इसी ह्यामोहले जुरी अवार्ड प्राप्त गरेकी छन् । जिम्बाबेको ‘कलिङ द डेड’ उत्कृष्ट अफ्रिकी डकुमेन्ट्री घोषित भएको छ । नेपाली प्रतिस्पर्धातर्फ फिल्म ‘प्रकाश’ बाट विकास सुवेदीले उत्कृष्ट पटकथा लेखक र ‘प्रकाश’ कै ‘मान्छे मान्छे’ गीतबाट एलिश कार्कीले संगीतकारको अवार्ड प्राप्त गरे ।

‘प्रेमगन्ज’ बाट तेज गिरी उत्कृष्ट अभिनेता, ‘भाग्य’ बाट नीता ढुंगाना उत्कृष्ट अभिनेत्री, ‘भाग्य’ बाटै रोशनकुमार श्रेष्ठ उत्कृष्ट निर्देशक, अभिनेता यशराज गराचले जुरी अवार्ड, सुनिल कटुवालले सहअभिनेताको अवार्ड जिते । उत्कृष्ट सहअभिनेत्रीको अवार्ड ‘परिवार’ बाट बसुन्धरा भुसालले जितिन् । 

विजेतालाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजित बाँस्कोटालगायतले अवार्ड प्रदान गरेका छन् । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्ड र लक्षण क्रिएसनको सहआयोजनामा सम्पन्न फेस्टिभलमा ११ अफ्रिकी मुलुकका १२ गरी कुल २२ फिल्म देखाइएको हो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully