साइकलमा सरर

पछिल्लो समय सहरी क्षेत्रमा नियमित साइकल चढ्नेको संख्या बढ्दै गएको छ । सवारी चालक अनुमतिपत्र र इन्धन नचाहिने, कर तिर्नु नपर्ने, मर्मत खर्च पनि खासै नलाग्ने र वातावरणीय दृष्टिकोणका लागि पनि उपयोगी भएकाले साइकलप्रतिको आकर्षण बढेको हो । 

असार २७, २०८०

प्रशान्त माली

काठमाडौँ — काठमाडौं बुढानीलकण्ठकी अधिवक्ता कविता रेग्मी दैनिक करिब दस किमि साइकल कुदाएर कमलादीस्थित कार्यालय पुग्छिन् । उनले निरन्तर साइकल चढ्न थालेको पति तीन वर्ष नाघिसक्यो । अझ बिदाको दिनमा त साथीभाइ जम्मा भएर ‘साइक्लिङ कल्चर’ प्रवर्द्धन गर्न कहिले शिवपुरी, गोकर्ण त कहिले गोदावरी, नागार्जुन, चोभार, स्वयम्भूसम्म पुग्छिन् । ‘सुरु–सुरुमा साइकल चलाउन निकै गाह्रो भयो । अहिले त बानी पनि परिसक्यो । दैनिक २० किमिसम्म सजिलै यात्रा गर्छु,’ उनी भन्छिन् । 

साइकल चलाउन सवारी चालक अनुमतिपत्र पनि चाहिँदैन । ‘अझ इन्धन नचाहिने, कर तिर्नु नपर्ने र मर्मत गर्न पनि खासै खर्च लाग्दैन,’ उनले भनिन् । उनले आफ्नो साइकलको नाम ‘द्विचक्रिका’ राखेकी छन् । साइकल स्वास्थ्यका लागि मात्रै होइन, वातावरणका लागि पनि उपयोगी हुने भएकाले उनी अरूलाई पनि साइकलबाट यात्रा गर्न सुझाव दिन्छिन् । 

कार्यालय वा अन्यत्र कतै जान परोस् सम्भव भएसम्म नियमित साइकल चढ्छन् कुपन्डोलका कमलजित सिंह सुदन । उनले मोटरसाइकल बेचेर साइकल चढ्न थालेको पाँच वर्ष बितिसकेको छ । उनी छोटो दूरी पैदल यात्रा, मध्यम दूरी साइकल र लामो दूरी सार्वजनिक बसमा यात्रा गर्नुपर्ने मान्यता राख्छन् । भन्छन्, ‘विदेशमा साइक्लिङ गर्नेलाई प्रोत्साहन गरिन्छ । तर नेपालमा भने गरिबले चढ्ने साधनका रूपमा हेर्नाले समस्या भएको छ ।’ तर पछिल्ला दिनमा यो बुझाइ बिस्तारै परिवर्तन हुँदै आएकोमा भने उनी खुसी छन् । उनका अनुसार काठमाडौंमा एकबाट अर्को स्थानसम्म पुग्न बढीमा २० किमि यात्रा गरे पुग्छ । ‘ठाडो उकालो/आरालो पनि छैन । वातावरण पनि धेरै गर्मी र त्यति चिसो छैन,’ उनले भने, ‘जोकोहीले पनि सहजै यात्रा गर्न सकिन्छ ।’ 

बौद्धका पुष्पराज दाहाल साइकलले प्रकृति र व्यक्तिहरूसँगको सम्बन्ध जोड्ने बताउँछन् । दैनिक कार्यालय साइकलबाट पुग्ने उनी साइक्लिङ प्रवर्द्धन गर्नकै लागि कहिले नेपालगन्ज, भैरहवा, सिमरा र नेपाल–चीन सीमासम्म पुगेका छन् । भन्छन्, ‘पन्चर बनाउने जस्ता सामान्य मर्मत आफैं गर्छु । तीन वर्षदेखि अहिलेसम्म साइकलकै लागि छुट्टै पैसा खर्च भएको छैन ।’

दैनिक कामकाजमा साइकल प्रयोग गर्ने यी प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै पठाओ, खाना तथा सामान डेलिभरी गर्नेहरूले पनि नियमित साइकल चलाउँछन् । काठमाडौंमा ०५५ सालसम्म साइकलको निकै प्रयोग हुन्थ्यो । प्रत्येक घरमा साइकल हुन्थे । उपत्यकामा ज्यापू समुदाय, कर्मचारी, व्यापारीलगायतले साइकल प्रयोग गर्थे । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा धेरै साइकल पसल पनि थिए । साइकल भाडामा लिएर चलाउन पाइने व्यवस्था पनि थियो । तराई मधेसमा पनि लाखौं नेपालीको दैनिकी साइकलसँग जोडिएको थियो । विराटनगर, नेपालगन्ज, जनकपुर, वीरगन्ज, चितवनलगायत सहरमा साइकल नै यातायातको प्रमुख साधन थियो ।

करिब डेढ दशकयता भने नेपालमा साइकल प्रयोग गर्नेको संख्या ओरालो लागेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कुल ६६ लाख ६० हजार ८ सय ४१ घरधुरीमध्ये ३५.२४ प्रतिशत अर्थात् २३ लाख ४७ हजार ४ सय ३३ घरघुरीमा मात्र साइकल छ । सहरी क्षेत्रमा १७ लाख १९ हजार ३ सय २१ र ग्रामीण क्षेत्रमा ६ लाख २८ हजार एक सय १२ घरधुरीमा साइकल छन् । सहरमा भने सोखका लागि साइकल राख्ने चलन छ । हिमाल, पहाड र तराई क्षेत्रमा क्रमशः ४ हजार ६०, २ लाख १८ हजार ५ सय ७३ र २१ लाख २४ हजार ८ सय घरघुरीमा साइकल उपलब्ध छ ।

सोसियल टुर्स संस्थाका फाउन्डर राज ज्ञवालीले नेपालमा ‘साइक्लिङ कल्चर’ विकास गर्न साइकलसँग जोडिएको विभिन्न संघसंस्थाले आ–आफ्नो क्षेत्रबाट भूमिका खोलिरहेको बताउँछन् । ‘कुनै पनि विषयलाई ‘कल्चर’ का रूपमा विकास गर्न समय लाग्छ,’ उनले भने । पछिल्लो समय साइकल प्रवर्द्धन गर्न जनप्रतिनिधिहरूले पनि बिस्तारै साथ दिन थालेको उनको भनाइ छ । टुर्सले साइक्लिङ कल्चर प्रवर्द्धन गर्न १२ वर्षदेखि ‘काठमाडौं कोरा साइक्लिङ च्यालेन्ज’ आयोजना गर्दै आइरहेको छ । उनका अनुसार आउँदो असार ३० मा काठमाडौंलगायत धरान, दमक, बिर्तामोड, विराटनगर, वीरगन्ज, नेपालगन्ज, चितवनलगायत १९ सहरमा एकै पटक काठमाडौं कोरा हुन लागेको छ । ज्ञवालीले यस पटक टर्कीका भूकम्पपीडितलाई सहयोगार्थस्वरूप आयोजना गर्न लागेको बताए । ‘नेपालमा २०७२ मा भूकम्प जाँदा सहयोग गरेबापत हामीले पनि सहयोग गर्न लागेका हौं,’ उनले भने 

विश्वमा साइकलको देश भनेर नेदरल्यान्ड्सलाई चिनिन्छ । प्रधानमन्त्रीसमेत साइकल चढेर कार्यालय पुग्छन् । त्यहाँको सरकारले सन् २०४० सम्ममा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । प्रत्येक १० मध्ये ९ जनासँग साइकल हुने डेनमार्कमा करिब ५० प्रतिशत यात्रुले साइकल प्रयोग गर्छन् ।

विद्यालय जाने बालबालिकाबीच साइकल लोकप्रिय छ । पुरुषभन्दा महिलाले बढी साइकल चलाउँछन् । कम खर्चमा यात्रा गर्न सकिने भएकाले सरकारी तवरबाटै साइकल चालकलाई प्रोत्साहन गर्नुपर्ने साइकल प्रवर्द्धनमा लागेकाहरू बताउँछन् । ‘पछिल्लो समय बढी मृत्युको कारण प्रदूषण र सवारी दुर्घटना हुन थालेको तथ्यांक छ । नेपालमा अझै साइकल चलाउनुका फाइदाबारे मानिसहरू पर्याप्त मात्रामा सचेत छैनन्,’ साइकल सिटी नेटवर्क नेपाल संस्थाका निवर्तमान अध्यक्ष सैलेन्द्र डंगोलले भने ।

 उपत्यका मात्र नभई सडक सुविधा नपुगेका ग्रामीण र हिमाली पर्यटन विकास गर्न पनि साइकल भरपर्दो विकल्प हुने उनको भनाइ छ । ‘काठमाडौंको सवारी चाप, साँघुरा सडकमा साइकल एकमात्र विकल्प हो । यसले ट्राफिक जाम, पार्किङ समस्या पनि समाधान हुन्छ,’ उनले भने । उनले साइकलको विकास गर्न ललितपुर महानगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, कञ्चनपुरको भीमदत नगरपालिकासँग सहकार्य गरेर काम गरिरहेका छन् । 

ललितपुर महानगरले साइक्लिङ कल्चर विकास गर्न आगामी आर्थिक वर्षका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तुलसीपुर उपमहानगरले भने ५.२ किमि साइकल लेन बनाइसकेको र पछिल्लो समय साइकल स्ट्यान्ड निर्माण गर्ने योजना बनाइरहेको वातावरण शाखा प्रमुख माधव पौडेलले बताए । काठमाडौं महानगरले पनि साइकल प्रवर्द्धनका लागि योजना अघि बढाउने प्रवक्ता नवीन मानन्धरको भनाइ छ । तर महानगरले अगामी आर्थिक वर्षका लागि भने बजेट विनियोजन गरेको छैन । 

साइकल कल्चर मुभमेन्टका संयोजक तारालाल श्रेष्ठले साइक्लिङको महत्त्व बुझाउन नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै जानुपर्ने बताउँछन् । ‘अहिले पेट पाल्न र पेट फाल्न दुवै कामका लागि साइकल चाहिएको छ,’ उनले भने । जनस्वास्थ्यविद्हरूका अनुसार साइकल चढ्दा शरीरमा रक्तसञ्चार राम्रो हुने र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । ढाड र घुँडा दुख्ने समस्या भएकालाई साइकल बरदान नै हो । 

साइकल व्यवसायीका अनुसार बजारमा सिटी साइकल, हाइब्रिड, माउन्टेन्ट क्याजुअल, क्रस कन्ट्री (डाँडा पार गरेर जान प्रयोग गरिने), ट्रेल (डाँडाबाट तल तीव्र गतिमा झर्न प्रयोग गरिने) गरेर ७ लेबलसम्मका साइकल पाइन्छन् । जसको बजार मूल्य पाँच हजार रुपैयाँदेखि साढे दुई लाख रुपैयाँसम्म पर्छ ।

कान्तिपथस्थित पुरानो पञ्चअष्ट नारायण साइकल पसलका सञ्चालक तिरेक मानन्धरका अनुसार नेपालमा सबभन्दा बढी सिटी साइकल र माउन्टेन्ट क्याजुअल र क्रस कन्ट्री साइकल बिक्री हुने गरेका छन् । ‘सस्तो खरिद गरेर चाँडै बिग्रिने समस्याले मानिसहरू हैरान छन्,’ उनले भने, ‘ब्रान्डेड चलाएमा हतपत बिग्रिँदैन । जुन सामान्यतः १५ हजार रुपैयाँमा आउँछ ।’ नेपालमा साइकल चीन, ताइवान र इन्डोनेसियाबाट आउने गरेको छ ।

तस्बिरहरू : केशव थापा/कान्तिपुर

युवा ग्यालरी

प्रशान्त

Link copied successfully