कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

गाउँ रोजेका डाक्टर

असार २५, २०८०
गाउँ रोजेका डाक्टर

Highlights

  • बंगलादेशबाट एमबीबीएस गरेका बागलुङका राजेश आफ्नै गाउामा फर्किएर सेवा गरे । त्यसपछि काठमाडौंको वीर अस्पतालबाट एमजीडीपी गरेका उनी हाल गलकोट नगर अस्पताल प्रमुख हुन् । 

बागलुङ — सुरुको पढाइ त उनको संस्कृत हो । संस्कृत मावि बेलबगरको पढाइमा उनी अब्बल थिए । २०६० को एसएलसीपछि उनी मेडिकल क्षेत्रको पढाइमा जान चाहन्थे । संस्कृत पढे पनि अंग्रेजी भाषा राम्रो थियो ।

जैमिनी नगरपालिका–७ जैदीको सामान्य परिवारका राजेश पौडेलले खर्च जुटाएर डाक्टर पढ्न सक्ने अवस्था रहेन । हेल्थ असिस्टेन्ट पढे । काठमाडौंस्थित नेपाल इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्समा एचए पास गरेपछि उनले राजधानी बसेर जागिर खोजेनन् । गाउँ फर्किए ।

बागलुङका व्यवसायीले खोलेको मुक्तिनाथ अस्पतालमा दुई वर्ष काम गरे । उनले जिल्लामा बसेर काम गरेरै एमबीबीएस पढाइको तयारी गरिरहेका थिए । २०६७ मा उनले बंगलादेशको ‘यूएसटीसी’ कलेजमा पढ्ने अवसर पाए । पढुन्जेल विदेश बसेका पौडेल पढाइ सक्नेबित्तिकै नेपाल फर्किए । काठमाडौंको नर्भिक अस्पतालमा एक वर्ष मेडिकल अधिकृत भएर काम गरेका उनले फेरि गाउँ रोजे । बागलुङकै गलकोटस्थित इमर्जेन्सी पोलिक्लिनिकमा काम थाले ।

२०७३/७४ मा दुई वर्ष गलकोटमा काम गर्दा उनले आफ्नो परिचय बदले । उत्कृष्ट डाक्टरका रूपमा उनलाई गलकोटवासीले सम्मान गरे । उनले पनि समय पुग्दासम्म गलकोटमै काम गर्ने चाहना राखेका थिए । मिहिनेत र इमानदारीसाथ काम गरेकाले पौडेलप्रति धेरैको विश्वास छ । सामान्य समस्या भए पनि पौडेललाई देखाउने गलकोटेको बानी परिसकेको थियो । उनको दुईवर्षे योगदानले गलकोटका जनप्रतिनिधिले समेत पौडेललाई आफ्नो क्षेत्रमा राख्ने सोच बनाइसकेका थिए । ‘बस्नैपर्ने डाक्टरले सदरमुकामका अस्पतालमा पनि काम गर्दैनन्, उनले आफैं गाउँ रोजेर आए,’ गलकोट–५ का अध्यक्ष पवन हमालले भने, ‘सबैले यस्तो सोचिदिने हो भने ग्रामीण क्षेत्रमा स्वास्थ्य समस्या हुँदैनथ्यो ।’ पौडेलको उपस्थितिले नगर अस्पताल अब्बल बन्ने हमालले बताए ।

काममा व्यस्त भए पनि पौडेलले पढाइ भने रोकेनन् । वीर अस्पतालस्थित राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट उनले एमजीडीपी पास गरे । विशेषज्ञता हासिल गरेर पनि उनको पहिलो रोजाइ गाउँ नै बन्यो । ‘वीर अस्पतालबाट एमजीडीपी सकेकालाई त्यहीं, नभए पनि राजधानीका धेरै अस्पतालमा अवसर मिल्छ । तर उनले फेरि गलकोट रोजे,’ गलकोट नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘त्यस्तो डाक्टरलाई हामीले ल्याएर राख्न सकेका छौं ।’ नगर अस्पताल स्थापना गरेर पनि गाउँमा सेवा गर्ने डाक्टर नपाएका बेला राजेशले गलकोट सम्झेर आइदिएको उनले बताए । पढाइ सकेलगत्तै गत माघमा बागलुङ आएका पौडेललाई गलकोट नगर अस्पताल प्रमुख नियुक्त गरियो । उनलाई धौलागिरि अस्पतालले पनि राख्न खोजेको थियो, तर गलकोट छाड्न मानेनन् । नगरले अस्पताललाई नै प्रतिष्ठाको विषय बनाएर लगानी गरेको पौडेल बताउँछन् ।

सदरमुकामदेखि ५० किमि पश्चिमको हरिचौरमा उनी डेरा जमाएर बसेका छन् । हरिचौरमा पुगेर बस्दा उनले नगर अस्पताललाई अब्बल बनाउन पहल गरेका छन् । उनले त्यहाँ पुगेर काम गरेको ६ महिनामा अस्पतालको सुधार गरिसकेका छन् । यसअघि नै हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई वर्षअघि नगर अस्पताल बनाउने निर्णय गरिएको थियो । तर डाक्टर नआउने समस्याले सेवा प्रभावित भइरहेका बेला पौडेलको आगमनले गलकोटले सुविधासम्पन्न अस्पताल बनाउन सक्यो । अर्का डाक्टर मनोज कार्की पनि पौडेलसँगै खटिएका छन् ।

पौडेल नेतृत्वमा अस्पतालमा अपरेसनसहितको सुत्केरी सेवा दिने तयारी छ । ‘अब जनरल उपचार मात्र गरेर बस्ने हैन, अपरेसनका सेवा पनि गाउँमै दिने हो,’ उनले भने, ‘आवश्यक केही उपकरण खरिदको तयारी छ ।’ उपकरण आएपछि अपरेसन सेवा दिने उनले बताए । अस्पतालमा डिजिटल एक्सरे, एम्बुलेन्स सेवा, १५ शय्याको बिरामी वार्ड, इमर्जेन्सी सेवासहित हाडजोर्नी, बाल उपचार कक्ष र प्रसूति सेवाको छुट्टै कक्षसमेत बनिसकेको छ । भिडियो एक्सरे गर्न पाएपछि गर्भवती महिला सदरमुकाम र पोखरा जान छाडेका छन् ।

पौडेलकै नेतृत्वमा साउनदेखि नै अपरेसन सेवा सञ्चालन हुँदै छ । पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा जिल्ला अस्पतालसरहको सेवा प्रवाह गरेको छ नगर अस्पतालले । फागुनमा ३५ जनाले मात्रै इमर्जेन्सी सेवा पाएकोमा चैतमा ४८, वैशाखमा १ सय ४७ र जेठमा १ सय ८८ जनाको उपचार गराएको छ । ओपीडीतर्फ जेठमा मात्रै २ हजार ५ सय ७८ जनाले सेवा लिएका छन् । यहाँ पोस्टमार्टम सेवा, आँखा उपचार र परिवार नियोजन सेवा पनि सञ्चालनमा छ । ‘आवश्यक उपकरण तयार भएपछि हामीले जिल्ला अस्पतालसरह सेवा प्रवाह गर्छौं,’ डा. पौडेलले भने, ‘यो सेवालाई स्थायी र प्रभावकारी बनाउन कोषसमेत व्यवस्थापन गर्दै छौं ।’

भरपर्दो सेवाको निरन्तरता नभई गलकोट छाडेर अन्त नजाने उनले बताए । सदरमुकामदेखि टाढाका जनताले पनि स्वास्थ्य सेवा पाउनुपर्छ भनेर उनले काम गरेका छन् । यहाँ गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट आउनेले स्वास्थ्य सेवा लिने गरेका छन् । स्वास्थ्य मन्त्रालयले ‘ओएनएम’ सर्भे नगर्दा यहाँ पाउनुपर्ने दरबन्दी नपाएपछि नगरले भने अझै पूरा हुन नसकेको हो । मन्त्रालयबाट पाउनुपर्ने छात्रवृत्ति कोटाका चिकित्सक पाउन नसकेकाले नगरको आन्तरिक स्रोत परिचालन गर्नुपरेको हमालले बताए । ओएनएम सर्भे भएमा यहाँ तीन जना डाक्टर पाउने व्यवस्था छ ।

प्रकाशित : असार २५, २०८० १२:०४
×