जापान जाने भिसा लागेर पनि गीतसंगीतका कारण देशमै रोकिएका बलाराम विश्वकर्मा हिमालय लोकस्टार सिजन–२ का विजेता हुन् । लोकस्टारको उपाधि जितेपछि उनी त्यही खुसी बोकेर करिब ९ वर्षपछि जन्मघर फर्किए ।
रुकुम पश्चिम — ‘आज मुटु दुखेनस् किनछोडिस् क्या हो मायालाई सम्झिन...’हिमालय लोकस्टार सिजन–२ का विजेता बलाराम विश्वकर्माको गीत हो यो । रुकुम पश्चिमका बलारामले यहाँसम्म आइपुग्न जीवनमा निकै संघर्ष गरेका छन् । सानीभेरी गाउँपालिका–३ गोलडाँडामा जन्मेका उनका लागि लोकसंगीत नै विदेश नजाने बहाना बन्यो । ‘गाउँबाट जापान जान भनेर काठमाडौं पसेको मलाई गीसंगीतको मायाले देशमै रोक्यो,’ उनले भने, ‘लोकस्टारको ताज पहिरिएपछि एउटा सपना त पूरा भयो, तर अरु कैयौं जन्मिए ।’
गोलडाँडा वरपर उकालीओराली गर्दै बाल्यकाल गुजारेका बलारामले कक्षा १२ सम्म गाउँकै राप्ती ज्ञानोदय विद्यालयमा पढे । त्यसपछि जापानको सपना देखेर २०७१ सालमा काठमाडौं पुगेका हुन् उनी । ‘स्टुडेन्ट भिसामा जापान जान भाषा पढ्न थालें,’ उनले भने, ‘करिब एक वर्षपछि जापानको भिसा पनि पाएँ । तर खै किन हो कुन्नि जापान जाने रहर यसै मर्यो ।’
खासमा सुरुमा उनी गीत रेकर्ड गरेर मात्रै जापान जाने सोचेका थिए । ‘म सानैदेखि गीत गाउने गर्थें । जापान जाने तयारी गरिरहेकै बेला दाइ (ठूलो बुबाका छोरा) एउटा गीत रेकर्ड गर्न सुझाए । सुरुमा नमानेका उनले केही समयमा गीत रेकर्ड गराए ।’
गीत थियो– ‘सम्झनाको तरेलीमा...’ । सागर विश्वकर्माको शब्दमा किरणबाबु पुनको लय तथा संगितको गीमा उनलाई साथ दिइन् गायिका पूर्णकला बिसीले । ‘पहिलो गीतबाट मलाई राम्रै प्रतिक्रिया मिल्यो । गायकीको प्रशंसा भयो ।’ जापान जानुपर्ने बलाराम पहिलो गीतबाट आएका प्रतिक्रियाले हौसिए । त्यसपछि भने गीतसंगीतमै लाग्ने सोचेर जापानको भिसा लागिसकेको राहदानी थन्काए । घरमा ५ भाइबहिनी । बलाराम जेठो सन्तान । ‘गीतसंगीमा भविष्य पनि देख्न थालें । विदेश गएपछि भाइबहिनी र बाआमाको चिन्ताले पनि पछि हटें,’ जापान नजानुको कारणबारे उनी भन्छन् ।
जापान जाने र धनपैसा कमाएर सुखी जीवनयापन गर्ने सपनाको भारी बोकाएर बिदा गरेका बलारामका बाआमा छोराले जापान नजाने निर्णय गरेको खबरले दुःखी मात्रै भएनन्, रिसाए पनि । ‘बाआमा यति रिसाउनुभयो कि, त्यसपछिका करिब ९ वर्ष मलाई घर नै जान मन लागेन । मैले पनि यही केही न केही गरेर देखाउँछु भनेर संकल्प गरेँ । बाआमाको मन जित्न सक्ने कुनै कर्म नगरी म पनि घर जान्न भनेर काठमाडौंमै घुडाँ धस्न थालेँ ।’
खासमा पहिलो गीत रेकर्ड गरेको करिब तीन वर्षपछि मात्रै उनको अर्को गीत आयो । यसबीचमा उनको संगीत यात्राले सोचेजस्तो ‘पिकअप’ लिएन । यस्तै केही आशा र निराशाबीच शिव हमालको शब्द अनि संगीतमा ‘आज मुटु...’ बोलको गीत गाए । यो गीतले भने नसोचेको चर्चा पायो । धेरै अग्रज साधक तथा कलाकारको गजबको प्रतिक्रिया मिल्यो उनलाई । तर यसले बलारामलाई भने पुगेन । ‘यस्तो भनौं न, सिर्जना चल्यो । गीत धेरैको मुखमा गुन्जियो तर म खासै चिनिइनँ ।’
त्यसपछि भने बलारामलाई जापान नगएर गल्ती गरेछु कि भन्ने पनि भयो । ‘खेती–किसानीमा दिन गुजारिरहेका बाआमाको कमाइले त दुई छाक खान पनि मुस्किल हुन्थ्यो । भाइबहिनी बढाउने र पढाउने अनि असल मार्गमा लगाउने जिम्मेवारी मेरै थियो,’ उनी विगत सम्झिए, ‘के गर्ने, कसो गर्ने भन्ने अवस्थाबाट गुज्रिइरहेका बेला नयाँ कामबारे आइडिया आयो– काठमाडौंमा इन्जिनियरिङ कन्सल्टेन्सी खोल्ने ।’ इन्जिनियरिङ पढेको भाइको सीप र आफ्नो व्यावसायिक सोच प्रयोग गरेर खोलेको कल्सल्टेन्सीले गति लियो । ‘यो काठमाडौंमा पैसाबिना त पाइला पनि सार्न मुस्किल छ । अनेक अभावबीच हामीले सुरु गरेको व्यवसायले एउटा आकार लिन थालेपछि अलिक सहज भयो,’ उनले भने ।
सबै कुरा ठिकठाकै चलिरहेका बेला २०७९ वैशाखमा हिमालय लोकस्टरको दोस्रो सिजन हुने सूचना बाहिर आयो । एक जना साथीले कर गरेपछि प्रतियोगितामा सहभागी हुन फारम भरे । साथीकै करले अनलाइन अडिसनमा सहभागी भएको बताउँछन् बलाराम । फिजिकल अडिसन पनि पार गरेपछि भने आशा उनलाई केही गर्न सकिन्छ भन्न लाग्यो । ‘त्यसपछि बल्ल म कस्सिएँ,’ उनले भने ।
‘हातमा रातो झोला,
यति राम्रो मान्छेको, माया कस्तो होला ?’
एकनारायण भण्डारीका यिनै शब्द र लय टपक्क टिपेर लोकस्टारको फिजिकल अडिसनमा प्रस्तुत भएका बलारामले सुरुमै निर्णायकबाट राम्रो प्रतिक्रिया पाए । उनी भन्छन्, ‘नेपाली लोक संगीत क्षेत्रका मूर्धन्य व्यक्तित्वहरू कुमार बस्नेत, राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा निर्णायक हुनुहुन्थ्यो । उहाँहरूबाट प्रशंसा पाउँदा सपनाजस्तो लाग्यो ।’ लोकस्टारको ताज जित्ने सपना बोकेर हिँडेपछि बलारामले चलिरहेको कन्सल्टेन्सी बन्द गरे । ‘मेरा लागि कम्पिटिसन जित्नु मात्रै भन्दा पनि आफूलाई प्रमाणित गर्नु थियो । अनि लामो समयपछि बाआमालाई यति चाहिँ गर्न सकें है भनेर सुनाउनुथियो,’ उनले भने ।
अनलाइन र फिजिकल अडिसन पारे गरेका दुई सय प्रतियोगीबीच सुरु भयो लाइभ अडिसन । बलारामले रुकुमकै कलाकार तिलक परियारको मौलिक टप्पा भाका ‘सुन हजुर..’ गाए । ‘अग्रज कलाकारको अगाडि थरीथरीका बाजागाजा अनि सुकिलो स्टेजमा रंगीविरंगी लाइट र क्यामेरा फेस गर्न गाह्रो भए पनि आफूले शतप्रतिशत दिएँ,’ उनले भने, ‘यो अडिसन पनि पार गरेको नतिजा सुन्दा खुसीको सीमा नाघ्यो ।’
उनले गाएको टेलिभिजनबाट प्रसारण भएपछि बलारामका बाआमा, गाउँघर, छरछिमेक अनि देश–विदेशमा रहेका साथीसंगी र शुभचिन्तकले फोन म्यासेज गर्न थाले । ‘धेरै वर्षपछि बाआमा पनि खुसी हुनुभयो,’ उनी भन्छन् । लोकस्टारको टप–१६ पछि भने पब्लिक च्वाइसका लागि भोटिङ राउन्ड सुरु भयो । बलारामलाई देश तथा विदेशबाट साथ र सहयोग मिल्यो । फलस्वरूप उनी टप–६ मा परे ।
फाइनल राउन्डमा बलारामले वसन्त थापाको गीत गाए । यसपछि नतिजाको घोषणा हुने भयो बैशाख १३ मा राष्ट्रिय सभा गृहमा । टप–६ सम्म पुगेका मध्येबाट एकलाई विजेता घोषणा गर्ने कार्यक्रम आयोजना भयो । नतिजाको पर्खाइमा ढुकढुक गरेको मुटु सम्हालेर बलाराम सभागृह पुगे । टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको ग्रान्ड फिनालेमा बलारामले वसन्त थापाकै ‘डाडै फुर्के सल्लो..’ बोलको गीत गाएर ताली पाए । ६ जनालाई स्टेजमा उभ्याएर तेस्रो र दोस्रोको नाम घोषणापश्चात् उद्घोषकले विजेताको नाम सुनाए– बलाराम विश्वकर्मा ।
नगद १५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र ग्रहण गरेर लोकस्टारको ताज पहिरिएपछि बलाराम यही खुसी बोकेर करिब ९ वर्षपछि बाआमा भेट्न जन्मघर फर्किए । ‘म केही गरेरै घर फर्किन्छु भनेर यत्तिका वर्ष आइनँ । स्टारको ताज र सम्मान लिएर घर फर्किएपछि गाउँकै सम्मान पाएँ । त्यो बेला झन् धेरै खुसी लाग्यो ।’
अब झट्टै गीत गाइहाल्ने र फगत चर्चा कमाउनका लागि बजारमा छिरिहाल्ने पक्षमा भने छैनन् बलाराम । संख्यालाई भन्दा गुणस्तरलाई ध्यान दिएर गीत गाउने सोच बनाएका बलाराम तिजलगत्तै नयाँ गीत ल्याउने तयारीमा छन् ।
‘म अब हाम्रा लोक भाका र मौलिक संगीतको सम्बर्द्धनमा डटेर लाग्छु । दर्शक/श्रोताको विश्वास कायम राख्न इमानदार प्रयास गरिरहन्छु,’ उनी भन्छन् ।
