डान्स थेरापी

भारतका दिल्ली, नोएडा र मुम्बईमा पाँच वर्षसम्म नृत्य सिकेर नेपाल फर्केपछि रूपन्देहीका सुनिल गुप्ताले २०७२ मा गाउँमै कलाकेन्द्र सुरु गरे । सुरुमा बालबालिकालाई निःशुल्क प्रशिक्षण दिन थालेका उनले भैरहवामा खोलेको रुद्रदेवी कलाकेन्द्रमा तीन सयभन्दा बढीलाई नृत्य सिकाउँछन् ।

असार २१, २०८०

सन्जु पौडेल

लुम्बिनी — हरेक बिहान ४ बजे निद्रा खुल्छ । त्यसपछि उनका हातखुट्टा कुनै न कुनै तालमा नाच्न थाल्छन् । ‘फ्रेस’ भएर डेराबाट एक किलोमिटर दूरीको सिद्धार्थनगर–७, नारायणपथस्थित रुद्रदेवी कलाकेन्द्र पुग्छन् । केन्द्रका दुईवटा खुला हल सफा गर्छन् । भगवान्को मूर्तिमा बत्ती बालेपछि धुन बजाएर बिहानी कक्षाका प्रशिक्षार्थीलाई स्वागत गर्छन् ।

अनि, व्यायाम, नृत्यका साथै जुम्बा सुरु गर्छन् । रूपन्देहीको सियारी–७, अमुवाका २९ वर्षीय सुनिल गुप्तालाई अहिले बिहान ४ बजेदेखि राति ११ बजेसम्म फुर्सद छैन । दिनैभरि व्यस्त रहन्छन् । परिवारका माइला छोरा उनी दुःखमा हुर्किएका हुन् । 

पिता परमानन्द र आमा नरेमलाई पाँच सन्तान पढाउन र पाल्न हम्मेहम्मे थियो । खेती किसानी गर्ने परिवारमा नृत्य गर्ने कोही थिएन । सुनिल विद्यालय पढ्दादेखि नै माइकल ज्याक्सनको फ्यान थिए । कसैको मोबाइलमा इन्टरनेट जोडेको जानकारी पाउनासाथ भिडियो हेर्थेर् । नृत्य सिकेर पेसा बनाउने रहर भएका उनले रूपन्देहीका विभिन्न इन्स्टिच्युटमा केही समय प्रशिक्षण हासिल गरे । यहाँ सोचेजस्तो भएन । ०६६ सालमा एसएलसी परीक्षा दिएर उनी पहिलो पटक भारततिर लागे ।

‘नृत्य सिकेरै केही गर्छु भन्ने सोच बनाएर गएँ,’ उनले भने, ‘परिवार तथा छिमेकीलाई कामको खोजीमा जाँदै छु भनेको थिएँ ।’ तीन महिना मुम्बईको एक होटलमा काम गर्दै नृत्य सिकेर पुनः नेपाल फर्किएको उनले सुनाए । ‘त्यहाँ छउन्जेल २५ दिनसम्म रेलवेको प्लेटफर्ममा सुतेको थिएँ,’ उनले भने, ‘आज पनि सम्झँदा भक्कानिन्छु, कोही चिनेको थिइनँ, निदाउन सक्थिनँ । ती रात रेल चलेको र मानिसको भीड हेरेर बिताएँ ।’ २५ दिनपछि कसोकसो साथीभाइ बनाएर नृत्य सिक्ने स्थानसम्म पुगेको उनले बताए । 

फर्किएर पढ्न थाले । १२ कक्षाको परीक्षा दिएपछि पुनः भारत जाने निधो गरे । ‘दोस्रो पटक भारत जाँदा अलिकति अनुभवले सजिलो भयो,’ उनले भने, ‘नोएडा, दिल्ली र मुम्बईमा घुम्दै नृत्य सिकें ।’ त्यही अवधिमा डेंगी संक्रमित भएर थला पर्दा परिवारको यादले सताएको उनी सुनाउँछन् । भारतमा पाँच वर्षसम्म फ्रि स्टाइल, जुम्बा तथा बलिउड नृत्य सिकेपछि २०७२ मा नेपाल फर्किए । त्यसपछि गाउँमै कलाकेन्द्र सुरु गरेको उनले बताए । अमुवामा सञ्चालन गरेको एककोठे कलाकेन्द्रमा विद्यार्थी आएनन् ।

त्यसपछि त्यहाँका बालबालिकालाई निःशुल्क प्रशिक्षण दिन थाले । त्यसको एक वर्षपछि सदरमुकाम भैरहवा सरे । भैरहवामा नृत्यको आकर्षण देखेपछि रुद्रदेवी कलाकेन्द्र स्थापना गरेको उनले बताए । अहिले कलाकेन्द्रका २ वटा ठूला हलमा उनीसँगै ५ जना प्रशिक्षकले काम गरिरहेका छन् । ‘रुद्रदेवीमा हाल ३ सयभन्दा बढी प्रशिक्षार्थी आउँछन्,’ उनले भने, ‘बिहान ५ बजे सुरु हुने कक्षा राति ९ बजे सकिन्छन् ।’

बिहान जुम्बा कक्षा चल्छ । ‘कक्षामा महिला तथा पुरुष सहभागी हुन्छन्,’ उनले भने, ‘साँझमा विद्यार्थी सिक्न आउँछन्, रातिमा चाहिँ जागिरे जुट्छन् ।’ केन्द्रमा तीन महिनाको कोर्सबापत पाँच हजार रुपैयाँ शुल्क लिने गरेको उनले बताए । ‘म नृत्यलाई अनुशासित रूपले हेर्छु र विद्यार्थीलाई सोहीअनुसार सिकाउँछु, उनले भने, ‘नृत्य स्वास्थ्यका लागि समेत फाइदाजनक हो, यो अति स्वतन्त्र खालको हुनुहुँदैन ।’

नृत्य सानादेखि वृद्धवृद्धासम्मले गर्ने कला भएकाले यसमा अनुशासन चाहिने उनको भनाइ छ । सुरुमा एउटा स्पिकर ल्याएर कोठामा कलाकेन्द्र सुरु गरेका उनले अहिले मासिक झन्डै एक लाख रुपैयाँ भाडा तिर्छन् । केन्द्रमा टिचर्स ट्रेनिङसमेत चल्ने भएकाले त्यसका लागि एक वर्षसम्म डेढ लाख रुपैयाँ शुल्क लिएर सिकाउने गरेको उनले बताए । ‘मैले सिकाएका धेरै विद्यार्थी वरपरका विद्यालयमा सिकाउँछन्, कलाकेन्द्र नै खोलेका छन्,’ उनले भने, ‘मभन्दा मेरा चेला अघि बढून् भनेरै सिकाउने गरेको छु ।’ 

सुनिल विवाहका जोडी, विद्यालयका शिक्षक तथा स्पेसल कार्यक्रमका लागि सिक्न चाहनेका लागि समेत प्रशिक्षक हुन् । उनलाई हरेक विद्यार्थीले गुरु भनेर दिने सम्मान सन्तुष्टिको ठूलो पाटो हो । राष्ट्रिय लेभलमा अझ धेरैले चिन्न बाँकी भए पनि सामाजिक सञ्जालका माध्यमबाट उनको प्रतिभा नियाल्ने ४ लाखभन्दा बढी ‘भिउवर्स’ छन् । उनले सामाजिक सञ्जालमा ‘ट्युटोरियल’ भिडियोसमेत पोस्ट गर्ने गरेको बताए । ‘मैले इटाली, अस्ट्रलिया, फ्रान्स, भारतबाट नेपालीसहित विदेशी फ्यान कमाएको छु,’ उनले भने, ‘फ्यान फलोइङले बजारमा पहिचान बनेको छ, त्यो ठूलो कुरा हो भन्ने लाग्छ ।’

सुनिल नृत्यसँगसँगै बालबालिकाको मानसिक स्वास्थ्यमा पनि सचेत छन् । उनले आफूले भोगेको मानसिक पीडाबाट अनुभव बटुलेकाले बालबालिकामा पर्न सक्ने असर तथा उनीहरूको खानपिनबारे मोटिभेसनल कक्षा नै सञ्चालन गर्दै आएको बताए । ‘म हप्तैपिच्छे जिल्लाका विद्यालयमा घुमेर विद्यार्थीलाई मानसिक स्वास्थ्य ठीक राख्ने र खानपानमा ध्यान दिने तरिका सिकाउँछु,’ उनले भने, ‘म लकडाउनका बेला डिप्रेसनमा गएपछि मलाई यो समस्यासम्बन्धी थाहा भएको थियो ।’

सुनिलले आर्थिक अवस्था कमजोर भएकै कारण परिवारले खेपेको मानसिक तनावको नराम्रो असर आफूमा समेत परेको बताए । ‘बुवाको किड्नी फेल भएपछि ऋणधन गरेर उपचार गरियो, बुवा बित्नुभयो,’ उनले भने, ‘ऋण तिर्न ३ दाजुभाइ लागिपर्‍यौं, कोरोनाले निम्त्याएको लकडाउनमा कलाकेन्द्र नै बन्द गर्नेसम्मको स्थिति आएपछि म बिरामी नै परें ।’ 

आर्थिक स्थिति कमजोर भएकै कारण लकडाउनमा भएको ताकेता तथा ऋणको ब्याजले थिचोमिचो पार्दा कक्षा चलाउन नसकेपछि मानसिक तनाव भई कोठाभित्र बस्न बाध्य भएको उनले बताए । ‘म त आत्महत्या गरौं कि भन्नेसम्मको स्थितिमा पुगेको थिएँ,’ उनले भने, ‘साथीभाइले सम्झाए, अहिले म बालबालिकालाई सम्झाउँछु ।’ मानिसलाई समस्या पर्दा कोही नभएजस्तो महसुस हुनुले मानसिक रूपमा पीडा दिने कुरा थाहा र अनुभव गरेकै आधारमा उनले विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी कक्षाको क्याम्पेन नै थालेको बताए । नृत्यसँगै मानसिक स्वास्थ्य ठीक राख्ने हो भने मानिसलाई तनावमुक्त र फ्रेस रहन सहज हुने उनी बताउँछन् ।

सुनिललाई हाल एकोन फर्निचर, अस्कन इन्डस्ट्रिज र मिलानो फुटवेयरले आफ्नो ब्रान्डमा संलग्न गराएका छन् । ती ब्रान्डको प्रचार गरिदिएबापत उनले केही पारिश्रमिक पाउने गरेका छन् । उनलाई पैसा कमाउने पाटो महत्त्वपूर्ण भए पनि मानिसको स्वास्थ्य सबैभन्दा ठूलो विषय हो भन्ने लाग्छ । ‘नाच्नु दुःख बिर्सनु हो,’ उनले भने, ‘ठूला उमेर समूहका मेरा विद्यार्थी तनाव भुलाउनकै लागि नाच्छन्, उनीहरू मानसिक स्वास्थ्यमा समेत सचेत हुँदै छन् ।’ सुनिलले नृत्य गर्ने क्रममा धेरै स्थानमा राम्रा पुरस्कारसमेत पाएका छन् । उनले आफूभन्दा पनि आफ्ना चार चेलाले जिल्लाका विभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्दा आफू अत्यन्तै हर्षित भएको बताए । ‘म उनीहरूको कलाबाट चिनिन्छु,’ उनले भने, ‘कहाँ सिकेको भन्दा सुनिल सरको कलाकेन्द्रमा भन्ने सुन्नु खुसीको विषय हो ।’ 

नाच्नु नराम्रो होइन भन्ने विषय समाजमा फैलाउन सके हरेक नृत्यमा रुचि राख्नेले कला प्रस्तुत गर्दै अघि बढ्न मौका पाउने उनी बताउँछन् । गाउँमै भएको एउटा कार्यक्रममा नाचेपछि आफ्नो परिवार, गाउँलेलाई सुनिल नाच्दो रहेछ भन्ने थाहा भएको उनले सुनाए । ‘यो २०७१ सालतिरको कुरा हो,’ उनले भने, ‘अमुवामा कन्सर्ट भयो, मैले नाचें, सबैले हेरे, मलाई त जिस्काउन पो थाले ।’

सुनिल आफू स्टेजमा नाच्दा आफ्ना बुवाले ताली बजाएर साथ दिएको दिन सम्झँदै अहिलेको प्रगति बुवालाई देखाउन नपाउँदा दुःख लागेको बताउँछन् । ‘उहाँ हुनुहुँदो हो त मलाई स्याबासी दिनुहुन्थ्यो होला,’ उनले भने, ‘आमालाई लिएर हिँड्थें, अहिले उहाँ पनि बिरामी हुनुहुन्छ, हिँडडुलै कम गर्नुहुन्छ ।’ सुनिल नृत्यबाटै भविष्यमा विदेशसम्म पुगेर नेपालको झन्डा फहराउन चाहेको बताउँछन् । देशमा कलाको प्रोत्साहन गर्न सरकारले चासो नदिएकाले धेरै युवा पलायन भएको उनको भनाइ छ ।

युवा ग्यालरी

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully