आजकै दिन : भारतमा फिल्म प्रदर्शन

असार २२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १८९६ मा आजकै दिन (जुलाई ७) मा भारतको मुम्बईस्थित वाट्सन होटलमा (तत्कालीन बम्बई) पहिलो पटक फिल्म प्रदर्शन गरिएको थियो । फ्रेन्च छायांकार लुमियर ब्रदर्सले आफूहरूले खिचेका छवटा भिडियो फुटेजलाई जोडेर तयार पारिएको फिल्मलाई प्रोजेक्टरको सहायताले फिल्म देखाएको सोही दिनलाई नै भारतीय सिनेमाको सुरुवात मानिन्छ । 

लुमियर ब्रदर्सले भारतमा फिल्म देखाउनु ६ महिनाअघि नै १८९५ डिसेम्बर २८ मा फ्रान्सको पेरिसस्थित ग्रान्ड क्याफेमा १० वटा फिल्मको व्यावसायिक रूपमा सार्वजनिक प्रदर्शन गर्दै विश्व फिल्म इतिहासको सुरुवात गरिदिएका थिए । उक्त समय प्रदर्शित फिल्म एक पटकमा एक जनाले मात्र हेर्न मिल्थ्यो । बम्बेमा भएको उक्त प्रदर्शनीमा केही व्यक्तिहरू भेला भएर पर्दामा चित्रहरू चलाई देखाइने विशेष खालको ‘म्याजिकल ल्याटर्न्स’ मार्फत पालैपालो हेरेका थिए ।

लुमियरका ती फिल्महरू भारतमा ल्याउने काम भने एक फ्रान्सेली रसायनशास्त्रीले गरेका थिए, जो पछि गएर क्यामेरा अपरेटर नै भए । भारतीय पहिलो फिचर फिल्म प्रदर्शन भने सन् १९१२ मा मराठी भाषी फिल्म ‘श्री पण्डालिक’ र सन् १९१३ को ‘राजा हरिश्चन्द्र’ बाट भएको थियो । ‘श्री पण्डालिक’ लाई दादासाहेब टोर्ने र ‘राजा हरिश्चन्द्र’ लाई दादासाहेब फाल्केले निर्माण तथा निर्देशन गरेका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully