काठमाडौँ — सन् १८७७ मा आजकै दिन (जुलाई ९) मा पहिलो विम्बल्डन च्याम्पियनसिप आयोजना गरिएको थियो । बेलायतको लन्डनस्थित अल इंग्ल्यान्ड क्रोक्वेट एन्ड लन टेनिस क्लबमा आयोजित च्याम्पियनसिप विश्वकै पहिलो आधिकारिक टेनिस प्रतियोगिता हो ।
पछि उक्त प्रतियोगितालाई पहिलो ‘ग्रान्ड स्लाम’ को मान्यता दिइएको थियो ।
बेलायतका स्पेन्सर डब्लू गोरले पहिलो प्रतियोगिता जितेका थिए । त्यसपछि १९०६ सम्म लगातार बेलायती नागरिकले उपाधि जितेका थिए । १९०७ मा अस्ट्रेलियन खेलाडी लाउरी डोहेर्टीले पहिलो पटक बेलायतबाहिर उपाधि लगेका हुन् ।
महिला टेनिस प्रतियोगिता भने सन् १८८४ मा सुरु भएको हो । बेलायती माउड वाट्सनले महिलातर्फको पहिलो उपाधि जितेकी थिइन् । त्यसपछि तीन दशकसम्म बेलायती खेलाडीले नै उपाधि जितेका थिए । १९१८ मा फ्रान्सकी सुजान लेनग्लेनले उपाधि जितेकी थिइन् । विश्वयुद्धका कारण १९१५ देखि १९१८ सम्म प्रतियोगिता आयोजना भएको थिएन ।
