सात महादेशका उच्च शिखरको सफल आरोहण गरेकी शैली बस्नेत पछिल्लो समय हास्यव्यंग्य क्षेत्रमा सक्रिय छिन् । ‘स्ट्यान्ड अप कमेडियन’ का रूपमा उनले अमेरिकाको न्युयोर्कस्थित गथम कमेडी क्लब र सान फ्रान्सिस्कोको सिटी आर्ट्स एन्ड लेक्चर्स हलमा समेत प्रस्तुति दिइसकेकी छन् ।
सिन्धुपाल्चोक — ‘हजारौं माइलको यात्रा पनि एक पाइलाबाट सुरु हुन्छ,’ चिनियाँ दार्शनिक लाओ त्सुको भनाइ हो यो । यिनै महान्वाणी पहिलो पटक आफूले पढ्ने विद्यालयको भित्तामा देखेकी थिइन् काठमाडौं महानगरपालिका–१६ वनस्थलीकी शैली बस्नेतले ।
मनमा गहिरोसँग गडेका यिनै वाणीलाई जिन्दगीमा पनि आत्मसात् गरेकी शैलीले पर्वतारोहण क्षेत्रबाट नाम कमाइन् । पछिल्लो समय भने अमेरिकाको कोलोराडो सहरमा बस्ने शैली अमेरिकाका विभिन्न राज्यमा ‘स्ट्यान्ड अप कमेडियन’ का रूपमा चर्चित छन् ।
सातवटा महादेशका अग्ला हिमाल आरोहणसँगै अन्तर्राष्ट्रिय हास्यव्यंग्य कलाकारका रूपमा पहिचान बनाउन भने लाओ त्सुका वाणीले आफूलाई निकै सघाएको शैलीको भनाइ छ । काठमाडौंमै जन्मिएकी शैलीको पर्वतारोहण यात्रा भने २५ वर्षको उमेरमा सुरु भएको हो । त्यो पनि, विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणबाट । ‘विश्वकै सफल महिला सगरमाथा आरोहण टोली र सबै महादेशका अग्ला हिमाल चढ्ने पहिलो महिला टोली दुवैमा सहभागी हुन पाएँ । यसको एक हिस्सा हुन पाउँदा म आफैंलाई धेरै भाग्यमानी पनि ठान्छु,’ शैलीले भनिन् ।
‘दि क्लाइम्बर्स’ र नेपाल पर्वतारोहण संघले सगरमाथा आरोहण गर्न इच्छुक नेपाली महिलाका लागि आवेदन मागेको थियो । त्यसका लागि तालिमसमेत दिने जनाएपछि शैलीमा सगरमाथा चढ्ने भूत चढ्यो । सहरी वातावरणमा हुर्के बढेकी शैलीका लागि यो एक प्रकारले बहुलट्ठीपन जस्तै थियो । स्कुले जीवनमा कुनै खेलमा समेत सहभागी नभएकी उनी ।
‘पाँच फिटभन्दा कम उचाइ, तौल मुस्किलले ४१ किलोग्राम थियो त्यो बेला,’ उनले भनिन्, ‘आरोही हुने सम्भावना कम, तर आँट भने थियो । त्यसैले मैले पनि आवेदन दिए र तालिम लिए ।’ आँट र हिम्मत जुटाएर सगरमाथातर्फ पाइला बढाएका शैलीसहितको समावेशी महिला टिमका सात सदस्यले २०६५ जेठमा सगरमाथामा झन्डा फहराए । सात सदस्यमा उनीसहित पुजन आचार्य, चुनु श्रेष्ठ, पेमा डिकी शेर्पा, निम्डोमा शेर्पा, आशाकुमारी सिंह र माया गुरुङ थिए । उनीहरूको सफलताका समाचार सार्वजनिक भएसँगै त्यसको देशव्यापी चर्चा भयो ।
सगरमाथा चढेको वर्ष दिनभित्रै शैलीकै जोडबलमा पहिलो समावेशी नेपाली महिला टोलीले अर्को सपना देख्यो, अझै ठूलो । त्यो हो, ‘सगरमाथाझै बाँकी ६ महादेशका सबैभन्दा अग्ला हिमाल चढ्ने (सेभेन समिट) ।’ पहिलो प्रयासमा सजिलैसँग सगरमाथा चढेकी शैलीलाई संसारमा आफ्ना लागि असम्भव केही छैन जस्तो लाग्न थालेको थियो । तर पछिल्लो सपना पूरा गर्न भने संघर्ष कडै गर्नुपर्यो ।
‘हामीले त्यो सपना देख्नुअघि त महिला टोलीले सेभेन समिट गरेकै थिएन रहेछ । नयाँ काम गर्दा त निकै कठिन हुँदोरहेछ,’ उनले विगत सम्झिन् । भिसा, होटल, उडान, खानपान त भइहाल्यो, अनि अपरिचित हिमालसँगको पौठेजोरी । बढीमा दुई वर्षमा सक्ने लक्ष्य पूरा गर्न सात वर्ष लाग्यो उनीहरूलाई । अस्ट्रेलियाबाट सुरु भएको आरोहण क्रमशः युरोप, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका हुँदै अन्टार्टिकामा पुगेर टुंगियो । सन् २००९ मा सगरमाथा आरोह गरेको उनको टोलीले २०१८ मा विश्वका सातै महादेशका अग्ला हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्यो ।
पर्वतारोहणमा रेकर्ड होल्डर शैलीले आफू ‘स्ट्यान्ड अप कमेडी’ मा रमाउन सक्छु भन्ने सोचेकी थिइनन् । तर, अमेरिकाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा स्टेज चढेर दर्शक हँसाउन थालेको पनि १२ वर्ष पुगिसकेको छ शैलीको । ‘त्यतिबेला त नेपालमा स्ट्यान्ड अप कमेडीको चलन नै थिएन । यसमा कलाकार भएर मात्रै हुँदैनथ्यो । आयोजक, प्रायोजक, व्यवस्थापक सबैको भूमिकामा डट्नुपर्थ्यो,’ शैलीले भनिन् ।
सन् २०११ को सेटेम्बर महिना । काठमाडौं यलमाया केन्द्रमा ‘ठाडै ठट्टा’ नामक पहिलो हास्य कार्यक्रम प्रस्तुत गरेकी थिइन् उनले । ‘त्यतिबेला हल्का नर्भस थिएँ । तर ४५ मिनेटको मेरो प्रस्तुति सबैले रुचाए । त्यसपछि मैले पर्वतारोहणसँगै स्ट्यान्ड अप कमेडीलाई पनि निरन्तरता दिँदै गएँ,’ उनले भनिन्, ‘तर कुनै दिन अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रस्तुति दिन पाउँछु भन्नेचाहिँ सोचेकी थिइन् ।’
नेपालमा रहरैरहरमा गरेको कमेडी अनुभव लिएर उनी एकैपटक अमेरिकाको न्युयोर्क सहर पुगिन् । अमेरिकाकै उत्कृष्टमा पर्ने ‘गथम कमेडी क्लब’ का प्रोड्युसर एन्डी एंगललाई भेटिन् । उनको महत्त्वाकांक्षी सपनाबारे सुनेपछि एंगलले शैलीलाई एकै झट्कामा प्रश्न गरिहाले, ‘यहाँ दुई हजार कमेडियनहरू मसँग अवसर माग्न आउँछन् । मैले तिमीलाई नै किन पत्याउने ?’ अमेरिकी बजारमा शैलीको न कुनै नाम थियो, न कुनै पहिचान । ‘कमेडी कोर्स’ गर्न अमेरिका पुगेकी शैलीले एंगललाई मनाउने प्रयास गरिन् । ‘ल मसँग पछि कुरा गर्नु,’ उनले कुरा टुंग्याइदिए । करिब एक महिना त्यत्तिकै बित्यो ।
अन्ततः उनले अमेरिकाकै चर्चित कलाकारको प्रस्तुति हुने गथम कमेडी क्लबमा ‘टप सट कमेडी विथ शैली शैली’ भनेर प्रस्तुति दिन पाउने भइन् । त्यसका लागि पर्वतारोही शैलीको तस्बिरसहितको पोस्टर तयार गरियो । ‘सोचेअनुसार प्रस्तुति दिन पाउने त भइयो, तर नयाँ मान्छे, कार्यक्रम हेर्न कोही आएनन् वा केही बिग्रियो भने,’ उनको मन पिरोलिन थाल्यो । तर न्युयोर्कको उनको पहिलो कार्यक्रममा निकै सफल रह्यो । त्यसपछि भने अमेरिकामा उनको कमेडी यात्रा राम्रैसँग अघि बढ्यो ।
पछि उनले सान फ्रान्सिस्कोको प्रतिष्ठित सिटी आर्टस् एन्ड लेक्चर्स हलमा पुगेरसमेत कार्यक्रम गर्ने मौका पाइन् । नोबेल पुरस्कार विजेतादेखि धेरै नाम चलेका लेखक, कलाकारको प्रस्तुति हुने मञ्चमा उभिएर प्रस्तुति दिन पाउन भने लामै समय कुर्नुपर्यो । ‘झन्डै एक महिनासम्म मेरो अनुभवलगायत कुरा बुझेपछि मात्रै मसँग सम्झौता भयो,’ उनले भनिन् । पछिल्लो समय उनलाई अमेरिकामा बस्ने नेपालीदेखि अमेरिकन कमेडियनसम्मले सोध्ने प्रश्न हो, ‘तपाईं कसरी यहाँसम्म आइपुग्नुभयो ? त्यसमा उनले दिने उत्तर प्रायः एउटै हुन्छ, ‘पर्वतारोहणले आँट सिकायो अनि दार्शनिक लाओ त्सुको प्रेरणादायी वाणीले मिहिनेत गर्न ।’
