१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देउरालीमा ‘गाउँको घर’

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका बुटवलका समुद्र घिमिरेले ५० लाख खर्चेर पाल्पाको डुम्रे देउरालीमा १७ रोपनी क्षेत्रफलमा वातावरणमैत्री इको फार्म हाउस चलाएका हुन् । 
सन्जु पौडेल

पाल्पा — कलकल बग्ने खोला । घाम छाताले छेल्दै पाखामा बस्तुभाउ चराइरहेका स्थानीय । चराचुरुंगीको चिरबिर, झ्याउँकिरीको गुञ्जन । लट्ठ पार्ने पाखापारि झिलीमिली घर देखिन्छ । सिद्धार्थ राजमार्गबाट तिनाउ–६ स्थित डुम्रे चोकबाट ३ किलोमिटर दक्षिण देउरालीमा छ यो घर । त्यसको नाम राखिएको छ गाउँको घर (इको फार्म हाउस) ।

देउरालीमा ‘गाउँको घर’

निजी सवारीसाधन घरसम्मै पुग्छन् । डुम्रे चोकबाट भने पैदल पनि आधा घण्टामा पुगिन्छ । अहिले उक्त घरसम्म यात्राका क्रममा ऐंसेलु, चौतारी, खनिया चाख्न पाइन्छ । वातावरणमैत्री उक्त घर बनाएका हुन् बुटवल–८ का समुद्र घिमिरे क्षत्रीले ।

बुटवलमा माध्यमिक तहसम्म अध्ययन पूरा गरेपछि २०६५ सालमा स्नातक पढ्न काठमाडौं पुगे समुद्र । ‘त्यहाँ पढ्दापढ्दै दुबईको भिसा लाग्यो,’ उनले भने, ‘२०६८ सालमा वैदेशिक रोजगारीका लागि दुबई गएँ ।’ सात वर्ष दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कोच अफिसरको काम गरेको उनले सुनाए । ‘दुबईमा भएका बेला विभिन्न सात मुलुक घुम्ने अवसर मिल्यो,’ उनले भने, ‘सिंगापुर, स्वीट्जरल्यान्ड, इटाली, फ्रान्स, जर्जिया, अजरबैजानलगायत देश पुगें ।’ त्यस क्रममा विभिन्न धर्म संस्कृति र पैसाको महत्त्व कहाँ कस्तो छ भन्ने बुझ्ने अवसर मिलेको उनले बताए । ‘विदेशमा धेरै कुरा सिक्ने र बुझ्ने अवसर मिल्यो,’ उनले भने, ‘मासिक साढे २ लाख रुपैयाँ तलबको माया मारेर मुलुक फर्किएँ ।’

मुलुकको प्राकृतिक सौन्दर्यको लाभ उठाउनुपर्छ भनेर आफू फर्किएको उनी बताउँछन् । ‘म फर्किएका बेला देश कोभिडको चपेटामा थियो,’ उनले भने, ‘लकडाउनका बेला आफ्नै देशका विभिन्न गाउँ घुमें ।’ यसरी सम्भावनाको खोजी गर्ने क्रममा देउराली आइपुगेको उनले बताए । ‘देउरालीमा ५० लाख लगानी गरेर वातावरणमैत्री घर बनाएँ,’ उनले भने, ‘१७ रोपनी क्षेत्रफलमा काठको घर छ ।’ उनका अनुसार उक्त घरमा काठका भाँडा, पुराना उपकरण जोहो गरिएको छ । ‘गाउँले परिवेश तयार गरेको छु,’ उनले भने, ‘आनन्द मिल्ने वातावरण छ ।’

अहिले यहाँस्थित पाखोबारीमा १ हजार बोट कफी, कागती, तरकारी रोपेका छन् ।

‘वातावरणमैत्री बनाउन प्लास्टिक प्रयोग गरिएको छैन,’ उनले भने, ‘प्लास्टिकजन्य वस्तु नबेच्ने नियम बनाएका छौं ।’ यहाँ बास बस्नका लागि नेपाली सत्कार झल्किने नमस्ते डिजाइनका बासस्थान बनाइएको छ । त्यसबाहेक क्याम्पिङ गर्न पाइने क्षत्रीले जानकारी दिए । ‘यहीं बसेर रमाउन सकियोस् भनेर बासघर बनाएको हुँ,’ उनले भने, ‘देशभित्रै यस्ता स्वरोजगारका काम थालेपछि युवा पलायन रोक्न सकिन्छ भन्ने उद्देश्य हो ।’

पाहुनाका लागि दुई किसिमका प्याकेज सेवा उपलब्ध गराएको उनले बताए । ‘१५ सय रुपैयाँ तिर्ने पाहुनाले दुई पटक खाजा र एक छाक खानासहित बास बस्न पाउँछन्,’ उनले भने, ‘३ हजार ५ सय रुपैयाँमा छुट्टै कोठासहित खाना र खाजाको व्यवस्था छ ।’ प्याकेजबाहेक गाउँले स्वादका लागि मेन्युअनुसार परिकार पस्किने गरेको उनले बताए । ‘कोदो, फापर, सिस्नो, लोकल कुखुरा, हाँस, लोकल आलु, हरियो तरकारी, दही, मही, दूध, माछा आदि पाइन्छ,’ उनले भने, ‘हामी बजारका कुनै खाना बेच्दैनौं, पेय पदार्थसमेत दूध वा दहीबाट बनेको सेक र लसी हुन्छ ।’ प्रायः सामूहिक रूपमा पाहुना आउने भएकाले बार्बिक्यु र आगो ताप्न पाइने सुविधा उपलब्ध रहेको उनले बताए ।

घरभन्दा तलपट्टिको खाली जमिनमा खरको छानो हालेर टहरा बनाएका छन् । टहरामध्ये केहीमा वाद्यवादनका सामग्री छन् । ‘कुनैमा ध्यान गरेर बस्न मिल्छ,’ उनले भने, ‘कुनै टहरामा चिया पिउँदै गफिने वातावरण छ ।’ यहाँका हरेक ढुंगा, हरेक काठमा केही न केही सन्देश लेखिएको देखिन्छ । ती ढुंगामा लेखिएका छन्, ‘से नो टु ड्रग्स’, शान्ति प्राप्तिका लागि प्रकृति, कति बस्छौ साथी युरोप अनि खाडीमा, सम्भावना खोजौं आफ्नै देशको खेत अनि बारीमा ।

इको घरमार्फत पर्यटन विकासका साथै माटोसँग बालबालिका, वृद्धवृद्धा तथा युवालाई घुलमिल गराई प्रकृति र माटोको महत्त्व बुझाउने अभियानमा समेत आफू लागेको उनले बताए । पाहुनालाई घोडामा बसाएर यहाँको उकाली ओराली, खोला, पर देखिने गाउँको बाटोसम्म सयर गराउँदै आएको उनले बताए । ‘घोडसवार गराएर कफी, कागती, हरियो तरकारी बारीमा डुलाइन्छ,’ उनले भने, ‘प्रकृति, जल, वायु, अग्नि र पृथ्वी पञ्चतत्त्व भएकाले तीमध्ये कुनै एकको साथमा हरेक मानिस रमाउनुपर्ने सन्देश दिने गरेको छु ।’ उनका अनुसार घरमा दैनिक २ देखि ४ वटा समूह बास बस्न आइरहेका छन् ।

शान्त क्षेत्रमा बस्न रुचाउने स्वभाव रहेकाले श्रीमान् देश फर्किएको श्रीमती स्वेता बताउँछिन् । उनीहरूका तीन वर्ष र तीन महिनाका गरी दुई छोरा छन् । ‘आमाबुबाले विदेशमा नबसे हुन्थ्यो भन्ने गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘श्रीमान्को पनि त्यही सोच भएकाले सँगै फर्कियौं ।’ अहिले सुरु गरेको कामबाट समाजमा सकारात्मक सन्देश गइरहेकाले खुसी भएको उनले बताइन् । ‘मैले बाबुहरू हेर्नुपर्छ,’ उनले भनिन्, ‘चार जना कर्मचारी हुनुहुन्छ, सँगै श्रीमान्ले सबै काम गर्नुहुन्छ, यसरी सजिलै भइरहेको छ ।’ आफूहरूले फार्म हाउस चलाएदेखि गाउँलेले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोजगार पाइरहेको उनले बताइन् । ‘गाउँमा उत्पादन भएका अन्डा, कुखुरा, दाल, गेडागुडी, दूध, दही, घिउ, तरकारी किनेर ल्याइन्छ,’ उनले भने, ‘यसले आम्दानी भइरहेको छ ।’

प्रकाशित : जेष्ठ ८, २०८० ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?