प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेसनलका विजेता घोषित

कान्तिपुर संवाददाता

काठमाडौँ — बाह्रौं ‘लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेसनल–२०२३’ मा एकसाथ ६ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा ‘मिनी गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भएका हुन् ।

प्रतियोगितामा एलभिरा महर्जन ‘मिनी गर्ल’ घोषित भइन् । प्रनवीश्री सिंह फस्ट रनरअप, मेलिसा मल्ल सेकेन्ड रनरअप, क्रिभा बज्राचार्य थर्ड रनर अप भए । ‘मिनी ब्वाई’ तर्फ ओजस राज श्रेष्ठले शीर्ष उपाधि चुम्दा यही प्रतियोगितामा क्रमशः बिभत्सु उपाध्याय, सक्षम थापा, जोसेफ पराजुली फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप भए ।

‘लिटिल गर्ल’ तर्फको उपाधि भने दर्शना संग्रौला हात पारिन् । आनिया शाक्य फस्ट रनरअप, समृद्धि केसी सेकेन्ड रनरअप, मानष्भी तुलाधर थर्ड रनरअप भए । सम्यक श्रेष्ठ ‘लिटिल ब्वाई’ घोषित भए भने आदित्य अधिकारी, विभूषण केसी, नयन बानियाँ क्रमशः फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप भए ।

त्यस्तै, ‘टिन गर्ल’ श्रीज्ञा महर्जनले उपाधि प्राप्त गरिन् । युरेका रिजाल फस्ट रनरअप, जोरुफा फुयाल सेकेन्ड रनरअप भए । ‘टिन ब्वाई’ तर्फको उपाधि भने स्वरूप केसीले हात पारे । प्रत्युश ढकाल र आरोज्ञ गिरी क्रमशः फस्ट रनरअप, सेकेन्ड रनरअप भए ।

बालबालिकाको प्रतिभा निखार्दै सक्षम बनाउने उद्देश्यले प्रतियोगिता गरिँदै आएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक राज फैंजूले बताए । प्रतियोगितामा ७ देखि १५ वर्षसम्मका विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित : जेष्ठ ८, २०८० ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्

आजकै दिन : सिंह बनेका थिए भारतको प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २००४ मा आजकै दिन (मे २२) मा मनमोहन सिंह भारतको प्रधानमन्त्री बनेका थिए । सिंह भारतको १३ औं प्रधानमन्त्री हुन् । उनी २०१४ को मे २६ सम्म प्रधानमन्त्री थिए । 

भारतीय राष्ट्रिय कंग्रेसका नेता सिंह भारतमा शिख समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । सिंह जवाहारलाल नेहरू र इन्दिरा गान्धीपछि लामो समय प्रधानमन्त्रीको पद सम्हालेका थिए । सिंह नेहरूपछि प्रधानमन्त्रीको पहिलो कार्यकाल पूरा गरी पुनः पदमा पुग्ने पहिलो नेतासमेत हुन् । सिंह १९३२ को सेप्टेम्बर २६ मा पश्चिम पञ्जाव (हालको पाकिस्तान) मा जन्मिएका थिए । १९४७ मा भारत र पाकिस्तान विभाजित भएका बेला उनको परिवार भारत सरेको थियो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका सिंहले १९६६ देखि १९६९ सम्म संयुक्त राष्ट्रसंघमा काम गरेका थिए । त्यसलगत्तै सिंहले उद्योग तथा वाणिज्य मन्त्रालयको सल्लाहकार रहेका सिंहले १९७० र ८० को दशकमा भारत सरकारअन्तर्गतका विभिन्न प्रमुख पदको जिम्मेवारी सम्हालेका थिए ।

उनी भारत सरकारको प्रमुख आर्थिक सल्लाहकार, केन्द्रीय बैंकको गभर्नर तथा योजना आयोगको प्रमुख भएका थिए ।

१९९१ मा भारत आर्थिक संकटमा फसेपछि प्रधानमन्त्री पीभी नरसिंहा रावले सिंहलाई अप्रत्याशित रूपमा अर्थमन्त्रीमा नियुक्त गरेका थिए । त्यतिबेला भारतलाई आर्थिक संकटबाट उकास्न उनले पुर्‍याएको योगदानको विश्वव्यापी चर्चा भएको थियो । १९९६ मा भएको चुनावपछि उनी राज्य सभामा प्रतिपक्ष दलका नेता (१९९८ देखि २००४) भएका थिए ।

२००४ मा कंग्रेस नेतृत्वको यूपीए गठबन्धन सत्तामा आएपछि कंग्रेस नेतृ सोनिया गान्धीले अप्रत्याशित रूपमा उनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेकी थिइन् । २००९ को आमनिर्वाचनमा यूपीए गठबन्धन विजयी भएसँगै उनी पुनः प्रधानमन्त्री बनेका थिए ।


प्रकाशित : जेष्ठ ८, २०८० ०७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×