कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मेरो गाउँ मेरो ठाउँ’ को मनोनयनमा ७० वृत्तचित्र

कान्तिपुर संवाददाता

काठमाडौँ — पर्यटन विकासमा सघाउ पुर्‍याउने उद्देश्यले आयोजना गरिएको ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगिता २०२३ का लागि विभिन्न १० विधामा ७० वटा वृत्तचित्र मनोनयनमा परेका छन् ।

देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको आयोजक वी विल राइज फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताए ।

फाउन्डेसनले गत फागुन १२ देखि वैशाख २१ सम्म वृत्तचित्र आह्वान गरेको थियो । निर्णायक समूहले वेस्ट भिडियो अफ द इयर, जजेज च्वाइस अवार्ड, स्टोरी कन्सेप्ट/वेस्ट डिरेक्सन, वुमन भिडियो मेकर अफ दि इयर, फ्युचर स्टार अफ दि इयर, मोस्ट पोटेन्सियल डेस्टिनेसन, मोस्ट एर्नजेटिक भिडियो मेकर, वेस्ट स्क्रिप्ट/भ्वाइस ओभर, वेस्ट सिनेमाटोग्राफर र बेस्ट एडिटर गरी १० विधामा सात/सातवटा भिडियोलाई मनोनयन गरेको हो ।

मनोनयनमा परेकामध्ये उत्कृष्ट हुने बेस्ट भिडियो अफ द इयरले ५ लाख रुपैयाँ, जजेज च्वाइस अवार्डले २ लाख र बाँकी विधाका उत्कृष्ट वृत्तचित्रले १/१ लाख रुपैयाँ पाउनेछन् । फाउन्डेसनले पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका प्राकृतिक तथा सांस्कृतिक सम्पदा, भेषभूषा, जातीय पहिचान, खानपान, कला संस्कृतिलगायत विषयवस्तुमा केन्द्रित वृत्तचित्रबीच प्रतियोगिता गर्दै आएको श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ ७, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्

शान्तिका लागि विदेशी हिमाल

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको कुम्मायक गाउँपालिका–२ का सुशील सेर्माले सर्वोच्च शिखर सगरमाथासहित आधा दर्जन हिमालको सफल आरोहण गरिसकेका छन् । उनै सेर्मा अब भने युरोप र अफ्रिकाका हिमाल आरोहणको तयारीमा जुटेका छन् ।


यसअघि सगरमाथासहित आल्यान्ड पिक र लामटाङ हिमालको आरोहण गरेका ३४ वर्षीय सेर्माले यही सिजनमा रुस र युरोपको माउन्ट एल्ब्रस तथा तान्जानियाको माउन्ट किल्ली मन्जारो आरोहण गर्ने तालिका छ ।

उनले दुईवटै हिमाल आरोहणका लागि प्रक्रिया थालिसकेका छन् । तर आरोहणको मिति भने मे ३१ मा टुंगो लाग्ने बताइएको छ । ‘ट्रेकिङ कम्पनी र आरोहण दलका कतिपय साथीहरू सगरमाथा जानुभएको छ, उहाँहरू फर्कनासाथ मेरो आरोहण तालिका टुंगो लाग्छ,’ सेर्माले भने । उनका अनुसार ती हिमाल आरोहणका लागि ५/५ लाख रुपैयाँ खर्च लाग्छ । २०१७ को मे २० मा सगरमाथाको चुचुरोमा पुगेका उनले त्यसअघि आल्यान्ड पिकको आरोहण गरेका थिए । यीबाहेक उनीसँग लामटाङ हिमाल आरोहण तथा देशकै होचो भूभागदेखि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आधारशिविरसम्म पैदल यात्रा गरेको अनुभव छ । आरोही सेर्मालाई संविधान दिवस २०७९ को अवसर पारेर सरकारले ‘सगरमाथा आरोहण पदक’ मार्फत पनि विभूषित गरिसकेको छ । ‘अफ्रिका र युरोपका हिमाल आरोहण गरिसकेपछि विश्व शान्ति, मानव एकता र परमाणु निःशस्त्रीकरणको सन्देश लिएर ७ महादेशका प्रमुख ७ वटा हिमाल आरोहण गर्ने योजना छ,’ उनी भन्छन् ।

हिमाल आरोहणका लागि सेर्मालाई विभिन्न व्यक्ति र संघसंस्थाले आर्थिक सहयोग गर्दै आएका छन् । यसपटक भने उनलाई हिमाल आरोहणकै लागि कोरियामा रहेका पाँचथरका सेर्मा दाजुभाइले एक लाख ३ हजार रुपैयाँ सहयोग गरिसकेका छन् । सेर्मा पाँचथरको पहिलो र एक्लो सगरमाथा आरोहीपनि हुन् । लिम्बू समुदायले उनलाई पहिलो पुरुष आरोहीका रूपमा लिने गरेका छन् ।

प्रकाशित : जेष्ठ ७, २०८० ०७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×