कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बुढामगरको विश्व कीर्तिमान

रोल्पा थबाङको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर उनको घुँडाभन्दा मुनिको भाग गुमेको थियो ।

काठमाडौँ — दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरले गत शुक्रबार दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । उक्त कीर्तिमान उनले ‘घुँडाभन्दा माथिबाट दुवै अंग विच्छेदन भएका व्यक्ति’ ले पहिलो पटक सगरमाथा आरोहण गरेको नाममा राखेका हुन् ।

बुढामगरको विश्व कीर्तिमान

कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झन्डै ५ वर्षको प्रयासपछि उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर घुँडाभन्दा मुनिको दुवै खुट्टा गुमेको थियो ।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका रहेछन्, ‘हामी सफल भयौं ।’ बुढामगरको आरोहणका लागि एचएसटी एडभेन्चर्सका क्रिस थापा एक्सपिडिसन लिडरका रूपमा छन् । थापाले बेलायतको स्पेसल एअर सर्भिस (एसएएस) को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए ।

सफल आरोहणपछि एनएसएसएल ग्लोबल कम्पनीले उपलब्ध गराएको स्याटेलाइट फोनमार्फत बुढामगरले भने, ‘वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नैपर्ने थियो । त्यसैले हामीलाई कुनै फरक परेन । जतिसुकै दुःख भए पनि, गाह्रो भए पनि हामीलाई केही फरक परेन र अन्ततः हामी सफल भयौं ।’

बुढामगरले शारीरिक अशक्तता भएका व्यक्तिहरू कोहीभन्दा कमजोर हुँदैनन् भन्ने आत्मविश्वास आफूजस्तै अन्य साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको जनाए । उनले खुसी हुँदै थपे, ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपांगता भएका जोकोहीले आफ्नो सपना पूरा गर्न सक्छन् ।’

बुढामगरको थप भनाइ थियो, ‘मेरो परिवार, मेरा सहयोगी साथीहरू र धेरै जनताको साथबिना सगरमाथा आरोहण गर्न सम्भव थिएन ।’

सगरमाथाको सफल आरोहण गर्नुपूर्व बुढामगरले नर्थ अफ्रिकाको माउन्ट टुब्कल (४,१६७), माउन्ट ब्लांक (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरापिक (६,४७६ मिटर) लगायतका आरोहण गरिसकेका थिए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काई डाइभ गर्ने ‘डबल एम्प्युटी एभोब नी’ (घोडामाथिबाट दुवै अंगविच्छेदन) लगायत रेकर्ड बुढामगरको नाममा छ ।

एडमन्ड हिलारी र शेर्पा तेन्जिङ नोर्गेले सन् १९५३ मेमा विश्वको अग्लो चुचुरोमा पुग्ने पहिलो व्यक्ति बनेको ७० वर्षपछि बुढामगर र उनको आरोही टोलीले सगरमाथा आरोहण गरेको हो । हिलारी र तेन्जिङले सगरमाथा आरोहण गर्दाताका बेलायती महारानी एलिजाबेथ द्वितीयको राज्यारोहण चलिरहेको थियो भने यस पटक राजा चार्ल्स तृतीयको राज्यारोहणकै समयमा बुढामगरले सगरमाथा आरोहण गरेका छन् । हरिले भने, ‘मैले पहिलो पटक २०१८ मा यो आरोहणको योजना बनाएको थिएँ, तर सगरमाथाको पहिलो आरोहणको ७० औं वार्षिकोत्सव मनाउन पाउँदा अलिक बढी विशेष लागेको छ ।’

बुढामगर रोल्पाको मिरुल गाउँमा सन् १९७९ मा जन्मिएका हुन् । पाँच वर्षअघि नै सगरमाथा चढ्ने योजनामा रहेका बुढामगरलाई कानुन बाधक बनेको थियो । पर्वतारोहणसम्बन्धी नियमावली– २०५९ को ३ को उपनियम २ (ग) मा उल्लेखित ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्ने’ ले सगरमाथा आरोहण गर्न नपाउने व्यवस्थाले सगरमाथा आरोहण गर्न रोकेको थियो ।

नेपालको संविधानको धारा १८ को उपधारा २ मा अपांगता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने व्यवस्थाअनुरूप अदालतले मार्गप्रशस्त गरेपछि बुढामगरका लागि सगरमाथा आरोहणको बाटो खुलेको थियो । उनी गोर्खा वेलफेयर ट्रस्टको सद्भावना राजदूतसमेत हुन् ।

सन् १९६९ मा स्थापित ट्रस्टले गोर्खा भेट्रान, उनीहरूका परिवार र नेपालमा रहेका समुदायलाई शिक्षा, स्वास्थ्य, खानेपानीलगायत महत्त्वपूर्ण क्षेत्रहरूमा सहयोग प्रदान गर्दै आइरहेको छ ।

आरोहणपछि अबको जीवनको अधिकांश समय नेपालमा बिताउने बुढामगरको योजना छ । नेपालमा अपांग सचेतना र आर्थिक विकासको क्षेत्रमा योगदान गर्ने उनले सुनाए ।

प्रकाशित : जेष्ठ ७, २०८० ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?