१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पूर्वका सफल उद्यमी

कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा पुरुषसरह दर्जनौं महिलाले सफल उद्यमीको परिचय बनाएका छन् । त्यति मात्रै होइन, उनीहरूले सानोदेखि ठूलो लगानीमा खोलेका उद्योगमा सयौंलाई रोजगारी दिएका छन् ।
विनोद भण्डारी

विराटनगर — भर्खरै २९ वर्ष पुगेकी युक्ति गोल्छाले पाँच वर्षदेखि हुलास वायर उद्योग सञ्चालन गर्दै आएकी छन् । उत्कृष्ट निकासीकर्ता उद्योगीका रूपमा सरकारबाट पुरस्कृत भइसकेकी गोल्छाको कम्पनीमा करिब चार अर्ब रुपैयाँको लगानी छ ।

पूर्वका सफल उद्यमी

उद्योगको सबै व्यवस्थापन आफैंले हेर्न थालेपछि उनले सुनसरीको खनारमा थप साढे तीन अर्बको लगानीमा यसै वर्ष उद्योगको अर्को युनिट सञ्चालनमा ल्याएकी छन् । ती उद्योगबाट वार्षिक १० अर्ब रुपैयाँ बराबरको कारोबार हुन्छ । दुई युनिटमा गरेर एक हजार ३ सय जनाले रोजगारी पाएका छन् । गोल्छाले मासिक साढे तीन करोड रुपैयाँ तलब भत्तामै खर्च गर्छिन् ।

‘मिहिनेत र इच्छाशक्ति हुँदा महिलाले पनि पुरुषसरह ठूला उद्योग सञ्चालन गर्न सक्छन्,’ गोल्छाले भनिन्, ‘तर राज्यको नीति र अनियमित विद्युत् आपूर्तिका कारण उद्योग सञ्चालनमा समस्या छ ।’ टीएमटी रड, जीवाई वायरसहित तामा र पित्तलका पाता उत्पादन गर्ने यो उद्योगले वार्षिक सरदर ७ अर्ब मूल्य बराबरको उत्पादन भारत निकासी गर्दै आएको थियो । सरकारले कच्चा पदार्थको महसुल ह्वात्तै बढाएपछि गत वर्षदेखि उत्पादन निकासी शून्य बराबर छ । औद्योगिक क्षेत्रमा हाल रहेको अघोषित लोडसेटिङ र कच्चा पदार्थमा दोब्बर बढेको भन्सार महसुलले उद्योग संकटमा परेको गोल्छाको गुनासो छ । कच्चा पदार्थ प्रतिटनको भन्सार महसुल २ हजार ५ सय हुँदा वार्षिक सरदर ७ अर्ब मूल्य बराबरको उत्पादन भारत निकासी हुँदै आएको थियो । उनका अनुसार सरकारले गत वर्ष कच्चा पदार्थको भन्सार महसुल दोब्बर बढाएर प्रतिटन ४ हजार ५ सय पुर्‍याएपछि भारत निकासी शून्य बराबर छ ।

युक्ति

मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ की सीता चाराहाङ पनि सफल महिला उद्योगी हुन् । उनले त्यहाँ करिब डेढ करोडको लगानीमा अल्लोको कपडा उत्पादन गर्ने घरेलु उद्योग सञ्चालन गरेर २९ जनालाई रोजगारी दिएकी छन् । शिक्षण पेसा छाडेर १० लाखको लगानीमा उनले अल्लोको कपडा उत्पादन थालेकी थिइन् । उनको उद्योगले वार्षिक सरदर ४५ लाखको कारोबार गर्दै आएको छ । त्यसबाट खर्च कटाएर वार्षिक सरदर १५ लाख आम्दानी हुने गरेको चाराहाङको भनाइ छ ।

कोभिडकालमा उद्योग संकटमा नै पर्‍यो । अहिले भर्खर लयमा फर्कंदै गरेको उनको भनाइ छ । चाराहाङको उद्योगका कामदारले मासिक १४ हजारदेखि ७५ हजार रुपैयाँसम्म ज्याला पाउँछन् । ‘राज्यले अहिलेसम्म एक पैसा पनि अनुदान दिएको छैन,’ चाराहाङले भनिन्, ‘उद्योगको सबै लगानी बैंकको ऋण हो ।’ मोरङ व्यापार संघको महिला उद्यम समितिकी सदस्यसमेत रहेकी चाराहाङ राष्ट्रपति, प्रदेश सरकारसहित आधा दर्जन बढी संघसंस्थाबाट उत्कृष्ट महिला उद्यमीको पुरस्कारबाट सम्मानित भइसकेकी छन् । उनले उद्योगमा कार्यरत जनशक्तिलाई निःशुल्क प्रशिक्षण पनि दिँदै आएकी छन् । उनले अहिलेसम्म विराटचोक र आसपासका डेढ सयभन्दा बढीलाई कपडा बुन्ने प्रशिक्षण दिएर स्वरोजगार बनाएकी छन् ।

सीता

विराटनगर–५ की लक्ष्मी घिमिरे ऋद्धिसिद्धि गार्मेन्टकी सञ्चालक हुन् । चार वर्षदेखि महिलाको मात्र वस्त्र उत्पादन गर्ने उनको उद्योगमा १२ जनाले रोजगारी पाएका छन् । आठ लाखको लागतमा सञ्चालनमा आएको उद्योगले कोभिडमा खेपेको पीडाबाट लय समात्दै छ । ‘सुरुमा तीनवटा मेसिनबाट सुरु भएको उद्योग अहिले १५ वटा मेसिनमा पुगेको छ । लगानीमा राज्यको सहयोग पाउने हो भने ठूलो उद्योग सञ्चालन गरेर रोजगारीमा पनि वृद्धि गर्न सकिन्छ,’ घिमिरेले भनिन् । तर राज्यका कुनै पनि अंगले सहयोग नगर्दा क्षमता भए पनि ठूलो उद्योग सञ्चालन गर्न नसकेको उनको दुखेसो छ ।

झापाको गौरादह–५ स्कुलचौनमा ६ महिलाले १८ हजार रुपैयाँको लगानीमा सुरु गरेको नमुना अचार उद्योगको लगानी अहिले ३५ लाखभन्दा बढी पुगेको छ । स्थानीय सकुन्तोला प्याकुरेल, भूमिका खतिवडा, खिमा नेपाल, सीता अर्याल, गंगा चापागाईं र सेवका आचार्यले २०७२ मा १८ हजारको पुँजीमा अचार, मस्यौरा र चिप्स उद्योग थालेका थिए । समूहकी अध्यक्ष सकुन्तोलाका अनुसार अहिले उद्योगको लगानी ३५ लाख पुगेको छ । उद्योगबाट मासिक न्यूनतम एक लाखभन्दा बढीको अचारमात्र बिक्री हुँदै आएको छ ।

सुरुमा घरेलु कार्यालयले उनीहरूलाई अचार बनाउने तालिम दिएको थियो । त्यसैबेला यो कार्यालयले १ सय ६५ बट्टा अचार दिएको थियो । त्यो अचार बिक्री गरेर १८ हजार रुपैयाँ आयो । सकुन्तोलाका अनुसार त्यही रकमबाट अचार उद्योग सुरु गर्दा अहिलेको अवस्थामा आएको हो । ‘सुरुमा आफ्नो गोजीबाट जनही २० हजार र दोस्रो चरणमा जनही ८० हजार हाल्यौं,’ उनले भनिन्, ‘लगानीसँगै कारोबार पनि बढ्दै गयो ।’ अहिले उद्योगमा नियमित २५ जनाले रोजगारी पाएका छन् ।

उद्योगबाट उत्पादन हुने अचार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेको छ । ‘डिपार्टमेन्ट स्टोरमा यहाँको अचार बिक्री हुन्छ,’ उनले भनिन्, ‘उद्योगले बजारीकरण गर्न नसक्दा लक्ष्यअनुसारको उत्पादन गर्न सकिएको छैन ।’ उनका अनुसार अहिले वार्षिक १५ लाखको अचार बिक्री हुँदै आएको छ । उनका अनुसार पछिल्लो समय अमेरिकाबाट समेत अचारको माग आएको छ । ‘अकबरे, तामा, कागती र मेथीको अचार बन्छ,’ उनले भनिन् । यो महिला समूहसहितका त्यहाँका अन्य महिलाले नमुना सहकारी संस्था नै खोलेर सामूहिक कृषि कर्म पनि गर्दै आएका छन् । यहाँका ७९ परिवारका महिलाले ८० बिघा जमिन मिलाएर सहकारीका नाममा कृषिकर्मसहित होमस्टे पनि सञ्चालन गर्दै आएका छन् । माछापालन, होमस्टे, धान खेतीसहित मकैको बीउ उत्पादन महिलाले गर्दै आएका छन् । सबै महिलाका परिवार यही कर्मबाट गज्जबले चल्दै आएका छन् ।

विना

मोरङ केराबारी–२ सिंहदेवीकी बिना सुब्बा लिम्बू एक्लैले होमस्टेसहित २४ रोपनी जमिनमा कृषि फर्म र २० हेक्टर जमिनमा चिया खेती गरेकी छन् । त्यसका लागि उनले स्थानीय २२ जनालाई नियमित रोजगारी दिएकी छन् । त्योबाहेक बिनाले परिवारबाट अपहेलित भएका स्थानीय चार बालबालिकालाई आफूसँगै राखेर पढाउने र भरण पोषण पनि गर्दै आएकी छन् । ‘होमस्टेसहित आफ्नो कृषि फर्ममा अहिलेसम्म करिब २० करोडको लगानी छ,’ बिनाले भनिन्, ‘अहिलेसम्म सरकारले डेढ लाख आर्थिक सहयोग गरेको छ । त्यसबाहेक सबै लगानी निजी हो ।’ होमस्टे र कृषि फर्ममा कार्यरत २२ जनालाई एक छाक खानासहित मासिक सरदर अढाई लाख तलब बिनाले वितरण गर्दै आएकी छन् ।

सानो लगानीबाट सुरु भएको उनको हस्तकला उद्योगमा अहिले १२ लाख लगानी छ । सिजनमा महिनामा चार लाखसम्मको हस्तकला सामग्री बिक्री हुँदै आएको उनको भनाइ छ । विद्यालयको स्वीटर, सिरुको ढाकी, कोलाको थुम्काबाट रेशा निकालेर कपडा र मालालगायतका हस्तकला सामग्री उनको उद्योगबाट उत्पादन हुन्छ । हस्तकला सामग्री उत्पादनका लागि उनले अहिलेसम्म स्थानीय तीन सयभन्दा बढी महिलालाई तालिम पनि दिएकी छन् । उनले भनिन्, ‘स्थानीयलाई सिकाउँदै उनीहरूलाई नै मजदुरी दिएर उद्योग सञ्चालन गर्दै आएकी छु ।’ उनलाई उत्कृष्ट हस्तकला उद्यमीका नाममा प्रदेश सरकार, घरेलु तथा साना उद्योग कार्यालय र उर्लाबारी नगरपालिकाले सम्मान पनि गरेको छ ।

मोरङ, सुनसरी र झापाको औद्योगिक क्षेत्रमा पुरुषसरह सयौं सफल महिला उद्यमी छन् । उनीहरूले ठूलोदेखि साना लगानीमा उद्योग सञ्चालन गरेर धेरैलाई रोजगारीसमेत दिएर आफ्नो परिवार चलाएका छन् । उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चूडामणि भट्टराईका अनुसार संगठनमा मात्र महिला उद्यमी समितिमा दर्जन बढी महिला आबद्ध छन् । उनका अनुसार उनीहरूले कुनै न कुनै उद्यममा संलग्न रहेर सयौंलाई रोजगारी दिएका छन् । त्यसैगरी यहाँको मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश कार्यालयको महिला उद्यम समितिमा पनि दर्जनौं महिला आबद्ध रहेर सानाठूला उद्योग सफल रूपमा सञ्चालन गरेर ठूलो संख्यामा महिलालाई रोजगारी दिँदै आएको व्यापार संघका कार्यकारी निर्देशक कृष्ण रेग्मीले बताए ।

प्रकाशित : जेष्ठ ५, २०८० ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?