कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जरालाई ‘पुनर्जीवन’

केदार शिवाकोटी

दोलखा — जंगलमा रूख काटेपछि जराको खासै महत्त्व हुँदैन । केही दाउराका लागि प्रयोग हुन्छन् भने कतिपय कुहिएर नष्ट । तर भीमेश्वर नगरपालिका–६ का ३७ वर्षीय युवक सुजन खड्काको घर पुग्ने जोकोही पनि उनले जम्मा पारेका थरीथरीका जरा देखेर अचम्म मान्छन् । खड्काले घरमा थुपारेका सुकेका जरा बाल्नका लागि भने होइन । जंगल र सडक खन्ने स्थानमा खेर गइरहेका जरा उनले कला भरेर ‘पुनर्जीवन’ दिन सँगाल्ने गरेका हुन् । भीमेश्वर–६ सिमपानीमा चिया पसलसमेत चलाउँदै आएका उनी फुर्सद निकालेर जरामा मूर्ति कोरिरहेका हुन्छन् ।

जरालाई ‘पुनर्जीवन’

सानै उमेरदेखि व्यंग्यात्मक चित्र कोर्दै आएका उनले जरालाई आकृति दिन भने कोरोना सल्किएका बेला भएको लकडाउनमा सिकेका हुन् । उनको ग्यालरीमा अहिले पनि ४० भन्दा बढी जरामा विभिन्न आकृति दिएर निकै आकर्षक बनाएका छन् । काठमा कला कोर्ने धेरै भए पनि जरामा कला कोर्ने निकै कम भएको उनले बताए । खासगरी जरामा अमूर्त कला (एब्स्ट्रयाक आर्ट) कुँदिन्छ । काष्ठकलामा जस्तो जरामा मूर्तिकला कुँद्न निकै कठिन हुन्छ । तर उनले जरामा पनि मूर्तकला भर्ने प्रयास गरिरहेका छन् । उनले जरामा महिलाका पीडा, पर्यावरण र समाजको प्रतीक झल्कने कला कुँद्ने गरेका छन् । ‘लकडाउनका समयमा घरमा बसेर निकै सोचेपछि जरामा आकृति भर्न सकिन्छ कि भनेर सुरु गरें,’ उनले भने, ‘सिक्दै गएपछि जरामा विभिन्न कला भर्न सकें ।’

काठमा जस्तो जरामा कुँद्न निकै कठिन हुने उनले बताए । ‘कतै सडक खन्दा फेला परेका र जंगलमा खेर गइरहेका जरा खोजेर ल्याउने गरेको छु,’ उनले भने, ‘जरा त्यत्तिकै सडेर वा आगो बालेर खेर जान्छ यसमा सीपअनुसारको कला भनेर पुनर्जीवन दिइरहेको छु ।’ काठमा जस्तो जरामा मूर्ति बनाउन सहज नभएको उनले बताए । ‘जरा जस्तो छ, त्यसले के माग्छ, त्यही आकारमा जरालाई कलामार्फत रूप दिने हो,’ उनले भने । उनले जरामा हिन्दु र बौद्ध धर्मसम्बन्धी कला, जनावरको आकृतिका साथै सामाजिक गतिविधिका चित्र बनाएका छन् । यस्तै एउटै जरामा महिलाका पीडा कतिसम्म हुन्छन् भनेर दर्शाउन खोजेका छन् । पर्यावरणमा जंगली जीवको महत्त्व र लोपोन्मुख जनावरका चित्र पनि जरामा देखाएका छन् ।

जिल्लामा खासगरी उनी सामाजिक व्यंग्यात्मक चित्रका लागि चिनिन्छन् । उनको घरवरिपरि समाजमा भएका विसंगतिका चित्रहरू झुन्डिएका हुन्छन् । ‘जरामा मैले खासगरी महिलाको पीडा, पर्यावरण र समाजको चित्रण गरी आकार दिने गरेको छु,’ उनले भने, ‘एउटा जरामा हातले कुँदेर त्यसलाई आकार दिन सातादेखि एक महिनासम्म लाग्छ ।’ एउटा जरालाई चित्रसहित रंगरोगन र आकार दिन निकै संघर्ष हुने उनले बताए । ‘रूख काटेपछि जरा पनि मर्छ, काटेपछि पनि रूखको महत्त्व हुन्छ । जराको महत्त्व कसैलाई वास्ता हुँदैन,’ उनले भने, ‘यही जरालाई कलामा रूपान्तरण गरेर जराको महत्त्व र पुनर्जीवन दिन जरामा कला भर्न थालेको हुँ ।’

सुजनले पछिल्लो समय जराको जंगल बनाउने गरी काम थालेका छन् । ‘जरामा कला भरेर यसलाई पुनर्जीवन दिएँ,’ उनले भने, ‘तर जराको जंगल बनाएर यसको महत्त्व र जंगलमा के के पाइन्छ यी सबै देखाउने गरी काम गरिरहेको छु ।’ जराको जंगल बनाउन योजना आफ्नो जीवनको एउटा सपना पनि भएको उनले बताए । जरामा भरेको कला व्यावसायिक रूपमा भने बजारमा लगेका छैनन् । जराको कलाको बजार मूल्य भने थाहा छैन उनलाई । जरामा भरेको कला प्रदर्शन गर्ने रहर भए पनि त्यसबारे आफू अनभिज्ञ रहेको बताउँछन् सुजन ।

प्रकाशित : जेष्ठ ५, २०८० १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?