आजकै दिन : श्रीलंकामा गृहयुद्ध अन्त्य

जेष्ठ ४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २००९ मा आजकै दिन (मे १८) मा श्रीलंकाको गृहयद्ध अन्त्य भएको थियो । लिबरेसन अफ तमिल टाइगर इलम (लिट्टे) ले छुट्टै राज्यको मागसहित १९८३ जुलाई २३ मा सुरु गरेको युद्ध २६ वर्षपछि अन्त्य भएको थियो । भेलुपिल्लाई प्रभाकरणको नेतृत्वमा १९७६ मा स्थापित लिट्टेले सात वर्षपछि युद्ध घोषणा गरेको थियो । 

लिट्टेले श्रीलंकाको उत्तर–पूर्वी क्षेत्रमा स्वतन्त्र ‘तमिल राज्य’ को मागसहित सशस्त्र युद्धको सुरु गरेको थियो । सिंहाली समुदायको प्रभुत्व रहेको सरकारले लामो समयदेखि तमिल समुदायमाथि विभेद र दमनकारी नीति अपनाएको भन्दै लिट्टेले छुट्टै राज्यको माग गरेको थियो । 

१९५६ मा ल्याइएको ऐनमार्फत सिंहालीलाई देशको आधिकारिक भाषा बनाइएपछि तलिम समुदाय आन्दोलित भएको थियो । त्यसलगत्तै सिंहाली समुदायले १९५६ र १९५८ मा संगठित रूपमा तमिलविरुद्ध आक्रमण सुरु गरेको थियो । त्यसको प्रतिरोध गर्न प्रभाकरणको नेतृत्वमा लिट्टे गठन भएको थियो ।

१९७७ मा सिंहालीले तलिमविरुद्धको दमन र १९८१ म जाफ्नास्थित सार्वजनिक पुस्तकालय जलाइदिएपछि द्वन्द्वले उग्र रूपमा लिएको थियो । १९८३ को जुलाईमा तमिलविरुद्ध साताव्यापी दमनपछि लिट्टेले देशव्यापी सशस्त्र युद्ध सुरु गरेको हो । सन् २००० मा श्रीलंकामा द्वन्द्व चरम उत्कर्षमा पुगेका बेला देशको उत्तर र पूर्वी प्रान्तको ७६ प्रतिशत भूभागमाथि लिट्टेले नियन्त्रण कायम गरेको थियो । 

तर त्यसलगत्तै कारबाही सशक्त पार्दै गएको श्रीलंकाको सेनाले २००९ को जनवरी २५ मा लिट्टेको नियन्त्रणमा रहेको अन्तिम सहर मुलाइतिभूमाथि नियन्त्रण कायम गरेको थियो ।

लिट्टे नेता प्रभावकरण मारिएसँगै राष्ट्रपति महिन्दा राजापाक्षले गृहयुद्ध अन्त्यको घोषणा गरेका थिए । संयुक्त राष्ट्रसंघका अनुसार २६ वर्षसम्म चलेको युद्धका कारण ८० हजारदेखि एक लाख जनाको मृत्यु भएको थियो । तीमध्ये ७० हजार जनाको २००७ सम्ममा ज्यान गएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully