काठमाडौँ — फिल्म ‘वेलकम टु हेम्जाकोट’ जेठ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । ग्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मले सोमबार प्रदर्शनको नयाँ मिति तोकेको हो । यसअघि प्राविधिक कारण देखाई फिल्मको प्रदर्शन मिति सारिएको थियो ।
बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मि भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामालगायत कलाकारको अभिनय छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार फिल्मको सम्पादन मित्र डी गुरुङले गरेका हुन् । फिल्ममा कविराज गहतराज, गम्भीर विष्टको करियोग्राफी रहेको छ । फिल्मका गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशानले आवाज दिएका छन् ।
फिल्ममा तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले लगानी गरेका छन् । फिल्मले चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको थियो । फिल्म कास्की जिल्लाको पर्यटकीय स्थल हेम्जाकोटमा खिचिएको हो । फिल्म वितरणको जिम्मा नेपालभरका लागि सुनील मानन्धरले लिएका छन् । भारत, अस्ट्रेलिया, जापानलगायत केही युरोपेली देशका लागि फिल्मको चलचित्रको विदेश राइट्ससमेत बिक्री भइसकेको निर्देशक पौडेलले जनाए । यसअघि चलचित्रमा समावेश आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायतका कन्टेन्ट सार्वजनिक भएका छन् । यी प्रमोसनल कन्टेन्टलाई दर्शकले मन पराएका छन् ।
