अस्ट्रेलिया तताउँदै नेपाली फिल्म

पछिल्लो समय अस्ट्रेलियामा रिलिज गरिएका नेपाली फिल्मले बक्सअफिसमा राम्रो स्थान बनाइरहेका मात्र छैनन्, नेपालमा पनि राम्रा फिल्म बन्न थालेको सन्देश दिएका छन् । त्यसैको पछिल्लो उदाहरण बनेको छ अस्ट्रेलियाका ४२ हलमा एक सय स्क्रिनमा प्रदर्शन भइरहेको नेपाली फिल्म ‘प्रसाद–२’ । 

जेष्ठ ३, २०८०

नारायण खड्का

अस्ट्रेलिया — पछिल्लो समय नेपाली फिल्मसमेत विभिन्न देशका बक्सअफिसमा राम्रै प्रभाव जमाउने हैसियत राख्छन् भन्ने पुष्टि हुँदै गएको छ । केही दिनअघि अस्ट्रेलियामा रिलिज गरिएको ‘प्रसाद–२’ ले बक्सअफिसमा राम्रो स्थान बनाइरहेको मात्र छैन कि नेपालमा पनि राम्रा फिल्म बन्न थालेको सन्देश दिएको हो ।

विदेशी बक्सअफिसमा समेत नेपाली फिल्मले राम्रो स्थान बनाउनेमा निर्माता, कलाकार तथा निर्देशकले सायदै सोचेका थिए होला । तर राम्रो, समय सापेक्ष फिल्म निर्माण गर्ने हो भने विदेशमा समेत बजार रहेको प्रमाणित गरिदिएका छन् केही फिल्महरूले । त्यसै सिलसिलाको पछिल्लो फिल्म हो, ‘प्रसाद–२’ । अस्ट्रेलियाका बिभिन्न राज्यका दर्जनौं हलमा प्रदर्शन भइरहेको फिल्म हाल अस्ट्रेलियाली बक्सअफिसमा १४ औं नम्बरमा छ । 

अस्ट्रेलियास्थित युवा व्यवसायी देव कार्की नमस्ते इन्टरटेन्मेन्टमार्फत अस्ट्रेलियाली हलसम्म ल्याई पुर्‍याएका हुन् ‘प्रसाद–२’ । कार्कीले यसअघि पहिलोपटक अस्ट्रेलियाली बक्सअफिसमा ‘प्रेमगीत–३’ (हिन्दी भाषामा डब गरिएको) ल्याएका थिए । उक्त फिल्म पनि बक्सअफिसमा १३ औं स्थानसम्म आउन सफल भएको थियो । हिन्दी भाषामा समेत निर्माण भएको र भारतमा समेत चलचित्रले धेरै प्रचार पाएका कारण फिल्मले नेपालीबाहेकका दर्शक तानेको थियो । तर गत बिहीबारदेखि प्रदर्शनमा आएको ‘प्रसाद–२’ ले राम्रो उपस्थिति मात्र देखाएको छैन, बक्सअफिसमा सञ्चालनमा आएको पहिलो नेपाली भाषाको चलचित्र पनि बनेको छ । 

‘यो हामीले व्यावसायिक रूपमा भन्दा पनि नेपाली फिल्म, नेपाली परिवेश, दृश्य तथा कलासंस्कृतिलाई अस्ट्रेलियामा समेत चिनाउने प्रयास गरेका हौं,’ कार्की भन्छन् । हुन त यो फिल्मको अस्ट्रेलिया अधिकार उनको कम्पनी र गोर्खे इन्टरटेन्मेन्टका रञ्जितराज वन्तले लिएका हुन् । तर वितरणको जिम्मा भने कार्की एक्लैले सम्हालेका छन् । ‘हलिउड र बलिउडका फिल्मसँगै आफ्नो भाषाको फिल्म मल्टिप्लेक्समा चलिरहँदा पाइने आनन्द पैसामा तुलना नहुने रहेछ,’ उनले भने । यसअघि ‘प्रेमगीत–३’ चलाएको अनुभवले पनि धेरै सहज भएको बताउँछन् कार्की । 

अस्ट्रेलियामा कोभिडअघि महिनैपिच्छे नेपाली चलचित्र प्रदर्शन हुने गरेका थिए तर व्यक्तिगत रूपमा । त्यो क्रममा कोभिडपछि कमी आएको भए पनि त्यो क्रम पछिल्लो समयमा बढ्दै गएको छ । नेपालमा बनेका र राम्रा मानिएका प्रायः सबै फिल्म प्रदर्शन हुने गरेका भए पनि अस्ट्रेलियाली बजारमा ‘प्रेमगीत–३’ र ‘प्रसाद–२’ बाहेकले प्रवेश पाएका छैनन् । चलचित्र क्षेत्रमा लागेका अनुभवीहरूसमेत पछिल्लो समयमा यी दुई फिल्मका कारण नेपाली सिनेमा उद्योग र नेपाली फिल्मलाई अलग उचाइ मिलेको स्विकार्छन् । सिड्नीमा रहेर आधा दर्जनबढी नेपाली फिल्म निर्माण गरिसकेका दिनेश पोखरेल नेपाली फिल्मलाई अब व्यक्तिगत रूपमा भन्दा मल्टिप्लेक्समा सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् । ‘हाम्रोमा पनि राम्रा फिल्म बन्छन् भन्ने यी दुई फिल्मले प्रमाणित गरिसकेका छन्,’ पोखरेल भन्छन् । 

हाल अस्ट्रेलियका इभेन्ट, होयट्स, युनाइटेडलगायत हलमा चलिरहेको छ ‘प्रसाद–२’ । फिल्मले ६ राज्यका ४२ हलमा एक सय स्क्रिन पाएको कार्कीले बताए । तर अन्य दुई राज्य तास्मानिया तथा क्यापिटल टेरिटोरीमा भने व्यक्तिगत रूपमा सञ्चालन गर्ने गरी बिक्री गरिएको छ । ‘प्रसाद–२’ अहिले सफल मानिएका हलिउड चलचित्र ‘गार्जियन अफ द ग्यालेक्सी’, इभिल डेड’ लगायतका ठूला लगानीका चलचित्रसँगै जुधिरहेको छ । ‘साँच्चै भन्ने हो भने अस्ट्रेलियामा भएका नेपाली मात्र नभई समग्र नेपाली फिल्म उद्योगका लागि यो गर्वको विषय हो,’ कार्की भन्छन् । निर्माता पोखरेलसमेत अस्ट्रेलियाजस्तो देशमा आफ्नो चलचित्रलाई प्रदर्शन गर्नका लागि नेपाली चलचित्र क्षेत्रले मात्र नभएर अस्ट्रेलियाली समुदायले समेत सहयोग गर्नुपर्ने तर्क गर्छन् । 

दुईवटा नेपाली भाषाका फिल्मलाई सफलतापूर्वक यहाँका मल्टिप्लेक्समा चलाइसकेपछि कार्की यसलाई अझ एक तह माथि लैजाने योजनामा छन् । नेपाली भाषामा निर्माण भएका फिल्मलाई अंग्रेजी भाषामा डब गरेर प्रदर्शन गराउने । ‘जसरी प्रेमगीत–३ लाई हिन्दी भाषामा डब गरेर भारतीयलगायतका दर्शकसम्म पुर्‍याउन सकियो, त्यसरी नै नेपाली फिल्मलाई अंग्रेजी भाषामा डब गरेर प्रदर्शनमा ल्याउन सकियो भने यसले सबै दर्शकलाई समेट्न सक्छ,’ आफ्नो योजनाबारे उनले भने । नेपाली भाषा नबुझ्ने विदेशीमा मात्र नभएर हुर्कंदै गरेका नेपाली दोस्रो पुस्ताले समेत आफ्नो चलचित्र अंग्रेजी भाषामा हेरेर आफ्नो देशका बारे धेरै कुरा थाहा पाउन सक्ने उनको बुझाइ छ । 

अस्ट्रेलियामा ल्याइपुर्‍याउन एउटा फिल्मको १५ देखि ५० लाख रुपैयाँसम्म पर्ने गरेको जानकारहरूको भनाइ छ । त्यसमा पनि राम्रो चलेको, चल्तीका कलाकारले अभिनय गरेको र दर्शकबाट राम्रो प्रतिक्रिया आएका फिल्म महँगो पर्ने गरेको छ । तर पनि सबै डिल पूर्णतः व्यावसायिक र आर्थिक रूपले सफल हुने सोचले मात्र गर्ने गरिएको छ । पछिल्लो समयमा त राम्रो मानिएका फिल्म फ्लोरमा जानेबित्तिकै निर्माण घोषणाताका नै बिक्री हुने गरेको छ । 

अस्ट्रेलियामा अहिलेसम्म ल्याइएका नेपाली फिल्म सबै व्यक्तिगत तवरमा चलाइने गरेका छन् । कुनै कुनै त अत्यधिक सफलसमेत बनेका छन् । तर तिनीहरू कुनै हल भाडामा लिएर वा अन्य त्यस्तै स्थानमा चलाइने गरिएको छ । केही फिल्मको टिकट स्वतःस्फूर्त रूपमा बिक्री हुने गरेको भए पनि अधिकांशको टिकट बिक्री ‘पुस सेल’ मार्फत हुने गरेको छ । अर्कोतिर मल्टिप्लेक्समा लाग्ने शुल्कभन्दा व्यक्तिगत रूपमा राखिएका शोको टिकट दर महँगो हुने गरेको छ । त्यसरी चलाइने फिल्म आर्थिक रूपले सफल हुने भए पनि नेपाली फिल्मको प्रवर्द्धनमा भने खासै प्रभाव पार्न सक्दैनन् । 

युवा ग्यालरी

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully