नेपाल र भारतका नाट्यकर्मी पोखरामा

कान्तिपुर संवाददाता

गण्डकी — भारतको दार्जिलिङ, सिक्किम, असमलगायतका ठाउँमा नेपाली भाषा र वाङ्मयको काममा लागेका छन्, डाक्टर शुकराज दियाली । दियाली दार्जिलिङ सिलिगुढीमा नेपाली नाटकको काम गर्छन् । बर्सेनि यो क्षेत्रमा ३० देखि ४० वटा नेपाली नाटक मञ्चन हुने बताउँछन् उनी । पुराना नाटककारका नाटकको तुलनामा नयाँ लेखकका नाटक मञ्चन हुने गरेको सुनाए । 

केही प्रान्तमा घरभित्रको मात्र भाषाका रूपमा रहेको नेपाली भाषामै नाटक, लेखन गर्ने युवापुस्ताको रुचि बढ्दो रहेको दियालीको निष्कर्ष छ । नेपाली भाषामै त्यहाँको राज्यसत्ता, नेपालीभाषीमाथिको दमनलाई विम्बमा प्रस्तुत गरिन्छ ।

नेपाली भाषा बोल्ने र वाङ्मय क्षेत्रमा लागेका दियालीजस्तै ३१ जना नाट्यकर्मी पोखरा आएका छन् । नेपाल नाट्य प्रतिष्ठान पोखराको आयोजनामा नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनारमा भारतका १३ संस्थाबाट नाट्यकर्मीहरू आएका हुन् ।

सेमिनारमा नेपाल र भारतस्थित नेपाली नाट्यकर्मीले नेपाली नाटकको शिल्प र मञ्चनबारे विमर्श गरेका छन् । सेमिनारमा कार्यपत्र प्रस्तुत गर्दै भारतका नेपालीभाषी नाट्यकर्मीले आफ्ना अनुभव साटे । नेपालीभाषी भारतीय मूलधारमा बग्न नपाएको अनुभव उनीहरूको थियो र नेपालीभाषालाई त्यहाँको सरकारले महत्त्व नदिएको सुनाए । तर पनि नाट्यकर्मीले विम्बमा अवस्था झल्काइरहेको र झनै रफ्तारमा भाषा संरक्षणको काम गरिरहेको दाबी पेस गरे ।

नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पुरु लम्सालले नेपाली नाटकको शिल्पबारे मन्थन हुने गरेको भए पनि मञ्चनबारे नभएको बताउँछन् । नेपालमा नाटक प्रकाशनमा प्रकाशकले उपेक्षा गरेको उनको आरोप छ । ‘जति कविताका किताब छापिन्छन्, त्यति नाटकका छापिँदैनन् । बिक्री हुन्न भन्ने सोच अझै छ,’ उनले भने ।

नेपालमा अनुदित नाटक मञ्चनको लहर बढ्नुले आफ्नै मौलिक कथाहरू मेटिँदै जाने बताए । नेपालमा अहिले नाट्य पर्यटनलाई जोड्न सकिने उनको सुझाव छ । पर्यटकलाई नेपाली नाटक देखाउनुपर्ने उनको जोड थियो ।

अहिलेसम्म नेपालमा नाटक लेखनलाई मात्र विमर्श भए पनि सेमिनारमा मञ्चनका बारे पनि विमर्श भएको थियो । नाटक लेखेर मात्र नहुने र मञ्चनका लागि पर्दामा देखिने कलाकारसँगै पर्दापछाडिका जनशक्ति पनि रंगकर्मी रहेकाले उनीहरूबारे पनि खोज अनुसन्धान गर्न लम्सालको सुझाव छ ।

यस्तै नाट्यकर्मी कविता नेपालले पनि नाटक भनेकै पुराना नाटककारका लेखिएका नाटकमात्र भएको भाष्य अझै स्थापित रहेको बताइन् । २०६७ मा परिवर्तन थिएटर खोलेकी नेपालले जातीय तथा महिला मुद्दा उठानबारे सेमिनारमा विमर्श नहुनु दुःखद भएको बताइन् । राजधानीले बाहिरका नाट्यकर्मी नदेख्दा नाट्य प्रतिष्ठानले मोफसलका नाट्यकर्मीबारे अनभिज्ञता जनाउने छुट नरहेको उनको भनाइ छ । पश्चिमा नाटकले विभिन्न रूप फेरिरहँदा नेपाली नाट्यक्षेत्र भने पुरानै ढर्राका नाटककारका नाटकमा अल्झेको बताइन् । लेखन, मञ्चन, पर्दापछाडिका रंगकर्मीबारे पनि विमर्श गर्न उनको सुझाव छ । सरकार आफैंले नाट्यक्षेत्रको उन्नयनमा काम गर्नुपर्नेमा एउटा संस्थाले एक्लै आँट्नु प्रशंसनीय रहेको जोडिन् ।

सेमिनारमा समीक्षक रहेका कमलमणि नेपालले प्रायः एकै विषयमा कार्यपत्र प्रस्तुत भएको बताए । नेपाल र भारतका नाट्यक्षेत्रबारे कार्यपत्रमा तथ्यांक मात्र आएको तर काम गर्ने शैली, उठाएका विषयबारे कार्यपत्र मौनप्रायः रहेको उनको अनुभव छ । नेपाल नाट्य प्रतिष्ठानका अध्यक्ष प्रा. रामचन्द्र पोखरेलले सेमिनारमा पेस भएका कार्यपत्रलाई परिमार्जन गरेर प्रकाशन गरिने बताए । प्रकाशन गर्नुपूर्व उठेका विषयमा खोज गरेर त्यसलाई समेटिने योजना रहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ३१, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

नेप्से पुनःसंरचना गर्न प्रस्ताव

नेप्से पुनःसंरचना गर्ने विषय बजेटमै पटक–पटक उल्लेख गरिए पनि चासो दिइएको थिएन
यज्ञ बञ्जाडे

काठमाडौँ — सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनःसंरचनाको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । नेप्से पुनःसंरचनाको माग डेढ दशकदेखि उठ्दै आए पनि बल्ल प्रस्ताव अघि सारिएको हो । 

नेप्से सञ्चालक समितिले गत आइतबार पारित गरेको पुनःसंरचना प्रस्तावमा नेप्सेको वास्तविक मूल्यांकन गर्ने, पुँजी वृद्धि गरेर न्यूनतम ३ अर्ब रुपैयाँ पुर्‍याउने, सर्वसाधारणलाई ३० प्रतिशत सेयर जारी गर्ने, विदेशी रणनीतिक साझेदार भित्र्याउनेलगायत विषय छन् । नेप्सले गत सोमबार अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेस गरेको प्रस्तावमा अर्थमन्त्री प्रकाशशरण महतले निर्णय गर्नुपर्ने हुन्छ । ‘नेप्सेको यो प्रस्तावलाई अर्थमन्त्री महतले कसरी लिन्छन् भन्ने चासो छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले कान्तिपुरसँग भने । ती अधिकारीका अनुसार नेप्सेको पुनःसंरचना प्रस्तावका विषयमा अर्थमन्त्री महतले कुनै छलफल गरेका छैनन् ।

नेपाल धितोपत्र बोर्डले निजी लगानीको स्टक एक्सचेन्जलाई लाइसेन्स दिन गृहकार्य अघि बढाएकै बेला नेप्सेले पुनःसंरचनाको अनुमति माग्दै प्रस्ताव अर्थ मन्त्रालयमा पुर्‍याएको हो । विवादित बनेपछि नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय सरकारले गरिसकेको छ । नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले नेप्सेलाई बलियो बनाउन पुनःसंरचना आवश्यक रहेको बताए । ‘पुनःसंरचना गर्दा निजी आए पनि नेप्से प्रतिस्पर्धामा उत्रिन सक्छ,’ उनले भने, ‘विगतमा प्रयास भए पनि नेप्सेको पुँजी पुनःसंरचना गर्न दिइएन ।’

नयाँ स्टक एक्सचेन्ज थप्ने कि नेप्सेकै पुनःसंरचना गर्ने भन्ने सम्बन्धमा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने पुँजी बजारका विज्ञ एवं राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्टले बताए । ‘नेप्सेको पुनःसंरचना अत्यावश्यक हो कि नयाँ स्टक एक्सचेन्ज ? यसमा सरकारको स्पष्ट धारणा चाहिन्छ,’ उनले भने, ‘नेप्सेले पुँजी बढाउँछ, प्रविधि र जनशक्ति पनि अद्यावधिक गरेर सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न सक्छ भने नयाँ एक्सचेन्ज किन चाहियो ?’

पुँजी बजारको आकार सानो भएकाले नयाँ स्टक एक्सचेन्ज आवश्यक भए/नभएकोबारे अध्ययन गरेर निर्णय लिनुपर्ने भट्टको भनाइ छ । ‘नयाँ कम्पनीले पनि अतिरिक्त केही गर्ने होइन । अहिलेकै बजारमा भाग लगाएर काम गर्ने मात्र हो,’ उनले भने, ‘यसकारण सरकारको लगानी भएको, लगातार रूपमा नाफामा सञ्चालन भइरहेको नेप्सेको पुनःसंरचना आवश्यक छ ।’ अहिलेको अवस्थामा सरकारले पैसा, जनशक्ति, प्रविधि थपेर नेप्सेलाई सबै पक्षबाट बलियो बनाउनुपर्ने भट्टको धारणा छ ।

नेप्सेको पुनःसंरचना गर्ने, विदेशी रणनीतिक साझेदार भित्र्याउने विषय २०६४ सालदेखि नै उठ्दै आएको छ । तर अर्थ मन्त्रालयले निर्णय लिन सकेको छैन । हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ भने सरकार, राष्ट्र बैंक र कर्मचारी सञ्चय कोषको करिब ८४ प्रतिशत सेयर लगानी छ । नेप्से सञ्चालनमा आएको २९ वर्ष भइसक्दा पनि सर्वसाधारणमा सेयर जारी गरिएको छैन । कारोबार प्रणाली पनि अन्यन्त्र (विदेशमा) प्रयोग नभएको नेपाली सफ्टवेयर नै छ । ‘त्यही कारण नेप्सेलाई प्रतिस्पर्धी बनाउन पुनःसंरचनाको प्रस्ताव अघि बढाइएको हो,’ नेप्सेका एक अधिकारीले भने ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि नेप्सेको पुनःसंरचनाबारे उल्लेख भएकाले प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले बताए ।

प्रकाशित : वैशाख ३१, २०८० ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×