काठमाडौँ — सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पश्चिम जर्मनी र पोल्यान्डबीच १९७० को शीतयुद्धको समयमा १९५५ मे १४ मा पोल्यान्डको वार्सामा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा सन्धि हो ।
दोस्रो विश्वयुद्धपछि विश्व दुई खेमामा बाँडिन पुग्यो । पुँजीवादी खेमाको नेतृत्व अमेरिका र साम्यवादी खेमाको नेतृत्व तत्कालीन सोभियत संघले गर्यो । दुवै देशबीच युद्धका कारण तहसनहस युरोपमा आफ्नो प्रभाव जमाउने होडबाजी चल्यो । तर दुवै देश आणविक शक्ति सम्पन्न भएका कारण एक–अर्काविरुद्ध भौतिक आक्रमणमा भने उत्रन सकेनन् । जसका कारण शीतयुद्ध सुरु भयो ।
त्यसैक्रममा युद्धको तयारीकै रूपमा अमेरिकाले उत्तर एट्लान्टिक क्षेत्रका देश समेटेर १९४९ को अप्रिल ४ मा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) गठन गर्यो । त्यसैको जवाफी कदमका रूपमा १९५५ मे १४ का दिन सोभियत संघले पूर्वी युरोपका देशहरूलाई समेटेर वार्सा ट्रिटी अर्गनाइजेसनको निर्माण गरेको हो । मित्रता, सहयोग र पारस्परिक सहयोगका लागि भनेर गरिएको सन्धि ‘वार्सा प्याक्ट’ का रूपमा चिनिन्छ ।
सोभियत संघसँगै अल्बानिया, बुल्गेरिया, चेकोस्लोभाकिया, पूर्वी जर्मनी, हंगेरी, पोल्यान्ड, रोमानिया यसका सदस्य राष्ट्र थिए । तर १९९१ मा सोभियत संघको विघटनसँगै वार्सा प्याक्टको पनि विघटन भएको हो ।
