कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

दिवंगत छोरीको ‘प्रतिष्ठा जोगाउन’ बाबुको संघर्ष

६८ प्रजातिका चरा र पशुको आवाज निकाल्ने सन्तोषीको हत्याका अभियुक्तविरुद्ध मागेजति नै कैद सजाय तोकिएको छ तर बयानको विवरणबाट आपत्तिजनक अंश हटाउन उनी अड्डा धाइरहेका छन्
तुफान न्यौपाने

काठमाडौँ — साइकलका दुईतिर चप्पलका बोरा बाँधेर टोलटोलमा बेच्दै जीविका चलाउने धनेबहादुर तामाङ त्यस दिन पनि सदाझैं झमक्क साँझ परेपछि घर फर्किएका थिए । २०७८ असार ८ गते साँझ साइकलबाट चप्पलका बोरा झारेर डेरामा थन्काउँदै गरेका बखत धने ८–१० जना अपरिचित व्यक्तिको घेरामा परे । ‘चराको आवाज निकाल्ने केटी कहाँ बस्छ ?’ तिनैमध्येको कसैले सोध्यो । ‘मेरो धर्मछोरी हो, यहीं बस्छे,’ धनेले जवाफ फर्काए ।

दिवंगत छोरीको ‘प्रतिष्ठा जोगाउन’ बाबुको संघर्ष

काठमाडौं–७ स्थित कालोपुलनेरको गुरुङ बस्तीमा दुईवटा कोठा भाडामा लिएर बस्दै आएका धनेले १८ वर्षअघि सडकमा भेटिएकी सन्तोषी सुब्बालाई धर्मछोरीका रूपमा हुर्काइरहेका थिए । कानुनतः धर्मछोरी बनाउन कागजी झन्झट भएपछि उनले ‘संरक्षक’ का रूपमा उनको नागरिकता बनाइदिएका थिए । कोइली, काग, कुखुरा, ढुकुर, परेवा, बाँदर, बिरालो, कुकुर, बाघ, घोडा, गाई, स्याल, खरायोलगायत ६८ प्रजातिका चराचुरुंगी र पशुको आवाज निकाल्ने सन्तोषी क्षमता प्रदर्शन गर्न देशभरका विद्यालय तथा सार्वजनिक कार्यक्रममा जान्थिन् । ती यात्रामा धर्मबाबु धनेको साथ छुट्दैनथ्यो । आफ्नी छोरीबारे सोध्दै डेरामा आइपुगेका अपरिचितले मोबाइलमा सन्तोषीका चप्पल, ज्याकेट र झोलाको फोटो देखाएर सोधे– ‘यी सामान उसैका हुन् ?’

सन्तोषीलाई केही नराम्रो भएछ कि भनेर धनेको मनमा चिसो पस्यो । ती सामग्री उनैका भएको बताएपछि धनेले सोधे, ‘तपाईंहरू पो बरु को पर्नुभयो ? अनि यी फोटो तपाईंहरूसँग किन छन् ?’

‘चराको आवाज निकाल्ने केटी’ को ठेगाना खोज्दै आएका उनीहरू सादा पोसाकका प्रहरी रहेछन् । धनेलाई घरको ताल्चा लगाउने मात्र समय दिए । दुवै हातमा हतकडी लगाएर स्कुटरको पछाडि राखे अनि नजिकैको गौशाला प्रहरी चौकी पुर्‍याए । चौकीमा साँझको खाना खान दिएपछि फेरि हतकडी लगाएर स्वास्थ्य परीक्षणका लागि काठमाडौं मेडिकल कलेज लगे । ‘त्यहाँबाट फर्काएर ल्याएपछि चौकीमा कैदीलाई थुन्ने कोठाबाहिर भुइँमा म्याट बिछ्याएर सुत्न लगाए । ‘मलाई त्यतिन्जेलसम्म किन त्यहाँ लगियो भन्नेबारे कसैले केही भनेकै थिएन,’ धने सम्झन्छन् ।

बिहान प्रहरीले हतकडी लगाएरै धनेलाई टेकु पुर्‍याएर बयान लिए । त्यसपछि सिधै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगे । त्यहाँ एउटा शव देखाएर पहिचान गर्न लगाइयो । प्रहरीले सोधे, ‘तिम्री धर्मछोरी सन्तोषी उनै हुन् ?’

धनेले छोरीको पहिचान गरिदिएपछि उनलाई पुनः स्कुटरमा ल्याएर घर छाडियो । यस पटक भने हतकडी लगाइएन । तर, त्यतिले उनको मन शान्त छैन, आफ्नो संसार उजाडिएको पीडामा जो छन् ।

सन्तोषी धर्मबा धनेसँगै हरेक वर्ष दुई पटक दक्षिणकाली मन्दिर जान्थिन् । त्यसबाहेक आफू एक्लै पनि जाने–आउने गरिरहन्थिन् । २०७८ असार ६ मा पनि उनी दक्षिणकाली मन्दिर दर्शनका लागि गइन् । फर्किएर खाजा खान स्थानीय होटल पुगेकी उनीसँग त्यहाँ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ निवासी र हाल काठमाडौं–२७ कमलाक्षी इनबहाल बस्ने २९ वर्षीय सुरेश तिमल्सिनासँग भेट भयो । सन्तोषीको मृत्यु भएकाले त्यसपछि के भयो भन्नेबारे उनैबाट ‘उनको कथा’ सार्वजनिक हुन पाएन । तर, त्यसपछि के भयो भन्ने सवालमा तिमल्सिनाले जे सार्वजनिक गरिदिए, त्यो कुरा धनेलाई पटक्कै मन परेको छैन, त्यसैले त उनी ‘तिमल्सिनाको कथन’ मेटाउन कुदेका कुद्यै छन् ।

तिमल्सिनासँगको भेट भएको दुई दिनपछि दक्षिणकाली मन्दिर नजिकैको पिकनिक स्थलको सार्वजनिक शौचालयमा एक महिलाको शव भेटियो । ढलानको टुक्राको पटक–पटकको प्रहारले अनुहार किच्याइएकाले पहिचान गर्न नसक्ने अवस्थाको थियो । त्यही शवलाई प्रहरीले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो र धनेले शव आफ्नी धर्मछोरी सन्तोषीको भएको पहिचान गरिदिएका थिए ।

स्थानीय व्यवसायी सुमन बलामीको वर्कसपमा काम गर्ने तिमल्सिना ६ गते साँझ हतारहतार ट्याक्सी लिएर हिँडेपछि काममा नफर्किएको सूचना प्रहरीले पायो । उक्त समयमा त्यस स्थानबाट काठमाडौंतिर हिँडेको ट्याक्सी पत्ता लगाएपछि प्रहरीले चालकको सहयोगमा उक्त तिमल्सिनाको डेरा पत्ता लगायो र उनलाई पक्रियो । रगतका टाटा लागेको सर्ट तथा सन्तोषीको साथबाट हराइरहेका गोल्डेन रङको मोबाइल, पेनड्राइभ, डिजिटल अडियो प्लेयर र डाटा केबललगायतका सामान पनि उनको साथबाट बरामद गर्‍यो ।

तिमल्सिनाले प्रहरीसँगको बयानमा सन्तोषीको हत्या आफैंले गरेको स्विकारे । उनले सन्तोषीसँग खाजा पसलमा भेट भएपछि पैसा दिएर यौन सम्पर्कका लागि सहमति भएको तर पैसा लिएपछि सम्बन्ध राख्न अस्वीकार गरेकाले हत्या गरेको बताए । उनले बयानमा भनेका थिए, ‘यौन सम्पर्कको कुरा हुँदा पाँच हजार मागेकी थिई । पैसा दिएर सम्पर्क गर्न खोज्दा प्रतिकार गरी भाग्न खोजेपश्चात् मैले निजको मुखमा एक मुक्का हिर्काई भुइँमा लडाएँ, त्यसपछि दुवै हात च्यापेर चल्न नदिई सम्पर्क गर्न खोज्दा चिच्याएकीले निजको रातो गुलाबी सलले घाँटीमा कसी यौन सम्पर्क गरी वीर्य बाहिर फालेको थिएँ । त्यसपछि निजका हातखुट्टाहरू चल्न छाडिसकेका थिए । त्यहाँबाट घिसार्दै शौचालयभित्र लगी ढलानको टुक्राले हिर्काई अनुहार किच्याई चिन्न नसकिने बनाइदिएको थिएँ । मृतकलाई हिर्काउँदा निजको दाँतसहितको बंगारा फुत्किएर भुइँमा खसेको थियो ।’

यस्तो बयान र प्राप्त प्रमाणका आधारमा तिमल्सिनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कार र हत्या मुद्दा दर्ता भयो । जिल्ला अदालतले साउन ३ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍यो । पछि बकपत्रका क्रममा तिमल्सिनाले सामान्य तथ्य मात्र फरक पर्ने गरी उस्तै प्रकृतिको बयान दोहोर्‍याए । उनले यस पटक तीन हजार रुपैयाँ दिएर दुई पटक यौन सम्पर्क राख्ने सहमति भएकामा एक पटकपछि सन्तोषीले नमानेकाले धकेलाधकेल हुँदा नशाको सुरमा रहेको आफूले सलले घाँटी कसी हत्या गरेको र शवलाई शौचालयभित्र छाडी उनको साथमा रहेका सामान लिएको बताए ।

धनेलाई भने तिमल्सिनाको यस्तो बयान चित्त बुझिरहेको थिएन । यस्तो बयानबाजीले आफ्नी धर्मछोरीलाई व्यावसायिक यौनकर्मीका रूपमा चित्रण गर्ने र त्यस्तो कुरा सत्य नभएको भन्दै त्यसलाई सरकारी रेकर्डमा नराख्नुपर्ने मागसहित सरोकार राख्ने निकायमा धाउन थाले । प्रहरी र सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालतमा समेत सम्बन्धित अधिकारीहरूलाई भेटेर उनले तिमल्सिनाको बयान झूटो भएको, उनलाई थप केरकार पारेर सत्य बयान गर्न लगाई त्यो मात्र बयानको रेकर्डमा राखिदिन माग गरे । ‘मेरी छोरी यो देशकी गहना थिइन् । त्यो केटाको बयान सरासर झूट हो । निःस्वार्थ रूपले आफ्नो प्रतिभा बाँड्दै हिँडेकी उनलाई मृत्युपछि त्यस्तो नचाहिने आरोप लगाउन पाइन्न,’ धने भन्छन्, ‘उनका लागि बाँचुन्जेल खासै गतिलो जीवन दिन सकिनँ । कमसेकम मरेपछि त बेइज्जती गर्नु भएन नि भनेर लागेको छु ।’

मौखिक गुनासोले मात्र आफ्नो समस्या सम्बोधन नहुने ठानेपछि लेखपढ गर्न नसक्ने धनेले पढेका व्यक्तिको सहायतामा एउटा निवेदन लेखे । २०७९ भदौ १३ मा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरेको उक्त निवेदनमा उनले लेखेका छन्, ‘जबर्जस्ती करणी गरी कर्तव्य ज्यान मुद्दामा प्रतिवादी सुरेश तिमिल्सिनाले सरकारी वकिल र अदालतसमक्ष गरेको बयानमा केही झूटा विवरण लेखाएको पाएँ । बयानका क्रममा प्रतिवादीले सन्तोषीसँग दुई पटक यौन सम्पर्क गर्न सहमति भई तीन हजार दिएकामा एक पटक यौन सम्पर्क गरिसकेपछि अर्को पटक यौन सम्पर्क गर्न खोज्दा नदिएपछि धकेलेर लडाइँ निजकै सलले घाँटी थिची मारेको हुँ भन्नेसमेत लेखाएको रहेछ । मेरी धर्मछोरी चराचुरुंगीको आवाज नक्कल गरी विभिन्न सञ्चारमाध्यमबाट ख्याति कमाइसकेको राष्ट्रको एउटा गहना थिइन् र निज मृतक पैसामा यौन सम्पर्क गर्ने मान्छे होइनन् ।’

धनेले तिमल्सिनाले बलात्कार गरी आफ्नी छोरीको हत्या गरेपछि उनीसँग भएका सरसामान चोरी गरेर लगेको पाइएकाले उसले पैसा दिएको भन्ने तर्क स्वतः काटिने बताएका छन् । ‘विगतमा पनि उनी दक्षिणकालीमा चराचुरुंगीको आवाज नक्कल गर्न जान्थिन् र गाडी चढेर घर फर्कन्थिन् । घटना घटेको दिन गाडी नचलेका कारण उनी त्यहीं बस्ने व्यवस्थाको खोजीमा रहेका बेला घटना हुन पुग्यो, पैसाका लागि यौन सम्पर्क गर्ने भनेको सरासर झूट हो,’ निवेदनमा धनेले लेखेका छन्, ‘यो कुनै पनि हालतमा हुन सक्दैन । राष्ट्रिय कलाकारका रूपमा रहेकी मेरी छोरीलाई मृत्युपश्चात् ससम्मान बिदाइ गर्नुपर्नेमा मृतकको चरित्र हत्या गर्ने कार्य भएको छ ।’

सन्तोषी विभिन्न विद्यालयमा गएर आफ्नो प्रतिभा देखाउँदै विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरका क्रियाकलापमा सहभागी हुन प्रोत्साहन गर्दै आएकी थिइन् । उनले देशभरका करिब ६० विद्यालयमा आफ्नो प्रतिभा देखाइसकेकी थिइन् । सन्तोषीले बुटवलदेखि दार्जिलिङसम्मका विद्यालयबाट प्राप्त गरेका कदर पत्र अहिले पनि धनेले आफ्नो कोठामा जतनले राखेका छन् । महाशिवरात्रिमा पशुपतिदेखि पाथीभरासम्मका धार्मिक–सांस्कृतिक कार्यक्रममा सहभागी भएर चराचुरुंगी र जनावरको आवाज नक्कल गरी धेरै दर्शकलाई उनले मन्त्रमुग्ध पारेकी थिइन् । विभिन्न युट्युब च्यानमा उनका अन्तर्वार्ता र आवाजको नक्कललाई लाखौं दर्शकले हेरेको देखिन्छ ।

धने र सन्तोषीको भेट पनि संयोगले जुराएको थियो । काठमाडौंको नक्सालस्थित डेरामा जन्मिएका धने सानैदेखि एक्लो बने । उनले ५ वर्षको छँदा आमा गुमाएका थिए । लगत्तै बाबुले दोस्रो बिहे गरेपछि ७ वर्षको उमेरमै घर त्याग्नुपर्‍यो । अरू आफन्तसँग न चिनजान, न जानकारी । संरक्षण गर्ने आफन्तको छहारी नपाउने भएपछि पुगिने ठाउँ एउटै थियो– सडक । सडक बालबालिकाले भोग्नुपर्ने दुःख, कष्ट, ज्यादती सबै सहेर धने हुर्किए । उमेर बढेसँगै कवाडी संकलनबाट उनी सडकमा सोडा पानी बेच्ने, कालो ट्याम्पो चलाउने, सडकमै फलफूल तथा कुल्फी बेच्नेजस्ता साना काम/व्यवसायमा आफूलाई अल्झ्याए ।

१८ वर्ष पहिलेको एक साँझ चाबहिल चोकको एक ठेलामा अम्लेट अर्डर गरेर सडक किनारमा पर्खी बसेका बखत एक बालिका एक रुपैयाँ माग्दै आइपुगिन् । धनेले एकको बदला दुई दिए । टाढैबाट उनले अम्लेट खाएको हेरिबसेकी ती बालिकालाई धनेले अर्को अम्लेट अर्डर गरिदिएर त्यसको समेत पैसा तिरे अनि बाटो लागे । एकछिनमा तिनै बालिका उनलाई पछ्याउँदै आइपुगिन् । ‘मैले पैसा पनि दिएँ, अम्लेट पनि खुवाएँ । अझै किन पछि लागेको भनेर मैले हप्काइदिएँ,’ धने पुराना दिन सम्झन्छन्, ‘तर, उसले मेरो पिछा छाडिनँ । उसको जाने ठाउँ कहीं रहनेछ । मैले कोठामा ल्याएँ । त्यसयता छोरी बनाएर राखें । कर्ममा जुराएको भन्नु कि भाग्यको खेल ?’

धनेले जीवनमा बिहे नै नगरी छोरी पाएका थिए । ‘युट्युबमा छोरीको अन्तर्वार्ता आएपछि धेरैतिर बोलाउन थालेका थिए । हामी जान्थ्यौं । अलिअलि पैसा कमाउँथिन् । म खाली हुँदा चप्पल बेचेर गुजारा गर्दै आएका थियौं । दैव लाग्यो,’ धने अहिले पनि भक्कानिन्छन् ।

धनेका अनुसार सानैमा घर छाडेर सडक बालिका बनेकीले होला, सन्तोषी एक्लै हिँड्न धक मान्दिनथिइन् । साँझमा हिँड्न वा रातै पर्‍यो भने पनि जस्तोसुकै ठाउँमा अलिकति केही व्यवस्था गरेर सुत्न उनलाई डर लाग्दैनथ्यो । ‘उनको त्यही निडर स्वभावले आखिर ज्यानै लियो,’ धने आफूले पर्याप्त ख्याल राख्न सकिन कि भनेर बिस्मात् मान्छन् ।

काठमाडौं अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासबाट गत मंसिर २६ मा यो मुद्दाको फैसला भयो । मुलुकी फौजदारी संहिताको दफा ४१ मा अन्य अपराधका अतिरिक्त ‘क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको र जबर्जस्ती करणी गरी ज्यान मारेको’ अपराधमा कसुरदारलाई जीवित रहेसम्म कैद सजाय हुने व्यवस्था छ । सरकारी वकिल कार्यालयले सुरेश तिमल्सिनालाई पनि यही सजाय माग गरेको थियो । न्यायाधीश खतिवडा उक्त मागमा सहमत भए । फैसलामा लेखेका छन्, ‘विभिन्न प्रकारका चराको आवाज निकाल्ने प्रतिभा भएकी असहाय महिला सन्तोषीलाई प्रतिवादीले जबर्जस्ती करणी गरी क्रूर र अमानवीय रूपमा हत्या गरेको देखिँदा निजलाई अभियोग मागदाबीबमोजिमको सजाय हुने देखियो ।’

फैसलाले भन्छ– तिमल्सिनालाई आजीवन कैद तथा मृतकका परिवारलाई ५० हजार जरिवाना भराउने ठहर्छ । कानुनअनुसार हुन सक्ने अधिकतम सजाय हुँदा पनि धनेलाई उक्त फैसला चित्त बुझेको छैन । ‘पीडितको परिवारलाई चित्त बुझाउन नसक्ने फैसलाले जतिसुकै सजाय गरे पनि के अर्थ भयो र ?’ धने भन्छन्, ‘अदालतको रेकर्डबाट मेरी छोरीविरुद्धको झूटो बयान नहटाएसम्म म त्यो फैसला स्विकार्न सक्दिनँ ।’

अदालतले मृतकको परिवारका लागि ५० हजार क्षतिपूर्ति तिर्न दिएको आदेश पनि धनेलाई चित्त बुझेको छैन । ‘मैले पैसाको लोभ गरेको होइन । छोरी नै नरहेपछि त्यो पैसाको मलाई काम पनि छैन । तर, एक जना राष्ट्रिय कलाकारको जीवनको मूल्य ५० हजार हो त ?’ उनी भन्छन्, ‘मैले त्यो पैसा लिएँ भने मानिसले कस्तो धर्मबाउ रहेछ, त्यस्तो छोरीका लागि ५० हजार पनि छाडेनछ भन्दैनन् त ? मलाई त्यो रकम पनि चित्त बुझेको छैन ।’

क्षतिपूर्ति रकम र मुद्दाका प्रतिवादीले दिएको बयान दुवै धनेलाई चित्त नबुझे पनि सरकारी वकिलको कार्यालयले आफूले मागेको मध्ये अधिकतम सजाय भएको भन्दै उक्त मुद्दा पुनरावेदन नगर्ने जनाएको छ । अब यो मुद्दामा धनेको चासोको सम्बोधन कसरी हुन्छ निश्चित छैन । आजीवन कैद सजाय पाएका तिमल्सिनाले जिल्ला अदालतको फैसलालाई उच्च अदालतमा पुनरावेदन गर्ने वा साधक जाँचका रूपमा उच्च अदालत आफैंले जिल्ला अदालतको फैसला जाँच्ने अवस्था भने छ । त्यो अवस्थामा माथिल्ला अदालतका न्यायाधीशलाई लागे क्षतिपूर्ति रकम अलि बढी तिर्नुपर्ने गरी फैसला गर्ने सम्भावना रहन्छ । तर, त्यसपछि पनि प्रतिवादीको ‘झूटो बयान’ रेकर्डबाट हटाउनुपर्ने भन्ने धनेको मुख्य सरोकार सम्बोधन हुन कठिन देखिन्छ ।

प्रकाशित : वैशाख १८, २०८० १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?