सैन्य जीवनपछि आफूले रोजेको विद्यालय शिक्षा, चेतना र स्वास्थ्य सहयोगको दुई दशकलाई उनी जीवनकै ‘स्वर्णिमकाल’ ठान्छन्
काठमाडौँ — जर्मन नागरिक योर्ग बार मंगलबार मात्रै गोरखा, आमपीपलको जनता उच्च माध्यमिक विद्यालयसम्म पुगेर फर्किएका छन् । नेपालको ग्रामीण भेगमा रहेका केही सामुदायिक विद्यालय र त्यहाँ पढ्ने छात्रछात्राको पढाइ स्तरोन्नतिमा लागेका बारका निम्ति आमपीपल पनि यस्तै रोज्जा मुकाम हो ।
नेपाली चलनमा ‘८४ गर्ने’ उमेर टेक्नै लागेका बार यसपालिसमेत ३८ पटक नेपाल आइसकेका छन् । आफ्नो सैन्य पेसा र जागिर (कर्णेल तह) बाट अवकाश लिएपछि उनले नेपाल पछ्याउन थालेका हुन् । विद्यालय निर्माणकै क्रममा उनले काभ्रेका पाटीभन्ज्याङ, फूलबारी र दाप्चा तथा रामेछापको भदौरे, नवलपरासीको थामबेंसीका गाउँघर बुझ्न सकेका छन् ।
‘२२ वर्षअघि जागिरबाट अवकाश पाएपछिको फुर्सदमा एक जना रोटेरियन प्राध्यापक साथीले मलाई नेपाल घुम्न ल्याएको थियो,’ गोरखाबाट काठमाडौं उत्रिनासाथै बुधबार बेलुका भक्तपुर, दत्तात्रयमा भेटिएका बारले भने, ‘त्यसपछि त म नेपाल सम्झेर वर्षमै २/३ पटक पनि आउन थालें । त्यस क्रममा नेपाली गाउँघरका शिक्षा–स्वास्थ्य कार्यक्रममा जोडिन पाएँ । यसरी म जन्मले जर्मन, कर्मले नेपालीझैं बनेको छु ।’
बारले सन् २००९ मा स्थापना गरेको ‘सुलरहिल्फे फ्युर नेपाल’ (नेपालमा विद्यार्थीलाई सहयोग) अभियानमा अहिलेसम्म एक दर्जन सामुदायिक विद्यालय निर्माण भएका छन् । ‘हामी नवलपरासीकै सबैभन्दा विकट गाउँबस्ती थामबेंसीमा छौं, जहाँ जर्मनदाताले बनाइदिएको विद्यालय आज जिल्लाकै नमुना विद्यालय बनेको छ,’ विकटवर्ती गाउँ बुलिङटार, थामबेंसीस्थित छत्तिसादेवी माविका प्रधानाध्यापक तेजमान श्रेष्ठ भन्छन्, ‘विद्यालयको स्वरूप र लोकप्रियताका कारण दाताले यस्तै दुईतले अर्को भवन पनि बनाइदिने भएका छन् ।’ उनका अनुसार यो विद्यालयमा औसत २ सय ५० विद्यार्थी अध्ययनरत छन् । सोलारबाट सञ्चालन हुने कम्प्युटर ल्याब तथा आवश्यक कम्प्युटरसमेत ‘सुलरहिल्फे फ्युर नेपाल’ ले प्रदान गरेको छ । जिल्लामै यस्तो नमुना र नेपाली शिल्पीयुक्त विद्यालय बनेपछि यही संरचना हेर्नैका लागि पनि कतिपय आगन्तुक आउन थालेका प्रअ श्रेष्ठले बताए ।
सुलरहिल्फे फ्युर नेपालकै सहयोगमा आमपीपल गोरखामा जनता मावि बनेको छ । यसका प्रधानाध्यापक दामोदर देवकोटाका अनुसार यहाँ अहिले औसत ४ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन, आवश्यक शैक्षिक सामग्री र शिक्षक तालिमको समन्वयका कारण विद्यार्थी आकर्षित भएका छन् ।
बारकै सहयोग र समन्वयमा काभ्रेमा सरस्वती प्राइमरी स्कुल, भीमेश्वर बेसिक स्कुल, श्रीकृष्ण उच्च मावि तथा रामेछाप (गुन्सी–भदौरे) मा शतलिंगेश्वर हाइअर सेकेन्डरी स्कुलले नवजीवन पाएका छन् । भक्तपुरको जेसिस मावि र मेधा माविले पनि सुलरहिल्फे फ्युर नेपालको आर्थिक सहयोगमा कलात्मक भवन निर्माण गरिसकेका छन् । यी सबै विद्यालयमा गरेर झन्डै ५ हजार बालबच्चा अध्ययनरत छन् ।
नेपाली शैली र परम्परा झल्कने विद्यालय निर्माणको संयोजन गर्ने सम्पदाविद् रवीन्द्र पुरीले पनि जर्मनदाता बारको अभियानमा साथ दिइरहेका छन् । ‘केही सामुदायिक विद्यालयलाई भवन, स्रोतसाधन र पढाइमा समेत अब्बल बनाउने अभियान सकारात्मक छ,’ उनले भने, ‘सकेसम्म स्थानीय स्रोत साधनको उपयोग र जनश्रमदानको सक्दो साथ–सहयोग लिएर नेपाली शैली र सम्पदा झल्काउने विद्यालय निर्माणको क्रम अहिले पनि जारी छ ।’
सामुदायिक विद्यालय, पाटीपौवा वा संरचनाको निर्माण तथा सम्पदा जगेर्नाको अभियानलाई संस्थागत तुल्याउन आरपी फाउन्डेसन फर कन्जरभेसनले सुलरहिल्फे फ्युर नेपालको अभियानमा संयोजन गर्दै आएको छ । विद्यालय निर्माणको यो अभियानमा मात्रै झन्डै १० करोड रुपैयाँ सहयोग जुटिसकेको छ । योबाहेक सुलरहिल्फे फ्युर नेपालले कमलविनायक, भक्तपुरमा बनेको नेपाल भोकेसनल एकेडेमीका लागि ७ करोड रुपैयाँको सहयोग गरेको छ । यो एकेडेमीमा प्राविधिक शिक्षाका इलेक्ट्रिसियन, प्लम्बिङ, कार्पेन्ट्री, वुड–कार्भिङलगायतका विधामा एकेडेमिक तालिम/पढाइ सुरु भइसकेको छ । परम्परागत र मौलिक शैलीका सम्पदा तयार गर्न आवश्यक डकर्मी, सिकर्मी, लौहकर्मीसहितको जनशक्ति उत्पादनमा केन्द्रित एकेडेमीले वार्षिक २ सय दक्ष प्राविधिक जनशक्ति तयार गर्न थालिसकेको छ ।
सुलरहिल्फे फ्युर नेपालजस्तै जर्मनीमा रहेका नेपालप्रेमी जर्मन नागरिक राइनर ब्रस्टको पहलमा स्थापित अर्को संस्था ‘सुलेन फर नेपाल’ ले पनि ग्रामीण भेगका सरकारी विद्यालयको निर्माण–संवर्द्धनमा साथ दिँदै आएको छ । सुलेन फर नेपालको सहयोगमा आरपी फाउन्डेसनले काभ्रेको फूलबारीमा मथुरापाटी मावि, दाप्चामा बाल उज्ज्वल मावि, आशापुरीमा जागृति आधारभूत विद्यालय, रामेछाप, हिलेदेवीमा पशुपति माविसहितका विद्यालय निर्माण गरिसकेको छ । सामुदायिक विद्यालयको प्रवर्द्धन र संरक्षण नभईकन आम रूपमा जनसाधारणले पाउने शिक्षा र हुर्कने चेतनामा विकास हुन नसक्ने अठोटमा सुलरहिल्फे फ्युर नेपाल र सुलेन फर नेपालले हितकारी काम गरिरहेको पुरीको भनाइ छ । यस्तै समन्वय गरेर ७७ जिल्लामै एक–एक नमुना सरकारी विद्यालय निर्माण गर्दै जाने योजनामा काम भइरहेको उनले बताए ।
योर्ग बार शिक्षा र स्वास्थ्यकेन्द्रित अभियानमा सरकारी तहले राख्ने पहुँचलाई सबैभन्दा बढी प्राथमिकतामा राख्छन् । दुई दशकअघि धुलिखेल अस्पतालमा डा. रामकण्ठ माकजुलाई भेटेपछि यो अस्पतालसहित अन्य एक दर्जन सामुदायिक अस्पतालमा उनले आवश्यक उपकरण, तालिमसहितका सहयोग जुटाएका छन् । अहिलेसम्म बारले तिलगंगा आँखा अस्पताल, बौद्धको सेचेन क्लिनिक, साँखुको सुष्मा कोइराला अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, इवामुरा अस्पताल, बनेपाको शिर मेमोरियल अस्पताल, रामेछापको मन्थली अस्पताल, किर्नेटार अस्पताल, गोरखाको आमपीपल अस्पताल, पर्वतको फलेबास अस्पताललगायतका स्वास्थ्य निकायमा सहयोग गरेका छन् । ती संस्थामा विभिन्न विधाका विज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराउने, उपचार तथा चिकित्सकीय उपकरण उपलब्ध गराएका छन् ।
बार जर्मनीको बभारिया स्टेटअन्तर्गत एक प्राचीन थलो ओबेरामेरु गाउँमा जन्मिएका हुन् । सैन्य जीवनपछि आफूले रोजेको विद्यालय शिक्षा, चेतना र स्वास्थ्य सहयोगको यो दुई दशकको अवधिलाई उनी जीवनकै ‘स्वर्णिमकाल’ ठान्छन् । ‘म जर्मनीमा रहेर पनि हरेक दिन भदौरे वा थामबेंसी सम्झिरहेको हुन्छु, त्यहाँका विद्यालयमा पढ्ने स–साना नानीहरूको खुसी र हाँसो सम्झेर अरूलाई सन्तोषको गफ सुनाइरहेको हुन्छु,’ आगामी हिउँदमा ३९ औं पटक नेपाल आउने योजना सुनाउँदै घर फिर्ने बेला बारले भने, ‘म नेपाल–नेपालीसँगको सम्बन्ध र सम्झनालाई जोडेर एउटा पुस्तक लेखनमा लागेको छु, सायद आउने वर्ष तयार होला कि ?’
