२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उकालो उक्लँदै किशोरीहरू

हिउँ छिचोल्दै, लड्दै र उठ्दै तीन दिनको पैदल यात्रापछि जुगल आधारशिविर पुगेर हिमाल चढ्दा आवश्यक पर्ने तयारी, नक्सा अध्ययन, बिरामी पर्दा गरिने प्राथमिक उपचार, आरोहण गर्दा आउने कठिनाइबारे सयभन्दा बढी किशोरीले तालिम लिएका छन्
अनिश तिवारी

सिन्धुपाल्चोक — घर छेउबाटै बग्ने मेलम्चीको बगरसँगै साइनो जोड्दै हुर्किइन् मेलम्ची–११ बाहुनेपाटीकी २३ वर्षीया कृतिका माझी । उनलाई लाग्थ्यो– ‘माझीका लागि बगर नै जिन्दगी हो ।’ माझी पृष्ठभूमि भएकाले उनले सानैदेखि सिकेका कुरा पनि दुइटा मात्रै थिए– माछा मारेर बेच्ने र खेतीपाती ।

उकालो उक्लँदै किशोरीहरू

तर, फुर्सदको समयमा भने उनी आफ्नो अधिकांश समय घरको झ्यालबाट देखिने हिमशृंखला नियालेरै बित्थ्यो । हेलम्बु अग्ला, सेमिसिदाङ, पाँचपोखरी थाङपालको गाङछम्बो, दोर्जे लाक्पालगायतका हिमशृंखला हेरेर खुबै लोभिन्थिन् पनि । अनि मनमनै सोच्थिन्, ‘ती हिमालमा जान पाए अनि अरूले जस्तै चढ्न पाए कस्तो हुन्थ्यो होला ।’

भाग्यको खेला, हालै उनले हिमालको आधारशिविरसम्म पुग्ने मौका पाइन् र विश्व समावेशी साहसी संस्था (जीआईए) ले गरेको महिला नेतृत्व विकास तालिमअन्तर्गतको ‘स्थानीय पर्वतारोही प्रशिक्षण ।’ विवाहित भए पनि आफ्नो पर्वतारोहणप्रतिको आकर्षण र परिवारको स्वीकृतिपछि उनी तालिममा सहभागी भएर जुगल गाउँपालिका–५ स्थित चनवटे आइपुगिन् । चनवटेबाट क्याङसिङ, जुगल गाउँपालिकाको अन्तिम गाउँ तेम्बाथान, दिपु र तेगा हुँदै करिब उनी एघार चुचुराको धनी जुगल हिमशृंखलाको आधारशिविर ४५ सय मिटरको उचाइमा रहेको नेपेमासाल–बुम्बासेर्बु पुगिन् । हिउँ छिचोल्दै, लड्दै, उठ्दै तीन दिनको पैदल यात्रापछि बल्लतल्ल आधारशिविर आएर हिमाल चढ्न प्रयोगात्मक रूपमा प्रशिक्षकबाट सिकिरहँदा उनी अलग्गै गौरवले भरिएकी देखिन्थिन् । ‘माझी भएकाले यहाँसम्म आइपुग्छु भन्ने लागेकै थिएन । तर पर्वतारोही बन्ने आकांक्षाले यहाँसम्म आएँ । अब ‘माउन्टेन गाइड’ बन्ने लक्ष्य लिएकी छु,’ माझीले भनिन् । स्थानीय बाहुपाटीकै विद्यालयमा कक्षा १२ मा अध्ययनरत उनले पढाइ सकाएर यसैमा होमिने प्रतिबद्धता जनाएकी छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिका–३ दुर्गम भोताङ गाउँकी १७ वर्षीया मनमाया तामाङको दृष्टिकोण पनि माझीको भन्दा खासै फरक थिएन । उनलाई महिलाको जीवनको लक्ष्य असल केटासँग विवाह गर्नु र सके पढेर सम्पत्ति कमाउनु हो भन्ने सोच्थिन् । जब उनले सगरमाथा आरोही माया गुरुङले हिमाल चढेर नाम कमाएको बारे सुनिन् । उनमा पनि हिमाल चढ्ने रहर जाग्यो । स्थानीय विद्यालयको ११ कक्षामा पढिरहेकी उनले खाजाको पैसा जम्मा गरेर काठमाडौंका ‘क्लाइबिङ सेन्टर’ पनि खुबै धाइन् तर उनको रहर भने मेटिएन । अन्ततः उनी माझीझैं नेपेमासाल आइपुगेर पर्वतारोहीबारे तालिम लिइन् । नेपेमासालकै छेउका टाकुरमा प्रयोगात्मक पनि गरिन् । ‘अब म पनि माया मिसजस्तै बन्छु, मलाई पनि आफ्नो इच्छा पूरा गर्नु छ । आरोही बनेर नाम कमाउन पनि मन छ,’ उनले भनिन् ।

जुगल गाउँपालिकाको बराम्चीकी १८ वर्षीया दीपा लामिछाने र चौतारा साँगाचोकगढीकी ३३ वर्षकी शान्ति तामाङले भने सानैदेखि पर्वतारोही हुने लक्ष्य राखेका थिए । सदरमुकाम चौतारा इलाकाभेग निवासी शान्ति सन्तानकी आमा भएर पनि लेकको सिरेटो खाँदै पर्वतारोही प्रशिक्षकको प्रशिक्षण ध्यान दिएर सुन्नमा व्यस्त थिइन् । त्यति बेला जुगल, पाँचपोखरी थाङपाल, मेलम्ची, चौतारा साँगाचोकगढी नगर र काठमाडौंबाट पुगेका १ सय ६ किशोरी हिउँले सेताम्मे बनेको जुगल हिमालको ‘बेसक्याम्प’ नेपेमासाल–बुम्बासेर्बु समथर चौरमा गोलाकार भएर बसेका थिए । तर सहभागीको भने एउटै लक्ष्य थियो, ‘पर्वतारोही बन्ने र पर्वतारोहण गरेरै छाड्ने ।’

त्यसैले त हिउँले सेताम्मे भूगोलमा रमाउँदै प्रशिक्षकका कुरा ध्यानपूर्वक सुन्दै थिए उनीहरू । जुगल गाउँपालिकाको तीनदिने यात्रामा ३ हजार ५ सय मिटरको उचाइमा रहेको पवित्र तोङक्युप गुफा र पदमसम्भवा (गुरु रेन्पोछे) को तपोभूमि देवताको स्वर्ग नेपेमासालमा ध्यान गर्न पनि भ्याए । महाकालीको बसोबासस्थल छेन्दाङ पाल्देन माम्मा पुगेर प्रार्थनामा डुबे । यीबाहेक ब्रह्मायणी नदीको मूल, हजार जना अट्ने हजार गुफा, ज्युठी, ग्याप खर्क, बुम्बासेर्बु, श्याबल पोखरीमा पुगेर जिल्लाभरको इतिहास, भूगोल, धर्म संस्कृतिबारे वरिष्ठ अन्तर्राष्ट्रिय प्रशिक्षकबाट जानकारी लिए । हिमाल चढ्दा गर्नुपर्ने व्यावहारिक र भौतिक तयारी, नक्सा अध्ययन, बिरामी परेमा प्राथमिक उपचार, आरोहण गर्दा आउने कठिनाइबारे हिमालमुनि नै बसेर प्रयोगात्मक रूपमा सिक्दा उनीहरू फुरुंग परे ।

पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार पर्वतारोहणमा रुचि राख्नेमध्येबाट १६ देखि ३५ वर्षे उमेर समूहका १ सय ६ जना किशोरी तालिमका लागि छानिएका हुन् । जुगल, चौतारा, मेलम्ची, पाँचपोखरी र काठमाडौंबाट आएकालाई पर्वतारोहणसम्बन्धी सम्पूर्ण प्रारम्भिक तालिमअन्तर्गत ट्रेकिङ म्याप, प्राथमिक उपचार तालिम, म्याप नेभिगेसनसहित पर्वतारोहणका क्रममा प्रयोग हुने सामग्री र तयारीबारे प्रयोगात्मक रूपमा सिकाइएको हो । तालिममा सहभागी हुन किशोरीहरू फागुन १३ गते बिहान ११ जना अन्तर्राष्ट्रिय माउन्टेन गाइड प्रशिक्षकसहित जुगल गाउँपालिका–५ बराम्ची चनवटेस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट जुगल हिमालतर्फ लागेका थिए । त्यस दिन क्याङसिङ बसेर उनीहरू जुगलको अन्तिम गाउँ दिपु, तेगा र तेम्बाथान हुँदै जुगल हिमालको ‘बेसक्याम्प’ नेपेमासाल पुगेर पाँचौं दिनमा चनवटे फर्केका हुन् । किशोरीलाई विश्व समावेशी साहसी संस्था (जीआईए) को आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी नगर र मेलम्ची नगरको आर्थिक सहयोगमा तालिम दिइएको विश्व समावेशी साहसी संस्थाकी अध्यक्ष रहेकी सगरमाथा आरोही माया गुरुङले बताइन् ।

जुगल हिमशृंखलाअन्तर्गतका ११ मध्ये एक ६ हजार १ सय ५१ मिटरको उचाइको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) को चुचुरोमा २०७५ चैत २९ मा मायाकै नेतृत्वको ७ सदस्यीय टोलीले पहिलो पाइला टेकेको थियो । ‘आफूमा रहेको क्षमता थाहा पाउन मलाई वर्षौं लाग्यो । त्यही भएर यस्तो तालिम आवश्यक देखेर जनप्रतिनिधिलाई प्रस्ताव राखेकी हुँ,’ उनी भन्छिन्, ‘युवा पुस्तामा पनि पर्वतारोहण क्षेत्रप्रतिको लगाव गहिरो पाएकी छु ।’

पाँचपोखरी थाङपाल–७, भोटेनाम्लाङकी ४३ वर्षीया प्रसिद्ध पर्वतारोही गुरुङले सन् २००८ मा सात महिलाको टोलीमा रहेर सगरमाथा आरोहण गरेकी थिइन् । उनीसहितको टोलीले सात वटै महादेशका हिमाल चढेर ‘सेभेन वुमेन सबमिट्स’ विश्व कीर्तिमान पनि कायम गरे । २००८ को अक्टोबरमा एक्सपोलर हिमालयन ट्राभल एन्ड एडभेन्चरको आयोजनामा सर्वोच्च सगरमाथाबाट ‘स्काइडाइभ’ गर्ने एसियाको पहिलो महिला पनि हुन् गुरुङ ।

त्यस्तै, ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) पहिलो पटक आरोहण गरेकी उनले आरोहणका लागि बाटो खुलाउन पनि सफल भइन् । अनेक हिमशृंखला र पर्यटकीय स्थलले भरिभराउ सिन्धुपाल्चोकलाई पर्यटन क्षेत्रबाटै समृद्ध बनाउन सकिने र त्यसका लागि महिलाको सहभागिता आवश्यक भएकाले जुगल आधारशिविरमा तालिमको व्यवस्था गरेको उनले बताइन् । विश्व समावेशी साहसी संस्थाका अनुसार ‘फिमेल लिडरसिप एकेडेमी ट्रेनिङ’ अन्तर्गत जिल्लाका पाँच विद्यालयमा यस्ता तालिम चलाइएको छ । जसमा पर्वतारोहण र अन्य नेतृत्व विकासमा उत्सुक झन्डै दुई सय किशोरी आबद्ध छन् ।

प्रकाशित : फाल्गुन २४, २०७९ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?