कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
आजकै दिन

सिड सरिसको जन्म

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९२२ मा आजकै दिन (मार्च ८) मा हलिउड नर्तकी तथा अभिनेत्री सिड सरिसको जन्म भएको थियो । अमेरिकाको टेक्सास राज्यस्थित अमारिलोमा जन्मिएकी सरिस हलिउडकी महान् नर्तकी हुन् । सरिससँगै जिन्जर रोगर्स र लेस्ली कारोन हलिउडका महान् नर्तकी मानिन्छन् । 

सिड सरिसको जन्म

खासगरी फ्रेड एस्टायर र जेन केलीसँग नृत्य गर्ने सरिस दुई नृत्य शृंखला ‘ब्रोडवे मेलोडी बालेट’ र ‘गर्ल हन्ट बालेट’ बाट निकै चर्चित बनेकी थिइन् । हलिउड जगत्‌मा उनलाई ‘नर्तकी बन्नैका लागि जन्मिएकी’ भन्ने गरिन्छ । सानो उमेरमा नै पोलियोबाट पीडित सरिस निको भएपछि नृत्य गर्न थालेकी थिइन् । उनले १३ वर्षको उमेरमा ब्यालेट रुसेस कम्पनीमा आबद्ध भएर अमेरिका र युरोपका विभिन्न सहरमा विभिन्न प्रस्तुति गरेकी थिइन् । त्यसको चार वर्षपछि उनले पूर्व नृत्य शिक्षक निको सरिससँग विवाह गरेकी थिइन् ।

१९४० को देशकमा भने उनी फिल्म क्षेत्रमा प्रवेश गरिन् । उनले ‘हार्बी गर्ल्स (१९४६)’ र ‘इस्ट साइड वेस्ट (१९४८) मा नृत्य गरेकी थिइन् । त्यस्तै, ‘सिङ्गीग इन द रेन (१९५२)’, ‘द ब्यान्ड वागन (१९५३)’, ‘ब्राइगाडुन (१९५४)’, ‘सिल्क स्टकिङ्स (१९५७)’ मा नृत्य गरेपछि भने सरिसको चर्चा निकै चुलिएको थियो ।

सन् १९५० को दशकको अन्त्यतिरदेखि भने उनले फिल्ममा नृत्य गर्न छाडेकी थिइन् । तर फिल्म तथा टेलिभिजनमा अभिनय भने जारी राखिन् । सरिसलाई २००६ मा ‘नेसनल मेडल अफ आर्टस्’ प्रदान गरिएको थियो । उनको सन् २०१७ को जुनमा ८६ वर्षको उमेरमा अमेरिकाको लस एन्जल्समा मृत्यु भएको हो ।

प्रकाशित : फाल्गुन २४, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?