कुश्मा जगाउने पर्यटन पौरख

बन्जी, स्विङ, जिपलाइन, स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत साहसिक खेलमा युवाहरूले लगानी गरेपछि कुश्मामा चहलपहल त बढेको छ नै, अन्य व्यवसायी पनि पर्यटनका क्षेत्रमा आकर्षित भएका छन्

फाल्गुन २३, २०७९

अगन्धर तिवारी

पर्वत — सिन्धुपाल्चोकको खाडीचौरमा जन्मेका राजु कार्कीमा सानै उमेरदेखि साहसिक पर्यटनमा चाख थियो । त्यसताका घरबाट ६० किलोमिटर परको भोटेकोशी नदी छेउको ‘द लास्ट रिसोर्ट’ मा बन्जी खेल्न पुग्थे । आफ्ना मामाले बन्जीमा काम गर्ने भएकाले उनलाई नियमितजसो त्यहाँ जान सहज थियो ।

मामाकै सम्पर्कमा रहँदै गर्दा कार्कीले ‘द लास्ट रिसोर्ट’ ले कर्मचारी मागेको थाहा पाए । २१ वर्षको उमेरमा आवेदन दिएका उनी छनोट पनि भए । 

रिसोर्टमा बन्जी मास्टरसमेतको भूमिकामा रहेर करिब ७ वर्ष काम गरे । त्यसबेला बन्जीको प्राविधिक र व्यवस्थापकीय पक्षमा अनुभव हासिल गर्ने उनलाई अवसर मिल्यो । त्यहीं काम गर्दागर्दै उनले फ्रान्सेली नागरिक ‘फ्लोरेन्स’ सँग विवाह गरे । पेसाले इन्जिनियर फ्लोरेन्सको साथमा उनलाई फ्रान्स पुग्ने अवसर मिल्यो । ‘भोटेकोशीमा प्रायः विदेशीहरू बन्जी गर्न आउँथे,’ कार्की भन्छन्, ‘फ्लोरेन्ससँगको चिनजानले एड्भेन्चर टुरिजमको अवस्था बुझ्न युरोप जाने अवसर मिल्यो ।’ युरोप भ्रमणका अवसरमा उनले फ्रान्सबाहेक बेल्जियम, स्विट्जरल्यान्डलगायत देशमा साहसिक खेल तथा पर्यटनबारे बुझ्ने अवसर पाए । 

तीन वर्षपछि नेपाल फर्किएर उनले साहसिक पर्यटनमा लगानी गर्ने सोच बनाए । नेपालका धेरै स्थानमा पुगे । भोटेकोशीकै ‘द लास्ट रिसोर्ट’ का सञ्चालकसँग पनि आफ्नो योजना र लगानीको प्रतिफलबारे प्रस्ताव लगेका भए पनि उनीहरूले स्वीकार गरेनन् । त्यसपछि केही समय देशका विभिन्न जिल्ला घुमे । साहसिक पर्यटनमा लगानी गर्ने योजनासहित घुम्दै गर्दा कुश्मा आइपुगेको स्मरण राजु गर्छन् । ‘कुश्मा र बागलुङको बलेवालाई जोड्न सके भोटेकोशीभन्दा उत्कृष्ट गन्तव्य हुन्छ भन्ने लागेर यहाँका केही युवा साथीलाई योजना सुनाएँ,’ कार्कीले सम्झिए, ‘उहाँहरूले सहजै स्विकार्नुभयो ।’ त्यसपछि राजुले ६ जनाको टिम बनाए । त्यसमा उनीसहित युवराज जोशी, नेत्र पराजुली, राजन जोशी, नवराज शर्मा, प्रकाश कर्माचार्य थिए । सुरुमा अनुमानित १५ करोडको लगानीमा बन्जी तयार गर्ने गरी योजना बन्यो । सबैको सहमतिमा सबै प्रक्रिया पूरा गरेर ‘द क्लिफ’ कम्पनी खडा भयो । ‘द क्लिफको अर्थ ठाडो भीर हो,’ लगानीकर्तामध्येका नेत्र पराजुली भन्छन्, ‘भीरमा एड्भेन्चर हब बनाउने योजना हो । कति सफल भइयो भन्ने हाम्रा ग्राहकले नै प्रमाणित गरिरहनुभएको छ ।’

बन्जी सञ्चालनमा आएको एक वर्ष नबित्दै कोभिड महामारीकै बीचमा कुश्माकै युवा व्यवसायीको समूहले अर्को साहसिक पर्यटनमा करोडौं लगानी सुरु गर्‍यो । स्थानीय नरेन्द्र खत्री, रामचन्द्र जोशी, विदुर पौडेल, सागर जोशी, सूर्यबहादुर क्षेत्री, राजकुमार बस्नेत र सुनील बानियाँको करिब ११ करोडको लगानीमा साहसिक जिप लाइनको निर्माण पूरा भएको हो । २०७८ मंसिरमा सुरु भएको हार्नेस जिपलाइन कम्पनीले एक वर्षमै जिपलाइन सुरु गर्‍यो । जिपलाइनको काम सकेर रिसोर्टलगायत अरू संरचना निर्माणको काम अन्तिम चरणमा छन् । जिपलाइनसँगै कालीगण्डकीको तीरमा अत्याधुनिक रिसोर्ट, मुलुककै अग्लो कपल पिङ, स्विमिङ पुल, सिसाको पुल, कालीगण्डकीमा र्‍याफ्टिङलगायत आकर्षक खेलसमेत हार्नेस जिपलाइन कम्पनीले ल्याएको छ । कम्पनीका अध्यक्ष सुनील बानियाँका अनुसार हालसम्म करिब २५ करोड लगानी भइसकेको छ । गत जेठबाट जिपलाइनको व्यावसायिक कारोबार सुरु गरेका युवाको समूहले रिसोर्टलगायत संरचनाका निर्माण सकेर यतिबेला कुश्मालाई साहसिक पर्यटनमा मुलुकभित्र र बाहिर चिनाउने अभियानमा लागेका छन् । साहसिक पर्यटनका पारखीका लागि नेपालकै नमुना हुने लगानीकर्ताको दाबी छ । लगानीकर्ता एवं कुश्माका नगरप्रमुख रामचन्द्र जोशीका अनुसार उक्त कम्पनी दक्षिण एसिया क्षेत्रमै साहसिक पर्यटनमा उत्कृष्ट हो । बन्जीनजिकै कुश्मा नगरपालिका–५ स्थित चाक्ले डिलबाट सुरु हुने साहसिक जिपलाइनको यात्रा कुश्मा–४ अर्मादीको साउनेबगर पुगेर टुंगिन्छ । एक हजार चार सय मिटर लामो जिपलाइनमा सुरु गति १३० किलोमिटर प्रतिघण्टा तथा अन्तिम गति १८ किलोमिटर प्रतिघण्टा हुने कम्पनीले जनाएको छ । कालीगण्डकीको खोचमा रहेको जिपलाइनको सबैभन्दा बढी उचाइ कालीगण्डकीदेखि २३८ मिटर हुनेछ । जिपलाइनमा यात्रा गर्दा दुई पटक कालीगण्डकी वारपार हुन्छ । कम्पनीले साउनेबगरमा आकर्षकबीच रिसोर्टको निर्माणका लागि १७ रोपनी जग्गामा संरचना तयार भइसकेका छन् । 

बन्जी र जिपलाइनमा लगानी गरेका कुश्माका युवाका कारण पर्यटन व्यवसायमा लगानी गर्ने अन्य लगानीकर्तालाई समेत कुश्माले जोस थपिदिएको छ । ‘मैले कुश्मामा बन्जीलगायत संरचनाकै कारण युरोपमा दुःख गरेर जोडेको सम्पत्ति यहाँ लगानी गरेको हुँ,’ कुश्मामा ९ करोडको लगानीमा होटल सञ्चालन गरेका ओम श्रेष्ठ भन्छन्, ‘कोभिड महामारी नभएको भए अहिले पर्यटकले थामिसक्नु हुने थिएन ।’

कुश्मा र बलेवा जोड्न यसअघि पनि अन्य झोलुंगे पुल बनिसकेकाले बन्जीका लगानीकर्तालाई करिब साढे ५ सय मिटर लामो ‘ह्यांगिङ ब्रिज’ निर्माण गर्न कठिन थिएन । दुइटा भीर जोड्न नमुना पुल बनाएर एड्भेन्चर टुरिजमका रूपमा विस्तार गर्ने गरी टिम अघि बढ्यो । लगानीकर्ता युवराज जोशीका अनुसार पुल निर्माण हुन मात्रै करिब ६ वर्ष लाग्यो । कुश्माबाट बागलुङको बलेवासम्म पुग्ने झोलुंगे पुल तयार भएपछि यो टिमको मुख्य योजना सफल भयो । टिमले २०७३ मा कुश्मामा बन्जीको सम्भाव्यता अध्ययन सुरु गरेको थियो । योजनाअनुसार काम सकिनै लाग्दा कोरोना फैलियो । झन्डै एक वर्ष पर्यटन व्यवसाय ठप्पजस्तै बन्यो । करोडौंको लगानी डुब्ने चिन्ता थियो । लगानी डुब्ने डरले बैंकले पनि लगानी गर्न मानेनन् । जसोतसो टिमले लगानी थप्दै संरचना विस्तार गर्दै अघि बढ्यो । बन्जी र स्विङसँगै कोरोनाकै समयमा क्रेजी–ब्रिज, गुलेली पिङ, स्काई–चेयर, फेमिली–पिङ, हर्स–राइडिङ, स्काई साइक्लिङलगायत पूर्वाधार तयार भइसके । कोरोनाकै त्रासका बेला २०७७ असोजमा द क्लिफ औपचारिक रूपमा सुरु भयो । पहिलो दिनमै नेपाल प्रहरीका करिब डेढ सय जनाले प्याकेजमा बन्जी गरे । टिमलाई हौसला मिल्यो । ‘कोरोनाको पर्वाह नगरी बन्जी खेल्न र हेर्न आए,’ द क्लिफका अध्यक्ष कार्की भन्छन्, ‘त्यसले हामीमा उत्साह थप्यो । अहिलेसम्म आन्तरिक पर्यटकले धानिएका छौं ।’ अहिले सिजनको बेला ‘द क्लिफ’ का दर्जन बढी साहसिक खेलमा करिब एक हजार हाराहारी पर्यटकको आगमन हुन्छ । कम्पनीमा हाल ७२ जना पूर्णकालीन कर्मचारी छन् । द क्लिफको पोखरा र काठमाडौंमा सम्पर्क कार्यालय सञ्चालनमा छन् । ‘हामीले लिने सय रुपैयाँको टिकटमा पनि राज्यलाई नियमअनुसारको ट्याक्स बुझाएका छौं,’ लगानीकर्ता पराजुली भन्छन्, ‘हामीले आफूमात्रै नभएर कुश्मा र समग्र राज्यलाई योगदान गरेका छौं ।’

पर्यटन क्षेत्रमा योगदान पुर्‍याएबापत नै गत वर्ष ‘द क्लिफ’ का अध्यक्ष कार्की जनसेवाश्री पदकबाट समेत विभूषित भइसकेका छन् । ‘द क्लिफ’ पर्यटनका क्षेत्रमा लगानी गरेर यस क्षेत्रबाट सरकारलाई सबैभन्दा धेरै राजस्व तिर्ने निजी कम्पनीका रूपमा समेत दर्ज भएको छ । पछिल्लो समय बन्जी र साहसिक पर्यटन भन्नासाथ कुश्मा सम्झिने कैयौं भइसकेका छन् । ‘डरमै मज्जा हुन्छ । जति डर उति मज्जा,’ कुश्माको बन्जीको डोरीबाट उक्लिँदै गरेका धादिङको नीलकण्ठ–६ का उमेश थापा भन्दै थिए,’ यत्तिको डर नभए बन्जी आउनुको मज्जा हुँदैन ।’ उनीसँगै आएका अन्य चार युवाले तीन दिनअघि नै टिकट बुक गरेर बन्जी गरे । ‘आफ्नै देशभित्र यस्तो सुविधा हुँदाहुँदै किन नआउने भनेर समय निकालेर यहाँसम्म आयौं । सोचेभन्दा धेरै रमाइलो भयो,’ थापासँगै आएका विनोद क्षेत्रीले भने । कालीगण्डकीको कहालीलाग्दो खोचमा करिब अढाई सय मिटर लामो डोरी खुट्टामा बाँधेर बगिरहेको कालीगण्डकीमै पुग्ने गरी हाम फाल्ने जो कोहीको एकपटक मुटु थर्किन्छ । ‘पहिलो पटक हाम फाल्दा फर्किएर आउँछु जस्तो लाग्दोरहेनछ,’ बन्जी गरेर फर्किएका क्षेत्रीले थपे,’ ‘तर, माथि आएपछि त्यो बेलाको मज्जा अनुभव गर्दा पनि बिछट्टै रमाइलो अनुभूति भयो ।’ उमेश र क्षेत्रीजस्तै अहिले बन्जीमा हाम फाल्न आउने युवायुवतीको संख्या दैनिक ५ दर्जनभन्दा बढी छ । कुनै बेला साहसिक पर्यटन भनेपछि गोरो छाला भएकाको अनुहार झल्किन्थ्यो । तर, कुश्मामा सञ्चालित बन्जी, स्विङ, जिपलाइन, स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत संरचनामा झुम्मिएका आन्तरिक पर्यटकका कारण त्यो सोच फेरिएको मात्रै छैन, साहसिक पर्यटनको सम्भावना पनि उजागर गरिदिएको छ ।

युवा ग्यालरी

अगन्धर

Link copied successfully