इन्जिनियरिङ छाडेर सोसल मिडिया

फाल्गुन २२, २०७९

कान्तिपुर संवाददाता

नवलपुर — बुटवल भलबारीका सन्तोष सापकोटाको पृष्ठभूमि इन्जिनियरिङ हो । तर उनी काम भने सोसल मिडिया व्यवस्थापनको गर्छन् । उनी नेपालका चर्चित कलाकार, खेलाडी, राजनीतिज्ञदेखि स्टोरी टेलर साइग्रेस पोखरेलसम्मको फेसबुक तथा अन्य सामाजिक सञ्जालको व्यवस्थापन गर्छन् । 

इन्जिनियरिङमा डिप्लोमा गरेका २२ वर्षीय सन्तोषले इन्जिनियरिङ क्षेत्रको लोभलाग्दो जागिर छाडेर सोसल मिडिया म्यानेजरको काम थाल्दा भने धेरैले अनौठो मानेका थिए । ‘पछिल्ला ५ वर्षदेखि सोसल मिडिया म्यानेजको काम गरिरहेको छु,’ मेकानिकल इन्जिनियरिङको डिप्लोमा सकेका उनले सुनाए । सामाजिक सञ्जालको सुरक्षा, यसमा कस्ता सामग्री राख्ने र आम्दानी कसरी गर्नेदेखि लाखौं फलोअर्स भएका पेज बन्द हुने जोखिम टार्ने र तिनलाई मनिटाइज गराउनेसम्मका काममा सन्तोष दख्खल राख्छन् । 

 भारतको बैंग्लोरमा बस्दै आएका सन्तोषका अनुसार हेर्दा सामान्य लागे पनि यो काम सारै मिहिन खालको र संवेदनशील हो । उनका अनुसार उनले पशुपति शर्मा, हेमन्त शर्मा, अर्जुन सापकोटा, शिरीष देवकोटा, खेलाडीहरू अनिल गुरुङ, कुशल भुर्तेल र भारतीय नेता नेता मोहम्मद मुजाहिद आलमसम्मको पेजको सुरक्षा तथा यसको म्यानेजको काम गरिरहेका छन् ।

यो पेसाबाट आर्थिक रूपमा पनि राम्रो भएको र साइबर सुरक्षा तथा सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी गराउन पाउँदा खुसी लाग्ने उनले बताए । नेपाललाई फेसबुकले मनिटाइज र नेपाली भाषालाई पनि आधिकारिकता नदिएको कारण नेपालभन्दा बाहिर बसेर यो काम गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully