‘दिलमाया-२’ मा महिला हिंसा र विभेद

फाल्गुन २३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — महिलामाथि हुने घरेलु हिंसा र छोरीप्रतिको विभेदलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको फिल्म ‘दिलमाया–२’ असार २९ मा सार्वजनिक प्रदर्शन हुने भएको छ । राजु गिरीको निर्देशनमा तयार भएको फिल्मको प्रदर्शनको मिति तय गर्नुका साथै आइतबार टिजरसमेत सार्वजनिक गरिएको छ ।

टिजरमा छोरीलाई परिवार र समाजले के कसरी विभेद र दमन गर्छ भन्ने देखाइएको छ । त्यसका साथै, महिलामाथि हुने घरेलु हिंसाका दृश्यहरूसमेत टिजरमा देख्न सकिन्छ । 

फिल्ममा किरण नेपाली र सेन्जल पौडेलको मुख्य भूमिका छ । फिल्ममा सविन बाँस्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हीरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली, मीठु मर्कर, बाबुराम शाक्य, एसपी उप्रेतीलगायत कलाकारले पनि अभिनय गरेका छन् । 

शंकर गिरी, पूर्णकला गिरी र सरिता गिरीले निर्माण गरेको फिल्ममा अर्जुन पोखरेल र राजेन्द्र बजगाईंको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन छ भने देव महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । राजु गिरी प्रोडक्सनअन्तर्गत निर्मित फिल्मको पटकथा र संवाद भने निर्देशक गिरीकै छ । 

फिल्मको छायांकन विष्णु निराकर र सुस्मिता खत्री तथा सम्पादन खुमबहादुर सुनार र संगीता खत्रीले गरेका हुन् । ‘दिलमाया–२’ को पहिलो शृंखला २०६३ सालमा प्रदर्शन भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully