कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सबका गुरु माधवराज !

राणाकालमा धार्मिक अन्धता हटाउन र सामाजिक रुपान्तरणका लागि संगठित रुपमा अभियान चलाउने नाइके थिए उनी ।
भिक्टर प्रधान

सहिद पिता माधवराज जोशी नेपाली समाजको रूपान्तरणका खरा अविस्मरणीय अभियन्ता थिए, जसको अभियान प्रातःस्मरणीय सहिद शुक्रराज शास्त्रीको सहादतको पृष्ठभूमि बन्यो । सभ्यता र समृद्धि मानसिकतासित सम्बद्ध कुरा हो, त्यसैले यिनका लागि सामाजिक मानसिकताको रूपान्तरणको कुरा बेलाबखत सदा उठिरहने गर्दछ ।

सबका गुरु माधवराज !

यही सिलसिलामा माधवराज जोशी निरंकुश राणाकालमा सामाजिक रूपान्तरणका लागि संगठित रूपमा अभियान चलाउने नाइके थिए । उनले देशका केही ठाउँमा नयाँ सोचका मानिसमा सामाजिक रूपान्तरणको विचार प्रबल तुल्याई परम्परागत सामाजिक–धार्मिक अन्धतामा सुधार ल्याउन खोजेकै कारण चन्द्रशमशेरले उनलाई ‘सबका गुरु माधवराज’ भन्ने गर्थे र उनलाई देखिसहँदैनथे ।


माधवराज जोशीको जन्म ललितपुरको बकुंबहालको राजज्योतिषी खलकमा विसं.१९१६ जेठमा भएको थियो । उनले पुर्ख्यौली पेसाका रूपमा ज्योतिषशास्त्रको ज्ञान काठमाडौं उपत्यकामा सम्भव भए जति प्राप्त गरे र विसं.१९४८–४९ तिर बनारसमा दुःखजिलो गरी गणित ज्योतिषमा थप दखल हासिल गरे । तुलनात्मक रूपमा फलित ज्योतिष धार्मिक अन्धविश्वासतिर र गणित ज्योतिष विशुद्ध खगोलीय विज्ञानतिर ढल्केको हुन्छ । यस अवधिमा माधवराज भारतका विभिन्न ठाउँ पुगे । इस्वी १९औं शताब्दीको अन्ततिर भारतीय जनताले ब्रिटिस शासनको अत्याचारको चरमोत्कर्ष भोगिरहेका थिए र सचेत भारतीय नागरिकले ब्रिटिस शासनको विरोधको गाइँगुइँ थालिसकेका थिए ।


उनी यही प्रभाव बोकेर करिब डेढ–दुई वर्षपछि काठमाडौं फर्के । मूलतः उनी त्यतिखेरको आर्य समाजको गतिविधिबाट निकै प्रभावित भए र स्वयं आर्यसमाजी बने । इसं.१८७५ मा मुम्बईमा स्वामी दयानन्द सरस्वतीबाट आर्य समाजको स्थापना भएको थियो । यसको उद्देश्य वैदिक मान्यताको विशुद्धता अंगीकार गरी हिन्दु धर्मका विकृतिको परित्याग थियो । त्यसैले यसले हिन्दु धार्मिक समाजमा व्याप्त अवतारवाद, मूर्तिपुजन, पशुबलि, कर्मकाण्ड र अन्धविश्वासको विरोध गर्नाका साथै हिन्दुहरू धमाधम मुसलमान र इसाई बनिरहेको अवस्थालाई दृष्टिगत गरी धर्मपरिवर्तन गरेका हिन्दुहरूलाई पनि वैदिक हवनद्वारा पुनः हिन्दुत्व ग्रहणको पद्धति अपनाउन प्रेरित गर्‍यो र शूद्रलाई पनि यज्ञोपवित प्रदान गरी वेदाभ्यासको अनुमति दियो । भारतभर यसका शाखा खुल्दै थिए । सामाजिक क्रान्तिकारी यो विचार केवल सामाजिक रूपान्तरणकै लागि मात्र थियो भन्न मिल्दैन । राजनैतिक–आर्थिक क्रान्तिका लागि पनि सामाजिक–वैचारिक रूपान्तरणको जरुरत पर्दछ । वास्तवमा भारत मुक्तिका लागि ‘स्वराज’ को नारा इ.सं. १८७६ (विसं.१९३३) मा स्वामी दयानन्दले नै प्रथम पटक दिएका थिए । उनका धेरै धार्मिक तथा समाज सुधारक अनुयायीका साथै लाला राजपत रायजस्ता भारत मुक्तिका होनाहार क्रान्तिकारीहरू पनि थुप्रै थिए ।


यही अभियान ज्योतिषी माधवराजले नेपालमा सुरु गरे । उनले पोखरामा (सम्भवतः स्याङ्जामा पनि) १९५३ मा, ललितपुरमा १९५५ मा र यसअघि नै नुवाकोटमा सामाजिक–धार्मिक सुधारकहरूको जमात तयार पारे र आर्य समाजको स्थापना गरे । यसरी उनी देशमा सामाजिक जागरण ल्याउने र धार्मिक कुरीति हटाउने काममा सक्रिय रहे । उनका कामहरूमध्ये मूर्तिपुजन, पशुबलि आदिको तार्किक विरोधका साथै मृत्यु संस्कारमा आमूल सुधार प्रमुख थियो । उनले त्यतिखेर नेवार समाजमा रहेको मृत्यु संस्कारका परम्परागत अस्वाभाविक रीतिहरूको विरोध मात्र गरेनन्, तिनको बहिष्कार पनि गरे । शवयात्रामा नजिकका नातेदार रोएर जानुपर्ने, पटकपटक नातेदारलाई भोज खुवाउनुपर्ने, मृत्युभोजमा मासु राखिने, मृतक परिवारकहाँ नातेदारहरू विचाः (हेरविचार गर्न) आउने बेला सडकैदेखि रोएर आउनुपर्ने र पुरोहितलाई मृतकका नाममा अनावश्यक दान पटक–पटक गरिरहनुपर्नेजस्ता कुरीति उनी आफैंले आफ्ना छोरा र बाबुको मृत्युमा पालन गरेनन् ।


यस्तो गतिविधि विसं १९५८ सम्म अनुकूल नै रह्यो किनभने यो समय वीरशमशेर र सुधारवादी देवशमशेरको थियो । वीरशमशेरले ठूलोबाबुको हत्या गरी सत्ता हत्याएको हुनाले उनी जनता र बेलायती सरकारबाट आफ्नो खलकप्रति समर्थन रहोस् भन्नेतिर बढी सजग थिए भने देवशमशेर सुधारवादी थिए । यतिन्जेल माधवराजले आफ्नो सुधारवादी काम आफ्नै सुरले गरे । तर देवशमशेरलाई राज्यच्यूत गरी सत्तामा आएका चन्द्रशमशेरको शासनकाल राणाशासनको सबभन्दा लामो, शक्तिशाली तथा क्रूर र दमनकारी थियो । चन्द्रशमशेरले माधवराजको गतिविधि पटक्कै रुचाएका थिएनन् । उनी सामाजिक सुधार होइन समाजमा अन्धविश्वास कायम रहोस् भन्ने चाहन्थे । जनतालाई अन्धकारमा राख्नु र धर्मको आडमा शासन गर्नु विश्वकै मध्ययुगीन सामन्ती सोच हो ।


१९६२ सालमा माधवराजकी आमाको स्वर्गे हुँदा पनि उनले परम्परागत ढंगले अन्त्येष्टि गरेनन् । यही निहुँमा उनका १३ दिने नातेदारहरूले उनले परम्परा भाँडेको उजुरी दिए । त्यो उजुरीको सुनुवाइ चन्द्रशमशेरले आफ्नै उपस्थितिको इजलासमा गरेर उनलाई मरणासन्न हुने गरी पिट्न लगाए । त्यो इजलास वास्तवमा परम्परामा परिवर्तन किन ल्याइयो भन्नेबारेको शास्त्रार्थको थियो । त्यसैले सो शास्त्रार्थ सुन्न इजलासमा दरबार स्कुलका पन्जाबी शिक्षक गुरुदयाल सिंह पनि पुगेका थिए । उनी आर्य समाजी थिए । पन्जाब त्यतिखेरको इन्डियामा आर्य समाजको गढ थियो । माधवराजको शास्त्रार्थका आधार वैदिक मन्त्रहरू थिए, तर उनी एक्लै थिए थुप्रै विपक्षहरूको सामुन्नेमा । त्यसैले दर्शक आर्य समाजी रामदयालले उनको साथ दिए । त्यहाँ तैनाथ कर्मकाण्डी पण्डितहरूलाई शास्त्रार्थमा हम्मे परेपछि उनीहरूले सुनियोजित रूपमा ‘नेपालमा राजादेखिन् मानिएको पशुपतिनाथलाई ढुंगा भन्नेलाई कुट्न पाऊँ, महाराज’ भन्ने बिन्ती चढाई पिटाइ सुरु गरिहाले । पशुपति आदि मूर्तिलाई ढुंगा र सूर्यलाई घडी भनेर सर्वसाधारणलाई मूर्तिपुजनको विरोधमा सम्झाइबुझाइ गर्ने तत्कालीन आर्य समाजीहरूको शैली थियो ।


माधवराजको टाउको फुटी रक्ताम्य भएपछि चन्द्रशमशेरले नै पिटाइ रोक्न लगाए । माधवराजलाई दुई वर्षको जेल सजाय तोकियो र उनको परिवारलाई जातिच्युत गरी पानी हटक गरियो । उनका छोराहरूलाई दरबार स्कुलबाट अछूतको रूपमा निकालियो । माधवराजका अनुयायी मित्रहरूलाई पनि दैनिक पशुपति ढोग्न जानेजस्ता अनेक सजाय दिइयो । शिक्षक रामदयाललाई देशनिकाला गरियो, तर उनी आफ्नो घर पुगेनन् । काठमाडौंबाट वीरगन्ज लैजाने क्रममा चारकोसेझाडीतिर उनको इहलीला समाप्त पारिएको अनुमान गरिन्छ ।

जाति हटक भएका कारण काठमाडौंमा बस्न नसकी माधवराजको परिवार वीरगन्जमा धान कुट्ने, लुगा सिउनेजस्ता ज्यालामजदुरी गरी बस्न थाल्यो । डेढ वर्षजति पछि माधवराज कैदखानाबाट भागेर वीरगन्ज पुगी परिवारसहित रातारात इन्डिया पुगे । त्यही गुरूकुलमा भाबी सहिद शुक्रराजको पूर्ण शिक्षादीक्षा भयो ।


पछि माधवराजका छोरा अमरराज बाबुको अभियानलाई निरन्तरता दिन अघि सरे । काठमाडौं फर्केर उनले विसं.१९७६ मा ‘सत्याचरण मलामी गुठी’ नामले एक समूह बनाए र वैदिक मन्त्रोच्चारणका साथ शवयात्रा गर्ने, दान नगर्ने आदि अभियान चलाए जसको असर अनपढ सर्वसाधारणमा पनि पर्न थाल्यो । सो गुठीका सदस्यहरूलाई पनि सरकारले सजाय गर्‍यो । त्यसै घानमा परेका गुठीका सहसचिव समाजसेवी तुलसी मेहरले देश निकालाको सजाय पाए । त्यसपछि नै उनले भारतमा गान्धी आश्रममा गई चर्खा उद्यम सिके र गान्धीका निकटवर्ती सहयोगी भई गान्धीका नेपाली छोरा भन्ने नाम कमाए । पछि उनले नेपालमा चर्खा प्रचारको काम गरे र इ.सं.१९७७ मा इन्डिया सरकारले प्रदान गर्ने जवाहरलाल नेहरू पुरस्कार पाए ।


यो अभियान पनि असफल भएपछि माधवराजका अर्का छोरा शुक्रराज शास्त्रीले विसं.१९९४ मा भोटाहिटी, काठमाडौंमा ‘नेपाल नागरिक अधिकार समिति’ खडा गरे । यसले सुरुमा प्रगतिशील धार्मिक पुराण वाचनकै काम गरे तापनि यो पहिलेका अभियानभन्दा बढी राजनैतिक पनि थियो । यसैले विसं.१९९५ मंसिर १३ मा इन्द्रचोकमा आमसभा गरी नागरिक अधिकार माग्ने प्रचार गरयो । सभामा समितिका अध्यक्ष शुक्रराजले वेदका मन्त्रकै आधारमा नागरिक अधिकारका कुरा उठाएका थिए । त्यो नै नेपालको जनक्रान्तिको पहिलो आमसभा थियो र सहिद काण्डको सूत्र पनि । सभाका अर्का वक्ता सहिद गंगालाल थिए ।


आफू र आफ्ना छोराहरूको सुधारको मतिले आफ्नो परिवारको दुर्गति हुने देखेर होला बूढा माधवराजले विसं.१९९७ आश्विन–कात्तिक तिर संन्यास ग्रहण गरे । उनले १९९७ माघमा रुखमा झुन्डिएको आफ्नो छोराको सहादती शव हेर्दै जन–भीडको सामुन्ने बोलेको उक्ति प्रसिद्ध छ, ‘शाबास, बेटा; बेटा होना तो ऐसा ही होना ।’ माधवराजको देहावसान २००२ को लक्ष्मीपूजाको दिन भयो ।


उनको देहावसानको यतिका वर्षपछि पनि मृत्यु संस्कारमा सुधारको आवाज अद्यापि उठिरहेकै छ । विसं.२०६४ देखि यस पंक्तिकारको संयोजकत्वमा ‘सामाजिक–सांस्कृतिक मञ्च, नेपाल’ बाट नेपालमा प्रचलित अनेक जातजातिका मृत्यु संस्कारको

खर्चिलोपन घटाउनुपर्नेमा विशेष जोड दिँदै देशका विभिन्न जिल्लामा गोष्ठी–सभा गर्दै आएकोमा २०७२ देखि त्यसै अभियानका अभियन्ता शंकर पोखरेलले ‘संस्कार सुधार समाज’ विधिवत् दर्ता गरी नेपाली खस–आर्य समाजमा प्रचलित १३ दिने किरिया प्रथालाई धेरै व्यक्ति र समुदायमा पाँच दिनमा झार्न पाएको सफलताका सन्दर्भमा अग्रज अभियन्ता माधवराज जोशीको विगतलाई विस्मरण गर्नु न्यायोचित हुँदैन ।

प्रकाशित : फाल्गुन ७, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?