सुकुम्बासीका आवाज- फिचर - कान्तिपुर समाचार

सुकुम्बासीका आवाज

राधाकृष्ण प्रतिष्ठित र सम्पन्न परिवारमा जन्मिएका थिए तर भूमिहीनलाई जग्गाको मालिक बनाउन जीवनभर लागिरहे । उनकै सक्रियतामा २५ हजार बिघा जग्गा भूमिहीनले पाए । 
बुनु थारु

जंगबहादुर राणाले अंग्रेज शासकलाई भारतमा विद्रोह दबाउन सैन्य सहयोग गरेबापत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला फिर्ता ल्याए । बर्दिया नेपालमा गाभिएपछि थारूहरूले जंगल फँडानी गरे । खेती लगाउन र बस्ती बसाउन योग्य बनाए । तर जमिन उनीहरूको नाममा भएन ।


जमिनमा राणा परिवारको हालीमुहाली थियो । यसबाट बर्दिया, कोठियाका राधाकृष्ण थारूलाई चित्त बुझेन । थारूलाई जमिनको मालिक बनाउन वकालत गर्न उत्रिए । उनी सुकुमवासीको आवाज बनेर जीवनभर लागिरहे ।


राधाकृष्ण आफू भने प्रतिष्ठित र सम्पन्न परिवारमा जन्मिएका थिए । उनको जन्म गुलरियाको कोठिया गाउँमा १९६५ जेठ १५ गते भएको थियो । उनका हजुरबा खुसाल महतोको कोठिया, ठाकुरपुर, पार्वतीनगर, मोतीनगरका मौजामा जमिनदारी थियो । हजुरबालाई महतोको पदवी तत्कालीन प्रशासनले दिएको हो । महतो पद पाउने धेरैले पछि आफ्नो थर नै महतो बनाए । राधाकृष्णका बाबु भवानीदीनले त्यसो गरेनन् । राधाकृष्णले त झन आफूलाई महतोका रूपमा कहिल्यै प्रस्तुत गरेनन् । सधैं रैतीहरूको हकअधिकारका लागि लडे ।


सभा, भेला गर्न नपाइने राणाकालमा राधाकृष्णले २००१ सालमा बर्दियाको मैनापोखरमा थारू भक्त (शाकाहारी) हरूको सम्मेलन गराएका थिए । सभामा आफू पनि शाकाहारी भएको घोषणा गरे । उनले रैतीहरूका नाममा जग्गा हुनुपर्ने आवाज उठाए ।


उनी रैतीहरूको सहीछाप लिएर उनीहरूका नाममा जग्गा हुनुपर्छ भनी बिन्तीपत्र चढाउन २००३ सालमा तत्कालीन श्री ३ पद्यमशमशेर भेट्न काठमाडौं गए । उनीमाथि व्यवस्थाविरोधी कांग्रेसी भएको बात लगाइयो । डिठ्ठा भद्रमान चित्रकारको रक्तकालीस्थित घरमा पाहुना भई बसेका उनलाई आठपहरियाहरूले पक्राउ गरे । पद्यमशमशेरसमक्ष ‘हामी व्यवस्थाविरोधी होइनौं, थारू रैतीहरूको वारेस भई उनीहरूका नाममा जग्गाजमिन हुनुपर्‍यो भनेर बिन्ती चढाउन मात्र आएका हौं’ भनी बिन्ती चढाएपछि उनले छुटकारा पाए ।

राधाकृष्णले चढाएको बिन्तीका कारण २००४ सालमा बर्दियामा दौडाहा टोली आइपुग्यो । टोलीले १३ हजार बिघा जग्गा भूमिहीन रैतीहरूका नाममा गरिदियो । तर एक वर्ष नपुग्दै जग्गा खोसियो । राधाकृष्ण चुप बसेनन् । उनले आन्दोलन चलाए । पछि अधिकार सम्पन्न आयोग बर्दियामा आयो । त्यसले २५ हजार बिघा जग्गा भूमिहीनका नाममा गरिदियो ।


राणाशासन ढाल्न २००७ सालमा भएको सशस्त्र आन्दोलनमा राधाकृष्णकै अगुवाइमा बर्दियाको राजापुर र गुलरिया बजार कब्जा गरिएको थियो । बजार कब्जा गरेपछि उनकै अध्यक्षतामा स्थानीय प्रशासन चलाउन समिति बनाइयो ।


राधाकृष्ण नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनी भूमिहिन थारूको मागलाई कांग्रेसले सम्बोधन गर्छ भन्थे । २०१५ सालमा क्षेत्र नं ६४ (बर्दिया) बाट चुनाव जितेर उनी प्रतिनिधिसभा सदस्य (सांसद) भए । सांसद भएपछि भूमिहीनहरूको अधिकारका लागि आवाज झन् बुलन्द बनाए ।


तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले मन्त्री बन्न प्रस्ताव गर्दा राधाकृष्णले परशुनारायण चौधरीलाई सिफारिस गर्दै भने, ‘परशुबाबु पढेलेखेका ग्र्याजुएट हुनुहुन्छ । म सामान्य साक्षरभन्दा उहाँ मन्त्री बन्न उपयुक्त छ ।’ त्यसपछि परशुनारायण शिक्षामन्त्री तत्काल बने ।

नेपाली कांग्रेसका तत्कालीन सभापति बीपीले पहिलो आमचुनावपछि २०१५ साउन ३ गते केन्द्रीय समिति पुनर्गठन गरे । त्यसपछि राधाकृष्ण केन्द्रीय सदस्य बने ।


राजा महेन्द्रले २०१७ पुस १ गते कांग्रेस नेतृत्वको सरकार विघटन गरिदिए र पञ्चायती व्यवस्था ल्याए । राधाकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भयो । प्रशासनले बर्दिया कोठिया र रत्नापुर गाउँस्थित घर खानतलासी गर्‍यो । राधाकृष्ण सपरिवार भारत निर्वासनमा गए । उनी २०२५ सालमा नेपाल फर्किए ।


राधाकृष्ण भारतबाट फर्कंदा अस्वस्थ थिए । ४ वर्ष लगातार प्रशासनमा तारेख धाए । केही साथीहरूको सल्लाहमा २०२९ सालमा उपप्रधानपञ्चको उम्मेदवारी दिए । प्रशासनले पञ्चायतको समर्थन गरेको ठान्यो। त्यसपछि राधाकृष्णले प्रशासनबाट हैरानी बेहोर्नुपरेन ।


राधाकृष्णका पाँच छोरामध्ये दुई जना सांसद भए । २०५६ को प्रतिनिधिसभामा मंगलप्रसाद नेपाली कांग्रेसबाट सांसद भएका थिए । अर्का छोरा गोविन्द नेपाल सद्भावना पार्टी (आनन्ददेवी) बाट २०६३ मा व्यवस्थापिका संसद् सदस्य चुनिए । थारू समुदायमा एकै घरका तीन जना संसद् पुगेको परिवार राधाकृष्णको मात्र हो ।


२०१७ सालको ‘कू’ पछि राधाकृष्णको दराज प्रशासनले जफत गरेको थियो । त्यो दराज उनका छोरा मंगलप्रसाद २०५६ मा सांसद भएपछि मात्रै फिर्ता गरियो । अर्का छोरा गोविन्दका अनुसार दराजभित्र आमाको बिहेका कपडाबाहेक अरू केही थिएन । राधाकृष्णको भने त्यसअघि नै २०५३ मंसिर २५ गते निधन भइसकेको थियो ।


नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बर्दियाका किसानका तर्फबाट राधाकृष्ण थारूले दिएको सुझावअनुसार नै देशका अन्य भागमा भूमिसुधारको काम भएको बताएका थिए । धेरैले उनलाई प्रजातन्त्रको सेनानी भनेर चिन्छन् ।


राधाकृष्णको सम्मानमा बर्दिया सदरमुकाम गुलरियाको मुख्य चोकलाई राधाकृष्ण चोक नामकरण गरिएको छ । चोकमा उनको अर्धकदको सालिक ठड्याइएको छ । भूमिहीनका पक्षमा राधाकृष्ण आजीवन लडे तर बर्दियामा भूमिहीन मुक्तकमैयाले अझै पनि उनकै सालिक घेरा हालेर पुनःथापनाका लागि आवाज उठाउनुपरिरहेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्

विचारका बाबा

जीवनलाई सम्हाल्न सक्नेहरु बुद्ध बन्छन्, नसक्नेहरु बर्बर बन्छन् । अरुले ओगटेको स्थान, वस्तु र समय हत्याउन दौड लगाइरहेको संसारको भीडमा जीवनलाई सम्हाल्न अवश्य सहज हुँदैन ।
नेत्र आचार्य

खप्तडमा ५० वर्ष बिताएका खप्तड बाबा संन्यास लिनुअघिसम्म प्रतिभावान् चिकित्सक थिए । यी आध्यात्मिक गुरु तथा विचारक भारतको कश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका हुन् । 

कोलकाताको ट्रपिकल मेडिकल कलेजबाट एमबीबीएस र बेलायतबाट सर्जनको अध्ययन गरेका उनले जब काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन गरे, त्यसपछि गहन साधनाका लागि नेपालको खप्तड लेक रोजेका थिए । विसं १९८६ मा नेपाल आए ।

स्वामी सच्चिदानन्द सरस्वती पनि भनेर चिनिने उनको धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्यलगायतका झन्डै डेढ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । विचार विज्ञान नामको कृतिमा उनले विचार बिजुलीभन्दा वेगवान र बलवान हुन्छ भनेका छन् । उनै बाबाले आफ्ना अन्तरंग शिष्यहरूलाई शब्दजालमा न जेलिनू भनी सुझाउँथे । जुन वस्तु जति शक्तिशाली हुन्छ, त्यसलाई सम्हाल्न उति नै जागरुकता र कुशलता चाहिन्छ । विचार शक्तिशाली हुन्छ, विचारमय जीवन झनै शक्तिशाली हुन्छ । जीवनलाई सम्हाल्न सक्नेहरू बुद्ध बन्छन्, नसक्नेहरू बर्बर बन्छन् । अरूले ओगटेको स्थान, वस्तु र समय हत्याउन दौड लगाइरहेको संसारको भीडमा जीवनलाई सम्हाल्न अवश्य सहज हुँदैन ।

त्यसैले स्वामी सच्चिदानन्द सरस्वतीले अधिकांश समय हिउँ जमिरहने खप्तडको लेक रोजे । त्यही लेकमा बसेर उनले बौद्धिक ज्ञान र दर्शनले भरिएका दर्जनौं कृति रचना गरे । यद्यपि उनको बौद्धिक या दार्शनिक योगदान खोज्ने सही ठाउँ ती कृतिहरू होइनन् । एउटा प्रतिभावान डाक्टर खप्तडको लेकमा ५० वर्ष शान्त रहनु आफैंमा ठूलो कृति हो । उनले जे जानेका थिए, खप्तड लेकमा बस्दा त्यहीअनुरूप बाँच्ने चेष्टा गरे । जानेको ज्ञान र बाँचेको जीवन एक सदृश हुनु यो युगमा एउटा अद्भुत घटना हो ।

पच्चीस सय वर्षअघि गौतम बुद्धले ध्यानमा सुख छ भन्ने थाहा पाएका थिए । ध्यानको अभ्यास गर्न सरल र सादा जीवनशैली आवश्यक हुन्थ्यो । अतः बुद्धले सम्पूर्ण जीवन एउटा चीवर र पात्र लिएर बिताइदिए । बीसौं शताब्दीको पूर्वार्द्धमा रमण महर्षिले मौनतामा सुख छ भन्ने थाहा पाएका थिए । उनी १७ वर्षको उमेरमा अरुणाचल पर्वतमा गए र जीवनको अधिकांश समय मौन रहेर बिताइदिए । खप्तड बाबाले धर्ममा सुख छ भन्ने थाहा पाएका थिए । उनले खप्तड लेकमा गएर जीवनको ऊर्जाशील समय धर्मको खोजी र अभ्यास गरेर बिताइदिए ।

चिकित्सा पेसामा रहँदा अन्तरप्रेरणाले उनी दक्षिणमूर्ति आश्रममा वेद, उपनिषद् आदि आध्यात्मिक ग्रन्थका अध्येता तथा अध्यापक बने । अन्ततः खप्तड लेकमा पुगेर तपस्वी खप्तड बाबा बने र बीसौं शताब्दीको उत्तरार्द्ध शान्तिपूर्वक बिताइदिए । ज्ञानका ग्रन्थहरूमा सारभूत रूपले ‘सर्वं हि तपसा साध्य‌ं तपो हि दुरतिक्रमः’ अर्थात् सबै ध्येय तपस्याले सिद्ध हुन्छन् तर तपस्या सिद्ध हुन मुस्किल हुन्छ भन्ने उल्लेख पाइन्छ । खप्तड बाबामा दृढसंकल्प शक्ति थियो र त्यसलाई कार्यान्वित गर्ने सुझबुझ पनि । मुस्किलभन्दा मुस्किल काम विचारको शक्ति र तपले सफल बनाउन सकिन्छ भन्ने उनलाई थाहा थियो । उनी त्यसैको अभ्यास गर्न जीवन पर्यन्त तल्लीन रहे ।

जति धेरै शब्दजाल निर्माण गर्न सक्यो उति ठूलो विद्वान् कहलिने जमाना छ अहिले । वर्तमान समयले स्वीकार गरेका विद्वान्हरू यो वा त्यो मतलाई परास्त गर्ने र प्रकारान्तरले आफ्नो भागमा स्थान, वस्तु र समय पार्ने ध्येय राख्छन् । खप्तड बाबाका दृष्टिमा यो आपातरमणीय सुख हो । आपातरमणीय अर्थात् झलक्क हेर्दा सुखजस्तो देखिने तर अन्ततः दुःखको भुमरीमा फसाइदिने सुख । दीपशिखाको चहकिलो ज्योतिवरिपरि घुमिरहेको पुतलीले त्यो आगोको ज्वाला हो, जलाइदिन्छ भन्ने हेक्का राख्न सक्दैन । आपातरमणीय सुखको वरिपरि घुमिरहेका विद्वान्हरूले पनि आफ्नो विनाश देख्न सक्दैनन् ।

खप्तड बाबाले आफ्ना दर्जनभन्दा बढी ग्रन्थमा परम्परागत पण्डित र विद्वान्हरूले जस्तो शास्त्र प्रमाणलाई अधिक स्थान दिएका छैनन् । बरु मनोविज्ञानसम्मत बौद्धिक युक्तिहरू, ऐतिहासिक तथ्यहरू तथा जनसाधारणका अनुभवलाई प्रमाण मानेका छन् र आफ्ना मतहरू स्थापित गर्न यिनै प्रमाणको उपयोग गरेका छन् । खप्तड बाबाको दृष्टिमा पश्चिमी शिक्षासँगै जति विजातीय कुराहरू हाम्रो देशभित्र प्रवेश गरेका छन्, तीमध्ये नास्तिकता एउटा हो । शिक्षितहरूमै नास्तिकताको प्रभाव अधिक परेको हुँदा समाज झन्झन् विकृतिउन्मुख भएको उनले देखे । मानिसले जीवनभन्दा जीवनको ज्ञानलाई महत्त्व दिन थालेको र सुखभन्दा सुखका साधनहरू बटुल्ने ध्याउन्न गर्न थालेको उनले देखे । संसारमा सुख छैन तर संसारको आसक्तिलाई त्याग्न कोही मानिस राजी हुँदैन । मानिसको दशा त्यही मृगको जस्तो भइरहेको छ जो मृगमरीचिकातिर निरन्तर दौडिरहन्छ र प्यासले व्याकुल भई छटपटाउँदै मृत्युवरण गर्छ । यसरी नभएको ठाउँमा सुख खोज्दै तड्पिरहेका मानिसलाई ‘पर्ख, त्यहाँ होइन, यहाँ खोज’ भनी औंल्याउन खप्तड बाबाले धर्म विज्ञान लेखे ।

विभिन्न खण्डमा प्रकाशित उक्त ग्रन्थमा उनले धर्मको मर्मलाई बोध गर्ने सरलतम युक्तिहरू प्रस्तुत गरेका छन् । अरू सबै कुराको खोजी बाहिर हुन्छ, धर्मको खोजी भित्र हुन्छ । बाबा भन्छन्, ‘यदि तिमी सिनेमाघरको पर्दामा चित्रहरू आऊन् भन्ने चाहन्छौ भने सबै झ्यालढोका बन्द गर । जब बाहिरी प्रकाश रोकिन्छ तब चित्र प्रस्ट देखिन्छ । त्यसैगरी जब मन र इन्द्रियहरू बाहिरी प्रकाश अर्थात् इच्छाहरूलाई मनमा उतार्न छाड्छन्, तब आफूभित्र धर्मको प्रकाश उदय हुन्छ ।’

यो जगत् संकल्पमय छ, संकल्पबाट नै उत्पन्न भएको छ । सबै सुखदुःख आफ्नै संकल्पका फल हुन् भन्ने यकिन भइसकेपछि ठूलै दुःख पनि दुःखदायी हुँदैन । आफ्नै हातबाट लागेको चोट त्यति दुःखदायी हुँदैन जति अर्काको हातबाट लाग्दा दुःखदायी प्रतीत हुन्छ । संकल्पबाट संसार चलेको छ भन्ने बोध हुँदा दुःख मेटिन्छन् किनभने जुन संकल्पबाट दुःख प्राप्ति हुन्छ त्यसैको विपरीत संकल्प गर्नाले पूर्वसंकल्पहरूको बल क्षीण हुन जान्छ । खप्तड बाबाका अनुसार यही ज्ञान धर्मको जग हो ।

हरेक मानिसभित्र एक सहज ज्ञानस्फूर्तिको शक्ति हुन्छ जसले अकस्मात् सूर्यको प्रकाशले जस्तै हाम्रो हृदयको आकाशलाई प्रकाशित पार्छ । त्यो प्रकाश उदय भएको बेला प्रत्येक मानिसमा देवता देखिन थाल्छन् । मानिसको मुस्कानमा दैवी सौन्दर्य र मोहकता प्रकट हुन्छ । यो अनुभूति शब्दमा व्यक्त गर्न सकिँदैन । गुलियोको अनुभूति जति जिब्रोलाई थाहा हुन्छ त्यति कस्तै आलंकारिक शब्दहरूले पनि व्यक्त गर्न सक्दैनन्, कुनै प्रयोगशालाका वैज्ञानिकले तत्त्वहरूको विश्लेषण गरेर बताउन सक्दैनन् ।

स्वानुभूतिलाई यति जोड दिँदादिँदै खप्तड बाबाले विचार विज्ञान नामको कृति लेखेर विचारको महिमा मण्डन गरेका छन् । उनी भन्छन्— स्थूल वस्तुभन्दा सूक्ष्म वस्तुमा, जडभन्दा चेतनमा अधिक शक्ति हुन्छ । ढुंगाभन्दा माटोमा र माटोभन्दा पानीमा जीवनीशक्ति अधिक हुन्छ । विचार सूक्ष्मतम हुन्छन् तर ती शक्तिशाली हुन्छन् । विचारले मानिसको कल्याण पनि गर्न सक्छन्, विनाश पनि ।

मानिस अनन्त सम्भावनाहरूको पुञ्ज हो । जस्तो बीजभित्र लुकेको वृक्ष । उर्वर भूमि र मलजल भए मात्र बीज अंकुरित हुन्छ र त्यसभित्र निहित वृक्षका अवयव प्रकट हुन थाल्छन् । मानिसभित्रका सम्भावना पहिल्याउने मुख्य साधन युक्तियुक्त विचार नै हो । विचारलाई खप्तड बाबाले खार्नका निम्ति सर्वाधिक उपयोग गरेका थिए । उनी भन्थे— मेरो व्यक्तिगत प्रकृति एकातिर जसरी विश्वासशील छ, अर्कोतर्फ उत्तिकै संशयप्रवण छ । त्यसैले मैले आफ्नो जीवनमा जेजति उपलब्धि गरेको छु र गरिरहेको छु तिनलाई ज्यादै कठोरताका साथ सबै प्रकारका प्रमाणका कसीहरूमा नजाँचीकन मैले स्वयं कहिले पनि सत्य रूपमा ग्रहण गरेको छैन । मेरो विचारमा जे सत्य छ त्यो सदैव सत्य नै रहन्छ । अतः परीक्षा गर्नाले त्यसको चमक बढ्ने नै छ, घट्ने छैन ।

खप्तड बाबा चाहन्थे आफूले जानेको ज्ञान पहिला आफैंमा प्रयोग होस् । ज्ञान बाँड्न, अर्ती दिन या विद्वान् कहलाउन हतारिनु पहिला स्वानुभूति होस्, ज्ञानको आलोकले चेहरा धपक्क बलोस्, आनन्दले मन गदगद होस् । विचारकै माध्यमले आफूमा परिष्कार ल्याउने हो तर शब्दजालमा जेलिने थिति पनि नआओस् ।

खप्तड बाबाले तपस्या गरेको क्षेत्र सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रूपमा छ । खप्तड क्षेत्रमा उनको आश्रम र उनले प्रयोग गरेका केही सामान अझै छन् । यस क्षेत्रभित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह, बाबाको आश्रम छ । खप्तड राष्ट्रिय निकुञ्ज सेती अञ्चलका चार पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलमा पर्छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×