१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जसले गणतन्त्रको सपना देखाए 

गणतन्त्र नेपालको बीज पुष्पलालले त्यति बेला रोपेका थिए जतिखेर जहानियाँ राणा शासनको अन्त्य पनि मुस्किल लाग्थ्यो । 
सुरेश ढकाल

पुष्पलाल श्रेष्ठ (सन् १९२४—१९७८) नेपालको समकालीन राजनीतिक इतिहासमा बिर्सन नसकिने व्यक्ति हुन् । उनलाई नेपाली कम्युनिस्ट आन्दोलनको अग्रपुरुष, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव र कतै–कतै नेपाली कम्युनिस्ट आन्दोलनका पितासमेत भनेर चिनिन्छ । 

जसले गणतन्त्रको सपना देखाए 

पुष्पलाल सहिद गंगालालका माइला भाइ हुन् । दाजुको हत्या भएपछि उनी राणाविरोधी राजनीतिमा लागेका थिए । पुष्पलालले प्रजा परिषद्बाटै राजनीति गर्न थाले जहाँ उनका दाजु गंगालाल थिए । तर तीव्र परिवर्तनको आकांक्षाले डोर्‍याएर उनलाई नेपाल राष्ट्रिय कांग्रेस (पछि नेपाली कांग्रेस बन्यो) को सदस्य बन्न प्रेरित गर्‍यो । त्यति बेला उनलाई कांग्रेसले राणा शासन ढाल्न सक्छ भन्ने लागेको थियो । उनी कांग्रेस पार्टीको कार्यालय सचिवसमेत थिए । तर कांग्रेसभित्रको किचलो र नेताहरूको केही राणासँग हिमचिम र बसउठ उनलाई मन परेन र राणा शासनविरुद्ध सम्झौताहिन संघर्ष र गणतन्त्रसम्मको आकांक्षासहित उनी नेपाल कम्युनिस्ट पार्टी निर्माणमा लागे । अन्तत्वगत्वा लेनिनको जन्मदिन पारेर २२ अप्रिल १९४९ मा उनी र अन्य चार जनाले कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । पुष्पलाल महासचिव बने । उनी त्यतिबेला भर्खर २५ वर्ष लागेका थिए ।


कोलकातामा पार्टी स्थापना गर्न उनलाई प्रख्यात भारतीय कम्युनिस्ट नेता नृपेन्द्र चक्रवर्ती र बंगाल पार्टीको साथ र सहयोग थियो भनिन्छ । त्यसैकारण पछि केही कम्युनिस्ट घटकहरूले उनको र कम्युनिस्ट पार्टी गठन प्रक्रियाको आलोचना पनि गरेका थिए ।


गुट र फुटको निरन्तर शृंखलामा विकास हुँदै आएका नेपाली कम्युनिस्टहरूको इतिहासमा एकले अर्कालाई गर्ने गाली र लगाउने आरोप सबै खेपेका छन् पुष्पलालले । उनी खासखास कालखण्डमा अन्य कम्युनिस्टहरूका नजरमा राजावादी, संसद्वादी, संशोधनवादी, सम्झौतावादी, अवसरवादी र गद्धार सबै भए । तर अहिले एकाधबाहेक सबै कम्युनिस्टहरू उनी र उनका विचारलाई कम्युनिस्ट आन्दोलनका पथप्रदर्शक थिए भनेर मान्छन् । कम्युनिस्ट नेताहरू आफूलाई पुष्पलालका अनुयायी र राजनीतिक उत्तराधिकारी भन्नमा गर्व गर्छन् । पुष्पलाल र उनको योगदान त उही थियो, अरू उभिएको स्थान फरक पर्दा उनी कहिले हिरो र कहिले भिलेनका रूपमा व्याख्या भइरहे ।


यस सानो आलेखमा समकालीन नेपालमा पुष्पलालको राजनैतिक योगदानको सान्दर्भिकता संकेत गर्ने प्रयत्न गरिएको छ ।


पुष्पलाल राणाविरोधी संगठित आन्दोलन उत्कर्षमा पुग्दै गरेका बेला राजनीतिमा लागेका थिए । उनलाई राजनीतिमा होमिन पारिवारिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणले मद्दत गर्‍यो । परिवार राजनीतिक चेतनाले युक्त थियो । भारतमा भएको मार्क्सवादी आन्दोलनको प्रभाव र भर्खरैको चिनियाँ क्रान्तिको सफलता पनि उनलाई प्रेरित गर्ने तत्त्वहरू थिए । दोस्रो विश्वयुद्धपछि औपनिवेशिक पञ्जाबाट मुक्त भएका थुप्रै मुलुक उन्मुक्तिको दौडमा थिए र त्यसको झोक्का कुनै न कुनै रूपमा नेपालमा पनि परेको थियो । यस सन्दर्भमा राणाविरोधी तर नेपाली कांग्रेससँग नजिक हुन नसकेको ठूलो हिस्सालाई समाजवाद र मुक्तिको सपना सबैभन्दा आकर्षक हुन सक्थ्यो । पुष्पलालले त्यही सपना देखाए । नेपाली समाजलाई गणतन्त्रको सपना देखाउने आधिकारिक व्यक्ति पुष्पलाल थिए । आज प्राप्त गणतन्त्र नेपालको बीज पुष्पलालले त्यति बेला रोपेका थिए जतिखेर जहानियाँ राणशासनको अन्त्य पनि मुस्किल लाग्थ्यो । नेपालको साक्षरता दर पाँच प्रतिशतभन्दा कम भएको समयमा पनि कम्युनिस्ट पार्टी स्थापना र कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद धेरै अर्थमा नेपाली राजनीतिक दुनियाँलाई दिशानिर्देश गर्ने कदम थियो ।


विश्वमा अन्यत्रजस्तै कम्युनिस्ट पार्टीको घोषणापत्रलाई कम्युनिस्ट आन्दोलनको पथप्रदर्शक सिद्धान्तका रूपमा स्थापित गर्न सफल भए उनी । यो सात दशकअघिको कुरा थियो । उक्त घोषणापत्र र त्यसमा पुष्पलालले खेलेको भूमिका कालान्तरसम्म नेपाली समाजको विश्लेषणका लागि उपयुक्त साधन बन्न गयो ।


कम्युनिस्ट आन्दोलनका अनेक उतारचढाव र विभाजनको राजनीतिको प्रभाव पुष्पलाललाई कसरी हेर्ने भन्नेमा परेको देखिन्छ अर्थात् उनी नेपाली कम्युनिस्टहरूको नजरमा महान् पुष्पलालदेखि संशोधनबादी र गद्धार पुष्पलालसमेत बनाइए । सिंगो नेपाली समाज उनलाई हेर्ने कुरामा विभाजित हुन सक्छ । पुष्पलालको विवादित व्यक्तित्व निर्विवाद यथार्थ हो । तर के पनि निर्विवाद हो भने, नेपाली राजनीतिको अवस्था र नियति बदल्न उनको प्रभाव जबर्जस्त रहिरह्यो ।


भनिन्छ, बाइबलपछि सबैभन्दा बढी भाषामा अनुवाद भएको कृति हो, कम्युनिस्ट पार्टीको घोषणापत्र । यो २०० भन्दा बढी भाषामा अनुवाद भइसकेको छ भनिन्छ । यसको विश्वव्यापी प्रभाव र सान्दर्भिकता अझै छ । कैयौं पश्चिमा विद्वान्हरू पुँजीबादलाई बुझ्न, व्याख्या गर्न र यसबाट उन्मुक्ति पाउन मार्क्सवाद अझै सान्दर्भिक रहेको ठान्छन् । भनिन्छ, सन् २००८ को विश्व अर्थतन्त्रमा आएको मन्दीपछि कम्युनिस्ट पार्टीको घोषणपत्रको बिक्री ह्वात्तै बढेको थियो अर्थात् यसको सान्दर्भिकताको पुनर्उत्थान आज पनि खोजी हुँदै छ । सात दशकअघिको विश्व र नेपालमा यसको उपादेयता अवश्य पनि आजभन्दा धेरै थियो । तसर्थ कम्युनिस्ट पार्टीको घोषणपत्र अन्यत्रजस्तै नेपालमा पनि ‘गाइड बुक’ का रूपमा उपयोग हुन थाल्यो । यसको प्राथमिक श्रेय पुष्पलाललाई जान्छ । नेपाली समाजको वामपन्थी राजनीतीकरणमा उनको योगदान अतुलनीय छ ।


कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल संगठकका रूपमा भने त्यति सफल देखिँदैनन् । पार्टी गठनको दशकमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे तर सन् १९६२ मा पार्टी विभाजन भयो । उनी एउटा डफ्फा लिएर तुलसीलाल अमात्यसँग मिल्न गए र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा रहे । १९६७—६८ तिर पार्टीलाई वैधानिक बनाउने क्रममा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको सहयोगमा उनले राजासँग गुपचुप भेटे भनेर उनको चर्को आलोचना भयो । चीन—सोभियत संघको विवादमा मतभेद भएपछि उनी अमात्यसँग पनि अलग्गिएर नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल) गठन गर्न पुगे र जीवनभर त्यसैको नेतृत्वमा रहे । तर पनि उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहे ।


नेपालको हालको राजनैतिक उपलब्धि र शक्ति सन्तुलनमा पुष्पलालको योगदान छ भन्दा अत्युक्ति हुँदैन । उनले नेपाली कांग्रेसलाई भारतको गर्भबाट जन्मिएको भनेर सुरुमा आलोचना गरेका भए पनि पञ्चायती व्यवस्था ढाल्न संयुक्त मोर्चाको अवधारणा ल्याए । नेपाली कांग्रेसलाई पनि मित्रशक्ति मान्नुपर्ने जिकिर थियो उनको । केही कम्युनिस्ट घटकहरूले ‘कांग्रेससँग वामपन्थी मितेरीको गर्तमा आसीन हुन पुगेको’ भनेर उनको आलोचना गरे । तर पछि प्रजातन्त्र पुनःस्थापनार्थ कम्युनिस्टहरूले गठन गरेको वाममोर्चामार्फत नेपाली कांग्रेससँगको संयुक्त जनआन्दोलन होस् वा गणतन्त्र स्थापनाका लागि भएको संयुक्त जनआन्दोलन, वामपन्थीवृत्तमा तिनीहरूको वैधानिकता उनै पुष्पलालको अवधारणाबाट लिने गरिएको छ ।


पुष्पलालले कम्युनिस्ट पार्टीको घोषणापत्रको सामान्य अनुवाद मात्र गरेका थिएनन्, त्यस अनुवादमा भूमिकासमेत लेखेका थिए जसमा उनको गहन अध्ययन र विद्वत्ता एवं विश्लेषण क्षमताको उदाहरण पाइन्छ । नेपाली समाजको त्यति छरितो र बोधगम्य मार्क्सवादी विश्लेषण त्यस अघि भएको थिएन होला । नेपाली समाजको मार्क्सवादी धारबाट विश्लेषण र परिवर्तनको कार्यदिशाबारे लेखिएको त्यही भूमिका र अनुवाद कोसेढुंगा थियो, जहाँबाट नेपाली वामपन्थी आन्दोलन र मार्क्सवादी चिन्तन सुरुवात भयो । पुष्पलालले नेपाली राजनीतिमा लागेको ठूलो हिस्सालाई फरक ढंगबाट सोच्न सिकाए । राजनीतिलाई नयाँ दिशा दिए । उनले उक्त भूमिकामार्फत नै आफूमा रहेको भविष्यप्रतिको आशावादिता, विश्व ज्ञानको चेत र त्यसको क्षितिज तथा प्रभाव पार्ने शक्तिको अनुमान लगाउन आधार दिएका थिए ।

नेपाली कम्युनिस्ट आन्दोलनका थुप्रै जीवित र दिवंगत नेताले पुष्पलालसँग सहकार्य गर्ने र प्रशिक्षित हुने मौका पाए । पुष्पलालभन्दा जेठो भए पनि मनमोहन अधिकारीले राजनीतिमा पुष्पलालको उत्तराधिकार सम्हाले । १९७६ मा मुक्तिमोर्चा गठन गर्नुभन्दा पहिले मदन भण्डारी पुष्पलालबाटै प्रभावित र प्रशिक्षित भएका थिए । नारायणमान बिजुक्छे (रोहित) पनि पुष्पलाल नेतृत्वको केन्द्रीय कमिटीमा थिए । यसरी पुष्पलालको वैचारिक र सांगठनिक नेतृत्वमा रहेकाहरूले नै नेपालमा कम्युनिस्ट राजनीतिलाई नेतृत्व गरिरहे । त्यस्तै, पुष्पलालको विचारबाट प्रभावित हुनेहरू उनको सादगी जिन्दगीबाट पनि प्रभावित हुन्थे भनिन्थ्यो । अहिले पुष्पलाललाई आदर्श मान्नेहरूमा न उनको वैचारिक प्रभावको झल्को भेटिन्छ न सादगीपन ।


पुष्पलाल ५२ वर्षको अल्पायुमा दिवंगत भए । तर सम्भवतः नेपाली कम्युनिस्ट राजनीतिको इतिहासमा उनी सबैभन्दा लामो आयु बाँच्नेछन् । प्रजातान्त्रिक धारको शिखरपुरुष विश्वेश्वरप्रसाद कोइराला थिए भने कम्युनिस्ट खेमाका पुष्पलाल । आजसम्मको राजनीतिको मोड र मनोदशा यी दुईको राजनैतिक, वैचारिक योगदानबाट निर्धारित देखिन्छ । पुष्पलाल गणतन्त्रप्रति प्रतिबद्ध थिए । त्यसैले उनी नेपाली कांग्रेससमेतलाई मित्रशक्ति मान्दै संयुक्त आन्दोलनको पक्षमा थिए । तर १९७७ मा बीपीले मेलमिलापको नीति लिएपछि पुष्पलाल त्यसको पछि लागेनन् ।


पुष्पलाल चिनियाँ नेता माओत्सेतुङबाट प्रभावित थिए तर कार्यकर्तालाई भन्ने गर्थे रे, ‘माओत्सेतुङको विचारधारालाई सही रूपमा समाते दुनियाँ खान सकिन्छ, गलत रूपले समातियो भने आफू खाइनेछ ।’ यसबाट उनी सिद्धान्तलाई सन्दर्भअनुसार उपयोग गर्ने व्यवहार कुशल पनि थिए भन्ने झल्कन्छ । उनी व्यक्तिगत लाभका लागि अवसरवादी कहिल्यै बनेनन् ।


थुप्रै कमीकमजोरी भए पनि मूलतः सिद्धान्त, सगंठन, व्यवहार र भविष्योन्मुख चिन्तन प्रणालीका कारण पुष्पलाल नेपालको समकालीन इतिहासका महत्त्वपूर्ण पात्र हुन् । आजसम्मको राजनीतिक उपलब्धिमा उनको प्रत्यक्ष–परोक्ष योगदान छ । अबको बदलिँदो परिवेशमा उनको सान्दर्भिकता कति रहन्छ वा उनका राजनीतिक उत्तराधिकारी हौं भनेर वकालत गर्नेहरूले पुष्पलालको निष्ठा कति जोगाउन सक्छन्, समयले बताउला । आजका नेपालका कम्युनिस्ट पार्टीका स्वरूप र नेताहरूको आचरणका आधारमा मात्र पुष्पलालको सान्दर्भिकता आकलन गर्न खोज्नुचाहिँ इतिहासप्रति अन्याय हुनेछ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?