राजा महेन्द्रको अलग धार - फिचर - कान्तिपुर समाचार

राजा महेन्द्रको अलग धार 

राजा महेन्द्रले उठाएको सबैभन्दा जोखिमपूर्ण र दूरगामी असर पर्ने कदम संसदीय व्यवस्थाको विघटन तथा राजनीतिक दलमाथि प्रतिबन्ध नै हो । प्रजातान्त्रिक व्यवस्था मासेर लागू गरिएको पञ्चायती व्यवस्था प्रचार गरिए जस्तो मौलिक थिएन । 
विनोद सिजापति

शाहवंशी राजामध्ये सबैभन्दा बढी चर्चा पृथ्वीनारायण शाह र महेन्द्र शाहको हुन्छ । पृथ्वीनारायणलाई मुलुक एकीकरणका कारण सम्झिने गरिन्छ । प्रजातान्त्रिक अभ्यास मासेर पञ्चायती पद्धतिको अभ्यास गराएको हुनाले महेन्द्रको चर्चा भइरहन्छ । उनलाई सम्झिने अर्को कारण विश्व मानचित्रमा नेपालको स्थान सुरक्षित राखेकाले पनि हो । 

२००७ सालको क्रान्तिलाई दिल्ली सम्झौताले टुंग्याएर निर्वासनबाट स्वदेश फर्कने क्रममा राजा त्रिभुवनले राष्ट्रका नाममा सन्देश दिँदै जनचाहनाबमोजिम गणतन्त्र दिन तयार रहेको बताएका थिए । उनले बालिग मताधिकारका आधारमा संविधानसभाको निर्वाचन गरेर संविधान निर्माण गर्ने बचन पनि दिएका थिए । तर त्रिभुवनका उत्तराधिकारी महेन्द्रले क्रान्तिनायक बीपी कोइरालाको समाजवादी पृष्ठभूमिलगायत कारणले राजसंस्था खतरामा परेको महसुस गरे । राज्यारोहण गरेको छोटो अवधिमै उनले पिताजस्तो निम्छरो नभएर सशक्त एवं दृढ राजाका रूपमा आफूलाई उभ्याए । प्रजातन्त्र र राजनीतिक दलविरुद्ध आएका अभिव्यक्तिले राजा महेन्द्र प्रजातन्त्रका पक्षधर होइनन् भन्ने प्रायः निश्चित भइसकेको थियो ।


राजा महेन्द्रको सामीप्यमा रहेका योगी नरहरिनाथ, तुलसी गिरी, विश्वबन्धु थापा, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, ऋषिकेश शाह, यदुनाथ खनाललगायतले ‘साँच्चिकै राजा त उनी नै थिए’ भन्ने गर्थे । राजामा ‘देश मेरै इसारामा चल्नुपर्छ’ भन्ने दम्भ थियो । उनी

आफ्ना निर्णयहरूमा अडिग रहन्थे । अँध्यारो कोठामा पनि कालो चस्मा पहिरिने उनको व्यक्तित्व आत्मविश्वासले भरिपूर्ण थियो । राजा महेन्द्रका सूचना स्रोत धेरै थिए । महत्त्वपूर्ण निर्णय गर्नुपूर्व ज्योतिषी र आफ्ना विश्वासपात्रसँग अलग–अलग भेटेर परामर्श गर्थे । सहयोगीहरूसँगको एकल अथवा समूहगत परामर्शमा रानीलाई साथमा राख्दैनथे । राजा महेन्द्रलाई विश्व राजनीति तथा इतिहासप्रति गहिरो रुचि थियो । उनको स्वभाव ईखालु र क्रोधि थियो । आफूलाई चित्त बुझेन भने जतिसुकै मन परेका व्यक्तिलाई पनि दण्ड दिन चुक्दैनथे । विश्वबन्धु थापा र तुलसी गिरी (२०१७ सालको कुका सहयोगी) मात्र होइनन्, प्रमुख सचिव लोकदर्शन वज्राचार्यलाई पनि जेल हाले ।


बकस दिन सिपालु राजा महेन्द्रलाई आर्थिक अभाव थियो । २०१५ सालको आमनिर्वाचनमा अमेरिकी राजदूत बंकरले राजइच्छाबमोजिम नारायणहिटी दरबारमा पैसा भरिएको खाम टक्र्याएको खुलासा भएको छ । त्यसउप्रान्त उनले अमेरिकी आर्थिक सहयोग सायद लिएनन् । नत्र अमेरिकी गुप्तचर एजेन्सीमार्फत नियमित रकम प्राप्त गर्ने राजाहरू (जस्तै– जोर्डनका हुसेन, मोरोक्कोका हासेन तथा इरानका मोहमद रेजा पहेलभी आदि) को सूचीमा उनको पनि नाम समावेश भएको खुलासा भइसक्ने थियो ।


राजा महेन्द्रले जंगल तथा सरकारको स्वामित्वमा रहेको जमिन आफ्ना प्रियजनलाई बकस दिएका थुप्रै उदाहरण छन् । बकस पाउनेले फँडानी गरेको जंगलको मूल्यवान काठको बिक्रीबाट प्राप्त भएको रकम दरबारमा ‘दाखिला’ गर्ने प्रचलन थियो । आफ्ना भाइहरूलाई ‘गरी खाऊन्’ भनेर ‘श्री ५ को सरकार’ को जमानतमा नेसनल इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेसन र कर्मचारी सञ्चय कोषको सौजन्यमा ऋण सुविधा दिलाएर ताहाचलमा मुलुकको प्रथम पाँचतारे होटल सोल्टी, दरबारमार्गमा चारतारे होटल डी ला अन्नपूर्ण तथा पोखराको फेवातालमा फिसटेल लज निर्माण तथा सञ्चालन गर्न लगाए ।


प्रजातन्त्र स्थापनापछि राज्य व्यवस्थापनको प्रत्येक अंग (दरबारका निर्णय, मन्त्रिमण्डल गठन तथा बैठक सञ्चालन, सल्लाहकार सभा गठन, सेनाको तालिम, प्रशासनिक सुधार, ग्रामीण विकास आदि) मा भारतीयहरूको उपस्थिति हुने गर्थ्यो । भारतीय पक्षको यस्तो सूक्ष्म व्यवस्थापनको विरोध गर्नेलाई त्यस कालखण्डमा ‘राष्ट्रवादी’ भनिन्थ्यो । महेन्द्रले राज्यारोहणपछि भारतीय पक्षलाई नचिढ्याइ आफ्नो देशलाई उसको छत्रछायाबाट मुक्ति दिलाए ।


महेन्द्रकै पालामा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पायो । चीन, सोभियत संघलगायत पूर्वेली युरोपेली मुलुकहरू, बर्मा, इन्डोनेसिया, पाकिस्तान, इजरायलसँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो । शीतयुद्ध चर्किएको कालखण्डमा नेपाल असंलग्न आन्दोलनको सक्रिय सदस्य भयो । नेपाल राष्ट्र बैंक स्थापना, देशभरि नेपाली मुद्राको प्रचलन, योजनाबद्ध विकास प्रक्रियाको थालनी, पूर्व–पश्चिम राजमार्गको अवधारणा, जलविद्युत् तथा सिँचाइ आयोजनाको विस्तार, भूमिसुधार, आधुनिक कृषि पद्धतिको सुरुवात, प्रशासन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार तथा विस्तार, देशभरि शिक्षाको माध्यम नेपाली भाषा निर्धारण, नयाँ मुलकी ऐन निर्माण, राष्ट्रिय चिह्न तथा राष्ट्रिय विभूति घोषणा जस्ता काम राजा महेन्द्रले गराएका हुन् ।


राजा महेन्द्रले उठाएको सबैभन्दा जोखिमपूर्ण र दूरगामी असर पर्ने कदम संसदीय व्यवस्थाको विघटन तथा राजनीतिक दलहरूमाथि प्रतिबन्ध नै हो । प्रजातान्त्रिक व्यवस्थालाई ‘डिरेल’ गरेर लागू गरिएको पञ्चायती व्यवस्था प्रचार गरिए जस्तो हाम्रो परम्परामा आधारित मौलिक थिएन । पाँच प्रबुद्ध व्यक्तिले समुदायमा छिनोफानो गर्ने हाम्रो ऐतिहासिक परम्परासँग पञ्चायती प्रणालीको सम्बन्ध छैन ।


सर्वोदय नेता जयप्रकाश नारायणले भारतको ग्रामीण विकासका निम्ति कोरेको खाकाको जगमा विश्वबन्धु थापाले प्रबुद्ध प्रशासकहरूको सहयोगमा पञ्चायती प्रणालीको संगठनात्मक रूपरेखा तयार गरेका हुन् । थापाले नै त्यस प्रणालीलाई जलप लगाएर राजनीतिक व्यवस्थाको स्वरूप दिएका हुन् । राजा महेन्द्रको आफ्नो सक्रिय नेतृत्वमै राष्ट्र सञ्चालन गर्ने प्रबल इच्छा थियो । त्यहीअनुरूप पञ्चायतको खाका बनेको थियो । उक्त व्यवस्थामा राजा मात्र नेता र अरू पञ्च कार्यकर्ता भए । व्यवस्थाको कमीकमजोरी औंल्याउनुलाई राजाको आलोचना गरेको ठहर गरियो । त्यस्तो अवधारणामा नागरिकले मौलिक अधिकार उपभोग गर्न पाउने गुन्जायस भएन । राजाले लागू गरेको पञ्चायत व्यवस्थाको अभ्यास, अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापना गरेको राष्ट्रिय पहिचान र भारतीय छत्रछायाबाट दूरी राख्दै चीनसँग मित्रता तथा आन्तरिक रूपमा राष्ट्रिय एकता कायम गर्न गरेका प्रयासलाई धेरैले ‘महेन्द्रपथ’ भन्ने गर्छन् ।


अरू मुलुकले १०० वर्ष लगाएर गरेको उन्नति हामीले एक दशकमा गर्ने, पूर्व–पश्चिम राजमार्ग आफ्नै स्रोत तथा साधनले बनाउने तथा भूमिसुधारबाट कृषि तथा औद्योगिक क्रान्ति गर्ने राजा महेन्द्रका प्रतिबद्धता निरर्थक साबित भए । पूर्वपश्चिम राजमार्ग विदेशी सहयोगबिना निर्माण भएन । कृषि उत्पादकत्व बढेन । औद्योगिकीकरण हुन सकेन । उल्टै नेपाल यस क्षेत्रको सबैभन्दा कम उन्नति गर्ने मुलुक भयो । भुटान र बंगलादेशले हामीलाई पछि पारे ।


पञ्चायत व्यवस्था राजाको भयो, नागरिकको हुनै सकेन । तीन दशक बूढो राजनीतिक प्रणाली गर्लम्म ढल्दा पञ्चहरू प्रतिरक्षाका निम्ति उठ्न सकेनन् । बरु अधिकतर तीन दशकसम्म अराष्ट्रिय घोषणा गरेर दमन गरेको नेपाली कांग्रेसमा समायोजित भए । आजीवन दलगत राजनीतिको विरोध गर्दै आएका केही पञ्च पञ्चायतकालीन गुट नेताहरूले निर्माण गरेको दल (हरू) मा आबद्ध हुन पुगे ।


संसदीय व्यवस्था ३० वर्षपछि पुनः आफ्नो लिकमा आयो । पुनःस्थापित प्रजातान्त्रिक व्यवस्थाले सुरुका दिनदेखि नै चौतर्फी आक्रमण सामना गर्नुपर्‍यो । पाँच वर्ष नपुग्दै मुलुक माओवादीको सशस्त्र द्वन्द्वको चपेटामा फस्यो । एक दशकसम्म ‘प्रचण्डपथ’ ले मच्याएको हत्या र हिंसाको वातावरणमा दूषित राजनीति मौलायो । संयोगले दोसोपटक राजगद्दीमा पुगेका ज्ञानेन्द्रले पिताले जस्तै गरेर प्रजातन्त्रलाई पुनः डिरेल गर्ने आत्मघाती प्रयत्न गरे । १७ हजार नेपालीको हत्यापश्चात् दलविहीन व्यवस्थाका पृष्ठपोषकहरू जस्तै प्रचण्डपथका आर्किटेक्ट र तिनैबाट प्रशिक्षित बन्दुकधारी कमरेडहरू संसदीय व्यवस्थामा समायोजित भए ।


अहिले देखापरेका छोटे राजाहरूको रजाइँ, संस्थागत हुँदै गरेको भ्रष्टाचार, राजनीतिक सिन्डिकेट, दण्डहीनता तथा अनुशासनविहीनता, चुनावमा पैसाले निर्वाह गरेको भूमिका जस्ता विकृति तथा विसंगतिका कारण लोकतन्त्रप्रति वितृष्ण फैलिएको छ । राजाले भन्दा बढी बहुदलीय लोकतान्त्रिक पद्धतिलाई घृणा गर्ने कार्ल मार्क्सका अनुयायीहरू सत्तासीन छन् । विडम्बना, राजा महेन्द्रका दुर्बल पक्षलाई उनीहरूले पछ्याउन थालेका छन् । राजकीय शैलीमा सरकारी सम्पत्तिको वितरण तथा ‘दाखिला’ प्रणालीले पुनर्जीवन पाएको छ । दरबारिया बोलीचाली प्रचलनमा आउन थालेको छ (जस्तै– स्वकीय सचिवालय तथा सवारी हुँदा सडक बन्द गर्ने परिपाटी) । सबैभन्दा हानिकारकचाहिँ विगतमा राज्यसत्ताका सबै अंगमा दरबार हाबी भए जस्तै अहिले पार्टी हाबी हुन थालेको छ । पञ्चायत धेरै हदसम्म एकदलीय प्रणाली थियो, अहिले पुनः एकदलीय राजनीतिक चरित्र हाबी छ ।


अहिलेको स्थिति जतिसुकै निराशमय भए पनि महेन्द्रपथ र प्रचण्डपथको अभ्यासबाट पुष्टि हुन्छ, गन्तव्य त बहुदलीय लोकतान्त्रिक पद्धति नै रहेछ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्

बीपी : अध्यात्म र बौद्धिकताको सन्दर्भ

‘भविष्यमा नेतृत्व दिन सक्नका लागि बढीभन्दा बढी चरित्र गुणलाई देखाउनुपर्छ मैले । प्रश्न छ, त्यसका लागि ममा चारित्रिक संसाधन छ र ?’
विपिन अधिकारी

बौद्धिक व्यक्तिका रूपमा बीपीलाई कसरी हेर्ने ? यो प्रश्न धेरै गहिरो छ । एउटा राजनेताका रूपमा बीपीको तीक्ष्णता, सुधारमुखी प्रवृत्ति र गाम्भीर्य, आर्थिक, सामाजिक तथा राजनीतिक दृष्टिकोण र साहित्यिक बीपीको गहिराइलाई मानवीय चेतनासँग मिलाएर हेर्दा उनको समग्र बौद्धिकतालाई बुझ्न सकिन्छ ।

सांसारिक विषयवस्तुमा बीपीका अनुभूतिहरू, राजनीति तथा त्यसमा पनि उनको आधुनिक सोचबाट निःसृत देखिन्छन् । ज्ञानको प्रयोगमा विवेक तथा भावनाहरूउपर बौद्धिकताको अभ्यास उनको व्यक्तित्वको एउटा बलियो पाटो हो ।

आजको संसारमा मोहम्मद युनुस, नोम चोम्स्की, अमर्त्य सेन, फरिद जकारिया वा अल गोरजस्ता बहुचर्चित व्यक्तिहरूमा जति विविधता छ, त्यति समानता पनि छ । बौद्धिकता देखिने आफ्नो क्षेत्रको ज्ञान, तर्क र विवेकले हो भने अर्कोतर्फ संसारका सम्बन्धमा राखिने विषद् विश्लेषण एवं सोचले पनि हो । राजनीतिमा रुचि राख्ने र राजनीतिलाई नै आफ्नो गन्तव्य बनाउनेका बीचमा ठूलो फरक हुन्छ । तर हरेक क्षेत्रमा बौद्धिकताको अभ्यासमा अलिकति ठूलो, फराकिलो र अन्तर–विषयक दृष्टिकोण चाहिन्छ । बीपीमा यी गुणहरू थिए । उनको व्यक्तित्व विचारप्रधान थियो । यसैकारण मृत्युको ३७ वर्षपछि पनि उनी आफ्नो सिद्धान्त र विश्वासका सम्बन्धमा नेपालको राजनीतिमा सम्भवतः सबैभन्दा प्रभावकारी एवं चर्चित देखिन्छन् ।

अध्यात्म ज्ञान निरन्तर अभ्यासबाट प्राप्त हुने हो । जहाँ प्रेम र सही सोच हुँदैन, त्यहाँ शोषण र क्रूरता बढ्दै जान्छ । साहित्यमा सन् १९५१ मा नोबेल पुरस्कार पाएका स्विडिस साहित्यकार पार लेजरक्विस्टको ‘द सिबिल’ भन्ने पुस्तकको चर्चा गर्दै बीपीले लेखेका छन् ‘मानव अनुभूति र मानवलाई प्राप्त हुन सक्ने देव अनुभवको विश्लेषण गरिएका किताबहरूले मेरो हृदयको धार्मिक—आध्यात्मिक पक्षलाई स्पर्श गर्छन् ।’

राजाको थुनामा रहँदा उनको एउटा क्रन्दन निस्कन्छ । शारीरिकभन्दा पनि मानसिक क्लेशले उनी छटपटाउँछन् । ‘कुनै ठूलो रोगको कमसेकम एउटा गुण हुन्छ । त्यसले मानसिक उत्पीडन हुन दिँदैनÙ बरु रोगमाथि मनको यावत् एकाग्रता स्थापित गरेर रोगीलाई एक प्रकारको मुक्ति दिन्छ ।’ प्रजातन्त्रलाई अवरुद्ध गरेर राजा महेन्द्रले आफूलाई मर्नु न बाँच्नु पारेकोमा उनलाई संशय छैन । तर फेरि राजा महेन्द्रले किन भने होलान्– ‘तपाईंजस्तो प्रधानमन्त्रीसँग काम गर्न पाउनु म आफ्नो अहोभाग्य ठान्दछु ।’ यो प्रश्नको जवाफ विश्लेषकको खोजको विषय हुन पुगेको छ । बोलेअनुसार महेन्द्र टिक्न सकेनन् । तर देशमा राजा र संसद् दुवैको राम्रो सम्बन्ध भएको प्रजातान्त्रिक प्रणालीको आवश्यकता बीपीका लागि केवल ब्यूह रचना मात्र थिएन । तिक्तता र क्रोध बीपीमा अवश्य थियो । तर बौद्धिकता जोखिममा पुगेको थिएन ।

त्यसैले बीपी लेख्न पुग्छन्– ‘अहिले जुन तरिकाबाट हामीमाथि (राजा र उनको व्यवस्थाबाट) अत्याचार गरिएको छ, त्यसबाट स्वभवतः हृदयमा ठूलो तिक्तताको बाढी आउँछ ।...क्रोधको वेग पनि आउँछ ।’ देश र व्यक्तिलाई हुने कुनै परिणामको प्रवाह नगरेर ‘नेपालका लागि गणतन्त्र अब आवश्यक भएको (छ)’ भन्ने घोषणा गर्न मन लाग्छ । उनी भन्छन्– ‘क्रोधको वेगमा देशको चिन्तन सम्भव हुँदैन । क्रोधमा आएर उठेको यो विचार एक पौषको सोही कदममा निहित विचारजस्तै मूर्खतापूर्ण र स्वार्थपरायण हुन्छ । राजाको स्थान हाम्रो राजनीतिमा के हुनुपर्छ भन्ने मेरो पुरानो विचारमा एक पौषको घटनाले परिवर्तन ल्याउन सकेको छैन ।’

सन् १९५०—५१ को क्रान्तिको विकल्प नरहेको सम्बन्धमा बीपीलाई शंका थिएन । उनको यो यथार्थपरक निष्कर्ष थियो । यसको वैचारिक प्रवाह उनैले थामेका थिए । ‘हिंसा अनिवार्यताको सीमामा रहन सक्यो भने क्रान्तिको आदर्शलाई यसले कलुषित पार्न सक्दैन तर अनावश्यक हिंसा प्रारम्भ भयो भने फेरि परिणाम एउटै मात्र हुन्छ— हिंसा केवल हिंसा । क्रान्तिमा हिंसाको बाटो सजिलो हुन्छ । हामीले यो बाटो खोज्नुहुन्न सजिलो छ भनेर ।’

बीपी भन्छन्– ‘म नेपाली समाजको हरेक पक्षमा वर्तमान युगअनुरूपको परिवर्तन चाहन्छु । राजनीतिक क्षेत्रमा आर्थिक, सामाजिक, बौद्धिक दासता, रुढिवादी, सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्न हुने तमाम अवाञ्छनीय दुर्गुणहरूको अन्त्य हुनुपर्छ भन्ने विचारहरूलाई समग्र परिवर्तनको परिप्रेक्ष्यमा क्रान्तिको संज्ञा पनि दिने चलन छ । राजनीतिक क्रान्तिले यही समग्र सामाजिक क्रान्तिका लागि उपयुक्त पृष्ठभूमि तयार पार्छ । म यस प्रकारको विचार र सिद्धान्तलाई मान्ने भएकाले आफूलाई क्रान्तिवादी भन्छु ।’
बीपीको भनाइ छ– ‘क्रान्ति जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो, जसमा जनताले विरोधी सरकारमाथि यत्रो असह्य दबाब पार्दछन् कि जनतान्त्रिक अधिकार दिन सरकार बाध्य हुनुपर्छ । प्रजातन्त्र ल्याउनका लागि जनक्रान्तिको आवश्यकता परेको हो । तर, म व्यक्तिगत हिंसामा विश्वास गर्दिनँ किनभने मेरो उद्देश्य व्यवस्थाको समाप्तिमा छ, न कि व्यवस्थावादीहरूको । क्रान्तिको लक्ष्य व्यवस्था हुन्छ, आतंकको व्यक्ति । मैले व्यक्तिगत हिंसा र आतंकको खिलाफमा वक्तव्यहरू दिँदै आएको छु ।’

स्वतन्त्रता नभएको राष्ट्र चरित्रवान् राष्ट्र हुन सक्दैन भन्ने दृष्टिकोणले बीपीको राष्ट्रिय चेतनालाई प्रतिविम्बित गर्दछ । उनी निष्काम कर्मको अर्थ निष्कर्म हो भन्ने ठान्दछन् । दर्शन बाँच्नका लागि चाहिएको हो, मर्नका लागि होइन भन्ने उनको भनाइ उनको विश्वास पनि हो । मृत्युलाई उनी अभय भई हेर्दछन् । अश्वघोषले आफ्नो सुन्दरानन्द काव्यमा उल्लेख गरेको यो भनाइ बीपीले उद्धृत गरेका छन्– ‘निभेको दीप न त पृथ्वीमा जान्छ, न अन्तरिक्षमा, न कुनै दिशा विदिशामा पुग्छ । प्रत्युत तेलको क्षय भएपछि त्यो केवल शान्तिमा प्राप्त हुन्छ । त्यस्तै ज्ञानी बोधिप्राप्त पुरुष न त पृथ्वीमा, न कुनै आन्तरिक दिशामा या विदिशामा पुग्छ, त्यो पुरुष क्लेषको क्षय भएपछि शान्तिमा प्राप्त हुन्छ ।’

मानव समाजका सम्बन्धमा बीपीले जीवनपर्यन्त प्रजातान्त्रिक समाजवादको वकालत गरेको देखिन्छ । दरिद्रताको परिस्थितिको ओखती नभएको होइन । उनले भनेका छन्– ‘जीवनका सबै दरिद्रताका कारण समाजको गठनको अविवेकपूर्ण आधार हो— समाजवादको आधारमा समाजको पुनर्गठन भएपछि पहिलेको जीवनका यावत् समस्याहरू स्वतः समाधान भएर जान्छ ।’

यस विश्वासका बौद्धिक आधार थिए । तत्कालीन कम्युनिस्ट पार्टीप्रतिको उनको विरक्ति एउटा प्रमुख कारण थियो । उनको चिन्तनलाई रूसका स्टालिन र ट्राट्स्कीको कलहले निकै प्रभावित गर्‍यो । प्रतिभाका दृष्टिले लेनिनभन्दा ट्राट्स्की अघि थिए । तर उनी षड्यन्त्रका सिकार भए । सन् १९२९ को सत्ताको लडाइँबाट स्टालिन निकै माथि पुगे । उनको शासनमा हत्याका घटना वीभत्स रूपमा आए । त्यसपछि बीपी कम्युनिस्ट सिद्धान्तबाट बाहिरिए ।

तर बीपीलाई लेनिनको ‘राज्य र क्रान्ति,’ ‘जे गर्नु थियो त्यो गरियो’, मेहरिङको ‘कार्ल मार्क्स,’ प्लेखानोभको ‘मार्क्सवादका आधारभूत समस्याहरू’, ‘साम्राज्यवाद : पुँजीवादको उच्चतम तह’, बुखारिनको ‘कम्युनिज्मको कखरा’ जस्ता पुस्तकले धेरै कुरा सिकाए । कार्ल मार्क्सलाई सम्झिँदै बीपीले इमानदारीपूर्वक टिप्पणी गरेका छन्– ‘मैले उनको ‘दास क्यापिटल’ पढिनँ, अरूले गरेको त्यसको व्याख्या मात्र पढेँ ।’ बीपीका लागि गान्धी उच्चकोटिका थिए । उनले लेखेका छन्– ‘मैले माओका विषयमा धेरै पढेको छैन तर म उनलाई पनि उच्चकोटिमा राख्दछु ।’

बीपीको बौद्धिकता बुद्धिविलासको अस्त्र थिएन । उनले बाँचेको जिन्दगी त्यस्तो बौद्धिकताको स्पष्ट प्रयोगको रूपमा परीक्षण गर्न सकिन्छ । उनको उपन्यास ‘सुम्निमा’ वा ‘कर्नेलको घोडा’ वा ‘तीन घुम्ती’ जस्ता कथाहरूले उनको जीवनदर्शन व्यक्त गर्दछन् । आफ्नो जेल जर्नलमा उनी जीवन सम्झौताहरूको शृंखला हो भनी उल्लेख गर्दै तत्कालै स्पष्ट गर्दछन्– ‘त्यस्ता संकल्प, मूल्य या आदर्शहरू पनि छन्, जसलाई सम्झौताको दर्शनमा होमिदिनु हुँदैन ।’ आत्मसम्मान त्यस्तो आदर्शको श्रेणीमा पर्ने उनको विश्वास थियो ।

आफ्ना जेल परेका साथीहरू बिन्तीपत्र हाल्दै आफूलाई छोडी हिँडेको देखेर दिक्क भएका बीपी आफ्नो असफलताको उल्लेख यसरी गर्दछन्— ‘समाजलाई – एउटा राष्ट्रलाई अगाडि बढाउन सक्ने क्षमता, विवेक, चारित्रिक दृढता, आत्म संगठन, धैर्य, साहस, निर्भीकता, निःस्वार्थपन, संयम भएको नेतृत्व गुणको ममा अभाव छ भन्ने दुश्चिन्ताले म कहिलेकाहीँ क्षुब्ध हुन्छु ।’ अनि उनी भन्न पुग्छन्– ‘भविष्यमा नेतृत्व दिन सक्नको लागि बढीभन्दा बढी चरित्र गुणलाई देखाउनुपर्छ मैले । प्रश्न छ, त्यसका लागि ममा चारित्रिक संसाधन छ र ?’
बीपीको बौद्धिकताको यो चर्चाको सुरुवात यसै वाक्यबाट गर्न सकिन्छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १२:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×