बौद्ध धर्मका पुनर्जागरणकर्ता 

हिमेश

काठमाडौँ — गौतम बुद्धको जन्मथलो लुम्बिनी आधुनिक नेपालमै पर्छ भनेर अझै पनि राम्रोसँग प्रचार हुन पाएको छैन । त्यसैले बौद्धमार्गी देशहरूमै यसबारे भ्रम छ । गलत इतिहास प्रचार गर्न खोज्नेहरूको बिगबिगी उत्तिकै छ । २००७ सालतिर त स्थिति झन् कस्तो थियो होला ?

बौद्ध धर्मका पुनर्जागरणकर्ता 

२०१३ साल कात्तिक ३० गते सुरु भएको चौथो विश्व बौद्ध सम्मेलनको ठूलो महत्त्व छ, आधुनिक नेपाली बौद्ध इतिहासमा । त्यो पहिलो ठूलो अवसर थियो, जति बेला बुद्ध जन्मेको स्थान लुम्बिनी नेपाली भूभागमा पर्छ भनेर नेपालले प्रचार गर्न खोजेको थियो । काठमाडौंको टुँडिखेलमा आयोजना भएको त्यो सम्मेलन गर्न भिक्षु अमृतानन्दले सबैभन्दा बढी मिहिनेत गरेका थिए ।


२००७ साल आसपास राजा त्रिभुवनसँग अमृतानन्दको राम्रो सम्बन्ध थियो । त्यसकै आधारमा उनले त्यो सम्मेलन आयोजना गर्ने आँट गरे । सम्मेलन हुँदा महेन्द्र राजा भइसकेका थिए । १८५ देशका प्रतिनिधिले भाग लिएको त्यस सम्मेलनको उद्घाटन महेन्द्रले गरेका थिए । त्यसमा भारत, श्रीलंका, बर्मा, थाइल्यान्ड, जापान, चीन, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, फ्रान्स, बेलायत, अमेरिका, पाकिस्तानजस्ता देशका बौद्ध भिक्षुहरू सहभागी थिए ।


त्यस अवसरमा, लुम्बिनी नेपालमा पर्छ भनेर पहिलोपल्ट नेपालले गर्वका साथ भनेको थियो । यसलाई हाम्रो आफ्नो आन्दोलन मान्ने हो भने यो आन्दोलन सुरु गर्ने जस भिक्षु अमृतानन्दलाई दिनुपर्छ । अहिले लुम्बिनीको खोजी भएको १२४ वर्ष मात्र पुगेको छ । आधुनिक नेपाली बौद्ध धर्मले स्वरूप लिन सुरु गरेको त अझ १०० वर्ष मात्र भएको छ । यस क्रममा खास–खास योगदान दिने धेरै होलान्, तर सबैभन्दा अगाडि नाम लिँदा दुई मत नहुने व्यक्ति भिक्षु अमृतानन्द हुन् ।


चौथो बौद्ध सम्मेलनलाई बौद्ध दृष्टिकोणले मात्र हेरेर पुग्दैन । यसको बृहत् अर्थ छ । राणा शासन सकिएको केही वर्षसम्म पनि नेपाल बाहिरी विश्वले केही पनि जानकारी नपाएको देशकै रूपमा थियो । यो सम्मेलन नेपालको इतिहासमै यहाँ भएका सुरुका ठूला सम्मेलनमध्ये एक हो, जसमा उल्लेखनीय विदेशी पाहुना सहभागी भएका थिए । यस सम्मेलनमा विदेशीले नेपालबारे धेरै तथ्य थाहा पाए । तीमध्ये प्रमुख तथ्य हो— बुद्धको जन्म लुम्बिनीमा भएको हो अनि लुम्बिनी नेपालमा पर्छ ।


सात साल लगत्तैको समय नेपाली बौद्ध धर्मका लागि केही खुकुलो भएको थियो । राणा शासनले त यसमाथि निषेध लाद्न खोजेको थियो । भिक्षु अमृतानन्दले आकारमा निकै सानो तर महत्त्वले निकै ठूलो पुस्तक ‘नेपालमा थेरवाद बौद्ध धर्मको इतिहास’ लेखेका छन् । यो पुस्तक पढ्ने हो भने थाहा हुन्छ, नेपालमा बौद्ध धर्मको इतिहास त लामो छ, तर धर्मकै स्थिति भने शुद्ध रूपमा थिएन । बौद्ध धर्मको सबैभन्दा प्राचीन र शुद्ध स्वरूप थेरवाद हो भने त्यसको अस्तित्व नेपालमा थिएन ।


बौद्ध धर्मको केन्द्र काठमाडौं उपत्यकालाई मान्ने हो भने पनि त्यसबेलासम्म यहाँ भिक्षुहरू कस्ता हुन्छन् भन्ने पटक्कै थाहा थिएन । कसैले सजीव भिक्षुलाई देखेकै थिएन । अमृतानन्दले त्यस पुस्तकमा लेखेका छन्, ‘जीवनमा मैले पहिलोपटक सजीव भिक्षुको दर्शन सन् १९६५ मा भगवान् बुद्ध परिनिर्वाण हुनुभएको भारतको कुशीनगरमा पाएको थिएँ ।’ त्यसअगाडि अमृतानन्दले सानो उमेरमै पाटनको हिरण्यवर्ण महाविहारमा सुनेका रहेछन्, ‘हिजोआज भित्तामा चित्रित गरिएका भिक्षुहरू मात्र छन्, सजीव भिक्षुहरू कहाँ छन् र ?’


नेपाली थेरवादी परम्पराका पहिलो भिक्षु हुन्, महाप्रज्ञा । उनी चन्द्रशमशेरको पालामा प्रव्रजित भए । उनीसँगै चार जना प्रव्रजित भएका थिए । चन्द्रशमशेरले उनीहरूलाई देशनिकाला गरे । महाप्रज्ञापछि भारतबाट पूर्वी नेपाल छिरेर भोजपुर पुगे र त्यहीं फेरि समातिए । त्यस बेला अमृतानन्द भोजपुरमै थिए । उनले महाप्रज्ञालाई आफ्ना गुरु मानेका थिए र उनीसँगै भोजपुर जेलमा बसे । फेरि एकपल्ट महाप्रज्ञालाई देशनिकाला गरियो र यसपल्ट देश छोड्न बाध्य हुनेमा अमृतानन्द पनि थिए ।


१९६८ साल वैशाखमा पाल्पामा जन्मेका लालकाजी शाक्य १८ वर्षको उमेरमा भारत, कुशीनगर गएर प्रव्रजित भई श्रामणेर भए । पछि त्रिपिटक र पाली साहित्यको अध्ययनका लागि बर्मा गए । यसै क्रममा श्रीलंकामा पनि केही समय बिताए । ९७ सालतिर उनी नेपाल फर्के । त्यो त्यही समय हो, जति बेला राणाहरूले दशरथ, धर्मभक्त, गंगालाल र शुक्रराजलाई मृत्युदण्डको सजाय सुनाएका थिए । त्यति बेला अमृतानन्दले काठमाडौंका विभिन्न स्थानमा धर्म–उपदेश दिए, जुन बौद्ध धर्मको प्राचीन र शुद्ध स्वरूपमा थियो । यसले गर्दा नेपाली बौद्धमार्गीबीच वास्तविक जागरणको लहर सुरु भयो । यो जागरण धार्मिक मात्र रहेन, प्रजातन्त्र प्राप्तिका लागि पनि सहयोगी रह्यो ।


बौद्ध धर्मका दुई मुख्य विशेषता हुन्— बौद्ध धर्मअनुसारको जीवनयापन अनि अध्ययन । अझै पनि भनिन्छ, नेपाली भाषामा बौद्ध धर्म अध्ययनका लागि पर्याप्त पुस्तक छैनन् । यसका लागि विदेशी भाषामा लेखिएका, विदेशी लेखकका पुस्तकमा भर पर्नुपर्छ । यो अपुगलाई सकेसम्म कम गर्न प्रयास गर्ने अग्रणी लेखक भिक्षु अमृनानन्द नै हुन् । बौद्ध धर्मको सबैभन्दा ठूलो स्रोतग्रन्थ हो, त्रिपिटक । त्रिपिटक सर्वसाधारणले बुझ्न गाह्रो छ । त्यसैले, अमृतानन्दले त्रिपिटकको गहन अध्ययन गरे र त्यसकै आधारमा सयभन्दा बढी पुस्तक लेखे, विशेषत: नेपाली र नेपाल भाषामा । नेपाली भाषामा बौद्ध धर्म अध्ययनका लागि सबैभन्दा भरपर्दा स्रोत अमृतानन्दले लेखेका पुस्तक हुन् ।


जीवनको अन्तिम समयसम्म उनी बौद्ध धर्मको प्रचारप्रसारमा सक्रिय रहे । विशेषत: बौद्धमार्गी देशहरूसँग नेपालको बलियो सम्बन्ध स्थापना गर्न उनको ठूलो योगदान छ । उनी एक प्रकारले समग्र बाहिरी विश्वका लागि नेपाली बौद्ध धर्मका प्रतिनिधि र दूतका रूपमा रहे । निधन भएका बेला अमृतानन्द भिक्षु भएको ५० वर्ष पूरा हुँदै थियो । यही ५० वर्षको अवधिमा उनले नेपालमा बौद्ध धर्मको विकास र विस्तारमा अतुलनीय योगदान दिए ।

प्रकाशित : फाल्गुन ७, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?