कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कला सम्पदाका अन्वेषक

देवेन्द्र भट्टराई

काठमाडौँ — ‘मानौं, उनी क्यानभासमा रङ फ्याँकिरहेका छन्— थ्याप्चो अनुहार, ठीकैको नाक, अनि आँखा पनि त्यही खालको, गहुँगोरो अनुहार, पुड्के खालको नेपाली स्तरको उचाइ, गालामा घाउको दाग आदि चि≈नांकित मंगोली टाइपको पुरुषको सामुन्ने मैले आफूलाई पाएँ ।’

कला सम्पदाका अन्वेषक

साहित्यिक पत्रकार उत्तम कुँवरको ‘स्रष्टा र साहित्य’ (२०२३) कृतिमा उल्लेख भएको स्रष्टा लैनसिंह वाङदेलको यो परिचयात्मक पोट्रेटलाई धेरैले सम्झने गरेका छन्, त्यो व्याख्यात्मक हुलियालाई मैले पनि अझै उसैगरी सम्झिरहेकी छु । उमेरका आधारमा मभन्दा १५ वर्ष जेठो भए पनि काठमाडौंमा केही समय सँगैजसो काम गर्ने र संगत गर्ने अवसर पाएकाले लैनसिंहलाई म मेरा एक जना प्रेरणा–पात्रका रूपमा लिने गर्छु ।

मेरा फुपाजु नारायणप्रसाद बाँस्कोटाले काठमाडौंमा ‘प्रगति’ साहित्यिक पत्रिका निकाल्नुहुन्थ्यो । पेरिसमा बसेर कला सिक्दै गरेका लैनसिंहका आर्टिकल त्यहाँ छापिन्थे । म पनि बम्बईको जेजे स्कुल अफ आर्ट्समा पेन्टिङ सिकिरहेकी थिएँ । काठमाडौं आएका बेला फुपाजुले ‘यसमा कलाका बारे लैनसिंहले लेखेका आर्टिकल आउँछन्, पढ्ने गर’ भनेर मलाई प्रगति पत्रिका दिनुहुन्थ्यो । म त्यो पढ्थें, निकै ‘इन्स्पिरेसन’ मिल्थ्यो । बम्बईबाट पेरिस जाने मेरो सोच र सपना पनि त्यसैगरी हुर्किएको हो । फाइन आर्ट्स पढिरहेकी मलाई फ्रेन्च भाषा सिक्ने, फ्रान्सको सांस्कृतिक क्रान्ति बुझ्ने अवसर र पेरिसलाई संसारकै कलाको राजधानी किन भनिएको हो भन्ने जानकारी प्रत्यक्ष–परोक्ष रूपमा बम्बईमै मिलिसकेको थियो ।

२०१८ सालपछि काठमाडौं आउँदा उहाँको नाम र काम एक प्रकारले छाइसकेको रहेछ । ‘प्रगति’ मा त्यसबारे पनि चर्चा हुन्थ्यो । लैनसिंहले २५ वर्षे उमेरमै लेखेको ‘मुलुक बाहिर’ र त्यसपछि मैले पढेको ‘लंगडाको साथी’, ‘माइत घर’ जस्ता उपन्यासका कारण उनको कल्पना र सिर्जनाको धेरै पाटोबारे म जानकार बनें । पछि थाहा पाएँ— लैनसिंहकी हजुरआमाले बाल्यकालमा सुनाएको दार्जिलिङे चियाकमानको कथाका भरमा पो ‘मुलुक बाहिर’ लेखिएको रहेछ । लैनसिंहले कलकत्तामा विद्यार्थी भएर बसेकै बेला ‘लंगडाको साथी’, ‘माइत घर’ लेख्नुभएको रहेछ भन्ने थाहा पाउँदा झनै अचम्ममा परेकी थिएँ ।

म १० वर्षकी छँदै भारतको बडौदास्थित गान्धी आश्रममा पढाइको अवसर पाएर पुगेकी थिएँ । त्यसबेला १६ जना नेपाली छात्राहरू आश्रम पुगेका थियौं । आश्रममा बस्दा धेरै व्यावहारिक आदर्शका कुरा र संस्कार सिक्ने मौका पाएकी थिएँ । पछि काठमाडौं फिरेर लैनसिंहलाई भेट्ने अवसर पाएपछि पश्चिमा रहनसहन, आधुनिक चेतका बारे जानकारी पाएँ । वाग्मती पुल (कुपण्डोल) छेवैको डेरामा बस्नुहुन्थ्यो लैनसिंह । कोठामा यसो कतै अलिकति फोहोर देखियो भने सफा गरिहाल्ने, कतै रङ उप्केको देखियो भने रङ लगाइहाल्ने । सधैं सफा, सौम्य देखिने ।

‘तिमीले युरोप पढ्न जाने विचार गरेकी छ्यौ भने तिमीलाई डान्स पनि आउनु अनिवार्य छ नि,’ पहिलो भेट र कुराकानीमै भन्नुभयो । उहाँले फुपाजु नारायणप्रसादका छोरीलाई पनि डान्स सिक्न उत्प्रेरित गरिसक्नुभएको रहेछ । म गान्धी आश्रममा बसेर पढेकी हुनाले क्लासिकल डान्स त सिकेकै थिएँ, नाचगानमा खासै समस्या थिएन ।

अनि मैले भनें—‘जब जरुरी होला, तब थप सिक्नेछु । अहिले किन हतार गर्नु ?’

काठमाडौं आएपछि लैनसिंह आर्ट काउन्सिल खोल्ने ध्याउन्नमा लाग्नुभएको थियो । हुन त त्यो योजनामा अरू कलाकार, राजनीतिक व्यक्ति पनि जुटेका थिए । लैनसिंह भने पैसाको जोहो गर्ने काममा लाग्नुभएको रहेछ । स्वभावतः अलिअलि कलाकारिता भएका आधारमा मैले पनि सहयोग गर्नै पर्‍यो, त्यसमाथि लैनसिंहसँगको संगत थियो । कतैबाट थाहा भयो कि राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरले कला–संस्कृति खुबै मन पराउँछन् । अनि लैनसिंह अंकलले ‘आइडिया’ दिनुभयो— लु उर्मिला, तिमी क्रिसमस कार्ड बनाऊ । केशरशमशेरकहाँ लगेर बेच्नुपर्छ, अनि फन्ड जम्मा हुन्छ ।

ल्यान्डस्केप, स्केच, ड्रइङ आदि गरेर मैले सयवटा क्रिसमस कार्ड बनाएँ । मलाई लैनसिंह अंकलले ५० रुपैयाँ गोटा मूल्य लिनू भन्नुभएको थियो । तर केशरशमशेरले गोटाको एक सय रुपैयाँ दिएर सबै कार्ड किनिदिनुभयो । यसरी कार्ड बिक्रीबाट आएको १० हजार रुपैयाँ लगेर मैले लैनसिंह अंकललाई दिएँ । आर्ट काउन्सिल स्थापनाका लागि कोष बनाउने काममा म पनि यसरी जोडिएकी छु ।

एकपटक दार्जिलिङ गएका बेला मैले सन्डे मार्केट घुम्ने मौका पाएकी थिएँ, त्यो स्थानीय हाटबजार जस्तो थियो । पहाडको फेदीमा बसेको मार्केटमा जिरा, धनिया, खोर्सानी र अरू सामान बेच्न आउनेको हूल थियो । त्यो लोभलाग्दो दृश्यलाई मैले स्केचमा उतारें । त्यसलाई पछि पेन्टिङमा उतारेकी थिएँ । मेरो पेन्टिङ हेरेर वाङदेल अंकलले भन्नुभयो— उर्मिला, दिल्लीमा एउटा ठूलो प्रदर्शनी हुँदै छ । म यही पेन्टिङ लैजान्छु, मलाई देऊ ।

दिल्लीमा त्यही पेन्टिङको चर्चा बढी भएछ । लैनसिंह अंकलले पछिसम्म सुनाउनुहुन्थ्यो ।


लैनसिंह वाङदेलका पेन्टिङ, कलाकृति बढीजसो फ्रेन्च कलाकार पाब्लो पिकासो, जर्ज ब्राक आदिको प्रभाव वरपर रहेको मूल्यांकन हुने गरेको छ । उहाँको आख्यान लेखाइमा भेटिने अति यथार्थवादको छनक चित्रकारितामा पनि रहने गरेको छ । तर एउटै व्यक्ति कलाकार–लेखक–अन्वेषक भइरहेको अवस्थामा सबैतिर सहजै बुझ्न र बुझाउन सक्ने सिर्जना पस्कन सक्नु एकदमै ठूलो खुबी हो ।


लैनसिंह जीवित छँदै र अहिलेसम्मै चर्चामा रहेको ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) पुस्तकका आधारमा पनि उहाँको अन्वेषण र साधनाको मूल्यांकन गर्न सकिन्छ । कहिलेकाहीं मलाई के लाग्छ भने पेरिसमा गएर त्यत्रो कला जगतमा हलचल गराएको कलाकारले अरू नेपाली कलाकारका लागि पनि त्यस्तै सिकाइ र बुझाइको मार्ग प्रशस्त किन नगरेको होला ? हराएका मूर्ति र ढुंगा खोज्नुभन्दा त नेपाली आर्टिस्टलाई भरथेग पुग्ने काम गरिदिएको भए हुन्थ्यो नि !

यस्तो बेला यही किताबको निचोडमा लैनसिंहले लेखेको सम्झन्छु— ‘जब देवीदेवताका भक्तजन र जनसाधारणले आफ्ना मठमन्दिरका देवीदेवता यहाँ नरहेको थाहा पाउलान्, तब उनीहरूको मुटुबाट रगत बग्नेछ । यसरी मूर्ति चोरिनु एउटा अक्षम्य अपराध हो । आशा गरौं, कुनै दिन यी मूर्तिहरू सम्बद्ध मठ–मन्दिरमा फिर्ता हुनेछन् ।’

लैनसिंहले चाहेको भए फ्रान्समा २–४ जना नेपाली विद्यार्थीलाई कला पढ्ने, सिक्ने अवसर मिलाउनुहुन्थ्यो होला । तर हाम्रो घरआँगनमा सदियौंदेखि रहँदै आएका र आँखै सामुन्नेबाट चोरिएर विदेशी भूमिमा पुगेका देवीदेवताका मूर्तिको अन्वेषण के एउटा व्यक्ति मात्रैले गर्न सक्ने काम थियो र ? उपत्यकामा रहेका तीन सयवटा महत्त्वपूर्ण कलासामग्री, मूर्ति र मन्दिरको ‘डकुमेन्टेसन’ नभइदिएको भए आज हामीले गर्ने सोधखोज र कला–सम्पदाको इतिहास कहाँ हुन्थ्यो होला ? यसबाहेक, ‘अर्ली स्क्लप्चर्स अफ नेपाल’ (१९८२), ‘ट्वाइन्टी फाइभ इयर्स अफ नेपाली आर्ट (१९८७)’, ‘इन्भेन्ट्री अफ स्टोन स्क्लप्चर्स अफ द काठमाडौं भ्याली’ (१९९५) जस्ता कृतिले गरेको ‘डकुमेन्टेसन’ सायद हाम्रो पुरातत्त्व विभाग, अभिलेखालय वा संस्कृति मन्त्रालयमा पनि नहोला कि ?

जोकोहीले आफ्नो चिनारी, रोजीरोटी वा साधनाका निम्ति रोजेको कुनै एक/दुई कर्म गर्नु स्वाभाविक हो । हामी सबैले यही गरेका छौं । तर सिंगो समाज र राष्ट्रको हित हुने गरी लैनसिंह वाङदेलले जस्तो आफ्नै विधाको अन्वेषणकारी काम गर्न सक्ने साधक कति होलान् ? अस्तिको महिना मात्रै एउटा समाचार पढेकी थिएँ— सन् १९८४ मा पाटनको नारायण मन्दिरबाट चोरिएको वासुदेव कमलाजाको मूर्ति यतिखेर अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा लिलामीमा राखिएको छ ।

अनि फेरि लैनसिंह वाङदेलको चर्चा सुरु भयो जसले ‘स्टोलन इमेजेज अफ नेपाल’ मा त्यस मूर्तिको चोरीबारे विस्तृत रिपोर्ट लेख्नुभएको छ । यो मूर्ति नेपालमा र पहिलेकै मन्दिरमा फिर्ता ल्याउन के–कस्तो कदम चालिएको छ, त्यो मलाई थाहा छैन । हामीले हामीसँग भएको कला–सम्पदाको संस्थागत रूपमा राम्ररी ‘डकुमेन्टेसन’ गर्न नसके पनि लैनसिंह जस्ता कला साधकले देखाएको अनुकरणीय सोधखोजको अलिकति छेउटुप्पो त समाउन सक्नुपर्ने हो । हरेक पटक मूर्ति र कला–सम्पदा हराएपछि मात्रै यस्ता साधकको सत्कर्म सम्झने सनातनी कामले मात्रै इतिहासमा के–कति अर्थ राख्ला र ?

(भारत, बडौदास्थित गान्धी आश्रमकी विद्यार्थी उर्मिला उपाध्यायले ललितपुरमा नेपाल सिर्जनात्मक कलागुठी सञ्चालन गर्दै आएकी छन् । नेपालमा प्रिन्ट–मेकिङ र इचिङ प्रारम्भ गर्ने ८२ वर्षीया कलाकार उपाध्यायसँग गरिएको कुराकानीका आधारमा ।)

- उर्मिला उपाध्याय गर्ग’

प्रकाशित : फाल्गुन ७, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?