१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

क्रूर प्रथा अन्त्य गर्ने प्रधानमन्त्री

कान्तिपुरको २७ औं वार्षिकोत्सव विशेष अग्रणी
मोहन मैनाली

काठमाडौँ — उहिले–उहिले होइन हिजोअस्ति अर्थात् एक सय वर्ष अघिसम्म, एकादेशमा पनि होइन हाम्रै देशमा, पति मरेपछि पत्नीलाई उनका पतिको लाशसँगै जिउँदै जलाउने गरिन्थ्यो । यसरी जल्नुलाई सती जानु भनिन्थ्यो ।

क्रूर प्रथा अन्त्य गर्ने प्रधानमन्त्री

आजभन्दा १३५ वर्ष अघिसम्म सती जानुलाई नेपाली समाजमा कसरी लिइन्थ्यो भन्ने बारेमा त्यतिबेला नेपाल आएका फ्रान्सेली विद्वान गुस्ताभ ले बोनले आफ्नो किताब ‘भोयज टु नेपाल’ मा लेखेका छन्, ‘केही समय पहिले आफ्नो लोग्ने मरेकी पत्नीले लोग्नेको चितामा जलेर मर्नका लागि असाध्यै धेरै जिद्दी गरेकी थिइन् । ...जंगबहादुरले नेपालमा यस्तै सुधार (सतीप्रथा अन्त्य) गर्न कोशिश गरेका थिए तर उनी आंशिक रूपमा मात्र सफल भए । ...जंगबहादुरको मृत्युपछि उनका तीनवटी रानी सती गएका थिए । भारतवर्षका अन्य ठाउँमा जस्तै नेपालमा सती प्रथा अन्त्य गर्ने कुराको विरोध महिला स्वयंले गरे जो आफ्ना लोग्ने मरेपछि कुनै हालतमा पनि बाँच्न चाहँदैनथे ।’

१९७७ सालमा चन्द्रशमशेरले यस प्रथालाई बन्द गरे ।

पन्चानब्बे वर्ष अघिसम्म चाहिं नेपालमा मान्छेको बेचबिखन हुन्थ्यो । एक जनाको मोल रु. १०० देखि ३०० सम्म पर्थ्यो । यसरी बिक्री हुने मानिसलाई दास भनिन्थ्यो । दासका सन्तान दास ठहरिन्थे । उनीहरूले पशु झैं जोतिएर काम गर्नुपर्थ्यो । त्यति बेला नेपालमा झन्डै ५४ लाख मानिस बस्थे । यसको झन्डै एक प्रतिशत अर्थात् साढे ५१ हजार दास थिए । १९८२ वैशाख १ गते उनै चन्द्रशमशेरले दास प्रथा उन्मूलन गरे ।

प्रजातन्त्र, मानव अधिकार जस्ता विचारले प्रवेशै नगरेको नेपालमा त्यतिबेला यस्ता काम गर्नु चानचुने कुरा थिएन । त्यो पनि निरंकुश महाराजले ।

चन्द्रशमशेर प्रधानमन्त्री मात्र थिएनन् श्री ३ पनि थिए । राजा नाम मात्रका थिए । उनले जे भन्यो त्यही गर्न सक्थे । उनको बोली नै कानून हुन्थ्यो । त्यसलाई अटेर गर्न कसैको हिम्मत थिएन । तर उनी त्यो बाटोमा लागेनन् । दासलाई मुक्त गर्नुपर्छ भनेर दासका मालिक खासगरी शक्तिशाली भाइभारदारलाई मनाउन प्रयास गरे । दासप्रथा उन्मूलन गर्ने आफ्नो कार्यक्रम घोषणा गर्न काठमाडौंको टुँडिखेलमा आयोजित सभामा उनले भनेका थिए, ‘घर खेत जीवन जन्तु पशु सम्पत्तिहरूमा जस्तो हक छ उस्तै, आफूसरीकै मनुष्यमा हक दिलाउने यो दासत्वको चलन अन्याय र अपवित्रताको जगमा खडा भएको हो भन्ने चैतन्य चोला पाएका मनुष्यले जानेकै छन् । ...सज्जन हो । निर्धा र निमुखाको निर्धाइबाट लाभ उठाउनु सज्जनको योग्य काम होइन ।’

उनको कुरा सुनेर साढे चार हजार जति दासका मालिकले आफ्ना दासलाई स्वतन्त्र गरिदिए । बाँकी दासको पैसा सरकारले तिरिदियो । यसका लागि त्यतिबेलाको राजस्वको सात प्रतिशत रकम छुट्याइएको थियो । त्यति बेला राजस्व भनेको श्री ३ को गोजीको पैसा हुन्थ्यो । त्यो पैसा उनले जसो मन लाग्यो त्यसो गरी खर्च गर्न सक्थे । मुक्त दासहरूलाई बस्ने व्यवस्था गर्न उनले ठाउँ छुट्याए, जुन आजभोलि अमलेखगञ्ज (जसको अर्थ हुन्छ— दासताबाट स्वतन्त्र बनाइएका व्यक्तिहरूको बस्ती) का नामले चिनिन्छ ।

चन्द्रशमशेर १९५८ मा देव शमशेरलाई हटाएर श्री ३ र प्रधानमन्त्री भएका थिए । उनले नेपालमा २८ वर्षसम्म शासन गरे । यस अवधिमा उनले नेपालको भौतिक विकासमा पनि उल्लेखनीय योगदान दिएका थिए । १९६८ मा उनले पानीबाट बिजुली बाल्ने प्रविधि नेपाल भित्र्याए र काठमाडौं उपत्यकाको फर्पिङमा ५०० किलोवाटको बिजुली बाल्न लगाए, जसलाई उनकै नामबाट ‘चन्द्रबत्ती’ भनिएको थियो । त्यतिबेला नेपाल वा दक्षिण एशिया मात्र होइन संसारकै लागि जलविद्युत् परियोजना नयाँ थियो ।

यसरी उत्पादन भएको बिजुली सामान ढुवानी गर्ने काममा उपयोग गर्ने चलन पनि चलाए । चन्द्रशमशेरले शासन थाल्दा नेपालका अरू ठाउँबाट काठमाडौंसम्म गाडी आउने बाटो थिएन । यहाँ आउने सामान मानिसले बोकेर ल्याउनुपर्थ्यो । यस्तो अवस्था हटाउन चन्द्रले मकवानपुरको धुर्सिङदेखि काठमाडौंको मातातीर्थसम्म २२ किलोमिटर लामो ‘त्रिचन्द्र नेपाल तारा रोपवे’ बनाउन लगाए । सन् १९२७ मा चल्न थालेको यो रोपवेले प्रतिघण्टा आठ टन सामान बोक्थ्यो । यसले त्यति बेलाको काठमाडौंको माग धान्थ्यो । चन्द्रका पालामा काठमाडौंमा सामान ढुवानी गर्न अहिले जस्तो वातावरण बिगार्ने इन्धन उपयोग गर्नुपर्दैनथ्यो । यस्तो इन्धन विदेशबाट ल्याउनु पर्दैनथ्यो ।

यो रोपवेलाई पछि अमेरिकी सहयोगमा विस्तार र आधुनिकीकरण गरियो । यसको क्षमता बढाइयो । २०५८ सालमा यो रोपवे बन्द गरियो, जति बेला यस्ता प्रविधि पहिलेभन्दा बढी उपयुक्त ठान्न थालिएका थिए । रोपवे चन्द्रशमशेरको यातायात प्रणालीको महत्त्वपूर्ण हिस्सा थियो । उनले वीरगञ्जदेखि अमलेखगञ्जसम्म रेल र अमलेखगञ्जदेखि भीमफेदीसम्म गाडी चलाएका थिए । यसबाट के देखिन्छ भने उनी रेल सजिलैसँग चल्ने ठाउँमा रेल, मोटर सजिलो गरी चल्ने ठाउँमा मोटर र मोटर चलाउन अप्ठ्यारो पर्ने ठाउँमा रोपवे चलाउनुपर्छ भन्ने ठान्थे ।

शिक्षा र जनशक्ति उत्पादनका क्षेत्रमा पनि चन्द्रशमशेरले काम गरेका थिए । १९७५ मा उनले त्रिचन्द्र कलेज स्थापना गरे । यसअघि नेपालमा एउटा पनि कलेज थिएन । उनले नेपाली विद्यार्थीलाई प्राविधिक विषय पढ्न जापान पठाएका थिए ।

कृषि उत्पादन बढाउन उनले चन्द्र नहर बनाए । १९८५ मा सिंचाइ सुविधा दिन थालेको यो नहरबाट नेपालको आधुनिक सिंचाइ प्रणालीको शुरुवात भएको मानिन्छ । सरकारी रेकर्ड अनुसार यसले अहिले पनि सप्तरी जिल्लाको १०,५०० हेक्टर जमिनमा सिंचाइ गर्छ ।

चन्द्रशमशेरका पालामा नेपालका तीन दिशामा शक्तिशाली बेलायती साम्राज्यको रजाइँ थियो । नेपालको पूर्वउत्तर कुनाको सिक्किम बेलायतले जे भन्यो त्यही मान्नुपर्ने अवस्थामा थियो । चन्द्रशमशेरले शासन सम्हालेका शुरूका वर्षमा बेलायतले नेपालको उत्तरमा रहेको तिब्बतमा समेत उधुम मच्चाएको थियो । तिब्बतलाई आफ्नो प्रभावमा पारेको थियो । पूर्व, पश्चिम र दक्षिणतिरको भारतमा त बेलायतकै शासन छँदैथियो । यसरी औपचारिक र अनौपचारिक रूपमा नेपाललाई चारैतिरबाट घेरेको ब्रिटिश साम्राज्यबाट नेपाललाई स्वतन्त्र देशको मान्यता दिलाउने काम चन्द्रशमशेरले गरेका थिए ।

यस दृष्टिले, १९८० को नेपाल–ब्रिटेन मैत्री सन्धिलाई चन्द्रशमशेरले गरेको एकदमै महत्त्वपूर्ण काम ठानिन्छ । नेपालको अस्तित्वका हिसाबले यस सन्धिको महत्त्व अतुलनीय छ । निकै लामो छलफलपछि हस्ताक्षर भएको यस सन्धिमा दुवै देश ‘समानताका आधारमा एकले अर्काको भित्री र बाहिरी स्वतन्त्रता मान्न सहमत’ भएका थिए । यसबाट नेपालले पहिलो पटक लिखित रूपमा स्वतन्त्र देशको मान्यता पाएको विश्वास गरिन्छ । अंग्रेजले भारत छोडेर गएपछि हैदरावाद जस्ता राज्य सेनाको भरमा विलय गराएको भारतले नेपाललाई छुन नसक्नुको कारण यही थियो ।

विदेशीलाई आफ्नो देशमा पस्न दिंदा देशको स्वायत्तता खल्बलिन्छ भन्ने विचार त्यतिबेला सत्य ठानिन्थ्यो (यो कुरा केही हदसम्म त अहिले पनि सत्य नै ठहरिएला) । त्यसैले, राणा शासकहरूले विदेशीलाई सकेसम्म नेपाल पस्न नदिने नीति अवलम्बन गरेका थिए । चन्द्रशमशेरले पनि यसै गरेका थिए । विदेशीलाई नेपाल पस्न दिन धेरै दबाव परेका बेला चन्द्रले चतुरतापूर्वक अस्वीकार गरेका थिए । चन्द्र र स्टेट अफ इन्डियाका सेक्रेटरी लर्ड मोर्लीबीच लन्डनमा मे १९०८ मा भएको भेटमा मोर्लीले बेलायती पर्वतारोहीलाई नेपाल पस्न अनुमति दिन दबाव दिएका थिए । त्यसको जवाफमा चन्द्रशमशेरले भनेका थिए, ‘एउटा दललाई नेपाल पस्न हामीले अनुमति दियौं भने बिस्तारै अरू पनि नेपाल आउन खोज्छन् । सबै अंग्रेज भद्रभलादमी हुन्छन् भनी ठान्न सकिँदैन, प्रभु !’

चन्द्रशमशेरलाई हामी नेपालमा चलेका क्रूर र अमानवीय प्रथा हटाउन चालेका कदम, आधुनिक सिँचाइ प्रणालीको स्थापना, बिजुली र रोपवेजस्ता प्रविधिको उपयोग र शिक्षा जस्ता क्षेत्रमा उनले दिएको योगदानका लागि सम्झन्छौं ।

प्रकाशित : फाल्गुन ७, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?