शिक्षाका पथप्रदर्शक

जयपृथ्वी शिक्षाबाटै समाज परिवर्तन हुन्छ भन्ने मान्यता राख्थे । उनको लगनकै कारण सुदूरपश्चिमको बझाङ पहिलादेखि नै शिक्षित भनेर चिनियो । 
वसन्ती शाही

बझाङमा शिक्षाको प्रसंग उप्किँदा सबैले सम्झने नाम हो, जयपृथ्वीबहादुर सिंह । राणाशासन ढल्नुभन्दा धेरै वर्षअघि जयपृथ्वीले बझाङमा विद्यालय खोलिदिए । आधारभूत शिक्षासम्बन्धी नेपाली भाषाकै पुस्तक पनि उनैले लेखिदिए । र, विस्तारै बझाङ शिक्षित जिल्लाका रूपमा कहलिन थाल्यो । 

बझाङमा विद्यालय आइपुग्नुको पनि कथा छ । जयपृथ्वीले १९६३ सालमा काठमाडौं, नक्सालस्थित आफ्नै दरबारमा सत्यवादी पाठशाला खोलेका थिए । त्यसको हेडमास्टर उनी आफैं थिए । त्यहाँ पढाइ हुने पाठ्यपुस्तक उनले नै लेखेका थिए । त्यतिबेला चारपासेलाई सरकारी सेवा प्रवेश गर्न मान्यता दिइन्थ्यो ।


पछि त्यही सत्यवादी पाठशालालाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बन्द गरिदिने आशंकामा जयपृथ्वीले १९६९ सालमा बझाङको जयपृथ्वीनगरमा सारेका हुन् । त्यो विद्यालयले सालिन्दा एक हजार रुपैयाँ अनुदान राज्यकोषबाट पाउँथ्यो । १९७३ सालमा त्यो विद्यालयलाई बझाङ, भोजपुरको अड्डाघरमा सारियो । त्यति बेला मेरा बुबा त्यहाँको विद्यार्थी हुनुहुन्थ्यो । महिनाको ३५ रुपैयाँ तलब पाउने गरी भारतबाट रामदत्त अवस्थी नामका हेडमास्टर राखिएको थियो रे । उनी निकै राम्रो पढाउँथे तर रिस भने उनको नाकको टुप्पोमै थियो रे । साह्रै रिस उठ्यो भने विद्यार्थीलाई ‘गधा कहीँका’ भनेर गाली गर्थे रे ।


सत्यवादीलाई सरुवा भई आएको विद्यालय पनि भनिन्छ । हाल यसमा जयपृथ्वीबहादुर क्याम्पस खोलिएको छ । यो क्याम्पसमा २०३८ सालदेखि स्नातकसम्म पढाइ भइरहेको छ । दूरदराजमा रहेको बझाङ शिक्षाप्रेमी जयपृथ्वीको शिक्षाप्रतिको लगनकै कारण पहिलादेखि नै शिक्षित भएको हो । त्यसो त उनलाई नेपालकै शिक्षामा पथप्रदर्शक भन्न मिल्छ । देवशमशेरले जयपृथ्वीकै सल्लाहमा नेपालमा विद्यालयहरू विस्तार गरेका थिए ।जयपृथ्वी शिक्षाबाटै समाज परिवर्तन हुन्छ भन्ने मान्यता राख्थे ।


जयपृथ्वीले विभिन्न किसिमका पुस्तक लेखेका थिए जसमा तत्त्वप्रशंसा, पदार्थतत्त्व र मानवतावाद प्रमुख हुन् । उनले आधारभूत शिक्षासम्बन्धी अक्षरमाला, व्यवहारमाला, प्राकृत व्याकरण, शिक्षा दर्पण, स्रेस्ताबोधजस्ता किताब पनि लेखेका छन् । उनले चार दिनभित्रै अक्षरांक भन्ने किताब लेखी तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरलाई बुझाएका थिए । त्यतिबेला उनले स्यावासी पाएको विष्णुप्रसाद खत्रीद्वारा लिखित किताब ‘बझाङ संक्षेप’ मा उल्लेख छ । तर राणाशासकहरूको दाउपेचका कारण देवशमशेर धपाइए । चन्द्रशमशेर सत्तामा आएपछि स्कुलहरू बन्द हुन थाले ।


जयपृथ्वी १९३४ भदौ ५ गते बझाङमा जन्मिएका हुन् । उनी जंगबहादुर राणाका भान्जा हुन् । उनको बाल्यकालको शिक्षादीक्षा काठमाडौंको थापाथली दरबारमा भएको थियो । उनले म्याट्रिकुलेसनदेखि स्नातकसम्म भारतका कोलकाता र प्रयागमा पढे । उनको विवाह चन्द्रशमशेरकी छोरी खगदिव्यश्वरीसँग १९५१ सालमा भयो । विवाहपश्चात् उनले ससुरालीबाट पश्चिमका छान्नादरा, कुन्नादरा, डिलकोटेली दरा, सटिकादरा बिर्ता पाएका थिए ।


उनी १९४७ सालमा बझाङका राजा भए । उनले राज्यभूमिको बीच, सबैलाई पायक पर्ने ठाउँमा आफ्नो दरबार र राज्य सञ्चालन गर्न अड्डाखाना स्थापना गरे । त्यो ठाउँको नाम जयपृथ्वी नगर राखे ।


उनी चिन्तनशील, अध्ययनशील र सिर्जनशील थिए । उनको स्वभाव सरल र नम्र थियो । धर्ममा उनी निकै विश्वास गर्थे । उनी अध्यात्म विद्यालाई भौतिक विज्ञानबाट खारेर चिन्तन गर्थे । राणाका भान्जा र ज्वाइँ भए पनि उनलाई राणाहरूको रबैया मन पर्दैनथ्यो । उनी प्रजातन्त्र रुचाउँथे । समाजमा परिवर्तन देख्न चाहन्थे । उनले मानवतावादी र सह–अस्तित्वको सिद्धान्त प्रतिपादन गरे । उनी भारतका अहिंसावादी नेता महात्मा गान्धी र रुसका साम्यवादी नेता भीआई लेनिनका दर्शन र सिद्धान्तसँग नजिक थिए ।


जयपृथ्वीले आफ्नो राज्यभित्रको राजपरिवारको जग्गामा समेत जोत्नेको हक कायम गराएका थिए । उनी मानव स्वास्थ्यप्रति सकारात्मक थिए । आफ्नो राज्यभित्रका जनतालाई भारतबाट स्वास्थ्यकर्मी झिकाई स्वास्थ्यसम्बन्धी चेतना जगाउँथे । आफ्नो राज्यलाई उतिबेलै खुला दिसामुक्त बनाउन उनले पहल गरेका थिए । जयपृथ्वीले आफ्नो देशमा हिन्दी र अंग्रेजी भाषाको प्रभाव पर्न लागेको देखेर गाउँघरमा बोलिने खस भाषाको व्याख्या गरी तत्कालीन श्री ३ देवशमशेरबाट यसलाई नेपालको राष्ट्रिय भाषा घोषणा गराएका हुन् ।


जयपृथ्वीले नेपालकै पुरानो पत्रिका गोरखापत्रको संस्थापक र प्रधान सम्पादक भई मुलुकमा जनचेतना जगाए । तत्कालीन श्री ३ चन्द्रशमशेरसँग बेलायत भ्रमणमा जाँदा बेलायती सम्राट् एडबर्डसँग पत्रकार तथा गोरखापत्रका प्रधान सम्पादकको हैसियतले उनले अन्तर्वार्ता लिँदा सम्राट् प्रभावित भएको बताइन्छ । त्यतिबेला राणा परिवारबाहिर कर्णेल पदभन्दा माथिको ठूलो पद दिन नमिल्ने जहानियाँ राणाशासनको नीतिगत व्यवस्था भए पनि जयपृथ्वीलाई सम्राट्ले बेलायतको अनरेरी कर्णेल पदले सम्मान गरेका थिए ।


जयपृथ्वीबहादुर सिंह न्याय र कानुनप्रेमी मात्र थिएनन्, हक्की पनि थिए । उनलाई देवशमशेरले भारदारी अड्डाको प्रमुख भारदार, प्रधानन्यायाधीशमा नियुक्ति दिएका थिए । तप्तबहादुरलाई मारेको मुद्दामा तत्कालीन बडाहाकिम कुमारजंग राणालाई सफाइ दिई जुद्धजंगलाई अपराधी ठहर गर्दा चन्द्रशमशेरले रिसाएर ‘यो पाखे ठकुरीलाई किन न्याय गर्न राखेको ?’ भनेछन् । यो वचन सहन नसकी उनले तुरुन्तै आफ्नो पद त्यागे । यही वचनको ईख लिएर आफ्नो राज्य पनि त्याग गरी उनी १९७३ सालमा प्रवासी बने ।


भारतमा रहँदा उनले बैंग्लोरमा मानवतावादी क्लब खोले । विद्वान् रवीन्द्रनाथ टैगोरजस्ता व्यक्तिहरूसँग सत्संग गरे । अमेरिका, जापान, बेलायतलगायतका देशमा मानवतावादी क्लबका शाखा खोले । मानवतावादको सन्देश बोकेर विश्व भ्रमण गरे । उनी भन्थे, ‘मेरो जात मानव हो । मेरो धर्म मानवता हो । मेरो सिद्धान्त मानवतावाद हो । मेरो अरू कुनै धर्म र जात छैन ।’ यसरी विश्वभ्रातृत्व, शान्ति र सह–अस्तित्वको सन्देश लिएर विश्व भ्रमण गर्ने पहिला नेपाली मानवतावादी जयपृथ्वी नै हुन् ।


तत्कालीन अमेरिकी राष्ट्रपति हर्बट हुवरले विश्व धर्म संघको दोस्रो महासभा आयोजना गर्नका लागि सघाइदिन दुई वर्ष अगाडि नै जयपृथ्वीलाई सिकागोमा निमन्त्रणा गरेका थिए । यो कार्यक्रमको सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मा उनले नै लिए । महासभामा १६५ देशका सबै किसिमका धर्मगुरु र राष्ट्र प्रमुखले भाग लिएका थिए । यसै बेला सिकागो रेडियोमा उनले दिएको वक्तव्यले अन्तर्राष्ट्रियजगत्मै ख्याति कमाएको थियो । सन् १९३३ मा भएको यही धर्मसभामा धर्मनिरपेक्षता र सह–अस्तित्वको सिद्धान्त सर्वमान्य हुने गरी प्रतिपादन गरिएको थियो । त्यस बेला जयपृथ्वी संघको कार्यकारिणी उपाध्यक्ष भई विश्वमा मानवतावादी शिक्षा फैलाउन सफल भए ।


यसै विश्व धर्म महासंघको पृष्ठभूमिमा सन् १९४५ मा तत्कालीन अमेरिकी राष्ट्रपति रुजवेल्ट र बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिलसमेतको अगुवाइमा संयुक्त राष्ट्रसंघ गठन भयो । यसरी जयपृथ्वीले विश्व भ्रातृत्व, सह–अस्तित्व र विश्वशान्तिका लागि अहम् भूमिका खेले ।


इटालीले इथियोपियामाथि आक्रमण गर्दा धेरै ठूलो धनजनको क्षति भयो । त्यसबेला जयपृथ्वी आफ्नो ज्यानको बाजी लगाएर युद्धपीडितको उद्धारमा खटिए । त्यस बेला औषधिमूलो, स्वास्थ्यकर्मी र अन्य व्यवस्थापनमा लागेको खर्च उनले आफैं बेहोरेका थिए । सेवा गर्दागर्दै उनले त्यही युद्धबन्दीसमेत हुनुपर्‍यो । यसै धपेडीले उनको स्वास्थ्य बिग्रँदै गयो । त्यहाँबाट उनी बैंग्लोर फर्किए । उनको स्वास्थ्यलाभ हुन सकेन । १९९७ असोज १ गते सधैंका लागि आँखा चिम्लिए ।


सत्कर्मका गाथाले भरिएका जयपृथ्वी राष्ट्र्रिय र अन्तर्राष्ट्रियजगत्मा सम्झिइरहनेछन् । उनको मानवतावादी नारा ‘मनो जयति यः जयति ब्रह्माण्ड’ समेत अमर छ । प्रकाशित : फाल्गुन ७, २०७६ १५:३९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जनताका गभर्नर

व्यापारीको गोदाम फोरेर नुन सर्वसाधारणलाई बाँडिदिएपछि भीमदत्त पन्त पक्राउ परे । उनलाई कञ्चनपुरस्थित बेलौरी झ्यालखानामा राखियो । सुरूङ खनेर उनी अरू बन्दीसँगै बाहिरिए ।
भवेश्‍वर पंगेनी

राजा त्रिभुवन भारत गएपछि सशक्त बनेको राणाशासन विरुद्धको आन्दोलन ‘दिल्ली सम्झौता’ पछि २००७ फागुन ७ मा सकियो । सुदूरपश्चिम पहाडका जनताले भने २००८ सालको मध्यसम्मै आन्दोलन गरिरहे । त्यो आन्दोलनको अग्रपंक्तिमा थिए भीमदत्त पन्त । त्यो आन्दोलन जाति प्रथा उन्मूलन एवम् वर्गविहीन समाज निर्माण गर्न केन्द्रित थियो ।



त्यस बेला समाजमा जमिन्दार, मुखिया, जिम्मावाल (साहु) तथा सरकारी कर्मचारीको अत्याचार थियो । समाज जातीय भेदभावबाट आक्रान्त थियो । कथित माथिल्ला जातका साहु/महाजनको दमनविरुद्ध गरिब एवम् कथित तल्ला जातका मानिस बोल्न सक्दैनथे । यसलाई हटाउन पन्तले राणाशासनविरुद्धको आन्दोलनलाई उपयोग गरेका थिए । पन्तले आन्दोलन मुखिया, जिम्मावाल, पटवारी, जमिन्दार, साहु, महाजन, व्यापारी एवम् सरकारी कर्मचारीको शोषणविरुद्ध सोझ्याए ।

डडेल्धुराको अमरगढीस्थित कारीगाउँमा जन्मेका भीमदत्त त्यति बेला भर्खर २४ वर्षका थिए । उनी भारतको सिङ्गाहीमा अध्ययन गरेर फर्किएका थिए । त्यसो त अध्ययनका क्रममा भारतीय स्वतन्त्रता संग्राममा संलग्न हुँदा उनी पक्राउ परेर केही समय बन्दीसमेत भएका थिए ।

सुदूरपश्चिममा २००७ सालको आन्दोलनका क्रममा सरकारी कर्मचारीको हत्या गर्ने, सरकारी ढुकुटी लुटपाट गर्ने, सरकारी कागजपत्रमा आगो लगाउने क्रियाकलाप भए । स्वार्थका कारण सहयोद्धाको हत्या गर्नेसम्मका गतिविधि पनि देखिए । यसै क्रममा डोटीका तीन साँचा तहबिलमा रहेको डेढ लाख रुपैयाँ नगद तथा सुनचाँदी लुटेर मुक्ति सेनाका कमान्डरले नेपालगन्जतर्फ पठाए । यो खबर पन्तको कानमा पर्‍यो । त्यसपछि उनले सो सम्पत्ति हिनामिना गर्न पाइँदैन भनी सार्वजनिक जनसभामा बोले । यसका कारण मुक्ति सेनामा विद्रोह हुने अवस्था बन्यो । मुक्ति सेनाका कमान्डर हच्किए । उनले पन्तलाई आफ्नो दलको प्रमुख सदस्य बनाएर विवादलाई मिलाए ।

डोटीलाई नियन्त्रणमा लिएपछि पन्तलगायत डडेल्धुरा फर्केका थिए । पिस्तोल देखाएर स्थानीय एक व्यापारीबाट रकम लुटेको भनेर पन्तविरुद्ध नवगठित जनसरकारसमक्ष उजुरी पर्‍यो । यसलाई डडेल्धुराका गभर्नरले आफूलाई डोटीको ढुकुटी लुटेको आरोप लगाएका पन्तसँग बदला लिने उपयुक्त अवसर बनाए । पन्तलाई पक्राउ गरेर हत्कडी लगाइयो र कोतको मौलामा बाँधियो । त्यहाँ ठूलो जनसमूह थियो ।

गभर्नरले यस विषयमा सार्वजनिक रूपमा राय मागे । एक व्यक्तिले अपराधीलाई तोपले उडाउनुपर्ने राय दिए । यो प्रस्तावको विरोध कतैबाट भएन । त्यसपछि तोपमा बारुद भरी पन्ततर्फ सोझ्याइयो । खलंगा निवासी एक जना दमाईले अपराधीलाई मृत्युदण्ड दिनुभन्दा पहिले सरकारी बिगुल फुक्नुपर्ने परम्परा रहेको र बिगुल बजाउने अधिकार हालसम्म आफूलाई दिइएको कुरा राखे । गभर्नरले तोप पड्काउनुअघि ती दमाईलाई बिगुल फुक्न निर्देशन दिए । यत्तिकैमा एक जनाले पन्त ब्राह्मण भएकाले कानुन तथा परम्पराअनुसार उनको हत्या गर्न नहुने बताए । यो भनाइलाई उपस्थित सर्वसाधारणले समर्थन गरे । अन्ततः पन्तलाई जेल चलान गर्ने निर्णय भयो ।

मुक्ति सेनाका कमान्डरले पन्तमाथि लगाएको अभियोगको सत्यता दुई दिनसम्म जाँचे । छानबिनबाट निर्दोष सावित भएपछि उनी मुक्त भए । त्यसको तीन दिनपछि अर्थात् २००७ माघ २५ गते पन्त डडेल्धुराकोगभर्नर नियुक्त भए । उनको पक्षमा रहेको जनसमर्थनका कारण गभर्नर बनाइएको बताइन्छ ।

गभर्नर भएपछि पन्तले सर्वसाधारणको उजुरीअनुसार साहु–महाजनलाई कारबाही गरे । किर्ते तमसुक च्यातिदिएर धेरैलाई ऋणमुक्त गरिदिए । विभिन्न झूटा मुद्दामा बन्दी बनाइएकालाई मुक्त गरिदिए । सो क्षेत्रमा प्रचलित ‘देउकी प्रथा’ बन्दको घोषणा गरे । पन्तले गाउँघरका मुद्दा आपसी सल्लाहबाट गाउँमै टुंगो लगाउन निर्देशन दिए । पन्तले छोटो कार्यकालमा न्यायका पक्षमा गरेका यी कार्यबाट सामान्य जनता असाध्यै खुसी भए भने साहु–महाजन चिढिए । साहु–महाजनले माथिल्लो निकायमा गभर्नरविरुद्ध उजुर गर्न थाले ।

प्रजातन्त्र पुनःस्थापनापछि स्थानीय प्रशासनलाई व्यवस्थित गर्न केन्द्रबाट प्रशासक नियुक्त गरिएको थियो । डडेल्धुराका लागि पठाइएको प्रशासनिक समितिलाई आन्दोलनकालका गभर्नर पन्तले आफ्नो अख्तियारी हस्तान्तरण गर्न अस्वीकार गरे । प्रशासन सञ्चालनलाई निरन्तरता दिए । केन्द्रले पुनः अर्को समिति डडेल्धुरा पठायो । यसलाई पनि पन्तले अस्वीकार गरे । त्यसपछि सरकारले २००८ साल भदौमा पन्तलाई गिरफ्तार गर्‍यो र अड्डा सार गर्दै काठमाडौंको नख्खु झ्यालखानामा बन्दी बनायो । केही समयपछि निर्दोष ठहरिएर उनी मुक्त भए । यसपछि पन्त डडेल्धुरा फर्के ।

पन्तको ध्यान ब्रह्मदेउ मन्डी (बजार) मा केन्द्रित भयो । मन्डीमा बिक्रीका लागि नुनलगायत दैनिक उपभोग्य वस्तु सरकारी कोटा प्रणालीमा भारतबाट आयात गरिन्थ्यो । कोटा पाउने व्यापारी तथा भन्सारका कर्मचारीले मिलेर कृत्रिम अभाव गराई मनपरी मूल्यमा सामान बेच्थे । यसबाट सर्वसाधारण निकै मर्कामा परेका थिए । व्यापारी तथा कर्मचारीको यस्तो कार्य देखेर सुधारका लागि पन्तले सम्बद्ध निकायमा अनुरोध गरे तर कुनै कारबाही गरिएन ।

दुई/चार जना व्यापारीले ठूलो संख्याका सर्वसाधारणलाई दुःख दिएको देखेर पन्तले आफ्ना समर्थकका साथ ब्रह्मदेउ मन्डीमा विरोध जुलुस निकाले । शान्तिपूर्ण विरोधलाई व्यापारीले वास्ता गरेनन् । पन्तले व्यापारीको गोदाम फोरेर लुकाएको नुन सर्वसाधारणलाई वितरण गरिदिए । पहिलेदेखि विरोधमा रहेका व्यापारी/साहुहरू पन्तको यस कार्यबाट झन् आक्रोशित बने ।

उनीहरूले यस कार्यलाई सरकारविरोधी भनेर व्याख्या गरे । तत्कालै पन्तलाई गिरफ्तार गरियो । बन्दीहरूसँग मिली सुरुङ खनेर उनी २००९ साल चैतमा बाहिर निस्किए ।

झ्यालखानाबाट बाहिर निस्किएपछि पन्तले एउटा मोर्चा गठन गरे । उनले दोस्रो पटक पनि मन्डी कब्जा गरी व्यापारीका गोदाममा रहेको नुन सर्वसाधारणलाई वितरण गरिदिए । भन्सारका कर्मचारीले सस्तो मूल्यमा खरिद गरिराखेको ठूलो परिमाणको चरेसमा आगो लगाइदिए । उनले कैलाली जिल्ला कब्जा गर्ने योजना बनाए । यस क्रममा बेलौरी थाना नियन्त्रणमा लिन सफल भए ।

सरकारले झ्यालखानाबाट भागेका पन्त र उनका सहयोगीलाई सरकारी संयन्त्रबाट मात्र नियन्त्रणमा लिन नसक्ने ठहर गर्‍यो । सरकारले भारत सरकारलाई सहयोगका लागि आग्रह गर्‍यो । नेपाल आएका भारतीय सैनिकका साथ जर्नेल क्षेत्रविक्रम राणाको संयुक्त सेनाले पन्तलाई खोज्न थाल्यो । सरकारले पन्तको जिउँदो वा मृत शरीर ल्याउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्‍यो । यति हुँदा पनि उनले विभिन्न गाउँका सामन्तकोघरबाट नगद तथा सुन/चाँदी लुटेर सर्वसाधारणलाई बाँड्ने तथा जाली तमसुकमा आगो लगाइदिने कार्यलाई निरन्तरता दिइरहे ।

२०१० साउन २० गते पन्त डडेल्धुराको ‘गल्लेक’ गाउँस्थित एउटा घरमा बसेका थिए । नेपाली सुरक्षा फौजले अचानक त्यही घर घेरा हाल्यो । आफ्नै मीत नाता पर्नेले उनीमाथि गोली हान्यो । पन्त ढले । उनको टाउको काटेर सदरमुकाम लगियो र बाँसको खम्बामा झुन्ड्याइयो । खम्बामा लेखियो, ‘भीमदत्त मुर्दावाद ; क्रान्तिकारीहरूलाई यस्तै हुन्छ ;’ पन्तको लडाइँ व्यक्तिविशेषसँग नभएर अत्याचार गर्ने प्रवृत्तिविरुद्ध थियो । उनी चतुरेका विरुद्ध निमुखा सर्वसाधारणको पक्षमा काम गर्थे तर उनले २७ वर्षको कलिलो उमेरमै ज्यान गुमाए । छोटो समयमा सर्वसाधारणका पक्षमा उल्लेख्य काम गरेकाले नै नेपाल सरकारले २०७२ फागुन १९ गते उनलाई सहिद घोषणा गर्‍यो । हत्याको ६२ वर्षपछि गरिएको यो घोषणा उनले चालेका कदमको सम्मान हो ।

प्रकाशित : फाल्गुन ७, २०७६ १५:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×