फलामसिंह फाल्गुनन्द बनेपछि 

खानपिनको फजुलखर्चले लिम्बू जातिको प्रगति, उन्नतिमा बाधा भएको निष्कर्ष निकालेर फाल्गुनन्दले १९८८ वैशाख २४ गते चुम्लुङ बोलाए र समाज सुधार्न सातबुँदे सत्यधर्म मुचुल्का गराए । 
भगीराज इङ्नाम

किराँत धर्म, दर्शन, संस्कृति रक्षा गर्न समय–समयमा महान् दार्शनिकको यस धर्तीमा अवतार भएको छ । येहाङ, सोधुङ्गेन–लेप्मुहाङ, कान्देहाङ, मावोहाङ, सिरिजङ्गाहाङ, फाल्गुनन्द र आत्मानन्द लिङ्देन त्यस्तै महामानव हुन् । उनीहरूले देखाएको बाटो लिम्बूहरूले पछ्याएकै कारण किराँत धर्म, दर्शन, साहित्य र संस्कृति जोगिएको छ । यी महामानवमा योगदानका हिसाबले सबैभन्दा माथि फाल्गुनन्द देखिन्छन् । समाज सुधारकका रूपमा चिनिने उनी राष्ट्रिय विभूतिसमेत हुन् । 

धेरैले फाल्गुनन्दलाई महिला भन्ठान्छन् । फोटो, मूर्तिमा उनलाई कण्ठ, यार्लिङ र शिरबन्दीमा सजिएको देखिन्छ । फाल्गुनन्द आफूलाई युमाको प्रतीक ठान्थे । त्यसैले पुरुष भए पनि महिलाको भेषमा रहन्थे । युमासाम लिम्बू जातिको आस्थाकी धरोहर हुन् । प्रत्येक लिम्बूको घरमा यिनको पूजाआराधना गरिन्छ । युमा महिलाकी प्रतीक हुन् । युमाको शाब्दिक अर्थ बोजू हो ।


त्यसो त फाल्गुनन्द सानो छँदा फलामको कल्ली र चुरा लगाउँथे । उनका अधिकतर दाजुभाइको जन्मनासाथ वा कलिलैमा मृत्यु भएको थियो । त्यति बेला बच्चालाई फलामको चुरा, कल्ली लगाइदिए दीर्घायु हुन्छ भन्ने जनविश्वास थियो । त्यहीअनुसार उनलाई बुबाआमाले फलामको गहना लगाइदिएका थिए । त्यसपछि उनी गाउँघरमा फलामसिंह नामले चिनिए ।


उनको न्वारनको नाम भने नरधोज हो । १९४२ कात्तिक २५ गते इलामको इभाङस्थित चुक्चिनाम्बामा जन्मिएका उनका बुबा जगनबाज लिङ्देन र आमा हंसमति लिम्बू हुन् । उनी साधारण किसान परिवारमा जन्मिएका थिए । जन्मँदा आमाको स्तनमा खटिरा आएको थियो । काली बाख्राको दूध खुवाएर उनलाई हुर्काइयो । केही वर्षमा आमाको मृत्यु भएपछि सानीआमाले पालनपोषण गरिन् ।


टुहुरा, आर्थिक अवस्था कमजोर भएकाले उनी आठ वर्षको उमेरमै कुल्ली काम गर्न नाथुम धावा (भुटान) गए । उनका माइला दाजु गोर्खा रेजिमेन्टमा हवल्दार थिए । दाजुलाई भेट्न बर्मा जाँदा २२ वर्षको उमेरमा १९६४ सालमा उनी गोर्खाली फौजमा भर्ती भए र लाहुरे बने ।


फाल्गुनन्द धार्मिक थिए । पल्टने जीवनमा व्यस्तताका बाबजुद उनी आफ्नो कोठामा सधैं दियो, कलश, धूपबत्ती बाल्थे र नियमित रूपमा ध्यान, पूजापाठ, माङ (ईश्वर) सेवा गर्थे । पूजापाठ, ध्यान, तपस्या गर्ने हुँदा सैनिक क्याम्पमा उनी ध्यानीबाबाका नामले परिचित थिए । १९७१ सालमा प्रथम विश्वयुद्ध सुरु भयो । युद्धमा उनी सहभागी भए । धार्मिक प्रवृत्तिका उनलाई लाहुरे जीवनप्रति चित्त बुझेन । आठ वर्ष सेवा गरी लाहुरे जीवन त्यागे ।


फाल्गुनन्द गर्भमा छँदै मासु, मादक पदार्थ (जाँडरक्सी) सेवन गरे आमा बिरामी हुने गर्थिन् भनिन्छ । उनले मासु, जाँडरक्सी कहिल्यै सेवन गरेनन् । उनले पल्टनमा छँदै जोसमनी सम्प्रदायका शशिधरबाट वेदान्तको ज्ञान लिएका थिए । शशिधरले नै उनको फाल्गुनन्द नामकरण गरिदिएका हुन् । त्यही नामले उनी अहिले परिचित छन् ।


आठ वर्षको पल्टने जीवन त्यागी फाल्गुनन्द आफ्ना चेलाभुलाका साथ किराँती घना बस्ती भएको स्थान भुटानतिर लागे । आफ्ना दाजु, बुबाआमाको दर्शन गरेपछि धर्म, संस्कार, संस्कृतिको प्रचारप्रसार गर्दै भुटानको बस्तीबस्ती डुलेर धेरै अनुयायी बनाए । भुटानको साम्ची, दागापेली लगायतका स्थानमा मन्दिर निर्माण गरी सेवा–साबा (पुजारी) व्यवस्था गरे ।


फाल्गुनन्दले आयुर्वेदिक औषधि उपचार गरी भुटान दागापेलीका दीर्घरोगी बिरामी फट्टिनी माइली शेर्पेनीलाई रोगबाट मुक्त पारेका थिए । शेर्पेनीले बौद्ध धर्मावलम्बी भए पनि बाँचुञ्जेल सत्यहाङ्मा गुरुको नाममा दियो–कलश राखी पूजा गर्थिन् । उनी १०९ वर्षसम्म बाँचिन् ।


सत्य धर्म मुचुल्का लिम्बू जातिका धर्मदर्शनका तीन रूप छन्– माङ, साम्माङ र साम्माङच्याङ । यी तीन रूपभित्र ७० भन्दा बढी देवदेवताको पूजाआजा गरिन्छ । माङ आत्मा शक्तिका प्रमुख स्रोत हुन् । यसमा तागेरानिङवाफुङ, युमासाम, थेबासाम पर्छन् । साम्माङले असल कार्यको निर्देशन गर्छन् । साम्माङच्याङ खराब दुरात्मा देवता हुन् । यिनले मानवलाई दुःख कष्ट दिन्छन् । मन्साएर खुसी पार्नुपर्छ ।


लिम्बू समुदायका मुख्य संस्कार न्वारन, विवाह (लगन), खोक्पा (छोरीको विवाहमा सोतरित खाने), खेःमातङसिङ (मृत्युमा– मृतक र जीवितको आत्मा अलग–अलग गर्ने), चाडबाड खासगरी चासोक तङनाम (न्वागी पूजा, उँधौली) र योक्वा तङनाम (उँभौली पूजा) पर्छन् । सम्पूर्ण धर्मदर्शन, संस्कारसम्बन्धी कार्य फेदाङ्बा, साम्बा, येबा/येमाले र अवस्था हेरी तुतु तुम्याङहरू (संस्कार जान्ने बुझ्ने पञ्चभलाद्मी) ले मौखिक मुन्धुम वाचन गर्दै सम्पन्न गर्छन् । यी कार्यमा देवताको प्रकृति हेरी सुँगुर, जोडी कुखुरा, भेडा, राँगा, बोका, वाः धिन (अन्डा) को भोग, बलि दिइन्छ । अत्यधिक जाँडरक्सी प्रयोग हुन्छ ।


छोरीको विवाहमा सुनौली रूपौली वा सोतरित (नगद, सुन, चाँदी सुँगुर, राँगा) धेरै खाने, लिने चलन थियो । आम्दानीभन्दा खर्च बढी गर्नाले लिम्बूहरूले आफ्नो किपट भूमि बन्धकी राख्न वा बढ लिन थाले । उनीहरू आर्थिक रूपले जर्जर भई ऋणमा चुर्लुम्म डुबे । सरकारबाट बढी सोतरित (सुनौली रूपौली) नलिनू भन्ने लालमोहर नै जारी गर्नुपर्‍यो, जुन लालमोहरमा लेखिएको थियो–

आगे. चैनपुर भर अम्मलका लिम्बू याषा के छोरिको सोत रुपैयाँ ५० देषि वढता कसैले नषानु. सोह्र आना हिसाव गरि नगद जिनिसि ज्या हुंछ लिनु. कमारा कमारि सोतमा नलिनु. विहा. नभै घरमा छंदा लाच्प्रा षेल्यो भन्या तेसलाई डंड गर्नु. भांजिलाई विहा गरि दिनु. भानिजको दस्तुर नषानु. एती कुराको थिति गरि वक्स्यौं एस वंदेज देषि वढता जो गर्ला तसलाई भारि डंड सासना होला इति मीती सदर–––इति सम्वत १८६६ साल ज्येष्ठ बदि ९ रोज २ शुभम् ।


फजुल खर्च गरी खानपिनमा मोजमस्ती गर्नाले लिम्बू जातिको प्रगति, उन्नतिमा बाधा भएको फाल्गुनन्दले पनि निष्कर्ष निकाले । १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा १७ थुम १० लिम्बूवानका सुब्बा, अमाली पान तुम्याङ (जान्ने बुझ्ने पञ्च) को चुम्लुङ (सभा) गरे । उनले चुम्लुङबाट लिम्बू समाज सुधारका लागि सातबुँदे सत्यधर्म मुचुल्का गराए ।


१.छोरी–चेलीको सोतरित (सुनौली रूपौली) नखानू, नलिनू ।

२.शुद्धाई (बर्खान्त) र देवकार्यमा जीवघात नगर्नू ।

३.मृत्यु हुँदा ९ दिन बारन गरी १० दिनमा शुद्ध हुनू ।

४.वृद्धि सुतक अर्थात् सुत्केरी २२ दिनपछि चोख्याउनू ।

५.अदौमा सुँगुर, कुखुरा अब उप्रान्त नखानू ।

६.इष्टमित्र, कुलकुटुम्ब आउँदा, भेटघाट हुँदा मदमांश (जाँडरक्सी, मासु) प्रयोग नगर्नू अर्थात् मेजमान नदिनू ।

७.खाउमा (बर्खान्त) गर्दा फलफूल, नैवेद्य र अदुवा चढाउनू । (खाउमा गर्दा सुँगुर र कुखुराको मासु चढाई पिण्ड दिइन्थ्यो ।)


सत्यधर्म मुचुल्कापछि प्रकृतिपूजक लिम्बू जातिले मान्ने सबै देवीदेवता, सिमेभूमे, खोलानाला, डाँडापर्वत आदि स्थानमा विशुद्ध फलफूल, नैवेद्य चोखो–नितो चढाई पूजाअर्चना गर्न थालियो । फाल्गुनन्दले अवलम्बन गरेको धार्मिक पद्धतिलाई सत्यहाङ्मा धर्म भन्न थालियो । फाल्गुनन्दले विभिन्न स्थानमा चुम्लुङ गरे । उनी अनुयायीलाई छोराछोरी समान व्यवहार गर्थे । चन्दा संकलन गरेर भए पनि उनले पाठशाला खोले । ठाउँ–ठाउँमा माङहिम (मन्दिर) स्थापना गरी सिरिजंगा किराँती लिपि सिकाए । उनी कपास खेती गरी पोसाकमा आत्मनिर्भर हुनुपर्छ भन्दै उपदेश दिन्थे ।


सादा जीवन अपनाउनु, उच्च विचार राख्नु, धार्मिक, नैतिक बन्नु सत्यहाङ्मा धर्मको मर्म हो । सधैं सत्य बोल्नु, सत्य कार्य गर्नु, चोरीजारी नगर्नु, सबै प्राणीमा दयाभाव देखाउनु, जीव हिंसा नगर्नु नै सत्यहाङ्मा धर्मको मूल दर्शन हो ।सत्यहाङ्मा धर्मलाई चेला आत्मानन्द लिङ्देनको संरक्षकत्वमा स्थापित किराँत धर्म तथा साहित्य उत्थान संघले किराँत धर्म नामकरण गर्‍यो । हाल लिम्बू, राई, याक्खा र सुनुवारले आफूलाई किराँत धर्मावलम्बी भन्छन् । २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार किराँत धर्मावलम्बीको संख्या ८ लाख ७ हजार १६९ रहेको छ ।


धर्मको मूल लक्ष्य सत्कर्म गरी अन्ततः चोःलुङ (स्वर्ग) पुग्नु हो । फाल्गुनन्दले फक्ताङ्लुङ (कुम्भकर्ण) हिमाललाई किराँती लिम्बूको चोःलुङका रूपमा पहिचान गराए । कुम्भकर्णकै फेदीमा धर्मात्मा भक्तजनका लागि धर्मशाला पाटी बनाउन लगाए । उनले शान्तिको प्रतीकका रूपमा एकलिंगे सेतो झन्डा लिएर गाउँबस्ती चहार्दै धार्मिक, सांस्कृतिक चेतना जगाए । महागुरु फाल्गुनन्दले देखाएको सत्मार्गमा लाग्नाले देश र जनता सबैको उत्थान हुन्छ ।


भाषा, लिपि, धर्म, संस्कृतिको रक्षा गर्दै जनचेतना जगाउँदै गाउँघर डुल्दा सरकारविरोधी कार्य गरेको भनी फाल्गुनन्दविरुद्ध उजुरी परेको थियो । राणा शासकले दुईपल्ट सोधपुछ गरे । केही अपराध नगरेको पाइएपछि कारबाही भोग्नुपरेन । अहिंसावादी, समाज सुधारक महागुरु फाल्गुनन्दको २००५ कात्तिक २५ गते यस संसारबाट चोला उठ्यो । उनको पार्थिव शरीरलाई पाँचथरको लब्रेकुटी सिलौटीमा समाधिस्थ गरिएको छ । महागुरु फाल्गुनन्दको भौतिक शरीर अवसान भए पनि उनका विचार, सत्कर्म, धर्म दर्शन सदैव अटल रअजय छन् ।


फाल्गुनन्दको सत्कार्यलाई कदर गर्दै २०५० मा सरकारले हुलाक टिकट प्रकाशन गर्‍यो । उनलाई सरकारले राष्ट्रिय विभूतिसमेत घोषणा गरेको छ । कक्षा १० को नेपाली पुस्तकमा उनको जीवनी समावेश गरिएको छ । सरकारले फाल्गुनन्द जयन्तीमा किराँत धर्मावलम्बीलाई बिदासमेत दिने गरेको छ ।


इलाममा जन्मिए पनि फाल्गुनन्दले पाँचथरको लब्रेकुटी सिलौटीलाई धर्मिक थलो बनाएका थिए । उनले पाँचथरको चोकमागु, ताप्लेजुङको मेहेले, काबेलीलगायत ९ ठाउँमा माङहिम निर्माण गरी नित्य पूजापाठ गर्न सेवा सावाको व्यवस्था गराए । अहिले ३० भन्दा बढी स्थानमा माङहिम निर्माण गरिएका छन् । २० भन्दा बढी ठाउँमा महागुरु फाल्गुनन्दका अर्ध तथा पूर्णकदका सालिक ठड्याइएको छ । महागुरुले स्थापना गरेको धर्मलाई संरक्षण संवर्द्धन, प्रचारप्रसार गर्न किराँत धर्म तथा साहित्य संघअन्तर्गत स्वदेश र विदेशमा संगठन विस्तार गरिएको छ ।


अब धार्मिक एवम् सुधारवादी गुरु फाल्गुनन्दको पदचाप भएको स्थान लब्रेकुटीलाई केन्द्र मानी आठराईको चिलिङ्से, काबेली दोभान, फक्ताङ्लुङ, सिक्किम, असम, दार्जिलिङ, भुटान, बर्मालाई धार्मिक एवम् पर्यटकीय सर्किटका रूपमा विकास गर्न जरुरी छ । प्रकाशित : फाल्गुन ७, २०७६ १५:१९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कांग्रेसलाई नेतृत्वको कुनै लालसा छैन : थापा 

रूपा गहतराज

(नेपालगन्ज) — कांग्रेस केन्दीय सदस्य तथा सांसद गगन थापाले सरकारले सरकार नचलाएर सत्ता चलाइरहेको आरोप लगाएका छन् । सरकार सत्ता, शक्ति र सम्बन्धको दबाब र प्रभावमा चलिरहेको उनको भनाइ थियो । 

कांग्रेस पार्टी कार्यालय नेपालगन्जमा बुधबार आयोजित बीपी स्मृति पुस्ताकलय उद्घाटन कार्यक्रममा नेता थापाले आफ्नो चिन्ता दुई तिहाइको सरकार नभएको भन्दै सरकारले सत्ता चलाउन थालेको प्रति भएको बताए ।‘सरकार पाँच वर्ष होइन, ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्,’ उनले भने, ‘ लोकतान्त्रिक अभ्यासमा सरकार बलियो भएर देश बन्दैन । नागरिक बलियो भए मात्र सरकार बलियो हुन्छ ।’
सरकारले राज्यका सबै अंगहरुलाई आफ्नो प्रभावमा पारेर सुरक्षा न्यायालय, अख्तियारको अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्‍न गर्ने पर्याप्त आधार दिएको उल्लेख गरे ।

उनले प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा बोलेको कुरा सुनाउँदै विकास देखेर विरोधी आत्तिएसम्म भन्‍नुभयो भनेर कटाक्ष गरे । उनले कांग्रेसलाई नेतृत्वको कुनै लालसा नभएको भन्दै पार्टीभित्र रुपान्तरण आवश्यकता रहेको औंलाए । ‘नेपाली कांग्रेस राज्यसँग होइन जनताका बीच पुग्‍नु पर्छ ।’

उनले कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेकोमा आलोचना भइरहेको भन्दै त्यसलाई चिर्न नेतृत्वदेखि जिल्ला तहका आमनेताहरु जनताबीच नयाँ ढंगले प्रस्तुत हुन आग्रह गरे ।

नेता प्रकाशमान सिंहले सरकार संविधानको भावना र मर्मविपरीत काम गरिरहेको बताए । ‘सरकार दुई तिहाइ दम्भको भ्रम पालिरहेको छ ,’ उनले भने, ‘संविधान र कानुनभन्दा माथि आफूलाई ठानेको छ ।’ उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे ।

प्रकाशित : फाल्गुन ७, २०७६ १५:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×