कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खरा बुद्धिजीवी

राजा महेन्द्र शक्तिशाली भएका बेला उनले नेपाली बुद्धिजीवीहरु सत्ताको स्तुतिगानमा व्यस्त भएर खबरदारी गर्ने आफ्नो परम दायित्व भुलेका छन् भनी लेखेका थिए । यसो गर्नु निकै साहसिक काम थियो ।
दीपक थापा

काठमाडौँ — पन्ध्र महिना अगाडि प्राध्यापक कमलप्रकाश मल्लको देहान्त हुँदाताका उनका बारेमा धेरैले प्रशंसायुक्त सम्झना व्यक्त गरेका थिए । केपी मल्लका नामले पनि चिनिने यी अंग्रेजी भाषाका शिक्षक धेरै वर्षदेखि सार्वजनिक रूपमा देखिएका र सुनिएका थिएनन् । तैपनि उनले दशकौं अगाडि गरेको बौद्धिक योगदान नै उनी पत्रपत्रिकामा यसरी छाउन काफी थियो ।



यस हिसाबले प्रा. मल्लका बारेमा धेरै चर्चा भइसकेको छ तर उनी अंग्रेजीका प्राध्यापक भएकाले होला कि के हो, सबैजसो श्रद्धाञ्जलि अंग्रेजीमै थिए । उनको देहावसानपछि उनका बारेमा नेपाल भाषामा विभिन्न परिचर्चा पक्का पनि भयो होला तर ती प्रकाशन यस लेखकको पहुँचबाहिर भएकाले सोबारे टिप्पणी गर्न सकिएन ।


उनले विसं २०११ देखि नै विभिन्न साहित्यिक पत्रिकाहरूमा र पछि आएर पत्रपत्रिकामा नेपाली भाषामा लेख प्रकाशन गरेका थिए । नेपाल संवत्को ११०० औँ वार्षिकोत्सव (विसं २०३६) ताका नेपाल भाषा मंका खलले सो संवत् मनाउन पहिलोपटक भव्य सांस्कृतिक जुलुसको आयोजना गरेको अवसरमा उनले नेपाल भाषामा पनि लेख्न थालेका थिए । यति हुँदाहुँदै पनि उनी मूलतः आफ्ना कुरा अंग्रेजीमा व्यक्त गर्थे । र, उनका बारेमा आम रूपमा चर्चा उनले अंग्रेजीमा लेखेका लेखका कारणले नै भएको हो ।


केही वर्षअगाडि प्रा.मल्लका पुस्तक ‘द रोड टु नोवेयर’ को पुनःप्रकाशन र ‘फ्रम लिटरेचर टु कल्चर’ को प्रकाशन भएको थियो । यी दुई पुस्तकले गर्दा उनले अंग्रेजीमा लेखेका सबैजसो लेख पुस्तकाकारमा भेला भएका छन् । प्रा. मल्लसँग लेखकका हिसाबले धेरै अघिदेखि नै परिचित भए पनि उनको दोस्रो पुस्तक प्रकाशन गर्ने क्रममा व्यक्तिगत रूपमा चिनजान गर्ने अवसर पाएँ । आफू काम गर्ने संस्थाको उद्देश्य नेपाली समाजबारे अनुसन्धान र सोको प्रवर्द्धन गर्नु भएकाले प्रा. मल्लका लेखहरूको संकलन पुस्तकका रूपमा पाठकसामु ल्याउनु मेरो दायित्व थियो । प्रा. मल्लको ‘द रोड टु नोवेयर’ सन् १९७९ मा निस्किएकाले सोभन्दा पछिका उनका लेख एकै ठाउँमा जम्मा गरी पुस्तक प्रकाशन गर्ने योजना बनाएँ । यसो गर्न प्रा. मल्ल तुरुन्तै राजी भए ।


लेख संकलन गर्ने क्रममा दुवै पक्षको सल्लाह र सहमतिले केही पुराना लेख पनि समावेश गर्ने कुरा भयो । सोहीबमोजिम १९७० का दशकमा प्रकाशित पाँचवटा लेख पनि संग्रहमा सम्मिलित गरियो । नेपाली बुद्धिजीवीबारेको ११ हजार शब्दभन्दा लामो उनको प्रख्यात लेख ‘द इन्टेलेक्चुअल इन नेप्लिज सोसाइटी’ यीमध्ये एक थियो । यो उनको सबैभन्दा प्रख्यात लेख होला । साहित्यकार शंकर लामिछानेले त्यस लेखलाई उल्था गरेर ‘रूप–रेखा’ मा ‘नेपाली समाजमा बुद्धिजीवी’ शीर्षकमा प्रकाशन गरेबाट पनि त्यस लेखको महत्त्व पुष्टि हुन्छ ।


प्रा. मल्ललाई धेरैले सोही लेखका कारणले चिन्छन् । हुन पनि राजा महेन्द्र शक्तिशाली भएका बेला, पञ्चायती व्यवस्थाको जगजगी भएका बेला प्रा. मल्लले नेपाली बुद्धिजीवीहरू सत्ताको स्तुतिगानमा व्यस्त भएर खबरदारी गर्ने आफ्नो परम दायित्व भुलेका छन् भनी लेखेका थिए । यसो गर्नु निकै साहसिक काम थियो । प्रा. मल्लले अरू केही पनि नलेखेको भए पनि सो लेखले उनलाई अविस्मरणीय विद्वान्का रूपमा स्थापित गर्ने थियो । यसो भन्नुको मतलब उनका अरू कृतिको अवमूल्यन गर्नु होइन । त्यो लेख कति दमदार थियो भनी बताउनु मात्र हो ।


मैले प्रा.मल्लसँग काम गरेको पुस्तकमा संलग्न ३४ मध्ये सातवटा लेख मात्र उनको आफ्नो पढाइका विषयवस्तुसँग सम्बन्धित छन् । उनी अंग्रेजीका शिक्षक थिए तर विद्यावारिधि गरेका थिए अंग्रेजी भाषा विज्ञानमा । ‘फ्रम लिटरेचर टु कल्चर’ (अर्थात्, साहित्यदेखि संस्कृतिसम्म) मा समावेश भएका लेखहरू उनको जीवनका पछिल्ला खण्डका भएकाले पुस्तकको नामले नै उनको क्रमिक बौद्धिक विकासको झल्को दिन्छन् ।


२०३६ सालपछि प्रा. मल्लले आफ्नै नेवार समाजको सेरोफेरोमा पनि धेरै अनुसन्धानात्मक लेख प्रकाशन गरे । समाज र संस्कृतिबारे उनको रुचि नेवार सभ्यताको मात्र नभई पूरै नेपाल उपत्यकासँग सम्बन्धित थियो । यसले गर्दा उनले धेरै आलोचना पनि खेप्नुपरेको थियो । नेपाल अध्ययनमा आफूले धेरै कुरा सिक्न बाँकी छ भनी उनले आफैंले लेखेका छन् । उनले यसो भने पनि यस विषयमा उनको ज्ञान प्रगाढ थियो ।


नेपाली खासगरी काठमाडौं उपत्यकाको संस्कृति र समाजबारे उनको पुस्तकमा भएका बाँकी २७ वटा लेख विभिन्न विषयसँग सम्बन्धित छन्, जुन किताबका खण्डहरूले विम्बित गर्छन् : ‘संस्कृति र समाज’, ‘साहित्य, व्याकरण र अनुवाद’, ‘स्थाननाममा प्रागैतिहास’, ‘पुरातत्त्व विज्ञान र इतिहास लेख’, ‘वंशावलीहरूको मूलपाठ’ र ‘धर्म र कला’ ।


यीमध्ये छानिएका केही लेखको चर्चा गर्दा प्रा. मल्लले दिएको बौद्धिक योगदानबारे बढी प्रस्ट होला । ‘अमृतानन्दको सन् १८३१ को व्याकरण’ नामक लेखमा अंग्रेज रेजिडेन्ट ब्रायन हजसनका लागि अमृतानन्द वैद्यले तयार पारेको नेवार भाषाको व्याकरणबारे चर्चा छ । यसमा हजसन र वैद्य दुवैको जीवनीका साथै उनीहरूका कामको व्याख्या गरिएको छ । सो पाण्डुलिपिमा नेपाली व्याकरणको पनि केही अंश रहेकाले त्यसलाई नेपाली व्याकरणको पनि पहिलो जाँचपडताल हो भनी प्रा. मल्लले निष्कर्ष निकालेका छन् । प्रा. मल्लले सो हस्तलिखित व्याकरणको आलोचना गरेका छन् ।


साथै हजसन र वैद्यको प्रयासको सराहना पनि । उनका भनाइमा सो पाण्डुलिपि दुईवटा विद्याका संस्कारको अन्तरक्रियाको उपज थियो । प्रा. मल्लका विचारमा यो पाण्डुलिपि एक प्रखर नेपाली विद्वान्ले आफ्नो भाषालाई एक जिज्ञासु पश्चिमा विद्वान्ले बुझ्ने हिसाबले प्रस्तुत गर्न गरिएको कोसिस थियो । प्रा. मल्लका शब्दमा ‘दुवै जना पाणिनि थिएनन् ।’


‘संस्कृति र समाज’ खण्डमा भएका लेखको महत्त्व अहिले पनि धेरै छ । नेपाली बुद्धिजीवीबारे लेख त्यसै खण्डमा छ । नेपाली विद्वान्हरूको बौद्धिक उत्पादन त्यस बेला र अहिलेमा तात्त्विक फरक देखिँदैन । नेपालको कला, वास्तुकला, धर्म, संस्कृति, इतिहास, समाजशास्त्र, मानवशास्त्र, भूगोल, राजनीतिक विकास, भाषा र भाषा विज्ञानबारे किताब र अनुसन्धानात्मक लेखहरू कति छन् भनेर खोजी गरेका थिए उनले ।


प्रकाशितमध्ये कति विश्वस्तरका छन् भनेर प्रश्न गरेका थिए । अहिले आधा शताब्दीपछि नेपालको बौद्धिक क्षेत्रमा अनगिन्ती प्रकाशन भैरहेका छन् तर तीमध्ये अन्तर्राष्ट्रिय स्तरका थोरै मात्र छन् ।


‘काठमाडौं उपत्यकाको कब्जा र त्यसको नतिजा’ लेखमा उनले पृथ्वीनारायण शाहको नेपाल उपत्यकामाथिको आक्रमण र विजयपश्चात् भएका परिवर्तनबारे चर्चा गरेका छन् । उपत्यकाबाहिरका मानिसको आगमनले जुन परिस्थिति तयार पारेको छ, त्यसबारे चर्चा गर्दा प्रा. मल्लले लेखेको यो वाक्य बेलाबखत उद्धृत गरिन्छ ः ‘नेवारहरू आफ्नै घरमा विदेशी भएका छन् ।’


काठमाडौँ उपत्यकाका नदीहरूको नामको प्रादुर्भाव र क्रमिक परिवर्तनबारे पनि उनले आफ्ना विचार व्यक्त गरेका छन् । ठाउँका नाम समयसँगै परिवर्तन हुनु स्वाभाविक मान्छन् उनी तर पछिल्लो समयमा नदीका मौलिक नाम हटाएर पुरानो कुरासँग केही सम्बन्ध नभएका नाम राखिएको गुनासो गरेका छन् । जस्तो कि, सावासाँखुदेखि हनुमन्ते वा हिजारखुर्सी (धुने काम गरिने खोला) देखि रुद्रमती (जसको चलनचल्तीको नाम धोबीखोला बढी प्रचलित हुनुको कारण पुरानो चलनको प्रभाव होला भन्छन् प्रा. मल्ल) ।


प्रा. मल्लको ‘पुरातत्त्व विज्ञान तथा इतिहास लेखन’ सो विषयको ज्ञाता नभएका हामीजस्ता जनसाधारणलाई पढ्न अति नै कठिन खण्ड हो । निकै प्रशंसा कमाएको मेरी स्लुसरको ‘नेपाल मण्डल’ को पुस्तक समीक्षा गर्दै उनले यसको कडा आलोचना गरेका छन् । स्लुसरको अध्ययन विधिलाई ‘सतही पुरातत्त्व विज्ञान’ भन्दै त्यसका कमजोर पक्षहरूको राम्रो उजागर गरेका छन् । त्यति गर्दागर्दै पनि उनले काठमाडौँ उपत्यकामा पुरातात्त्विक अन्वषेण गर्दा आइलाग्ने कठिनाइ पनि औँल्याएका छन् । उनले भनेका छन्, ‘उपत्यकामा उत्खनन गर्ने काम गर्नु भनेको दैवी तथा मानवीय दुवै खालका क्रोधको सामना गर्नु हो ।’ स्लुसरको कमजोरी औँल्याउँदै नेपाल उपत्यकाको संस्कृति सम्बन्धमा अध्ययन गर्न संस्कृत र नेवार दुबै भाषाको राम्रो ज्ञान तथा नेपाली शिलालेखन र संवत्हरूबारे राम्रो बुझाइ हुन जरुरी छ भनेका छन् उनले । अन्ततः आलोचना गरे पनि स्लुसरको किताबलाई उनले विशिष्ट योगदान मानेका छन् । उनका विचारमा कुनै दिन कसैले साबेल चलाएर उत्खनन गरेर अध्ययन गरेका खण्डमा मात्र यस किताबको विकल्प तयार हुन्छ ।


प्रा. मल्लले इतिहास संशोधन मण्डलका सदस्यहरूसँग आफ्नो रोष पोखेका छन् । मण्डलका संस्थापक नयराज पन्त लगायतले ‘लिच्छवी कालको निर्णय’ नामक किताबमा सन् ५७६ मा मानदेव संवत् सुरु भएको किटान गरेको विषयमा उनले ‘मानदेव संवत् ः एक ऐतिहासिक धोखा’ शीर्षकको लामो लेख लेखेका छन् । त्यसबारे अनुसन्धानका माध्यमबाट विस्तृत रूपमा खण्डन गरेका छन् । मण्डलका सदस्यहरूको आफूप्रतिको तीन दशक पुरानो पूर्वाग्रह र उनीहरूले दिएको चुनौतीलाई मुखभरिको जवाफ नदिई नहुने भएकाले सो लेख तयार पारेको उनले बताएका छन् ।


अन्त्यमा, उनको पुस्तक प्रकाशनसँग सम्बन्धित एउटा व्यक्तिगत प्रसंग प्रस्तुत गर्न चाहन्छु । सन् २००५ मा ब्रिटिस इतिहासकार जन ह्वेल्पटनको ‘अ हिस्ट्री अफ नेपाल’ प्रकाशित भएको थियो र राजाको शासनले त्यसलाई तुरुन्तै निषेध गरेको थियो । सो पुस्तकको समीक्षा मैले त्यही साल र प्रा. मल्लले एक वर्षपछि गरेका थियौँ । ह्वेल्पटनले किताबको आवरणमा आफूले सन् १९७० को दशकमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढाउँदा ताकाको सो सहरको कुनै सडकको तस्बिर राखेका थिए । मैले सो तस्बिरमार्फत लेखकले नेपालको इतिहास पहाडको मात्र होइन भन्ने कुरा एकदमै प्रभावकारी ढंगले व्यक्त गरेको भनी लेखेको थिएँ । प्रा. मल्लले आफ्नो समीक्षाको अन्त्यमा सो तस्बिर नेपाली इतिहासको भूत, वर्तमान वा भविष्य केहीसँग पनि सरोकार नराख्ने भनी आलोचना गरेका थिए । त्यसको केही वर्षपछि मैले आफ्नो द काठमाडौं पोस्टको नियमित स्तम्भमा प्रा. मल्लको सो भनाइ उद्धृत गर्दै मल्लले पछि आफ्नो यो विचार संशोधन गरे कि भनी प्रश्न गरेको थिएँ । मैले लेखेको थिएँ, ‘उनको यो समीक्षा प्रकाशन भएका बेला, वीरगन्जको त्यही सडक नेपालको नागरिक भएका नाताले पाउनुपर्ने हकको संघर्षमा होमिएका मानिसले भरिभराउ थियो । यस आन्दोलनले अरू केही गरेन भने पनि वीरगन्ज र मधेसीहरूको ठाउँ अब आउने नेपालको इतिहासमा सुरक्षित गरेको छ ।’


त्यसको केही समयपछि प्रा. मल्लबाट अलिकति रुष्टताको छनक आउने इमेल पाएँ । उनको सँगालोमा राख्ने भनिएका लेखहरू प्रूफ हेर्नका लागि उनलाई दिएको छ वर्ष भइसकेको थियो । आफ्नै व्यस्तताका कारण फेरि घच्घच्याइरहन भ्याएको थिइनँ । आफ्नो आलोचना भएका मेरा हरफहरू कपीपेस्ट गरेर उनले इमेलमा लेखेका थिए, ‘मलाई पनि मेरा पहिलेका लेखहरू पढ्दा तपाईंलाई जस्तै लागेको छ । नेपालमा अहिले जस्तो किसिमले द्रुत गतिमा परिवर्तन भएको छ, त्यसले गर्दा पुरातत्त्वबाहेक अरू विषयका मेरा लेख सान्दर्भिक नभएजस्तो लाग्यो ।’ उनले पुस्तक प्रकाशन गर्ने कामबाट पछि हट्ने मनसाय व्यक्त गरेका थिए ।


प्रा. मल्ल अलिकति थाकिसकेका थिए होलान् । उनको स्वास्थ्य खराब हुँदै गएको थियो । छोरासँग बस्न सदाका लागि अमेरिका जानुअघि उनको घरबाट छोराको बिहेका लागि किनेका गहना चोरी भएका थिए । त्यति हुँदाहुँदै पनि लेखहरूको संकलनको योजना नत्याग्न मनाउन सफल भइयो र अन्ततोगत्वा नेपाल अध्ययनको एक महत्त्वपूर्ण कडीका रूपमा चिनिएको ‘फ्रम लिटरेचर टु कल्चर’ प्रकाशन गरेरै छाडियो । प्रा. मल्ल हामीलाई छाडेर गइसकेका छन् तर आफ्ना शब्द सबैका लागि साझा बनाएर गएका छन् । प्रकाशित : फाल्गुन ७, २०७६ १५:४२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शिक्षाका पथप्रदर्शक

जयपृथ्वी शिक्षाबाटै समाज परिवर्तन हुन्छ भन्ने मान्यता राख्थे । उनको लगनकै कारण सुदूरपश्चिमको बझाङ पहिलादेखि नै शिक्षित भनेर चिनियो । 
वसन्ती शाही

बझाङमा शिक्षाको प्रसंग उप्किँदा सबैले सम्झने नाम हो, जयपृथ्वीबहादुर सिंह । राणाशासन ढल्नुभन्दा धेरै वर्षअघि जयपृथ्वीले बझाङमा विद्यालय खोलिदिए । आधारभूत शिक्षासम्बन्धी नेपाली भाषाकै पुस्तक पनि उनैले लेखिदिए । र, विस्तारै बझाङ शिक्षित जिल्लाका रूपमा कहलिन थाल्यो । 

बझाङमा विद्यालय आइपुग्नुको पनि कथा छ । जयपृथ्वीले १९६३ सालमा काठमाडौं, नक्सालस्थित आफ्नै दरबारमा सत्यवादी पाठशाला खोलेका थिए । त्यसको हेडमास्टर उनी आफैं थिए । त्यहाँ पढाइ हुने पाठ्यपुस्तक उनले नै लेखेका थिए । त्यतिबेला चारपासेलाई सरकारी सेवा प्रवेश गर्न मान्यता दिइन्थ्यो ।

पछि त्यही सत्यवादी पाठशालालाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बन्द गरिदिने आशंकामा जयपृथ्वीले १९६९ सालमा बझाङको जयपृथ्वीनगरमा सारेका हुन् । त्यो विद्यालयले सालिन्दा एक हजार रुपैयाँ अनुदान राज्यकोषबाट पाउँथ्यो । १९७३ सालमा त्यो विद्यालयलाई बझाङ, भोजपुरको अड्डाघरमा सारियो । त्यति बेला मेरा बुबा त्यहाँको विद्यार्थी हुनुहुन्थ्यो । महिनाको ३५ रुपैयाँ तलब पाउने गरी भारतबाट रामदत्त अवस्थी नामका हेडमास्टर राखिएको थियो रे । उनी निकै राम्रो पढाउँथे तर रिस भने उनको नाकको टुप्पोमै थियो रे । साह्रै रिस उठ्यो भने विद्यार्थीलाई ‘गधा कहीँका’ भनेर गाली गर्थे रे ।

सत्यवादीलाई सरुवा भई आएको विद्यालय पनि भनिन्छ । हाल यसमा जयपृथ्वीबहादुर क्याम्पस खोलिएको छ । यो क्याम्पसमा २०३८ सालदेखि स्नातकसम्म पढाइ भइरहेको छ । दूरदराजमा रहेको बझाङ शिक्षाप्रेमी जयपृथ्वीको शिक्षाप्रतिको लगनकै कारण पहिलादेखि नै शिक्षित भएको हो । त्यसो त उनलाई नेपालकै शिक्षामा पथप्रदर्शक भन्न मिल्छ । देवशमशेरले जयपृथ्वीकै सल्लाहमा नेपालमा विद्यालयहरू विस्तार गरेका थिए ।जयपृथ्वी शिक्षाबाटै समाज परिवर्तन हुन्छ भन्ने मान्यता राख्थे ।

जयपृथ्वीले विभिन्न किसिमका पुस्तक लेखेका थिए जसमा तत्त्वप्रशंसा, पदार्थतत्त्व र मानवतावाद प्रमुख हुन् । उनले आधारभूत शिक्षासम्बन्धी अक्षरमाला, व्यवहारमाला, प्राकृत व्याकरण, शिक्षा दर्पण, स्रेस्ताबोधजस्ता किताब पनि लेखेका छन् । उनले चार दिनभित्रै अक्षरांक भन्ने किताब लेखी तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरलाई बुझाएका थिए । त्यतिबेला उनले स्यावासी पाएको विष्णुप्रसाद खत्रीद्वारा लिखित किताब ‘बझाङ संक्षेप’ मा उल्लेख छ । तर राणाशासकहरूको दाउपेचका कारण देवशमशेर धपाइए । चन्द्रशमशेर सत्तामा आएपछि स्कुलहरू बन्द हुन थाले ।

जयपृथ्वी १९३४ भदौ ५ गते बझाङमा जन्मिएका हुन् । उनी जंगबहादुर राणाका भान्जा हुन् । उनको बाल्यकालको शिक्षादीक्षा काठमाडौंको थापाथली दरबारमा भएको थियो । उनले म्याट्रिकुलेसनदेखि स्नातकसम्म भारतका कोलकाता र प्रयागमा पढे । उनको विवाह चन्द्रशमशेरकी छोरी खगदिव्यश्वरीसँग १९५१ सालमा भयो । विवाहपश्चात् उनले ससुरालीबाट पश्चिमका छान्नादरा, कुन्नादरा, डिलकोटेली दरा, सटिकादरा बिर्ता पाएका थिए ।

उनी १९४७ सालमा बझाङका राजा भए । उनले राज्यभूमिको बीच, सबैलाई पायक पर्ने ठाउँमा आफ्नो दरबार र राज्य सञ्चालन गर्न अड्डाखाना स्थापना गरे । त्यो ठाउँको नाम जयपृथ्वी नगर राखे ।

उनी चिन्तनशील, अध्ययनशील र सिर्जनशील थिए । उनको स्वभाव सरल र नम्र थियो । धर्ममा उनी निकै विश्वास गर्थे । उनी अध्यात्म विद्यालाई भौतिक विज्ञानबाट खारेर चिन्तन गर्थे । राणाका भान्जा र ज्वाइँ भए पनि उनलाई राणाहरूको रबैया मन पर्दैनथ्यो । उनी प्रजातन्त्र रुचाउँथे । समाजमा परिवर्तन देख्न चाहन्थे । उनले मानवतावादी र सह–अस्तित्वको सिद्धान्त प्रतिपादन गरे । उनी भारतका अहिंसावादी नेता महात्मा गान्धी र रुसका साम्यवादी नेता भीआई लेनिनका दर्शन र सिद्धान्तसँग नजिक थिए ।

जयपृथ्वीले आफ्नो राज्यभित्रको राजपरिवारको जग्गामा समेत जोत्नेको हक कायम गराएका थिए । उनी मानव स्वास्थ्यप्रति सकारात्मक थिए । आफ्नो राज्यभित्रका जनतालाई भारतबाट स्वास्थ्यकर्मी झिकाई स्वास्थ्यसम्बन्धी चेतना जगाउँथे । आफ्नो राज्यलाई उतिबेलै खुला दिसामुक्त बनाउन उनले पहल गरेका थिए । जयपृथ्वीले आफ्नो देशमा हिन्दी र अंग्रेजी भाषाको प्रभाव पर्न लागेको देखेर गाउँघरमा बोलिने खस भाषाको व्याख्या गरी तत्कालीन श्री ३ देवशमशेरबाट यसलाई नेपालको राष्ट्रिय भाषा घोषणा गराएका हुन् ।

जयपृथ्वीले नेपालकै पुरानो पत्रिका गोरखापत्रको संस्थापक र प्रधान सम्पादक भई मुलुकमा जनचेतना जगाए । तत्कालीन श्री ३ चन्द्रशमशेरसँग बेलायत भ्रमणमा जाँदा बेलायती सम्राट् एडबर्डसँग पत्रकार तथा गोरखापत्रका प्रधान सम्पादकको हैसियतले उनले अन्तर्वार्ता लिँदा सम्राट् प्रभावित भएको बताइन्छ । त्यतिबेला राणा परिवारबाहिर कर्णेल पदभन्दा माथिको ठूलो पद दिन नमिल्ने जहानियाँ राणाशासनको नीतिगत व्यवस्था भए पनि जयपृथ्वीलाई सम्राट्ले बेलायतको अनरेरी कर्णेल पदले सम्मान गरेका थिए ।

जयपृथ्वीबहादुर सिंह न्याय र कानुनप्रेमी मात्र थिएनन्, हक्की पनि थिए । उनलाई देवशमशेरले भारदारी अड्डाको प्रमुख भारदार, प्रधानन्यायाधीशमा नियुक्ति दिएका थिए । तप्तबहादुरलाई मारेको मुद्दामा तत्कालीन बडाहाकिम कुमारजंग राणालाई सफाइ दिई जुद्धजंगलाई अपराधी ठहर गर्दा चन्द्रशमशेरले रिसाएर ‘यो पाखे ठकुरीलाई किन न्याय गर्न राखेको ?’ भनेछन् । यो वचन सहन नसकी उनले तुरुन्तै आफ्नो पद त्यागे । यही वचनको ईख लिएर आफ्नो राज्य पनि त्याग गरी उनी १९७३ सालमा प्रवासी बने ।

भारतमा रहँदा उनले बैंग्लोरमा मानवतावादी क्लब खोले । विद्वान् रवीन्द्रनाथ टैगोरजस्ता व्यक्तिहरूसँग सत्संग गरे । अमेरिका, जापान, बेलायतलगायतका देशमा मानवतावादी क्लबका शाखा खोले । मानवतावादको सन्देश बोकेर विश्व भ्रमण गरे । उनी भन्थे, ‘मेरो जात मानव हो । मेरो धर्म मानवता हो । मेरो सिद्धान्त मानवतावाद हो । मेरो अरू कुनै धर्म र जात छैन ।’ यसरी विश्वभ्रातृत्व, शान्ति र सह–अस्तित्वको सन्देश लिएर विश्व भ्रमण गर्ने पहिला नेपाली मानवतावादी जयपृथ्वी नै हुन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति हर्बट हुवरले विश्व धर्म संघको दोस्रो महासभा आयोजना गर्नका लागि सघाइदिन दुई वर्ष अगाडि नै जयपृथ्वीलाई सिकागोमा निमन्त्रणा गरेका थिए । यो कार्यक्रमको सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मा उनले नै लिए । महासभामा १६५ देशका सबै किसिमका धर्मगुरु र राष्ट्र प्रमुखले भाग लिएका थिए । यसै बेला सिकागो रेडियोमा उनले दिएको वक्तव्यले अन्तर्राष्ट्रियजगत्मै ख्याति कमाएको थियो । सन् १९३३ मा भएको यही धर्मसभामा धर्मनिरपेक्षता र सह–अस्तित्वको सिद्धान्त सर्वमान्य हुने गरी प्रतिपादन गरिएको थियो । त्यस बेला जयपृथ्वी संघको कार्यकारिणी उपाध्यक्ष भई विश्वमा मानवतावादी शिक्षा फैलाउन सफल भए ।

यसै विश्व धर्म महासंघको पृष्ठभूमिमा सन् १९४५ मा तत्कालीन अमेरिकी राष्ट्रपति रुजवेल्ट र बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिलसमेतको अगुवाइमा संयुक्त राष्ट्रसंघ गठन भयो । यसरी जयपृथ्वीले विश्व भ्रातृत्व, सह–अस्तित्व र विश्वशान्तिका लागि अहम् भूमिका खेले ।

इटालीले इथियोपियामाथि आक्रमण गर्दा धेरै ठूलो धनजनको क्षति भयो । त्यसबेला जयपृथ्वी आफ्नो ज्यानको बाजी लगाएर युद्धपीडितको उद्धारमा खटिए । त्यस बेला औषधिमूलो, स्वास्थ्यकर्मी र अन्य व्यवस्थापनमा लागेको खर्च उनले आफैं बेहोरेका थिए । सेवा गर्दागर्दै उनले त्यही युद्धबन्दीसमेत हुनुपर्‍यो । यसै धपेडीले उनको स्वास्थ्य बिग्रँदै गयो । त्यहाँबाट उनी बैंग्लोर फर्किए । उनको स्वास्थ्यलाभ हुन सकेन । १९९७ असोज १ गते सधैंका लागि आँखा चिम्लिए ।

सत्कर्मका गाथाले भरिएका जयपृथ्वी राष्ट्र्रिय र अन्तर्राष्ट्रियजगत्मा सम्झिइरहनेछन् । उनको मानवतावादी नारा ‘मनो जयति यः जयति ब्रह्माण्ड’ समेत अमर छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १५:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×