अढाई दशकसम्म नेपाली सिने जगत्मा एकछत्र राज गरेका राजेश हमाल जन्मेको ६० वर्षपछि जन्मस्थल फर्किए । २०२१ जेठमा पाल्पाको तानसेन–५ अर्चलेमा जन्मिएका हमाल पहिलो पटक जन्मस्थल पुग्दा निकै हर्षविभोर भए ।
पाल्पा — सिने क्षेत्रका चर्चित नायक हुन्, राजेश हमाल । अढाई दशकसम्म उनले नेपाली सिने जगत्मा एकछत्र राज गरे । उनै हमाल जन्मेको ६० वर्षपछि जन्मस्थल फर्किएका हुन् । हमाल २०२१ जेठमा पाल्पाको तानसेन नगरपालिका–५, अर्चले (साविक बराङदी) मा जन्मिएका थिए । जन्मेहुर्के र बढेर अहिलेसम्म उनी जन्मस्थान फर्किएका थिएनन् । पहिलो पटक जन्मस्थल पुग्दा भने उनी हर्षविभोर देखिए ।
६० वर्षपछि असार २४ मा जन्मस्थल पुगेका उनले एक जना नातेदारबाहेक कोही भेटेनन् । ५० वर्षीय विष्णु हमाललाई भेटेका हुन् उनले । विष्णुका बुबाको मामाको छोरा हुन् नायक हमाल । हमालका कान्छो बुबा बुटवल बस्थे । तर अहिले काठमाडौं सरिसके । ‘म जन्मेको गाउँ यस्तो रहेछ भन्ने खुब सम्झनेछु,’ उनले स्थानीयसँग कुराकानी गर्दै भने, ‘म निकै खुसी भएँ । यति रमाइलो अनुभव धेरै पछि भयो ।’ आफ्नो जग्गा किनेकाहरूसँग नायक हमालले केहीबेर भलाकुसारी गरे । पारिवारिक विवरण लिए । बुबा, कान्छोबुबाका विषयमा घोत्लिए । बेलीबिस्तार लाउँदै स्थानीय चन्द्र रानाले भने, ‘बुबाहरूले गाउँलाई सम्झनुहुन्थ्यो होला खुब ।’
नायक हमाल यसअघि अन्य कार्यक्रममा तानसेन बजार भने धेरै पटक आएका थिए । तर यस पटक भने उनलाई जन्मेको स्थान देख्न मन लाग्यो । अझ मिसन अस्पतालको कहाँनेर जन्मिएको हो भन्ने पनि देख्न मन लाग्यो । ‘म जन्मिएको गाउँ अनि जन्मेको अस्पताल पुग्दा निकै आनन्द लाग्यो,’ उनले भने, ‘धेरैबेर गफ गरेर बसुँबसुँ लागेको थियो ।’ स्थानीयको स्वागत, सत्कार, स्नेहबाट नायक हमाल मोहित मात्र भएनन् । उनलाई उठेर हिँड्नै मन लागेन । तानसेनदेखि ४ किलोमिटरको दूरीमा भए पनि सडक अप्ठेरो भएकाले लामो समय भलाकुसारी गर्नबाट वञ्चित भए ।
हमालको पुर्ख्यौली घर भने भत्किसकेको छ । त्यो घर स्वर्गीय पहलसिंह रानाले किनेको उनका माहिला छोरा चन्द्रबहादुरले सुनाए । ‘स्थानीय नाम राते र लंगुरेभन्दा मलाई अचम्म लाग्यो,’ उनले हाँस्दै भने । कान्छो बुबा भारतीय लाहुरे थिए । हमालले साँध, सिमाना, बारी, तल्लो भेगको खेतीपातीका विषयमा पनि जानकारी लिए । गाउँको परिवेशमा निकै आनन्द मानेका नायक हमाल मिसन अस्पतालमा आफू जन्मेको भवन अवलोकन गर्न पुगे । अस्पतालका प्रबन्धक जीवन भट्टराईको समूहले भवनका साथै अहिलेको अवस्थाका विषयमा नायक हमाललाई जानकारी गराए । ‘त्यसबेलाको भवन अहिले छैन,’ उनले भने, ‘तर यही स्थानमा भवन रहेको र त्यसबेलामा सानो अस्पताल भएको जानकारी दिइयो ।’ नायक हमालले मिसन अस्पतालको अहिलेको अवस्थाबारे अवलोकन गरेका थिए ।
नायक हमालका स्वर्गीय बुबा चुडाबहादुर सम्पन्न परिवारका थिए । पढेलेखेका भएकाले बुबा चुडाबहादुर तानसेनमा पद्म पब्लिक नमुना माविको प्रधानाध्यापक भए । २०१२ देखि ०१६ सालसम्म विद्यालयको प्रधानाध्यापक भएका उनका बुबा पछि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्रमुख बने । त्यसपछि काठमाडौं गए । नायक हमालका बुबा नेपालका तर्फबाट राजदूत भए । तर पछि पाल्पा भने फर्केनन् । ‘हामी जहाँ जहाँ पुगे पनि मेरो बुबाले पाल्पालाई धेरै सम्झनुहुन्थ्यो,’ नायक हमालले भने, ‘बुबा फर्केर नआए पनि म आएको छु ।’ नायक हमालले विद्यालय तहको शिक्षा मस्कोबाट गरेका हुन् । उच्च शिक्षा (एमए अंग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट गरे । नेपालमा कक्षा ८ सम्म भने उनले सेन्ट जेभियर स्कुलमा अध्ययन गरेका थिए ।
नायक हमाल आफ्ना बुबा प्रधानाध्यापक भएको पद्म पब्लिक नमुना माविमा पनि पुगे । विद्यालयमा उनलाई सम्मान पनि गरियो । पाल्पाली ढाकाटोपी र इस्टकोट लगाइदिँदा उनी भावुक बने । ‘स्व. पिताजीको विद्यालयमा आउने धोको मैले पूरा गरिदिएँ,’ भावुक बनेका नायक हमालले भने, ‘स्वागत र सम्मानबाट आफूलाई गौरवान्वित ठानेको छु । बुबाले विद्यालयका बारेमा भन्नुहुन्थ्यो, आज प्रत्यक्ष देख्न पाएँ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीले स्वर्गीय चुडाबहादुरको विषयमा जानकारी गराएका थिए । त्यसपछि हमाल मावली गाउँ भैरवस्थान पुगेर भैरव मन्दिरको दर्शन गरे । ‘मेरो जन्मस्थल मात्र नभई माताको जन्मस्थल पनि पाल्पा,’ उनले भने, ‘त्यसैले मैले कहिल्यै भुल्ने छैन ।’ भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेललगायतले नायक हमाललाई स्वागत तथा सम्मान गरेका थिए ।
नायक हमालले पाल्पाका पर्यटकीय स्थल अवलोकन गर्ने जमर्को गरेका थिए । यसको व्यवस्थापन समाजसेवी तथा नेपाल दर्शनका सन्दीप रानाले मिलाएका हुन् । तीन दिनको यात्राका क्रममा उनले रामपुर, तानसेन र आसपासका पर्यटकीय स्थलको समेत अवलोकन गरे । ‘हामीले बाटो अप्ठ्यारो छ भन्दा पनि त्यो ठाउँ जानुपर्छ भन्नुभयो,’ नेपाल दर्शनका रानाले भने, ‘घामपानी नभनी पर्यटकीय स्थल पुगेर रमाइलो गर्नुभयो ।’
नायक हमाल चितवन, गैंडाकोटदेखि कालीगण्डकी करिडोर हुँदै पाल्पाको रामपुर आएका थिए । सुरुमा निस्दी गाउँपालिकाको काउलेडाँडा अम्लिसोको वन पुगेका थिए । जहाँ नेपालकै ठूलो अम्लिसो बगान रहेको छ । मगरी संस्कृति, झाम्रेमा रमाएका नायक हमाल मस्कीमस्की नाचे । अम्लिसोको वनमा घोडचढीमा रमाए । रामपुरको बेझाड बजारमा उपकार सुपर मार्ट प्रालिले ‘क्लोथ एन्ड फुड बैंक नेपाल’ को समन्वयमा स्थापना गरेको कपडा बैंकको ड्रप बक्सको नायक हमालले उद्घाटन गरे ।
लगत्तै सरकारको सय पर्यटकीयस्थल तालपोखरामा डुंगा चढे । बेलुकी १० अवतारको वालन नाच अवलोकन गरेर आनन्दित भए । गिद्ध संरक्षण क्षेत्र खैरेनी सामुदायिक वन पनि पुगे । नायक हमालका विगतका सहयात्री नायक धीरेन शाक्य पनि भैरहवा हुँदै तानसेनमा भेट भए । तानसेन बजार धीरेनको जन्मथलो हो । सहयात्रीको सँगसँगै चियागफ, तानसेनको पाल्पा दरबार संग्रहालय अवलोकन, अमरनारायण मन्दिर, भगवती मन्दिर, श्रीनगरलगायतका स्थानको अवलोकन गरे । तानसेनको टुँडिखेलमा मर्निङ वाक पनि गरेका थिए । नायक हमाललाई तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठलगायतले पाल्पाली ढाकाटोपी लगाएर स्वागत गरे ।
‘अमर नारायण मन्दिरका विषयमा निकै चासो लिनुभयो,’ स्थानीय हिमालदत्त श्रेष्ठले भने, ‘यसको इतिहासका साथै धेरै पुरानो मन्दिर भएकाले पनि महत्त्वको भएको प्रतिक्रिया दिनुभयो ।’ रानीमहल जाने कार्यक्रम थियो । तर वर्षाका कारण असहज बन्यो । रिडी र रानीमहल पुर्याउने इच्छा भए पनि नसकिएको व्यवस्थापनमा खटिएका सन्दीप रानाले बताए । यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरी आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूको वृद्धि गराउने आफ्नो इच्छा रहेको नायक हमालले संक्षिप्त प्रतिक्रिया दिए ।
