काठमाडौँ — सन् २००६ मा आजकै दिन (जुलाई १५) मा सामाजिक सञ्जाल ट्विटर (हाल एक्स) सर्वसाधारण प्रयोगकर्ताका लागि खुला भएको थियो । ज्याक डोर्सी, इभान विलियम्स, नोआ ग्लास र बिज स्टोनद्वारा २००६ मार्च २१ मा स्थापित ट्विटर स्थापनाको छोटो अवधिमै निकै लोकप्रिय भएको थियो ।
२०१२ सम्ममा ट्विटर प्रयोग गर्नेको संख्या १० करोड नाघिसकेको थियो । एक दशकको अवधिमा यसका प्रयोगकर्ता ३० करोडभन्दा बढी पुगेका थिए । हाल भने यसका ५५ करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् ।
२०२२ अप्रिलमा ‘स्पेस एक्स तथा टेस्ला’का प्रमुख कार्यकारी अधिकृत इलन मस्कले ट्विटर खरिदका लागि प्रक्रिया अघि बढाएका थिए । सोही वर्षको अक्टोबरमा उनले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरे ।
मस्कले २०२२ अक्टोबर २७ मा ट्विटरको नाम परिवर्तन गरेर ‘एक्स’ राखेका हुन् । यसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा छ ।
