काठमाडौँ — आजकै दिन (७ अप्रिल) सन् १९७० मा हलिउडका चर्चित अभिनेता जोन वेनले हेनरी हाथवेद्वारा निर्देशित ट्रु ग्रिट सिनेमाको मुख्य भूमिकाका लागि ओस्कारबाट पुरस्कृत भएका थिए ।
अभिनयका कारण भिन्नै पहिचान बनाएका वेनले १ सय ५० भन्दा बढी सिनेमामा काम गरेका थिए । ४० र ६० को दशकका चर्चित निर्देशकहरू जोन फोर्ड र होवार्ड हक्सका सिनेमामा वेनले गरेको अभिनयले बलिउडमा उनको विशिष्ट नाम बनेको थियो ।
ओस्कार पुरस्कारका लागि १९४९ मा स्यान्ड्स अफ इओ जिमाका लागि पहिलो पटक मनोनयनमा परेका वेनले पुरस्कार हात पार्न भने २१ वर्ष पर्खनुपर्यो । वेन आफैंले निर्देशन र अभिनय गरेको द अलामो (१९६०) मा उत्कृष्ट सिनेमाको मनोनयनमा परेको थियो ।
वेनको अन्तिम सिनेमा सन् १९७६ मा रिलिज भएको द सुटिस्ट थियो । हलिउडका यी अब्बल अभिनेताको ७२ वर्षको उमेरमा १९७९ जुन ११ मा निधन भएको थियो ।
