‘बुढीपोल्ली’ मा सुदूरका कथा

चैत्र २५, २०८०

कान्तिपुर संवाददाता

Stories from far away in 'Budhipolli'

काठमाडौँ — खेम बतासको कथासंग्रह ‘बुढीपोल्ली’ शनिबार राजधानीको शिल्पी थिएटरमा समालोचक बिन्दु शर्मा, कवि/कथाकार बिना थिङ, कवि सोझो गाउँले र पत्रकार फणीन्द्र संगमले संयुक्त रूपमा विमोचन गरेका छन् । 

विमोचनपछि गरिएको बहसमा वक्ताहरूले सुदूरपश्चिमको आञ्चलिकतालाई पुस्तकले बलियो गरी प्रस्तुत गरेको बताए । गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति लेखकको सहानुभूति सकारात्मक देखिएको उनीहरूको भनाइ थियो ।

शर्माले सदियौंदेखि चलिरहेको सांस्कृतिक उत्पीडनप्रति असहमति प्रकट गर्दै लेखकले नयाँ चेतनाको खोजी गरेको बताइन् । छाउपडी प्रथासँग सम्बन्धित कथा ‘मान्छे हराएको सूचना’को प्रसंगमा उनले हरेक मान्छे सामाजिक सोचसित डराउने भएकाले त्यो सोच बदल्नुपर्ने बताइन् । 

‘छाउ नमान्दा देउता रिसाउने भए छाउगोठ होइन देउताका मूर्ति भत्काउनुपर्छ,’ उनले भनिन् । थिङले महिलाको विषय र चरित्र निर्माणमा लेखक सकारात्मक देखिएको बताइन् । कथामा धेरै पात्रको आउजाउ भइरहँदा मूल पात्र नै ओझेलमा परेको उनको टिप्पणी थियो । ‘केही कथाका महिला पात्र विद्रोह गर्न तयार छैनन् तर केहीमा भने त्यो संकेत देखिएको छ,’ उनले भनिन्, ‘बुढीपोल्लीमा सुदूरपश्चिमका कथाव्यथा छन्, यो नेपाली साहित्यका लागि फरक स्वाद पनि हो ।’

कथाकारले उठाएका मुद्दामा आफू सहमत भएको भन्दै लेखक राजन मुकारुङले यी कथा सुदूरपश्चिमको मात्र नभई नेपालभित्रैका कथा रहेको भनाइ राखे । कवि गाउँलेले खेमका कथा परिवेश र उद्देश्यमा निकै सफल रहेको भन्दै प्रशंसा गरे । ‘सामाजिक कुरीति र विभेदविरुद्ध लेखकले क्रान्ति नै गरेका छन्,’ उनले भने, ‘सुदूरको सांस्कृतिक पक्षलाई बलियोसँग उठाइएको छ ।’  १२ लामा कथा संगृहीत पुस्तकलाई माया पब्लिकेसनले बजारमा ल्याएको हो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully