किरणको सारंगीको धुन...

बंगलादेशमा २ लाख बढी मानिसका अगाडि सारंगी बजाएर तालीको गडगडाहट प्राप्त गरेको क्षण अविस्मरणीय

चैत्र २४, २०८०

सन्जु पौडेल

Kiran's sarangi tune...

लुम्बिनी — गन्धर्व समुदायको बाजाका रूपमा रहेको सारंगी अहिले विश्वव्यापी बनेको छ । काठमाडौंको कीर्तिपुरका किरण नेपालीले पछिल्लो समय सारंगीको धुनलाई स्वदेश र विदेशमा फैलाउन ‘ब्रान्ड एम्बेसडर’ को काम गरिरहेका हुन् ।

कीर्तिपुर नयाँबजारमा जन्मिएका उनी नेपाली मौलिक संगीत प्रवर्द्धन गरिरहेको अग्रणी ब्यान्ड कुटुम्बमा आबद्ध छन् । तपाईं–हामीले कुटुम्ब ब्यान्डको प्रस्तुति हेर्दा किरणलाई सारंगी रेटिरहेको देख्न सक्छौं । किरणले सारंगी बजाउने मात्र नभई सिकाउने र ब्रान्डिङ गर्ने काम पनि गरिरहेका छन् ।

सन् २००८ सम्म कहलिएका गितारिस्ट बनिसकेका किरणलाई सारंगी प्रेमले अहिलेसम्म छाडेको छैन । ‘मानिसले हेर्न र छुन अप्ठ्यारो मान्ने दुःखी बाजा सारंगीको धुन विदेशमा समेत पुर्‍याएँ,’ उनले भने, ‘अमेरिका, अस्ट्रेलिया, हङकङ, भारत, बेलायतलगायत देशमा परिचित गराउन सफल भएँ ।’ सानैदेखि घरमा सारंगीको धुन सुनेर आफू हुर्किएको उनले सुनाए । सारंगीलाई हेपिएको बाजाजस्तो ठानेरै आफू त्यसलाई ब्रान्ड बनाउन लागिपरेको उनले बताए । बिहान उठ्नासाथ किरण आफ्नो कोठामा सजिएका भृकुटी, तारा, ध्वनि, पुन्टे, फुच्चे, स्तुतिलगायत नाम दिएका सारंगीलाई नियाल्छन् । आफ्ना गहनाका रूपमा रहेका तिनै सारंगीबाट उनी दिनको सुरुवात गर्छन् । नियमित १८ घण्टा सारंगी साधनामा बिताउने उनले सुनाए । आफू रमाउने र अरूलाई गमाइलो गराउने किरणको सांगीतिक साधनाले अहिले उचाइ पाइरहेको छ ।

हरेक बिहान साढे ६ बजेदेखि उनी सारंगीसम्बन्धी अनलाइन कक्षा लिन्छन् । साढे ९ बजेपछि सानेपामा रहेको प्रोजेक्ट सारंगी नामक कार्यालयतर्फ निस्कन्छन् । दिनैभरि सिकाउने, बजाउने र नयाँ खालको सारंगी बनाउने काममा व्यस्त रहन्छन् । किरणले सारंगीलाई परिमार्जित गर्न सकिए मात्र हरेक मानिसले यो बाजा बजाउने बताए । त्यसैले सारंगी उद्योग सञ्चालन गरेर विभिन्न नाम राखेर सारंगी बनाइरहेका छन् । ‘हामीले इलेक्ट्रिक सारंगीसमेत बनाइसकेका छौं,’ उनले भने, ‘गितारको जस्तो यसलाई पनि रक फ्युजनमा बजाउने बनाएका हौं ।’ उनीसित ११ देखि ७० वर्षसम्मका विद्यार्थीले सारंगी सिक्छन् । हालसम्म २ हजारभन्दा बढीले सिकिसकेको उनले बताए ।

बंगलादेशमा २ लाख बढी मानिसका अगाडि सारंगी बजाएर तालीको गडगडाहट प्राप्त गरेको क्षणले उनलाई औधी हौस्याउँछ । विभिन्न १६ वटा देशका वाद्यवादकसित एउटै मञ्च सेयर गरेर सारंगी बजाउँदा किरणलाई यस बाजाप्रति झनै लगाव बढेको उनले बताए । सारंगीसम्बन्धी धेरै अभूतपूर्व सम्झना सँगालेको उनले सुनाए । ‘स्कटल्यान्डमा सारंगी बजाइरहेका बेला धेरै वर्षदेखि अपांगता भएर अचेत रहेका एक बालकले औंला चलाएको क्षण म कहिल्यै भुल्न सक्दिनँ,’ उनले भने, त्यस्तै, म्यान्चेस्टर सिटीको फुटबल स्टेडियममा ८० हजार दर्शकका माझमा सारंगीको धुन सुनाउन पाउँदाको गर्व बयान गरी साध्य छैन ।’ आफूले अमिताभ बच्चनको गीतका लागि समेत सारंगीको धुन भरेको उनले सुनाए । सन् २०१४ मा बेलायतमा उनले एकल सारंगी साँझसमेत गरेका थिए । 

सन् २००८ मा सारंगी बजाउन सुरु गर्दा उनी २३ वर्षका थिए । त्यसै सालबाट एउटा कन्सर्टमार्फत कुटुम्बसँग जोडिए । त्यसपछि सारंगी चिनाउन र विश्वभरि यसको धुन फैलाउन सहज भएको उनले बताए । ‘कुटुम्बको लक्ष्य नै नेपाली लोकधुनलाई संसारभर चिनाउने हो,’ उनले भने, ‘नेपालीलाई यसको महत्त्व बुझाउन अहिले एक घर एक सारंगी अभियानमा लागेको छु ।’ किरणले सञ्चालन गरेको सारंगी उद्योगमा १२ हजार ५ सयदेखि १ लाख २० हजार रुपैयाँसम्मका सारंगी बन्छन् । ती सारंगी देश–विदेशमा बिक्री भइरहेका छन् । अमेरिकामा रहेका २ सयभन्दा बढी विद्यार्थीले नेपाली ब्रान्डको सारंगी नै बजाउने गरेको उनले बताए । ‘परिमार्जित भएपछि सारंगीलाई मानिसले हेर्ने नजर बदलिएको छ,’ उनले भने, ‘सारंगीलाई समयसापेक्ष र ‘कुल’ बनाउन यसको परम्परागत वाद्य शैली पनि पश्चिमा संगीत सिद्धान्तसँग जोड्ने प्रयास गरिरहेको छु ।’

युवा ग्यालरी

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully