सन् १९५५ मा आजकै दिन : बेलायती प्रधानमन्त्री चर्चिलद्वारा राजीनामा

चैत्र २३, २०८०

कान्तिपुर संवाददाता

On this day in 1955: British Prime Minister Churchill resigns

काठमाडौँ — आजकै दिन (अप्रिल ५) सन् १९५५ मा बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले राजीनामा दिएका थिए । युद्धकालीन समयमा पनि बेलायतको कुशल नेतृत्व गरेको श्रेय पाएका चर्चिलले शाही परिवार र मन्त्रिपरिषद् सदस्यलाई रात्रिभोजको आयोजना गरेर पदबाट अवकाश लिएका हुन् ।

उनी दुई पटक बेलायतको प्रधानमन्त्री बनेका थिए । पहिलो पटक सन् १९४० देखि १९४५ सम्म र दोस्रो पटक १९५१ देखि १९५५ सम्म बेलायतको प्रधानमन्त्री भए ।

चर्चिल सन् १९०० देखि १९६४ सम्म बेलायतको सांसद थिए । १९०४ देखि १९२४ सम्म लिबरल पार्टीका सदस्य रहेका चर्चिलले १९४० देखि १९५५ सम्म कन्जरभेटिभ पार्टीको नेतृत्व सम्हालेका थिए । सांसदका रूपमा उनको कार्यकालमा बेलायतमा भिक्टोरिया, एडवार्ड सातौं, जर्ज पाँचौं, एडवार्ड तेस्रो, जर्ज छैटौं र एलिजाबेथ द्वितीयसहित ६ जना राष्ट्रप्रमुख भए ।

बेलायतको अक्सफोर्ड सायरमा १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिल १८९५ मा बेलायती सैनिक सेवामा प्रवेश गरेका थिए । ब्रिटिस इन्डिया, एंग्लो सुडान तथा दोस्रो बोअर युद्धको अनुभव लिएका चर्चिल युद्धसम्बन्धी रिपोर्टका कारणसमेत चर्चित बनेका थिए ।

‘ओ माई गड’ को संक्षिप्त रूप ‘ओएमजी’ पहिलो पटक विन्स्टन चर्चिललाई लेखिएको पत्रमा प्रयोग भएको थियो । १९१७ को सेप्टेम्बर ९ मा लर्ड फिसरले चर्चिललाई लेखेको पत्रमा ओएमजी लेखिएको हो । चर्चिललाई सन् १९५३ मा नोबेल साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

चर्चिलको १९६५ को जनवरी २४ मा स्ट्रोकका कारण बेलायतको राजधानी लन्डनको हाइड पार्कस्थित आफ्नै निवासमा मृत्यु भएको थियो । आफ्नो जीवनकालमा चर्चिललाई ८ पटक स्ट्रोक भएको थियो । पछिल्लो पटक जनवरी १५ मा स्ट्रोक भएको थियो भने त्यसको ९ दिनपछि उनको मृत्युको भएको हो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully