सगरमाथाको फेदमा रियालिटी शो

नेपालसहित ६ मुलुकका ११ भ्लगरले लुक्लादेखि सगरमाथा आधारशिविरसम्म १२ दिन गरेको पदयात्रा तथा साहसिक गतिविधि समेटिएको ‘द च्यालेन्जर्स’ रियालिटी शो अमेजन प्राइममा 

चैत्र १७, २०८०

सुरज कुँवर

A reality show at the foot of Mount Everest

काठमाडौँ — इन्टरनेटको माध्यमबाट सिधै दर्शकसामु प्रस्तुत हुने स्ट्रिमिङ मिडिया प्लेटफर्म ओटीटी (ओभर द टप) मध्येमा एक नम्बरमा छ, नेटफिलिक्स । यसका विश्वभर २६ करोड ग्राहक छन् । त्यसपछिको स्थान भने अमेजनको प्राइभ भिडियोले लिएको छ । अमेरिकाको सियाटलमा रहेको अमेजन प्राइमका २३ करोड ‘पेड ‘सब्सक्राइबर’ छन् । 

यही विश्वको दोस्रो चर्चित ओटीटी प्लेटफर्मका सदस्यहरूको ध्यान भने यतिबेला विश्वकै अग्लो शिखर सगरमाथाको आधारशिविर र आसपासको हिमाली भेगमा तानिएको छ । त्यसको कारण हो, नेपाली निर्माताले नेपाली ब्यानरमा तयार पारेको ‘द च्यालेन्जर्स ः गेम अफ हिमालयज’ नामको रियालिटी शो । दक्षिण र पश्चिम एसियामा ८ सय किलोमिटरमा फैलिएको हिन्दुकुश पर्वत शृंखलामुनि बसोबास गर्ने अर्बौं मानिसहरूको जीवन अनि द्रुत गतिमा पग्लिरहेका हिमनदीबारे विश्वको ध्यान तान्ने मूल उद्देश्यले तयार भएको हो, ‘द च्यालेन्जर्स ः गेम अफ हिमालयज’ रियालिटी शो । र, यसका लागि रियालिटी शोमा भ्लगरहरूलाई सहभागी गराइएको छ । 

‘खासमा हिमालय क्षेत्रमा बसोबास गर्ने मानिसहरू जीवन, हिमाल आरोहणका कथा, आरोहीको संघर्ष, पर्वतारोहणका दुःख, त्यहाँको जीवनशैलीलाई रियालिटी शोमा देखाउन खोजेका छौं,’ शोका निर्माता श्री गुरुङले कान्तिपुरसँग भने, ‘नेपाल चिनाउन नेपालीले यति धेरै मिहिनेत र लगानी गरेर बनाइएको यो अहिलेसम्मकै ऐतिहासिक रियालिटी शो हो । यसको एकसाथ विश्वभर हुने प्रसारणले नेपालको पर्यटन उद्योगमा अमूल्य योगदान दिने अपेक्षा गरेका छौं ।’

सिनेकर्मी तथा उद्यमी गुरुङले १४ वर्षअघि (२०६६ सालमा) नेपाली ब्यानरमा हिमाललाई समेटेर ‘सिनेमा–डकुमेन्ट्री’ को सपना देखेका थिए । तर, कोभिड महामारी, लगानीकर्ता, प्रक्रियागत झन्झट लगायतका विभिन्न आरोह/अवरोहले धकेलिएको उनको सपना । कोभिड सकिएपछि २०७७ सालदेखि भने गुरुङ त्यही सपना पूरा गर्न क्रियाशील भएका हुन् । 

नेपालसहित ६ वटा मुलुकका ११ भ्लगरले लुक्लादेखि सगरमाथा आधारशिविरसम्म १२ दिन गरेको पदयात्रा तथा साहसिक गतिविधिलाई समेटिएको रियालिटी शोको लागत १० करोड रुपैयाँ हाराहारी रहेको उनले बताए । निर्माता गुरुङको ‘वर्ल्ड भ्लग च्यालेन्ज प्रालि काठमाडौं’ को ब्यानरमा रियालिटी शो २०७८ कात्तिक ३ देखि १९ गतेसम्म लुक्लादेखि सगरमाथा आधारशिविरसम्म सुटिङ भएको हो । गुरुङका अनुसार सुटिङका क्रममा ११ जना भ्लगरसहित सयभन्दा बढी सिनेकर्मी तथा क्रुहरू सगरमाथा आधारशिविरसम्म पुगेका थिए । 

आठवटा एपिसोडको यो शो हेर्न अमेरिकाबाहेकका मुलुकमा आतुर दर्शकहरूले काठमाडौंमा चैत २४ गते उद्घाटन हुने समारोह कुर्नुपर्ने छ । तर, अमेरिकामा भने अहिले प्राइभ भिडियोका सब्सक्राइबरले भने अहिले नै हेर्न सक्नेछन् । त्यसका लागि उनीहरूले आफूलाई मन परेको कुनै एक एपिसोड हेर्न २ अमेरिकी डलर हाराहारी र पूरै सिजन हेर्न १० डलर हाराहारी तिर्नुपर्छ । 

A reality show at the foot of Mount Everest

विश्वकै अग्लो स्थानमा तयार भएको ‘च्यालेन्जर्स शो’ लाई ओटीटीमा पुर्‍याउने थुप्रै नेपाली कर्मजीवी हातहरू छन् । यीमध्ये यसको मुख्य निर्माता हुन् श्री गुरुङ । उनका अनुसार, जेठ अन्तिममा अमेरिकामा हुने रेड कार्पेट शोमा ११ जना भ्लगरमध्येबाट एक जनालाई विजेता घोषित गरिनेछ । उनका अनुसार विजेतालाई एक लाख अमेरिकी डलर (एक करोड ३३ लाख रुपैयाँ) नगद पुरस्कार प्रदान गरिनेछ । 

११ जना भ्लगरलाई शोमा विश्व चर्चित आरोहीहरू कामीरिता शेर्पाले प्रमुख प्रशिक्षकका रूपमा गाइड गरेका छन् । त्यस्तै, अर्का विश्व चर्चित आरोही निर्मल पुर्जा (निम्स दाइ) एक्सपिडिसन निर्देशक छन् । अर्का आरोही मिङ्मा डेभिड शेर्पा एक्सपिडिसन लिडर छन् । भारतलगायत दक्षिण एसियाली टेलिभिजन उद्योगमा स्थापित निखिल चिनपा शोको होस्ट छन् । ‘द्याट एमटीभी गाइ’ उनको नाम जोडिने चर्चित शो हो । 

नेपालबाट दुई भ्लगर विश्वास राई र निशा खालिङले प्रतिस्पर्धामा भाग लिएका छन् । राई नेपाल भ्लग च्यालेन्जका विजेता र निशा फाइनलिस्ट हुन् । त्यस्तै, भारतबाट एमटीभी रोडिजका विजेता आशिष भाटिया, इन्डिया भ्लग च्यालेन्ज विजेता क्यामरावालेभाइ र अटो भ्लगर विशाखा फुलसुंगे छन् । अमेरिकाको सबैभन्दा ठूलो युट्युब हाइकर क्रैग एडम्स र ड्रोन पाइलट स्टिल डेविस, थाइल्यान्डका नाथन बार्टलिंग, लुक मी, फिलिपिन्सका विल दासोविच र कोलम्बियाका क्रेयटर जुनेन्स वेलेजले शोमा प्रतिस्पर्धा गरेका छन् ।

युवा ग्यालरी

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully